Jump to content

Ritubichar/sharad bichar

From Nepali Proofreaders
Revision as of 14:32, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Ritubichar.pdf" from=42 to=53 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
अथ
शरद्-विचार


गयो बहाड वर्षाको, खडा भो रसिलो शरद् ।
अर्कै स्वरूपमा निस्क्यो कविको कल्पना जगत् ॥


निस्के घन-घटा फोरी देखाई भरिलो छवि ।
अविद्या-जाल तोडेको इलमी राष्ट्र झैँ रवि ॥


धेरै कालपछी मिल्दा मित्र-दर्शनको सुख ।
डुब्यो आनन्दमा लोक लगाई हँसिलो मुख ॥


लोकोपकारमा खर्ची अनन्त जल-सम्पति ।
मनस्वी धीर झैँ मेघ बन्यो शान्त मुनि-व्रती ॥


कहाँ कालो कडा कान्ति, कहाँ गर्जन-तर्जन ।
मेघले जलका साथै त्यागेछ सब दुर्गुण ॥


परोपकार-व्रतले गलेका मेघ पावन ।
प्रतिपच्चन्द्र-रेखा झैँ देखिन्छन् मन-मोहन ॥


आफना जल-धाराले बढेको विश्वको खुशी ।
हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी ?


रूप-रङ्गादिले शून्य सत्त्व-शेष कुनै धन ।
जीवन्मुक्त-सरी थाले हावा-माफिक खेलन ॥


सेता बादलका टुक्रा कुना-कानी अली अली ।
चल्छन् बिस्तार बिस्तारै कलिमा साधु झैँ गली ॥

१०
बडो उज्यालो आनन्दी भगवान् शङ्करै-सरी ।
हिमालमा पस्यो मेघ विश्व-बाधा सबै हरी ॥

११
मेघ झैँ विश्व-सेवामा लगाई शुद्ध जीवन ।
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् मुक्तिभाजन ॥

१२
हरायी मेघका साथै उज्याली बिजुली पनि ।
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी ?

१३
जगद्‌व्यापी उही मेघ टुक्रा टुक्रा भईकन ।
हिन्दूसाम्राज्य झैँ आज गिर्‍यो पायिन्न देखन ॥

१४
मेघले अघि वर्षामा गरेका पुण्य-वृष्टिको ।
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको ?

१५
दिव्य सौभाग्य-धारामा नुहाई भइ निर्मल ।
निस्केको तुल्य देखिन्छ उज्यालो विश्वमण्डल ॥

१६
उनै दिन उज्याला छन्, उज्याला छन् उनै निशा ।
उनै प्राणी उज्याला छन्, उज्याला छन् उनै दिशा ॥

१७
दुःखदुर्दोषका साथै वर्षाले सब विश्वको ।
मैलो-पन पखाल्यो कि प्रत्येक परमाणुको ?

१८
वर्षा जाँगरिली दासी घोई पोती लिपी चली ।
शरद् मालिकिनी जस्तै गर्न थाली ढली-मली ॥

१९
शुकी-शक्यो हिलो सारा, धूलो छैन रती-भर ।
रस्ता देखिन्छ सम्पूर्ण लिपेको झैँ मनोहर ॥

२०
नर-नारी, लता-वृक्ष, पशु-पक्षी तमामको ।
ढाँचाले स्पष्ट देखायो आनन्दी राज्य रामको ॥

२१
न सर्दी छ, न गर्मी छ, न वर्षा छ, न घाम छ ।
अपूर्व यो शरत्‌काल सबैको सुख-धाम छ ॥

२२
निर्दोषी नयनाऽऽनन्दी शरत्‌का रसिला दिन ।
सधैँ बस्ने भयेदेखि चाहिन्थे कविता किन ?

२३
न तुवाँलो, न ता हुस्सू, न धूलो, न पयोधर ।
स्वच्छ देखिन्छ आकाश इन्द्र-नील-बराबर ॥

२४
कुइरो घामले भाग्यो, तुवाँलो वायुले छुट्यो ।
धूलो वर्षादले मार्‍यो, मेघ आफैँ पछी हट्यो ॥

२५
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी ।
झल्कन्छ कल्पना-शून्य योगीको हृदयै-सरी ॥

२६
रातमा झल्कने ज्यादा ठूला साना हिरा-सरी ।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनै-भरी ॥

२७
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी ।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥

२८
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी ।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरी-थरी ॥

२९
झल्कन्छ राति आकाश ती ताराहरुले गरी ।
योगीका सुख-शय्याको कार्चोपी चाँदनी-सरी ॥

३०
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन ।
सच्चा अमृतका टुक्रा कम-बेसी थिये कुन ?

३१
शान्त भै ठाममा आये ठूला नद-नदी सब ।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेग-वैभव ॥

३२
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी ।
जवानीको कडा माद दौडन्छ बिजुली-सरी ॥

३३
वर्षाका जोरले मात्र उर्लेका खहरे जती ।
छोडी आडम्बरी फूर्ति बन्न थाले बक-व्रती ॥

३४
नदीका जलले छोड्यो सारा बगर सुस्तरी ।
ज्ञानीका मनले तुच्छ भोगको वासना-सरी ॥

३५
चुल्ठो-समान लर्केकी नदीको मझ-धार छ ।
आनन्दी हंसको ताँती मानू सुन्दर हार छ ॥

३६
आखा-समान झल्कन्छ माछाको परिवर्तन ।
गहिरो भुमरी-रूप नाभि देखिन्छ शोभन ॥

३७
हलुका लहरी हात, गाना कलकल-ध्वनि ।
नचरी लाउँदै चल्छन् नदी सागर-गामिनी ॥

३८
शरत्‌का सङ्गले सङ्ले धमिला पोखरी सब ।
सत्सङ्गको सफा रङ्ग सबैमा पर्छ वास्तव ॥

३९
वृक्ष, पर्वत, आकाश गर्व सौन्दर्यको गरी ।
पानीमा हेर्न लागे कि आफनू मुख-माधुरी ?

४०
शनैः शनैः फिका पारी अघिको तेजिलोपन ।
विप्र झैँ दक्षिणाऽऽशामा लागे श्रीसूर्य लत्रन ॥

४१
कन्या-लङ्घन भो भन्ने सङ्कोचैले अलीकति ।
झुकेका हुन् कि लाचारी-साथ ती पद्मिनी-पति ?

४२
दिननाथै उँधो लत्रे, दिनको के कुरा छ र ?
जहाँ-सुकै पनी हुन्छ स्वामी-माफिक नोकर ॥

४३
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति ।
देखी हृदयले भन्छ अभिमान नले रती ॥

४४
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर ।
अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ?

४५
धैर्यको शान्तिको दिव्य नमूना-तुल्य निश्चल ।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥

४६
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
देखिन्छन् आत्म-विद्याका सिद्धान्त-सरि दुर्गम ॥

४७
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
मूर्तिधारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ॥

४८
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
शिवका कटिको लम्बा बाघाम्बर-बराबर ॥

४९
निस्कँदा पद्मिनी-नाथ छिचोली मेघको वन ।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥

५०
देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति ।
चर्को विनाश-बेलाको बत्ती झैँ विमल-द्युति ॥

५१
थुँगा कमलका राम्रा देखिन्छन् पोखरी-भरी ।
आकण्ठ जलमा मग्न अप्सराका मुखै-सरी ॥

५२
पद्मका पुष्पले पद्म-पोखरी ढकमक्क छ ।
सुगन्धको मजा पाई हावा सारा गमक्क छ ॥

५३
लियो सुगन्ध हावाले मिल्कायो तल केशर ।
तत्त्व पायेपछी फेरि खोष्टाको चाल के छ र ?

५४
सुनौला रङ्गका ताजा चिल्ला केशरले गरी ।
सुवर्ण-मय देखिन्छन् सारा कमल-पोखरी ॥

५५
विधाताले खटायेका कमल-द्युति-जाँचमा ।
जाँचकी-तुल्य भै घुम्छन् भुमराहरु पुष्पमा ॥

५६
लक्ष्मीको वास त्यो खास फक्रेको पद्म-सन्तति ।
पायी दिव्य रसप्रेमी भुमरा मस्त छन् अति ॥

५७
बिस्तारो गतिका साथै खोली दिव्य गला पनि ।
पद्मका वनमा गर्छन् कलहंस कल-ध्वनि ॥

५८
काव्यमा कविको दिव्य कल्पना-शक्तिको सरी ।
जलमा अति राम्रो छ हंसको गति-चातुरी ॥

५९
हावाले जलमा राम्रा लहरी जुन आउँछन् ।
झुलदै उनमा हंस डुङ्गीमा झैँ रमाउँछन् ॥

६०
दूध पानी दुवै छान्ने ज्ञानी परम-हंस ती ।
निराला चालमा चल्छन् को जान्ने तिनका गति ?

६१
त्यो हंस-गतिले चल्छ जल निर्मल सुस्तरी ।
लययुक्त महात्माको चित्तको कलना-सरी ॥

६२
हंसहंसी दुवै बाँडी मृणाल मुखमा धरी ।
देखाउँछन् बडो राम्रो दाम्पत्य-प्रेम-माधुरी ॥

६३
धन, धर्म दुवै धान्ने धान्य-गौरवले उता ।
खेतमा भरियो भारी भरिलो रमणीयता ॥

६४
जीवनाऽऽनन्दको ज्योति प्रजाको स्वच्छ शीतल ।
बयेली धानमा खेल्छ गर्दै नयन-मङ्गल ॥

६५
एकैनास पसायेका अर्धचन्द्र-समानका ।
बाला लहबरी गर्दै झुल्दछन् खूब धानका ॥

६६
झुकेको छ सबै धान्य ठाडो छैन कुनै पनि ।
उपकारी गुणी व्यक्ति यस्तै हुन्छ जहाँ पनि ॥

६७
खेतको मोहिनी शोभा हेरदा-हेरदैमहाँ ।
ब्रह्ममा ब्रह्म-वेत्ता झैँ लीन हुन्छ मनै वहाँ ॥

६८
बदामी रङ्गको राम्रो देखदा खेतको छवि ।
केशरी बागमा पुग्छन् उपमा खोजदै कवि ॥

६९
कृषिको श्रम-साफल्य देखनाले प्रजा सब ।
परमाऽऽनन्द पायेको योगी झैँ छ खुशी अब ॥

७०
हुटिट्याउँ, हिलेकौवा, जलेवा, बक, चाँचर ।
खेतीका कुह्रुवा-तुल्य खेतैमा गर्दछन् घर ॥

७१
साना रुगरुगायेर दौडने दिव्य खञ्जन ।
गति-सौन्दर्यले साह्रै गर्दछन् मन-रञ्जन ॥

७२
त्यो छिटो, छरितो, राम्रो तिनको फुर्फुराहट ।
हेर्दा भित्र छचल्किन्छ प्रेम-पीयूषको घट ॥

७३
जता हेर्‍यो उतै राम्रो आनन्दी रङ्ग लोकको ।
छैन संसारमा नाम-निशाना दुःख शोकको ॥

७४
खोली कमलको छाता हम्काई काश-चामर ।
ऋतु-राजै-सरी गम्क्यो शरत्‌काल मनोहर ॥

७५
फूलका मदको गन्ध भरियेको छतीवन ।
शरत्‌को वनमा बद्ध हात्ती-तुल्य छ शोभन ॥

७६
वनमा फल-पुष्पादि विशेष नभये पनि ।
झ्याङ्गिएको छ त्यो ज्यादा बनी गाम्भीर्यको धनी ॥

७७
वसन्तकै सरी सारा बगैँचाको बहार छ ।
हावा वसन्तको भन्दा ज्यादा महक-दार छ ॥

७८
फुलेको हसना-रूप शरत्‌को मन्द हास छ ।
जसमा बहुतै चर्को वासनाको विकास छ ॥

७९
हसनाको बडो हस्के देखी उत्ताउलो-पन ।
कुनामा केवरा लाग्यो जिभ्रो काढी लजाउन ॥

८०
ढकमक्क शयेपत्री अभिमानी-समान छ ।
ज्यादा लत्रन जान्दैन रूपको खूप शान छ ॥

८१
बन्दै-छ गमला-रूप-खोरमा गुण-केशरी ।
तैपनी फूलको सातो हर्छ त्यो गुणले गरी ॥

८२
रसीलो हर-श्रृङ्गार वर्षाई पुष्प बर्बरी ।
स्वर्गीय वासना भर्छ महात्मा झैँ वरी-परी ॥

८३
हंसराज नयाँ रङ्ग झिकी अत्यन्त दङ्ग छ ।
मानू सूर्यमुखीलाई सूर्य बन्ने उमङ्ग छ ॥

८४
रङ्गमा रेशमै-तुल्य ढङ्ग लोकै बिझाउने ।
रित्तो मखमली चुत्थो धूर्तै भन्न सुहाउने ॥

८५
उता गोदावरी जम्मै फुलेर ढकमक्क छ ।
यता सरस नेवारी त्यो देखी अकमक्क छ ॥

८६
एतावता सबै-तर्फ शरत्‌को कान्ति-माधुरी ।
झल्कायेर फुलेका छन् फूल राम्रा थरी-थरी ॥

८७
टल्कने हलुवाबेत लटर्‍याम्म रुखैभरी ।
अम्बा लदाबदी जम्मै पाकेका छन् थरी-थरी ॥

८८
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि !
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥

८९
वर्षाले जलले पूर्ण मेघ-मण्डलमा पसी ।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?

९०
चन्द्रको चाँदनी-रूप झल्कँदा राति गौरव ।
कपूरले लिपे-जस्तो देखिन्छ जगतै सब ॥

९१
आनन्दी देवता-तुल्य चन्द्रका रश्मिजालमा ।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥

९२
जुनेली रातमा राम्रो सुन्दा चहचह-ध्वनि ।
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥

९३
पुरानू विजय-स्तम्भ-रूप राम्रो सुविस्तृत ।
यो दशैँ-चाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥

९४
जसरी पीङ मच्चिन्छ हिन्दू-जाति उसै गरी ।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥

९५
यै शरद्‌मा दशैँ हाम्रो, यसैमा दीप-मालिका ।
यसैमा धान्य-सम्पत्ति, धन्य यो सुख-तालिका ॥

९६
माथमा जमरा माथी जमाई गुण-केशरी ।
नर-नारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥

९७
मनुष्यको कुरा के छ पशु-पक्षी पनी सब ।
मनाउँछन् खुशी मानी मञ्जु मङ्गल उत्सव ॥

९८
आनन्दको ध्वजा-तुल्य ठड्याई दीर्घ पुच्छर ।
बाच्छा-बाच्छी सिँगारेका दौडन्छन् ती सबैतिर ॥

९९
यताउति कतै केही नहेरी मस्त भैकन ।
विजयी वीर झैँ गर्वी थाले गोपति ढल्कन ॥

१००
योगीको मन झैँ पानी, बाटो वेद-पथै-सरी ।
शुद्ध देखिन्छ सम्पूर्ण शरत्‌का सङ्गले गरी ॥

१०१
हुनत अति उज्यालो हो शरत्‌काल खास
तर अलि कवितामा कम्ति नै भो प्रकाश ।
रसिक! गरनु-होला तैपनी दृष्टि-पात
श्रम सब बुझि मेरो भन्छ यो 'लेखनाथ' ॥

इति शरद्-विचार