Jump to content

Tarun tapasi/dwadasha bishram

From Nepali Proofreaders
Revision as of 14:12, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Tarun_tapasi.pdf" from=81 to=85/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
द्वादश विश्राम


कविजी प्रिय शिष्य झैँ बनी
कर जोडेर सबै कुरा सुनी ।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन ॥


धमीलो त्यै पैसा-विषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा ।
खडा भो वर्षाको समय, फिर त्यो कृष्ण-रजनी
अँध्यारो औँसीको, घन-पटलले गुम्फित पनि ॥


न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तम-जलधिमा गैकन पस्यो ।
मसीमा चोबिन् वा प्रकृति-जननीले गगन यो
बिलायो वैषम्य-स्थिति, सकल एकाम्मय भयो ॥


दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थेँ वा खेल्थेँ हृदयगत अन्तर्जगतमा ।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखेँ किरण-कणिकाको पिलिपिली ॥


तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमा
पर्‍यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायेँ चटुलगति सानू जुनकिरी ॥


झिँगा जस्तो सानू तर अति कडा साहस धरी
फुकाई आशाको झलकमय आलोक-गठरी ।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
भयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥


प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ?
सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ?
कहाँ त्यो विद्युत्‌को चहक ? फिर तारा ग्रह कहाँ ?
कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ?


पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिली
नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली ।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
हजारौँ देखायो चटकमय लीला हरि ! हरि !!


घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर ।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकन
बलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥

१०
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
निदायेको साह्रै कठिन डरलाग्दो समयमा ।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥

११
थियो त्यो वेलाको जलधिमय कालो तम घना
सिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना ।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
न जाने दौडन्थ्यो कुन तट निहारी ? हरि हरि !!

१२
जती उस्ले चिर्थ्यो चरचर तमोराशि बिचमा
उती जुट्थ्यो रेखा नपरिकन सारा निमिषमा ।
तमासा त्यो देख्दा हृदयबिच लागी कुतकुती
भनेँ मर्मस्पर्शी वचन उसलाई अलिकति ॥

१३
तँ सानै छस् बाबू ! तर तँसित आलोक-कणिका
हुनाले क्यै भित्री दिल सकल पारीकन फुका ।
दिँदैछस् धक्का त्यो अभयसित दुर्भेद्य तममा
म सम्झन्छू तेरो सफल जुनिको त्यो मधुरिमा ॥

१४
हजारौँ तैँ जस्ता पुरुषहरु पैले पिलिपिली
गरी बढ्दाबढ्दै भुवन सब पारी झिलिमिली ।
गये वा जाँदैछन् तँ पनि तिनि झैँ कत्ति नडरी
अगाडी बढ्दै जा मलिन तम त्यो भेदन गरी ॥

१५
तँ सानू, त्यो सानू किरण-कण, सानू गतिविधि
कठै ! त्यो झन् सानू, निविड तम-विच्छेदन-विधि ।
सबै यो देख्दैछू तदपि मनले भन्छ नडरा
जती शक्छस् कालो गगनपथ आलोकित गरा ॥

१६
न देखिन्छन् ऐले दिनमणि, न तारा, ग्रह, शशी
न आँखाले भेट्छन् चपल-बिजुली दर्शन-खुशी ।
अहा ! त्यो मौकामा पिलिपिलि तँ गर्छस् जतिजति
तँमाथी वर्षन्छन् प्रणय-फुल मेरा उतिउति ॥

१७
न त्यो तेरो तातो छवि छ रविको झैँ अति कडा
न त्यस्मा क्यै देख्छू तुहिनकरको शीत-बखडा ।
अनौठाको, सानू तर मधुर आलोक-गठरी
म हेर्दैछू तेरो पलक नलगाई छक परी ॥

१८
फुका बाबू ! भित्री किरण-गठरी त्यो सब फुका
फिँजा त्यो चौतर्फी गगनपथमा, कत्ति नलुका ।
धुँदै जा, चिर्दै जा निविड तम, त्यो गर् सब धुजा
हटा मैलो पर्दा, विजय-सुखको दुन्दुभि बजा ॥

१९
कुनै गर्जोस् कालो घन घन-घटा, कत्ति नडरेस्
कुनै धक्का मारोस् पवन, तल लत्रेर नझरेस् ।
स्वयं दल्दै मल्दै कठिन पिर-बाधा सब भगा
अली चर्को पारी मधुर छविको दीपक जगा ॥

२०
खुलायिस् यो मेरो नयन जुन आलोक-लवले
म भन्छू त्यै पाओस् झलक दुनियाँमात्र सबले ।
सबै आँखा खोलून् समय नगुमाऊन् मुफतमा
तँ झैँ बढ्दै जाऊन् अनवरत कर्तव्य-पथमा ॥

२१
उदाऊन् अस्ताऊन् हरबखत तारा, रवि, शशी
दगुर्छन् बोक्रैमा अबुझ दुनियाँ भित्र नपसी ।
प्रभा पर्दो हो ता अलिकति पनी भित्र तिनको
सबैको धोयिन्थ्यो अति मलिन दुर्भाव मनको ॥

२२
प्रभाको साथैमा मधुर मुहुनीदार सुर ली
तँ फुक्तै जा भित्री श्रवण-बिच चैतन्य-मुरली ।
सदा अन्धो पारी गहन तमले विश्व ननिलोस्
म भन्छू यस्लाई अमृत पिउने औसर मिलोस् ॥

२३
अँध्यारैमा जन्म्यो जुनिभर अँध्यारो पथ गरी
अँध्यारैमा हुर्क्यो, पछि पनि अँध्यारो पथ धरी ।
परी अन्धो बैह्रो अबुझ दुनियाँ अन्ध विधिमा
डुबेको देख्दैछू जुग जुग अँध्यारो जलधिमा ॥

२४
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि ! हरि !!

२५
कठै ! कस्ता कस्ता पुरुषहरु लाखौँ चहकिला
नजान्नाले भित्री गहन तमको भेदन-कला ।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥

२६
म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी ।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैँ सम्झी त्यो तर कति पलाको पिलिपिली ?

२७
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी ।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवन-कला
गर्‍यो उस्ले मेरै शिरबिच कठै ! दीर्घ सुकला ॥

२८
यति भनि तपसीले सूक्ति-निस्यन्द थामे
कर-कमल उठाई आफनै माथ छामे ।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥