Jump to content

Lalitya bhag 1 ra 2/saraswati stuti

From Nepali Proofreaders
Revision as of 14:22, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Lalitya_bhag_1_ra_2.pdf" from=16 to=17 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
सरस्वती-स्मृति

(१)
मिहीँ प्राणै वीणा, मन मृदु नखी, कम्प कलना,
गरी लाखौँ झिक्ती स्वर-मधुरिमा स्मेरवदना ।
रसीलो फक्रेको हृदय-कमलै आसन गरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥

(२)
सफा वर्णाऽऽकार स्फटिकमय मालाकन धरी
जगत्मा तद्‌द्वारा व्यवहृति-कला शीतल गरी ।
सदा भर्दै हाम्रो हृदयबिच आलोक-लहरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥

(३)
सुनेको, देखेको, अनुभव गरेको जति कुरा
कुनै आधा मात्रातक पनि नछोडी सब पुरा ।
छपाई राखेको स्मृतिमय महापुस्तक धरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥

(४)
यही हाम्रो भित्री हृदयमय गम्भीर सरमा
डुबी उत्री खेल्दो, चपल, चटकी हंसवरमा ।
चढी लीला-साथै भुवनमहिमा जीवित गरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥

(५)
जगद्‌व्यापी मेरो अति मधुर यो जीवन-कला
बुझ्यो जस्ले उस्को कसरि भय अज्ञान रहला ।
भनी सामुन्नेमा वर अभय मुद्राकन धरी
बसेकी वाग्देवी क्षणभर नबिर्सूँ जुनिभरि ॥