Ritubichar/hemanta bichar
१
गर्दा-गर्दै खुशी-साथ शरत्सौन्दर्य-वर्णन ।
हेमन्तले खिची-हाल्यो कविको लेखनीकन ॥
२
भारी बोकेर जाडाको टाढाको बटुवा-सरी ।
हिम-दन्तुर हेमन्त आयो मैलो-पना धरी ॥
३
मैलो दुर्गुणको थैलो त्यो हेमन्त भयङ्कर ।
देखेर डरले भागी शरद्बाला दिगन्तर ॥
४
हेमन्त डाकिनी-तुल्य लोक ठाडै कठ्याउँछ ।
झल्कने हिम-दाह्राले जो जो पायो अँठ्याउँछ ॥
५
घसी भस्म तुषाराको कुइराको लटा धरी ।
धुम्मियेको छ हेमन्त अवधूतै-बराबरी ॥
६
अँठ्याउने हिमै चिम्टा मौकामा छन्छनाउँछ ।
जहाँ पनी धुवाँधार धुनी घोर जगाउँछ ॥
७
परालको नलै मैला उसको छ बगम्बर ।
माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर ॥
८
गेरु-रङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख ।
फुस्रा हेमन्त बाबाका चेला झैँ छन् ति सम्मुख ॥
९
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्द-दायक ।
फल अर्को कुनै छैन सुन्तला-तुल्य लायक ॥
१०
सुन्तला छन् फिलिङ्गा झैँ फुस्स हुस्सू धुवाँ-सरी ।
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥
११
कुइरो बढदै आयो शान्ति-शोभा सबै हरी ।
जीवका मनमा मानू भोगको तिर्सना-सरी ॥
१२
बिहानी-पखको राती शीतको कुइरा-सित ।
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमै-सित ॥
१३
छुट्ट्याई औलको सीमा काँठो लागी वरी-परी ।
पहिले कुइरो बस्छ तन्केको पगरी-सरी ॥
१४
त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ ।
तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ ॥
१५
त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा ।
फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा ॥
१६
लम्तन्न भै निदायेको बडो आनन्दमा परी ।
औँलाको प्रतिमा-तुल्य कुइरो हुन्छ त्यो घरी ॥
१७
बाल-सूर्य-प्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी ।
व्युत्थान-कलना-द्वारा संयमीको मनै-सरी ॥
१८
विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
ब्रह्ममा विश्व झैँ खाली भ्रान्तिको त्यो तरङ्ग छ ॥
१९
भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर ।
माया-जञ्जाल झैँ हुस्सू लठारिन्छ सबै-तिर ॥
२०
शीत-रेखा जमेको छ उसमा भित्र बेसरी ।
सङ्कल्प-शक्तिका साथ संसार-महिमा-सरी ॥
२१
चोटा कोठा सबै चाली पुग्छ सुस्त सबै-तिर ।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र !
२२
विचित्र जादूगरका जादूको शक्तिले सरी ।
एकै डल्लो गरी-दिन्छ उसले दृष्टि-माधुरी ॥
२३
कुइराको कडा पर्दा लर्कँदा त्यो सबै-तिर ।
दृष्टिको ज्योति जाँदैन बित्ता-भर पनी पर ॥
२४
न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको ।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको ॥
२५
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव ।
हुस्सू-रूप महामैला थैलामा बन्द भो सब ॥
२६
हुस्सू प्रकृतिको लामू गर्भाशय-समान छ ।
उसमा कर्म-बाधाको सबैमा एक भान छ ॥
२७
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो ।
मानू समसमाऽऽकार लय-लीला खडा भयो ॥
२८
सबेरै देव-कन्याले बढारी स्वर्गमन्दिर ।
फालेछन् कि यता मैलो हुस्सू-रूप कसिङ्गर ?
२९
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो ।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो ?
३०
मैलो विषय-तृष्णामा मुक्तिको महिमा-सरी ।
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी ॥
३१
निद्राले चेतना-जस्तै हुस्सूले दृष्टिको गति ।
साह्रै गुटूमुटू पार्यो देखिँदैन यता-उति ॥
३२
कुइरामा कठै! काग घुम्छन् अन्योलमा परी ।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयी-सरी ॥
३३
आधा हिलामा लत्रेको पद्मका फूलको सरी ।
कुइरामा दब्यो आधा दिनको कान्ति-माधुरी ॥
३४
हेमन्त सिन्धुमा घुम्दा कुइरो-रूप मन्दर ।
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर ॥
३५
तेही मन्थनका छिर्का तुषाराको स्वरूपमा ।
बर्र बर्र सबै-तर्फ वर्षेका हुन् कि विश्वमा ?
३६
कम्ती भयो भने मैत्री शीतको कुइरोसित ।
तुषारो जोरले हाँस्छ खित्का छोडेर खित्खित ॥
३७
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ ।
बिहान उठदा अर्कै सेताम्मे हिम-वृष्टि छ ॥
३८
साना परालका छाना तुषारो थुप्रिँदामहाँ ।
सिङ्गमर्मरका जस्तै मजाका देखिने अहा ॥
३९
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी ।
कुनै कपास झैँ सेतै फुलेकी बुढिया-सरी ॥
४०
ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू ।
नीदले पृथिवी देवी बनी-छन् की लुटूपुटू ?
४१
खात हो वा तुषाराको यद्वा दुःख-प्रपात हो ?
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो ?
४२
तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर ।
रात्रि-दुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रि-गुफा-तिर ॥
४३
हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा ।
पारी कक्रक्क तत्कालै सातो हर्दछ सर्वदा ॥
४४
काठ्ठियेर सदा रुन्छन् सारा वृक्ष-लताहरू ।
शीतका रूपमा आँशु चुहायेर धुरू-धुरू ॥
४५
लता-वृक्ष तुषाराले सब पार्यो थिलोथिलो ।
जिङ्रिङ्ङ वन देखिन्छ, शोभा-शून्य उराठिलो ॥
४६
पक्षी कठै! पखेटाको तुषारो टक्टक्याउन ।
चाहन्छन् काठ्ठियेका छन्, सक्तैनन् फट्फटाउन ॥
४७
न चराको कतै रङ्ग, न कतै पुष्प-पल्लव ।
तुषारामा डुब्यो सारा वनको महिमा सब ॥
४८
हरायो शीतको मारे वृक्षको बढने गति ।
अँठ्यायेपछि अर्काले कसको हुन्छ उन्नति ?
४९
देखिये तुहिनाऽऽक्रान्त लता, वृक्ष, वनस्पति ।
आलस्यले अँठ्यायेका जाति-जस्तै हत-द्युति ॥
५०
जराले जीवको दिव्य यौवन-ज्योति झैँ सब ।
दबायो शीत-धाराले शरत्को पुष्प-गौरव ॥
५१
घुम्टो हालेर हुस्सूको शीत-धारा चुहाउँदै ।
बिहानमा अँध्यारी भै रुन्छिन् प्रकृति नै सधैँ ॥
५२
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब ।
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्य-गौरव ॥
५३
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी ।
धर्म-भीरु, दयापूर्ण निर्लोभी सज्जनै-सरी ॥
५४
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ ।
भाग्यले औषधी-तुल्य पाहार तर मिल्दछ ॥
५५
गद्गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा ।
योगारूढ महात्मा झैँ दिव्य कैवल्य-धाममा ॥
५६
जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा ।
उत्तिको प्रेम के होला अन्त यो सृष्टि-जालमा ?
५७
पाहार-रूप यो दिव्य शीत-संहारसाधन ।
ठूला साना सबैलाई जीवनीको ठुलो धन ॥
५८
लिँदा-लिँदैमा स्वर्गीय शान्ति पाहारमा बसी ।
खडा हुन्छे कडा काली तत्कालै रात्रि-राक्षसी ॥
५९
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखा-सरी ।
जान-की पद्मिनीलाई वहाँ बाधा कठैबरी ॥
६०
रामाऽऽत्मा रविले रात्रि-राक्षसीको चुरी-फुरी ।
पाहार-खड्गले हर्दा चल्यो अर्कै कडा हुरी ॥
६१
फाँडिये कण्टक-प्रायः बढेका खर दूषण ।
पियारो भो-जन-स्थान रह्यो अध-म-रा वन ॥
६२
रात्रि-शूर्पणखा काली अँध्यारो मुख लाउँदै ।
हिम-रावणका साथ गर्छे मानू कुरा रुँदै ॥
६३
फिँजारेकी छ उसले जगल्टा अन्धकारका ।
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका ॥
६४
मेघ-नाद छँदैछैन पन्छाई-र-वि-भीषण ।
रात्रि-शूर्पणखाले त्यो जगायी हिम-रावण ॥
६५
पछारिँदामा त्यो रात्रि-राक्षसी आयतोदरी ।
धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी ॥
६६
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी ।
दरिद्रको क्षणस्थायी मनको मन्सुबा-सरी ॥
६७
उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली ।
कालको गतिले गर्दा राप किन्तु अलीअलि ।
६८
फर्काउँछ सिधा पीठ दुनियाँ सूर्य-सम्मुख ।
हेरला को कठै ! मन्द गिरेका मित्रको मुख ?
६९
तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति ।
शीतले यसरी लोक काँपदो हो कहाँ यति ?
७०
परेछ शीत-सम्बन्धी सूर्यलाई पनी पिर ।
नत्र तेसरि सोझिन्थे किन अग्नि-भये-तिर ?
७१
राम झैँ रवि जानाले कोल्टामा मन्द भैकन ।
जान-की पद्मिनी हर्न खडा भो हिम-रावण ॥
७२
विहोश भै-ढली-हाली पद्मिनी विकलाऽऽकृति ।
होशमा किन घुस्रन्थी अर्काका काखमा सती ?
७३
दुष्टले पद्मिनी कान्ता हर्नाले विरहाऽऽतुर ।
दोस्रो राम-सरी सूर्य बने मालिन्य-मन्दिर ॥
७४
समातेर धनूराशि राम-रूप-दिवाकर ।
सीताऽऽपुर हुँदै ज्यादै जाँदैछन् की उँधो-तिर ?
७५
एतावता बढ्यो जाडो, थाल्यो त्यो हिम वर्षन ।
बिलायो कमल-श्रेणी, पुगे श्रीसूर्य दक्खिन ॥
७६
दुःख दुर्भाग्यको धारो ठण्डीका उग्र-रूपमा ।
खनिँदो छ कठै ! राती लगातार गरीबमा ॥
७७
दुःखीका दुःखको याद भये-देखी अलीकति ।
दैवले सब उल्टन्थ्यो तत्कालै सृष्टि-पद्धति ॥
७८
दुःखी गरीबका लेखा नख-देखी शिखा-तक ।
चर्चरी चिरने पापी हेमन्तै घोर नारक ॥
७९
रातमा घुसदा शीत दुःखीका भित्र आँतमा ।
दाँतको झगडा हुन्छ को जाने कुन बातमा ॥
८०
कन्था बिकामका भद्दा थाङ्नामा मस्त भैकन ।
हालका कविजी जस्तै लागे गरिब खुम्चिन ॥
८१
कालो तरङ्ग-सङ्कीर्ण दह झैँ पान्थको मन ।
फोरी नयनको बाँध लाग्यो साह्रै छचल्किन ॥
८२
घडी-तुल्य पला लाग्छन्, वर्ष-तुल्य घडी सब ।
दुःखी दाह्रा किटी भोग्छ रातको शीत गौरव ॥
८३
खुम्च्याउँछन् सबैलाई काला दीर्घ विभावरी ।
कठै ! घोर अविद्याका गह्रुङ्गा गठरी-सरी ॥
८४
जुन रात-विषे हुन्छ दुःखीको प्राण-संशय ।
सुखीलाई उनै रात सुधाका लहरी-मय ॥
८५
सुखीका सुखको साक्षी दुःखीको दुःखवर्धन ।
झुल्कन्छ रातमा झुल्का फुलाई खूप गर्धन ॥
८६
दुःखी कौरव झैँ खिन्न सुखी पाण्डव झैँ बनी ।
हेर्दछन् द्रौपदी-चीर-तुल्य हेमन्त-यामिनी ॥
८७
पोखरीमा बिलायेकी देखी कुमुदिनी-कन ।
लागे कुमुदिनी-नाथ करुणा-वश पग्लन ॥
८८
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी ।
जूवामा धन फालेका जुवाडेको मुखै-सरी ॥
८९
पद्मको रसका प्रेमी मद-मत्त मधु-व्रत ।
घुम्न थाले अँगेरीका फूलमा दुःख-कर्शित ॥
९०
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल ।
कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल ॥
९१
शीतले फूलका साना बगैँचाका बुटाहरू ।
परलोक भये धेरै, रुन्छन् थोरै धुरू-धुरू ॥
९२
रस-धारा चुसी सारा तुषाराले वन-स्थली ।
गरायो नीरसाऽऽकार छैन केही झिली-मिली ॥
९३
पुष्प-पल्लवको शोभा नभयेको वनै सब ।
बन्यो स्वाऽऽधीनता-रत्न फालेको दास झैँ अब ॥
९४
गलेकी हिम-वर्षाले, बलेकी तपले अति ।
गौरी झैँ कलिला साना प्याहुली छन् कताकति ॥
९५
देखिन्छ वनमा यौटा फुलेको लोध हालमा ।
सिद्धि-सम्पत्तिले पूर्ण योगी झैँ विश्व-जालमा ॥
९६
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण ।
देश-कालज्ञले लिन्थ्यो कूप-मण्डूकता किन ?
९७
खलामा धानको दाइँ गर्न थाले धमाधम ।
दुःखीको पसिना-पूर्ण-फल्यो सारा परिश्रम ॥
९८
त्यो बेला ती दयेँराको आनन्दी रङ्ग देखदा ।
चित्तले दङ्ग भै भन्छ यै हेमन्त रहोस् सदा ॥
९९
मिहेमा धानको झुप्पा, घुम्दछन् गोरु धानमा ।
दयेँरा धान वैरन्छन् मस्त छन् सब धानमा ॥
१००
म भन्थेँ हिममा राम्रा बुट्टा भै भर्दछु भनी ।
भित्र देखेँ महाबुट्टा बन्द भो टक्क लेखनी ॥
१०१
प्रथम ऋतु नराम्रै हुन्छ हेमन्त खास
अझ उस ऋतु-माथी यो छ काव्योपहास ।
अवगुण सब छानी गर्नु-होस् दृष्टि-पात
भनि सबसँग बिन्ती गर्छ यो 'लेखनाथ' ॥
इति हेमन्त-विचार