Tarun tapasi/ashtadasha bishram
१
हँसिलो मुनिका मुहारको
फिर त्यो सुन्दर सूक्ति-हारको ।
छविमा मन रङ्गियो अति
पर भाग्यो अरु सम्झने गति ॥
२
ममात्रै हाँसेँ वा अरु पनि कुनै हास्यरसमा
डुबेका छन् ? भन्ने सरल हँसिलो तर्कवशमा ।
परी हेरेँ फेरी सबतिर हँसीलो मुख गरी
सबै हाँसे हाँसोमय भुवन भास्यो हरि ! हरि !!
३
विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली ।
उता हाँस्तै निस्क्यो गगनतल नीलो खितितिति
मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ?
४
कठै ! तेही रित्तो गगनतल सिंहासन गरी
नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी ।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥
५
तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी ।
यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरी
पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥
६
निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी ।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
निहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥
७
लबर्पांडे कालो तरुण रसिलो बादल पनि
तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी ।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी ॥
८
अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी
परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी ।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥
९
नगीचै त्यै मीठो ध्वनि जलदको साऽऽदर सुनी
लता-वृक्ष-द्वारा प्रणयवश रोमाऽऽञ्चित बनी ।
धरा फेरी हाँसिन्, कुसुम-रस वा सौरभ घना
थियो मानू सानू मधुर उनको हास्य-रचना ॥
१०
हवा चाहीँ बाठो चटकपटु जादूगर बनी
लुकी निक्कै हाँस्यो, मुसुमुसु हँसायो फुल पनि ।
छुट्यो घुम्टी, हाँसे मुदित मुख पारीकन दिशा
कुना लागी मस्के अलिकति लजायेर विदिशा ॥
११
मिहीँ सेतो दन्तद्युति तुहिनको दर्शित गरी
सबै हाँसे खोली मुखमय दरी उन्नत गरी ।
नदी, नाला, झर्ना सब मधुर खित्कामय थिये
तिनैले त्यो शोभा अझ डबल चर्को गरिदिये ॥
१२
जवानी उर्लेका हँसमुख ठिटीतुल्य सब ती
नदी, नाला, झर्ना लिइकन बडो चञ्चल गति ।
घुमी नाच्दै कुद्दै अभयसित थाले छिहिलिन
चले हाँस्तै हाँस्तै, जलधिसित भो मस्त मिलन ॥
१३
फिँजारी फैलाई प्रबल रसिला बाहु-लहरी
अँगाली जम्बै ती तरुण वयले मुग्ध नखरी ।
लडी खित्का छोडी जलधि पनि हाँस्यो हिलिलिली
खिँची उस्को पानी रवि-किरण हाँसे अझ बली ॥
१४
ठुला साना प्राणी, मनुज, पशु, पक्षी, कृमितक
सबै हाँसे, हाँस्यो समयगति खोलेर पलक ।
धमीलो भोगाऽऽशा सकलतिर हाँस्यो र सबको
हँसायो चौतर्फी क्षणिक सुख-सौन्दर्य भवको ॥
१५
चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा
खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा ।
पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी
जवानी झन् हाँस्यो मुसुमुसु 'म को हूँ चिन' भनी ॥
१६
जवानीका साथै प्रिय वर-बधूका हृदयको
खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको ।
हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्य-सुखको
कठै ! त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ?
१७
हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु
सबै हाँस्तै आये सुख-सयलका साधनहरू ।
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमि-तपाईं-हजुर-म
सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म' ॥
१८
ठुलो हाँ हाँ साथै विषय-ममतामा ढलिमली
गरी नाता हाँस्यो रगत-पसिनामा मिलिजुली ।
तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी
घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्ति-भुमरी ॥
१९
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी
बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी ।
तिनैको त्यै भित्री प्रणयरस वा तृप्ति-सुखमा
भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा ॥
२०
कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
कतै निल्नै गाह्रो मलिन मडुवा-फापर-पिठो ।
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति
घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥
२१
उता द्यौता हाँसे सब मनुजका पालक बनी
यता हाँसे दुःखी मनुज बिचरा बालक बनी ।
बिचैमा त्यो हाँस्यो जिनतिन कठै ! धर्म बिचरो
धकेल्दै उस्लाई हिलिलिलि गर्यो स्वार्थ छिचरो ॥
२२
अँठ्याई अर्काको सहज-सुख वा जीवन-विधि
सुखी हूँला भन्ने कटु समझले दूषित गिदी ।
जथाभावी हाँस्यो हिलिलिलि, कठै ! सत्य र नियाँ
कुना लागी हाँसे बनिकन बडो खिन्न बनियाँ ॥
२३
महत्त्वाकाङ्क्षाको प्रखर छवि हाँस्यो सकलको
प्रतिस्पर्धा हाँस्यो छल, कपटको बुद्धि-बलको ।
बडो झर्को लाग्दो रगडमय चर्को खलबली
झिकी हाकाहाकी रण-रहर हाँस्यो हिलिलिली ॥
२४
बली, बाठा, टाठा, कुटिल, कपटी जीवहरुको
चलाकीमा हाँस्यो भय, मरण वा बन्ध अरुको ।
खुँडा, भाला, बर्छा, परशु, खुकुरी, नेल, पिँजरा
सबै हाँसे, हाँस्यो हरकिसिमको कष्ट खतरा ॥
२५
बनी जाली पक्री प्रकृति-सुखको सुन्दर गला
पुँजी जम्बा गर्ने नियम अथवा सञ्चय-कला ।
मिहीँ खित्का छोडी गजबसित हाँस्यो मनुजमा
जबर्जस्ती हाँस्यो अझ डबल भै त्यो दनुजमा ॥
२६
जती भोगाऽऽशाको विकट मुख हाँस्यो खितिखिती
उती हाँस्तै निक्ले किन किन कडा कष्ट फजिती ।
यता हाँस्तै निक्ले विविध बढिया वैद्य र बुटी
उता हाँस्यो नङ्गा मरण-तिथि साथै भुटभुटी ॥
२७
हटाई पैसाले ग्रह, दिनदशा, व्याधि सकल
म भोगूँला धेरै विषय-सुख भै पुष्ट सबल ।
भनी लाल्चा गर्ने अबुझहरुको दर्पण सरी
जरा हाँस्यो पोती सबतिर सपेती शिरभरी ॥
२८
म खाऊँ मै लाऊँ, सुख, सयल वा मोज म गरूँ
म बाचूँ, मै नाचूँ, अरु सब मरून् दुर्बलहरू ।
भनी दाह्रा धस्ने अबुझ शठदेखी छक परी
चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ॥
२९
सबै मेरो मेरो भनिकन अघी जीवित छँदा
स्वयं हाँस्थ्यो हेरी जुन विभव वा दौलत सदा ।
पछी उस्को देखी क्षणिक मनको अन्तिम गति
उही हाँस्यो 'तेरो अब कति छ' भन्दै खितिखिति ॥
३०
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति ।
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ॥
३१
चिताको चौतर्फी करुण बिलनाको वश परी
छिनेको मोतीको लहर सरि आँशू बरबरी ।
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको
रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको ॥
३२
चितामा चित् खाई चटचट गरी देह-ममता
डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥
३३
दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥
३४
म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन
नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्द-जलधि ॥
३५
कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ
पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ ।
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
रहे रित्तै हाँसी अतुल परमाऽऽनन्द-मदमा ॥
३६
सकल तय गरेका दुःखको दीर्घ रस्ता
मुनिवर अलमस्ती दृष्टिको त्यो अवस्था ।
मसित सब बताई रोकियो टक्क फेरि
क्षणभर मुख मेरो स्नेहका साथ हेरी ॥