Lalitya bhag 1 ra 2/jivan changa
(१)
कछुवाले अङ्ग सरी खुम्च्याई बाह्य वृत्तिका तार ।
भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार ॥
(२)
दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा ।
फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा ॥
(३)
ममता-सहित अहन्ता ग्रन्थि परेका बडा रम्य ।
सुख दुखका कका छन् खूब मिलेका दुवै टम्म ॥
(४)
मनमय घुम्छ लटाई फनफन फन्का पला पला मारी ।
अतिशय दुर्लभ तर त्यो रसिक लटाई लिने चमत्कारी ॥
(५)
सङ्कल्पको छ धागो छुटी-रहेको लगातार ।
गर्दछ जसका भरमा जीवन-चङ्गा विचित्र सञ्चार ॥
(६)
त्यो मसिनो धागो खिरिलोपन ल्याउने ताजा ।
घसिएको बहुत सफा विवेक बल बुद्धिको माजा ॥
(७)
चङ्गाको मुखचाहीँ प्रवृत्तिमय रङ्गले लाल ।
अलिअलि कालो आशा-पुच्छर, उसको छ चल्बले चाला ॥
(८)
वैषम्य भै ककामा अलिकति गतिमा घुस्यो भने दोष ।
ग्वाँक मिलाउनलाई संयम, सुविचार, शान्ति सन्तोष ॥
(९)
यस्तो अद्भुत चङ्गा तयार पारी बडो चमत्कारी ।
नभमा कौतुक गर्ने कुन होला धीर अविकारी ?
(१०)
जति जति गडेर हेर्छु यस चङ्गाको विचित्र सञ्चार ।
उति उति शून्य गगनमा विलीन हुन्छू, नदेखदा पार ॥
(११)
कहिले नीलो दहमा सफरी माछो सरी भारी ।
लीला गर्छ गगनमा चक्कर लाखौँ थरी मारी ॥
(१२)
कहिले प्रेमहवामा सररर अक्काशिँदै जान्छ ।
कहिले फरक्क फरकी तल-तल कौँठीपनी खान्छ ॥
(१३)
कहिले भुजङ्ग जस्तै सुलुसुलु बग्दै बटारिन्छ ।
कहिले विधिवश बिचमा अरुअरुसँग बेसरी लटारिन्छ ॥
(१४)
कहिले पुगेर माथि सोझै बहँदै शनैः शनैः सल्ल ।
निश्चल टक्कर मारी अडिन्छ बउँडाइ-बोहरी-तुल्य ॥
(१५)
जलचर नभचर सबका सुन्दर लाखौँ थरी चाल ।
देखिन्छन् यहिँ हाम्रो जीवन-चङ्गाविषे सदाकाल ॥
(१६)
अक्काशिएर ज्यादा माथी जाँदा हराउने भय छ ।
तल गङ्गा-लहरीले लपक्क पार्ने बिछट्ट संशय छ ॥
(१७)
शीतल सरसर बहने बीच गगनको सफा हावा ।
जति पायो उति यसले खान्छ गजब चालले कावा ॥
(१८)
कहिलेदेखि उडेथ्यो ? अब उडने हो कति बेर ?
आखिर चङ्गा ठहर्यो चुँडिनालाई छ के बेर ?
(१९)
जति दिन यो उडने हो उति दिन उडन्यै छ बीचमा नअडी ।
तर त्यो देखिनुपरने अद्भुत चङ्गा उडाउने लहडी ॥
(२०)
जय जगदीश्वर ! देखेँ विश्वव्यापी प्रकाश त्यो खास ।
सूक्ष्म लटाईभित्र रहेछ प्रभुको निवास वा भास ॥