Tarun tapasi/trayodasha bishram
१
पिउँदै रसिलो सुधा सरी
मुनिको भावुक भाव-माधुरी ।
कवि दङ्ग थिये पला पला
फिर सुस्तै मुनिको खुल्यो गला ॥
२
पर्यो मैलो छाया किन किन उदासीन मनमा
म टोलायेँ ज्यादा उस जुनकिरीको निधनमा ।
बित्यो सुस्तै सुस्तै समय, बटुवाको फिर उही
फुक्यो याताऽऽयात-क्रम विषय वा जीवन-बही ॥
३
परैदेखी हेर्दै प्रणयसित मेरो मधुरिमा
फराकीलो छाया-जडित उस चौकी-उपरमा ।
ठुला साना लाखौँथरि पथिक थाले बटुलिन
बन्यो मानू चौकी थकित सबको शान्ति-सदन ॥
४
झरी, वर्षा, वर्षोपल विकट शीताऽऽतप, हुरी
खनिन्थ्यो, वर्षन्थ्यो सब फगत मेरै शिरभरी ।
लिई आडा मेरो पथिक पथको सङ्कट छली
सुबिस्ताई लाखौँ किसिमसित गर्थे खलबली ॥
५
गुणी, ज्ञानी, ग्वाला, कुषक, भिखमङ्गा, लखपति
विलासी वैरागी प्रभृति, बहुरङ्गी पथिक ती ।
त्यहाँ जो जो बस्थे विविध तिनको भाव-लहरी
म देख्थेँ, फन्कन्थे हृदय-दहमा तर्क-भुमरी ॥
६
कुनै द्यौता जस्ता सुघर, सुकिला बाहिर भने
कलेजामा हेर्दा मलिन फुहरी हेर्न नहुने ।
कुनै काला, मैला, मलिन, फुहरी बाहिर भने
मुटू छामी हेर्दा हृदय सहसा गद्गद हुने ॥
७
हजारौँ के ! लाखौँ पथिकहरुमा भित्र सुकिला
थिये यौटा दोटा, अरु सकल काला र कुचिला ।
कठै ! रुञ्चे दुःखी हृदय सबको लाखन थरी
दुराशाले गर्दा गरम ऋतुको चातक सरी ॥
८
कसैलाई कोही न अनुभव विश्रान्ति-सुखको
कसैको देखिन्थ्यो न त चहकिलो कान्ति मुखको ।
जता हेर्यो तृष्णामय विकट 'कालाज्वर' उठी
डढेको छातीमा हरबखत कालो भुटभुटी ॥
९
बिसायौँ भन्दैछन् सकल, तर विश्रान्ति तनको
थियो खाली घुम्थ्यो डबल गतिले चक्र मनको ।
कठै ! त्यस्ले गर्दा निमिषभरमा ती जुरुजुरु
उठी चल्थे, लाग्थे सब दश दिशामा लुरुलुरु ॥
१०
कुनै बाङ्गो पारी शिर, कमर बाङ्गो गरि कुनै
कुनै खुट्टा बाङ्गो गरि, नजर बाङ्गो गरि कुनै ।
उठी बाटो लागे, अरु पथिक आये फिर बसे
नउठ्दै ती अर्कै झटपट पुगे आसन कसे ॥
११
रही एवंरीत्या अटल उस चौकीबिच खडा
सबै याताऽऽयात-क्रम-विषयको दीर्घ रगडा ।
जती हेर्दै जान्थेँ पथिकजनको आखिर उति
मलाई झल्कन्थ्यो उस मनुजताको अवनति ॥
१२
कसैको आँखाले उदरसित भन्थ्यो-जुनिभरी
झुकी तेरा निम्ती विकट पथ नापूँ म कसरी ?
कसैको त्यै आँखासित उदर भन्थ्यो- अति भयो
तँ लोभीले गर्दा हल न चल मेरो गति भयो ॥
१३
कसैको टोपीको मल-मलिन घेरो छ शिरमा
ठुटे, चिल्थो भोटो फगत पसिना-पूर्ण हरमा ।
कहन्थ्यो नाम्लाले जड मगजको हूँ म पगरी
निचोर्दै छू तेरो समझ अथवा ज्ञान-गठरी ॥
१४
कुनै कालो तृष्णा-जलधिबिच घाँटीतक डुबी
लिऊँ यै चोलामा धनधवल कौवेर पदवी ।
भनी कौडी कौडीउपर मुटुका रक्त-कणिका
झुकायेका देखे दिवस-विधु जस्तै अति फिका ॥
१५
अनौ वा कोदालो परशुहरु पक्री जुनिभरी
उठेका ठेलाले कठिन बिचरा पत्थर सरी ।
कसैका हत्केला मधुर मुहुनीदार मुहर
छुनासाथै भुल्थे सकल जुनिका कष्ट कहर ॥
१६
नछोयेका ढुङ्गा प्रभृति अरु खस्रो चिज जति
कसैका हत्केला कमल-दल झैँ कोमल अति ।
बडो बाधा मान्थे मुहर, रुपियाँ छन्छन गनी
उनै भारीबोका गरिबकन ज्याला दिन पनि ॥
१७
कडा अड्बे-खड्बे बगर, कँटिलो जङ्गल-तटी
उकालो, ओह्रालो हिँडिकन फुटेका पटपटी ।
कसैका पैताला समझ नभयेको पशु जुनी
भलो भन्थे, गर्थे कठिन खुरको खूब सह्रनी ॥
१८
जुता, मोजा यद्वा कठिनतम दोचा जुनिभरी
उनी गुम्स्यायेका क्षणभर धरा-स्पर्श नगरी ।
कसैका पैताला गरम पसिनाले लपलपी
भिजी रुन्थे, जल्थे मनुज-मतिदेखी धपधपी ॥
१९
कसैका कन्थाको विकट बदबूले हरघडी
झुकी बस्नूपर्थ्यो जिनतिन दुवै नाक पकडी ।
कसैले पैह्रेका तरल खुसबूको महकमा
हवा पौडी खेल्थ्यो पल पल खुशीको बहकमा ॥
२०
डँडाल्नाको बाङ्गो धनुष, फिर ताँदो खकनको
घना सुस्केरा नै अनवरत टङ्कार धनुको ।
बडो भुत्ते बोधो श्रम शर गरी दीन भरिया
शिकारी भै मार्थे जिनतिन कठै ! भोक-चिडिया ॥
२१
कुनै छाता ओढी अकडसित ताम्दानबिचमा
बसी पुग्नासाथै सरस उस चौकी-नगिचमा ।
कहन्थे डोले हो ! नभन 'अब बस्छौँ, गरम भो'
मलाई त्यो सुन्दा उस मनुजतामा शरम भो ॥
२२
झिकी बासी सत्तू जठर-हरिको पूजन गरूँ
भनी लागे कोही तर पवन आयो हुरुरुरु ।
धुलो वैर्यो उस्मा, निमिषभरमा त्यो पनि उड्यो
मलाई मायाले मुटुकन समातेर जकड्यो ॥
२३
कुनै थुप्रो खानाउपर पनि खाना थपि थपी
चुसी चाटी टोकी चिजबिज अनेकौँ लपलपी ।
डकारी खै मेरो मधुर हजमी पाचक भनी
शिशी बट्टा खोजी गजबसित लड्थे कनिकनी ॥
२४
कुनै फुस्रा धुस्रा चुटुचुटु जगल्टा र जुटिका
फुटाई पल्टाई चपलगति दुर्भाग्य-गुटिका ।
टिपी राखी ढुङ्गाउपर सब फोर्थे पटपटी
मलाई त्यो देख्दा हृदयबिच हुन्थ्यो छटपटी ॥
२५
तलासेका चिल्ला महक उडने बालहरुमा
कसैको दौडन्थ्यो मन मुदित गर्ने मधुरिमा ।
खरानीले गर्दा शिव शिव !! कसैको शिरभरी
सुना-झाँक्रीको झैँ चमक चमकन्थ्यो सुनहरी ॥
२६
यताको यो चिल्लो छवि फिर उताको सुनहरी
प्रभा दोटै भिन्नै किसिमसित भिन्नै पथ गरी ।
उनै फुस्रा धुस्रा कृषकहरुका मध्य शिरमा
मडारिन्थ्यो, खेल्थ्यो घुमि घुमि बडो मस्त सुरमा ॥
२७
धराको छातीमा तपतप चुहेका अति घना
टिपी मोती जस्ता श्रम-जलधिका दिव्य पसिना ।
कुनै उन्थे माला जनमभर सौभाग्य-सुखको
कुनै भन्थे खोस्यो किन कपटले गाँस मुखको ?
२८
झुटा साँचा लाखौँ विधिसित सबैमाथि सबको
खिचातानी चल्दा फगत पसिनाको विभवको ।
अशान्ति-ज्वालाको घर घर थियो नित्य नचरी
सबैमा दौडन्थ्यो शठ जठर भर्ने थरहरी ॥
२९
सबै लोभी, लाल्ची, हृदय सबको शुष्क बगर
सबैको अर्कैमा गरम पसिनामाथि रहर ।
कुनै त्यो सन्तोषी पुरुष कहिल्यै भेट्न शकिनँ
नचाहोस् जो ताता मधुर पसिना चप्प पिउन ॥
३०
जती जस्ले जान्यो गरम पसिना टिप्न अरुका
उती उस्को देखेँ वजन अथवा मान गह्रुका ।
जती जस्ले पोख्यो गरम पसिना भूमितलमा
उती उस्को देखेँ वजन हलुका मर्त्यकुलमा ॥
३१
मुठी, मानू, पाथी गरम पसिना जोसित जति
जुट्यो उस्को झन् झन् डबल दिलको लालच अति ।
कठै ! त्यस्तो बढ्दो विकट सुरसाको वश परी
सुखी हुन्थ्यो अन्धो मनुज कसरी त्यो हरि ! हरि !!
३२
क्रमसित उस चौकी-मध्य विश्रान्तिकारी
थरि थरि बटुवाको चित्र थोरै उतारी ।
मुनिवर फिर आफू भैगये सुस्त सुस्त
अचल अति उज्यालो चित्र जस्तै दुरुस्त ॥