Jump to content

Tarun tapasi/shodash bishram

From Nepali Proofreaders
Revision as of 14:13, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Tarun_tapasi.pdf" from=106 to=111/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
षोडश विश्राम


मुनिबाट सुनेर त्यो सब
पसिनाको परिपाक-गौरव ।
कवि जाँगरिलो हुँदै गये
अमिरी जीवनमा घृणा लिये ॥


यहाँ यै चौकीमा कठिन तपको जीर्ण पगरी
गुती बस्ताबस्तै नियतिवश त्यो दृष्टि त्यसरी ।
पुग्यो माथी माथी, विधि-नियम हेर्‍यो, तल झर्‍यो
पर्‍यो अर्कै छाया, सकल धमिलो संशय मर्‍यो ॥


चलेथ्यो यो मेरो नयन जसरी त्यै किसिमले
जगत् सारा हेर्दै चरम गिरि-पारी रवि चले ।
रह्यो केही वेला तुहिनगिरिका उच्च शिरमा
उपर्ना झैँ रातो दिवसकरको कान्ति-गरिमा ॥


चरा, गाई, ग्वाला, कृषकहरु साऽऽनन्द सुरमा
सबै फर्के, लर्क्यो भुवनभर अर्कै मधुरिमा ।
निशाले तत्कालै तल तल तमोरूप कबरी
लतारी ताराका कुसुमकलि उन्दै शिरभरी ॥


नवीना त्यो श्यामा सरस ललिताऽऽकार रजनी
सबैमाथी गर्थी प्रणयसुखको पूर्ण पजनी ।
तमासा त्यो देखी उदयगिरि हाँस्यो अलि अलि
फुक्यो जस्ले गर्दा विषय-सुखको मञ्जुल कलि ॥


समेटी बिस्तारै मृदुल करले चारु कबरी
निशालाई मानू प्रणयवश आलिङ्गन गरी ।
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल ॥


पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
भयेँ राम्री गोरी अब त म भनी गद्‌गद बनी ।
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्ग-सुखको ॥


बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको ।
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी ॥


प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति ।
सरेको हो यद्वा प्रणय-सुखको सम्मिलनमा
परेको हो छाया निविड कबरीको वदनमा ॥

१०
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्य-कलश ।
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
म थालेँ वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु ॥

११
पगालेको चाँदीमय किरणमाला टललल
जटामा बग्नाले अमृत-रस छर्दै सललल ।
हुँदै जान्थ्यो मेरो स्तुति-वचनमा गद्‌गद गला
म भन्थेँ साठी होस् अमृत-करको शीतल कला ॥

१२
त्रियामा त्यो श्यामा अमृत-करका दिव्य करमा
बनी धन्या मान्या प्रमद-जननी विश्वभरमा ।
नराम्री होस् कन्या तर वर गुणी लायक भये
हुनासाथै पाणि-ग्रहण, उसका दुर्दिन गये ॥

१३
थिये साना साना किरण-कणिका जो गगनमा
बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा ।
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
गराये संसारै अमृतकरले नै झिलिमिली ॥

१४
चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
धराको छातीमा अमृतमय माधुर्य भरियो ।
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
प्रजा अन्धो दुःखी कसरि रहला शान्ति-सुखमा ?

१५
ठुलाको सानाको रतिभर कुनै भेद नगरी
स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी ।
उदायेको देख्दा अमृतकर नीलो गगनमा
घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा ॥

१६
बिचैमा लर्केको रजत-घट देखी तरतरी
चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी ।
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपल
चकोर-श्रेणीले जुन सब गर्‍यो पूर्ण सफल ॥

१७
जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
नुहाई वा थापी शिर, अटल भै कत्ति नचली ।
भिजायेँ बिस्तारै मगज, बहुतै शीतल भयेँ
पछी सुस्तै फेरी नयनयुग माथीतिर दियेँ ॥

१८
विवेकी नेताको नगिच दुनियाँको मन सरी
पुग्यो फेरी आँखा अमृतकरमा खायस धरी ।
वहाँ हेर्दाहेर्दै हृदय-दहमा लाखन थरी
उठे उत्प्रेक्षाका अति सरल सङ्कल्प-लहरी ॥

१९
बसी स्वर्गङ्गाको निकट सुरकन्या सब मिली
सफा तेही डल्लो अमृत-करका साबुन दली ।
चुहाई चौतर्फी अमृत-रसधारा तरतरी
नजाने धुन्थे कि प्रणयसित फोयेर कबरी ?

२०
जलक्रीडा गर्दा अमर कुँवरीले नगिचमा
फराकीलो नीलो गगनमय चट्टानबिचमा ।
फुकाली राखेका सब चहकिला भूषण सरी
थिये झिल्के तारा उस बखत सारा वरिपरि ॥

२१
स्वयं गोता मारी अमर-तटिनीमा दिनभरी
किनारामा उत्री किरण-फुहरामा जल भरी ।
पखाल्थे वा मैलो गगन विधुले नत्र कसरी
बहन्थ्यो चौतर्फी अमृतमय त्यो शीतल झरी ?

२२
बनायो कस्ले त्यो रजत-घट ? पीयूष उसमा
भर्‍यो कस्ले ? पोत्यो कुन सकसले दिव्य सुषमा ?
कहाँ देखी निस्क्यो ? उपर उपरै चल्छ कसरी ?
कहाँ पुग्ने होला ? गगनपथको मङ्गल गरी ॥

२३
अघी मात्रै नीलो जुन गहन विस्तीर्ण पथमा
थिये त्यस्तो चर्को दिनमणि निरालम्ब रथमा ।
अहो ! त्यै बाटोमा अमृत चुहुँदो शीतल शशी
चलेका छन् ऐले भुवनभर गोरोचन घसी ॥

२४
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजन-विधि
अहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ?

२५
अहो ! पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो ॥

२६
यती गम्दागम्दै बहुत छिपियो नीरव निशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृत-रसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥

२७
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेँछू चुर्लुम्मै हृदय-दहमा गद्‌गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलि
मुटूले भेट्टायो गगन-गुरुको रूप सकली ॥

२८
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँ
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयेँ ।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?

२९
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायेँ चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥

३०
न ता देखेँ पर्दा दिवस-रजनीको नगिचमा
न ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा ।
न भास्यो आकाशै, न फिर अवकाशै अलिकति
अहा ! कस्तो कस्तो अति अगम त्यो व्यापक चिति ॥

३१
म त्यो वेला फेरी गुरुचरण सम्झीकन झुकेँ
झुकेँ माने सृष्टि-स्थिति-नियम भन्दा पर लुकेँ ।
कसो भो ? के के भो ? फगत म थियेँ गद्‌गद अति
अहो ! मैले मेरै उस बखतको सम्झिनँ गति ॥

३२
खुशिसँग सब यस्तो शान्ति-पीयूष-वृष्टि
श्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि ।
मुनिवर चुप लागे पूर्ण आनन्दसाथ
भुलन शकिनँ मैले भाग्यको त्यो प्रभात ॥