Ritubichar/grishma bichar
१
लेखी देखे-बुझेसम्म वसन्त-महिमा सब ।
कविको लेखनी दौड्यो ग्रीष्म-वर्णनमा अब ॥
२
राम्रो वन-बगैँचाको वासन्ती कान्ति मन्द भो ।
मानू स्वर्गीय गङ्गाको मधुर स्रोत बन्द भो ॥
पुगे शनैःशनैः सूर्य मध्य आकाशमा अब ।
देखायेर पराकाष्ठा उत्थान-क्रमको सब ॥
४
प्रतापीको प्रतापाऽग्नि-शिखा जस्ता कडा दिन ।
दबाई जगतैलाई अब थाले खडा हुन ॥
५
शके-सम्म करद्वारा पृथ्वीको रस खीँचन ।
अविवेकी विजेता झैँ सूर्य लागी-रहेछन ॥
६
धपक्क भै बलेका छन् घामले दिन बेसरी ।
दीपकाऽऽभ्यासमा व्यग्र विद्वान्का इन्द्रियै-सरी ॥
७
रश्मिका रूपमा ताता वर्षायेर तिखा सिया ।
सूर्यले गर्न आँटे कि विश्वगोल छिया-छिया ?
८
विषले मत्मतायेका काला काला भुजङ्गको ।
फुङ्कार झैँ बढेको छ दन्दनाहट धर्मको ॥
९
सन्तापले गरी ज्यादा आकाशै धप्प भैकन ।
ज्वाला-जाल निकालेर बलने हो कि दन्दन ?
१०
त्यो नीलभाग माथिल्लो सारा विश्व-कटाहको ।
दागै हो कि त यै चर्का ग्रीष्मका उग्र दाहको ?
११
संसार-भर ठण्डीको नामै छैन कतै-तिर ।
जता जाऊ उतै खाली गरमीको कडा पिर ॥
१२
घामको नाम पारेर कालले अति उत्कट ।
आफना लय-लीलाको देखायो चम्चमावट ॥
१३
गरमीको कडा मुस्लो सल्कायेर सबै-तिर ।
भसक्कै पार्न आँट्यो कि विधिले सृष्टि सुन्दर ?
१४
जल तात्यो, हवा तात्यो, तात्यो गगन, भूतल ।
सन्तको सङ्ग झैँ यौटा-वृक्ष-च्छाया छ शीतल ॥
१५
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झैँ सुखी बनी ॥
१६
जल शुक्तै गयो सारा पृथ्वीबाट घरी-घरी ।
कराल कलिले गर्दा धर्मको महिमा-सरी ॥
१७
साना-तिना नदी-नाला नाम-शेष बने सब ।
विना गाम्भीर्यको व्यक्ति रहन्थ्यो तापमा कब ?
१८
देखिन्छ उनमा तातो बलौटे अब केवल ।
विरसी मूर्खको क्रूर चित्त झैँ धर्म-सङ्कुल ॥
१९
बालुवा टेकना-साथ पैतालाकन पोल्दछ ।
पाद-प्रहारको मानू जवाफै स्पष्ट बोल्दछ ॥
२०
टाढा टिलपिलायेको जल जस्तै मनोहर ।
मसिना बालुवामाथि झल्कन्छन् सूर्यका कर ॥
२१
विशाल मृगतृष्णा त्यो झल्कँदा दूर चम्चम ।
देखिने व्यक्तिमा पर्छ बडो आश्चर्यको भ्रम ॥
२२
कुनै त्यो मृगतृष्णामा चाँदीको भाव धर्दछ ।
पानीका भानले कोही दौडँदै अगि सर्दछ ॥
२३
नगीचमा पुगी हेर्दा न त्यो चाँदी न त्यो जल ।
झल्कन्छ आँशुका साथै कठै ! दुर्भाग्यको छल ॥
२४
घामैको डरले हो कि ? ठूला नद-नदी सब ।
लुकाई लहरी-नृत्य खस्के तल-तलै अब ॥
२५
श्वास-प्रश्वासका मात्र दिँदै दुःखित सूचन ।
गर्छन् पहाडिया खोला डण्डूरै-भित्र हुन्हुन ॥
२६
नष्ट भो घामले गर्दा हवाको शीतलो-पन ।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?
२७
बतास चल्दै-चल्दैन चलिहाल्यो भने पनि ।
उष्णताले शके-सम्म बलेको हुन्छ दन्दनी ॥
२८
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन ।
पसीना-रूपमा मस्ती गलायो लोकको किन ?
२९
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जय-डिण्डिम ॥
३०
बन्यो मशान झैँ शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥
३१
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा ।
देह-भन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥
३२
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैँ हत गौरव ।
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥
३३
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल ।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ?
३४
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन ।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥
३५
पृथिवी-भर गर्मीको प्रवाहकन जाँचने ।
कुला-तुल्य ठुला रस्ता-ताता भत्भति पोलने ॥
३६
ताता सडकका ताता पसिनाकन खल्खली ।
चुहाई चल्दछन् पान्थ कष्ट-साथ गली गली ॥
३७
स्याँस्याँ भै दम उर्लन्छ, शुकेको छ सबै मुख ।
पियारो मित्र झैँ लाग्छ त्यो बेला मार्गको रुख ॥
३८
देखिन्छ पसिना-पूर्ण पान्थको मुख त्यो घरी ।
रातो चुर्लुम्म पानीमा बुडेको कमलै-सरी ॥
३९
बिचरा बीच बाटाको जलशून्य कुवाकन ।
थाले पुलुक्क हेरेर आँशुले पूर्ण पारन ॥
४०
प्यासका साथमा श्वास श्वास-साथै निराशता ।
उर्लेर गर्न चाहन्छन् पान्थको दिव्य पान्थता ॥
४१
हाली अनन्त सुस्केरा हिँडदा हिँडदा जल ।
जब पायो अनी आयो नवीन बल-मङ्गल ॥
४२
त्यो बेला त्यो सुधा-तुल्य पियेर जल कल्कली ।
लेटदा चित्तमा फुल्छ स्वर्गीय सुखको कलि ॥
४३
आमा-समानकी निद्रा तत्कालै झप्प आउँछे ।
काखमा बटुवालाई राखी दर्द बुझाउँछे ॥
४४
बिउँझ्यो मृत्ति-मूर्छाको अन्त्यमा बासना-सरी ।
धूमधाम उही घाम, उही बाटो कठैबरी !!
४५
दुःखीका दुःखको याद दैवका मनमा भये ।
त्यो चर्को घामको पर्दा तत्कालै उल्टने थिये ॥
४६
भीष्म-सन्तापले पूर्ण शकुनि-ध्वनि-सङ्कुल ।
कृष्ण-कादम्बिनी-शून्य जुवा झैँ छ नभस्तल ॥
४७
कराउँदै घुमेको छ काकाकूल घरी-घरी ।
कान्ता खोजन निस्केको पान्थको प्राण झैँ गरी ॥
४८
मेघ-मार्ग घुमी सारा नपाई मेघ-दर्शन ।
त्यो मेघ-भक्त लाग्यो कि मेघ-मह्लार गाउन ?
४९
अथवा त्यो गई माथि विधाता-सँग शोकको ।
विकराल सबै हाल भन्न लाग्यो कि लोकको ?
५०
गम्भीर गगनै यद्वा ठानी स्वर्गीय सागर ।
पानी-खातिर त्यो मानी लम्कँदो छ उँभो-तिर ॥
५१
यद्वा विष्णुपदी होलिन् यै विष्णुपदमा भनी ।
घुमी आकाश-गङ्गाको गर्छ त्यो उग्र खोजनी ॥
५२
त्यो निराधारमा तेस्तो निकाली करुण स्वर ।
नत्र त्यो घाममा घुम्दै किन जाला उँभो-तिर ?
५३
जलाशयहरू-नेर तुच्छ जीवन-खातिर ।
मरे पनि झुकायेन धीर चातकले शिर ॥
५४
सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल ध्वनि ।
नौनी-समान पग्लन्छ छाती पत्थरको पनि ॥
५५
त्यो मानी पक्षीको तेस्तो त्यो पानी-व्रत धन्य छ ।
जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य छ ॥
५६
अरू साना-तिना पक्षी वनको भित्रभित्र छन् ।
रसिला वृक्षका पत्र उनका दिव्य मित्र छन् ॥
५७
बिचरा ती चरालाई न चाराको उमङ्ग छ ।
न कुनै वन्य-लीलाको भाव-भङ्गि-तरङ्ग छ ॥
५८
ज्वाला-जाल फिँजारेको खडेरी-रूप दानव ।
देखी डरी डरी दप्के किन्नरी झैँ चरी सब ॥
५९
वैलाये घामले राम्रा भरिला पुष्प-पल्लव ।
दारिद्र्यले डढायेका दुःखी झैँ गत-गौरव ॥
६०
माथि माथि सबै-तर्फ फर्र फाली भुवाकन ।
अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन ?
६१
विद्वेषको विशेषज्ञ धीरको मनमा सरी ।
प्रभाव घामको बाक्ला वनमा पर्छ बाहिरी ॥
६२
अँध्यारा अत्मरा, खोल्सा, गुफा, डण्डूर यी सब ।
तापाऽऽर्त पशु-पक्षीका विश्राम-स्थान छन् अब ॥
६३
असह्य तापका मारे हिजो आज सबै जन ।
नैष्कर्म्य-सिद्ध योगी झैँ घुम्न थाले वनै-वन ॥
६४
हिम, चन्दन, कस्तूरी, मुक्ताहार, मृणालमा ।
व्यग्र देखिन्छ अत्यन्त विलासी-वृन्द हालमा ॥
६५
खेतमा खेतिवालाका रमणी-जन हालमा ।
पैह्रन्छन् पसिना-रूप मुक्ताऽऽभूषण भालमा ॥
६६
निःशङ्क पिउँछन् पानी सिंहका साथमा मृग ।
एक-देशीयको हुन्छ दुःखैमा ऐक्य सम्भव ॥
६७
पहिले वन गर्मीले उसिनेको समान छ ।
डढेलो उसमा फेरि दुःखको के बयान छ ?
६८
निकाली अग्निको ज्वाला आपसैमा भिडीकन ।
कुरुवंशी-सरी थाल्यो वंश-श्रेणी विनाशिन ॥
६९
वेग-साथ बढेको छ डढेलो वनमा अति ।
हिन्दूमा सर्व-संहारी फूट झैँ भीषणाऽऽकृति ॥
७०
उताबाट उता सल्क्यो उताबाट उता-तिर ।
गर्दै चटचटाऽऽकार छोपि-हाल्यो सबै-तिर ॥
७१
डढेलाले निल्यो झट्टै झार, पात दुवै-थरी ।
कर्म-सञ्चित, आगामी विज्ञान-ज्योतिषै-सरी ॥
७२
ठूला फेद-विषे आगो सल्केका वृक्ष हुन् जुन ।
उनी प्रारब्ध झैँ थाले सुस्तसुस्तै बिलाउन ॥
७३
तातो लपलपायेको रातो जिभ्रो झिकीकन ।
कराल काल लाग्यो कि लपक्कै लोक चाटन ?
७४
स्याँस्याँ गरी निकालेका जिभ्रो जस्ता बडा तिखा ।
देखिन्छन् टोडकाबाट वृक्षमा अग्निका शिखा ॥
७५
रुन्छन् कठै! कुनै वृक्ष ठाडै चीँ चीँ गरी गरी ।
रस-रूप सफा आँशु चुहाईकन बर्बरी ॥
७६
घरी झार, घरी पात, घरी वृक्ष, घरी लता ।
भस्म पारी डढेलाले उडायो वनको पता ॥
७७
आगाका डाहले माथि उठेका बिचरी चरी ।
डढेलामा गिरे फेरि घामका तापले गरी ॥
७८
राती पाखा-पखेरामा देखिन्छ देव-माधुरी ।
कृष्णका कटिको लामू दिव्य पीताम्बरै-सरी ॥
७९
प्रत्यक्ष सर्व-संहारी महामारी-समान यो ।
आगाले जङ्गली जीव नाम-शेष गरी-दियो ॥
८०
वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण ।
डढेलो उसमा फेरि के रहन्थ्यो कठै ! वन ?
८१
डढेलाले डढायेको वन देखिन्छ यो घरी ।
नबाबले प्रतापाऽऽग्नि सल्केको भारतै-सरी ॥
८२
उडायो ग्रीष्मले सारा वसन्त-कृत गौरव ।
नीच पापी दुरात्माले सन्तको कीर्ति झैँ सब ॥
८३
यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही ।
दुरुस्त अघिको जस्तै फुलेको छ जहाँ-तहीँ ॥
८४
उपकारी महात्माको चित्त झैँ स्वच्छ कोमल ।
देखिन्छ भाग्यले यौटा शिरीष-तरुमा फुल ॥
८५
गम्भीर जलको भित्री तहमा नडुबीकन ।
संसार-भर पायिन्न आनन्दी शीतलो-पन ॥
८६
क्षणिकाऽऽनन्दमा लुब्ध जीव झैँ मोहजालमा ।
जलमा मग्न भै गोता लिन्छन् रसिक हालमा ॥
८७
निस्कनु दबिनु-रूप विश्व-क्रम-निदर्शन ।
देखायेर सबै गर्छन् उन्मज्जन निमज्जन ॥
८८
देखिन्छन् जलमा पौडी खेलने ती थरी-थरी ।
दिव्य आनन्द-गङ्गाका सजीव लहरी-सरी ॥
८९
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब ।
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब ॥
९०
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैँ प्रशंसन ।
भला हुन्थ्यो सदा-काल कहाँ ज्यादा गरम्पन ?
९१
दिन रात दुवैको छ चौथो याम मनोहर ।
चतुर्थाऽऽश्रम झैँ आर्य-जातिको शान्ति-मन्दिर ॥
९२
दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ ।
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ ॥
९३
उदयाऽचलमा चारु निस्कँदा चन्द्र-मण्डल ।
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥
९४
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरी-थरी ।
अटालीमा चढी बस्छन् रातमा च्याखुरा-सरी ॥
९५
प्रचण्ड घामले गर्दा शुष्क-प्राय चराचर ।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥
९६
कर्पूर-द्रव झैँ चीसो चन्द्रको दिव्य चाँदनी ।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥
९७
बिहानीपखको राती मिल्छ जो शीतलो-पन ।
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥
९८
सुती-रहन्छ दुनियाँ सूर्योदय हुँदा पनि ।
अविद्याले अँठ्याएको वृद्ध भारत झैँ बनी ॥
९९
लाग्छ लामू कडा तातो दिन कल्प-बराबरी ।
ठण्डा रात बिती-दिन्छ मानू एकै पला-सरी ॥
१००
के गर्छ नक्कली पङ्खा, के गर्छन् हिम, सर्बत ।
चूर्ण हुन्न विना मेघ, गर्मीको पूर्ण बर्गत ॥
१०१
भरसक पढि सारा ग्रीष्मको यो विचार
मन-बिच लिनु-होला क्यै भयेदेखि सार ।
भनि सविनय लत्री नित्य जोडेर हात
विनति सुकविलाई गर्छ यो 'लेखनाथ' ।
इति ग्रीष्म-विचार