Jump to content

Tarun tapasi/ekadasha bishram

From Nepali Proofreaders
Revision as of 14:12, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Tarun_tapasi.pdf" from=74 to=80/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
एकादश विश्राम


भरिलो मुख-चन्द्र-माधुरी
धमिल्याई उस तर्कले गरी ।
अलि बेर चुपै रहे मुनि
पछि निस्क्यो अनि शीतल ध्वनि ॥


कठै ! यस्तै यस्ता हृदय-दहमा तर्क-लहरी
चलेकै वेलामा मनुजहरु आई थरिथरी ।
लुछे, लाछे, तोडे भरसक सबै लर्कन जति
नराखी त्यो मेरो मधुर पगरीको छतिपति ॥


झटारो वा साटो, लगुड, झिँगटी, पत्थर, छडी
ममा जो वर्षाये अबुझ बटुवाले उस घडी ।
त्यसैले गर्दा त्यो निरुपम जटामण्डल पनि
बनी-हाल्यो मेरो सकल चकनाचूर छुकुनी ॥


कुनै ती हल्लन्थे शिर सब थिची झ्याँकुसि गरी
कुनै हान्थे, तान्थे, कर-किशलय-च्छेदन गरी ।
कसैले मर्काये भरसक निमोठी परपरी
बिपत्ता भैहाल्यो प्रकृति-करुणा-प्राप्त पगरी ॥


म त्यो चौरस्तामा जुन थकित लाखौँ पथिकको
सदा माला फेर्थें परम हित वा शान्ति-सुखको ।
उनैको देख्दा मैउपर सब त्यो बन्दरपना
अली क्यै मैलो भो कठिन तपको सिद्धि-सपना ॥


लुछेको, लाछेको शिर, सकल काया थिलथिलो
थियो त्यो पिट्टाले, नयन-युगको कान्ति धमिलो ।
उदेकायेँ, हाँसेँ मनुज-जुनिको त्यो पतनमा
पर्‍यो कालो रेखा अलिकति उदासीन मनमा ॥


स्वयं निःस्वार्थी भै विपद अरुकै निम्ति सहने
तपस्वी-चोलाको विधि-नियम हो शान्त रहने ।
यही सम्झी मैले अति कठिन त्यो पीडन सहेँ
बुझी दैवी लीला सब, बिलखमन्नै परिरहेँ ॥


कठै ! भोलीपल्टै झटपट उनै मानिस सब
भरी डोका-डालाउपर सब त्यै भोज्य-विभव ।
त्यहीँ आये, थुप्रा क्रमसित लगाये वरिपरि
बसे बाटो हेरी फगत रखवारीकन गरी ॥


स्वयं खाना खाने रुचि छ, तर त्यो रोकि त्यसरी
फिँजारी त्यो सारा पथिकहरु डाकी घरिघरी ।
गला फारी फारी सब कहन थाले 'किन, किन'
कुनै माने मैले डबल 'किन'को जान्न शकिनँ ॥

१०
मगन्ते भोका वा अबुझ बिचरा बालकहरू
मलाई द्यौ भन्दै जब अघि सरेथे सुरुसुरु ।
अनी हा हा भैगो, सब कहन थाले 'पर पर'
विना पैसा दिन्नौँ मुफत किन गर्छौ करकर ?

११
सफा सेता-राता कमरबिच ताता गरि गरी
दबायेका चक्की जतनसित झिक्तै अघि सरी ।
दिनेले त्यो पाये, दिन-लिन नशक्ने जनहरू
चले पैसा छैनन्, भनि मन बुझाई लुरुलुरु ॥

१२
लिई चक्की त्यस्तो किसिमसित मुट्ठी भर भर
दिई खाना जम्बै जब जब गयेथे घर घर ।
अनी सम्झेँ मैले डबल 'किन'को अर्थ गहिरो
चल्यो जस्ले गर्दा मगजबिचमा गर्र पहिरो ॥

१३
अहो ! पैसा भन्ने कठिन मुहुनीदार चिज त्यो
कहाँ कैले निस्क्यो ? कसरि दुनियाँको मन जित्यो ?
कठै ! जस्को लागी अमृतमय त्यस्ता फल पनि
शुकी भोकै आफू, अरुकन दिये 'लौ किन' भनी ॥

१४
न टोक्ता टोकिन्छन्, न त छ रस वा स्वाद तिनमा
न ता दिन्छन् प्रज्ञा-बल, न त कुनै शान्ति मनमा ।
न जाडो हर्छन् ती, न त उदर भर्छन् अलिकति
कठै ! त्यस्तो श्रद्धासित किन बटुल्छन् बिनसिति ॥

१५
बिकम्बा पैसामा श्रम र गुणको गौरव भरी
अहो ! त्यस्तो कालो विनिमय-कला सिर्जन गरी ।
खिचातानी गर्दै फगत पसिनाको पल पल
हरे ! अन्धो लोभी मनुज धसिँदै गो तल तल ॥

१६
चमत्कारी प्रज्ञा-बलतिर कुनै ख्याल नगरी
कसी त्यस्तो पैसाउपर ममता-ग्रन्थि त्यसरी ।
कहाँ पुग्नेहोला अबुझ जडवादी मनुज यो ?
कठै ! यस्को भित्री नयन किन तेसै धमिलियो ?

१७
क्षमा, मैत्री, माया, प्रणय, करुणा, शान्ति, शुचिता
सबै स्वाहा पारी पल पल बढाई विषमता ।
पियारो यै पैसा अति कठिन हालाहलमय
बनी संसारैको पछि सहज गर्ला कि विलय ?

१८
जगत्‌मा पैसाले विनिमय-कला खूब सजिलो
भयो भन्दै होला मनुज, तर त्यो छैन सजिलो ।
त्यसैले गर्दामा हरकिसिमका सङ्कट कडा
खडा हुन्छन् यद्वा जुग जुग ठुला झेल-बखडा ॥

१९
नशा जस्तै गाँजा, चरस, अहिफेनाऽऽदि चिजको
विवेक-ज्योत्स्ना वा मधुर छवि छोप्ने मगजको ।
विषालू पैसाले सकल दुनियाँ पागल सरी
बनाई पार्ने भो नरकमय पृथ्वी, हरि ! हरि !!

२०
जसै यो पैसाको नयन-युगमा जम्दछ फुलो
अनी यस्तो राम्रो सकल जगतै हुन्छ धमिलो ।
नमिल्दा क्यै पत्ता वरपर कुनै गम्य पथको
पछारिन्छन् सारा मनुज पिर भोग्दै मुफतको ॥

२१
अँध्यारा पैसाको जति जति बढ्यो सञ्चय-कला
जगत्‌मा निर्धाको उति उति कठै ! शुक्दछ गला ।
बिकून् छोराछोरी, स्वयमपि बनोस् दास बिचरो
कठै ! कल्ले देख्ने उस अबुझको दर्द गहिरो ?

२२
विधाताले कैले ? किन ? कसरि ? कस्तो कुदिनमा ?
विषालू पैसाको अभिरुचि वृथा मर्त्य-मनमा ।
भर्‍यो होला कोलाहल कलहको जागृति गरी
बन्यो जस्ले गर्दा मनुज बिचरो दानव सरी ॥

२३
बिरामी लोभिन्छन् कुमतिवश जस्तो कुपथमा
दुरुस्तै त्यै ढाँचासित मनुज ती भ्रान्ति-पथमा ।
भुलेको देख्नाले हरबखत पैसाकन जपी
कठै ! आँशू मेरा पनि चुहुन थाले तपतपी ॥

२४
मुटूमा पैसाको प्रबल मुहुनी-मन्त्र ननिको
गड्यो जस्को, उस्को सनक अति सन्कन्छ मनको ।
न ता दायाँ-बायाँ, न तलतिर त्यो हेर्दछ रति
कठै ! त्यो के देख्थ्यो उस कलुषको दुष्परिणति ?

२५
कुनै भोका शोकाऽऽकुल विकल काकाकुल सरी
कुनै पोकै-पोका लिइ सयल गर्ने जुनिभरी ।
अहो ! कत्रो पैसा-जनित जनमा यो विषमता ?
यसैमा टिक्ला के जुग जुग कठै ! यो मनुजता ?

२६
बली, बाठा, टाठा, मनुजहरु चातुर्य-दहमा
जमाई अर्काका गरम पसिना भित्रि तहमा ।
डुबी गोता लिन्छन् अबुझहरु गोताकन खपी
क्षुधाको ज्वालामा जनमभर जल्छन् धपधपी ॥

२७
अँध्यारा पैसाको अति जटिल जालोबिच परी
झिँगा झैँ संसारी मनुज बिचरा भुन्‌भुन गरी ।
मडारिन्छन्, रुन्छन् हरसमय गर्छन् छटपटी
कठै ! के फुत्कन्थे तर सब तिनी प्राण नछुटी ?

२८
विषालू पैसाको विकट बढदो व्याधि सरुवा
छिटो सर्दासर्दै भुवनभर सल्कन्छ मरुवा ।
बगैँचा ब्रह्माको सब सहज खङ्गार नगरी
कठै ! तेसै जाला कठिनतम यो व्याधि कसरी ?

२९
कडा जोशी, दोषी, तमक, हठ वा गर्व-गुरुता
अहन्ताको आडम्बर, भडकिलो, दम्भ, कटुता ।
सबै हो यै पैसामय जहरको ग्याँस ननिको
हर्‍यो जस्ले सारै सकल सहसा मर्त्य-जुनिको ॥

३०
सदा यै पैसाले कठिन हिमले पङ्कज सरी
थिची दैवी सम्पद् गुण-मधुरिमा सोत्तर गरी ।
लतारेको देख्दा अब भुवन भो सङ्कटमय
भनी बाधा मानी हरबखत यो रुन्छ हृदय ॥

३१
भनून् अन्धा लोभी मनुजहरु पैसाकन धन
म सम्झन्छू शा(सा)पै कुटिल विधिको त्यो सनिधन ।
कठै ! जस्का लागी अबुझ दुनियाँ लाखन थरी
विपद् भोगी झुक्छन् हल न चल भै जीवनभरी ॥

३२
इनै पैसा उम्ली तमकसित शस्त्राऽस्त्रहरुको
झिकी तीखो जिभ्रो जुग जुग कठै ! जीवहरुको ।
गला काटी तातो रगतकन चाटी लपलपी
अकालैमा कालाऽनल विकट फुक्छन् धपधपी ॥

३३
कडा गोला गोली हरकिसिमको बाफ, बिजुली
बनी मैला पैसा मनुजभर पारी खलबली ।
उडेका छन्, बाठा मनुजहरु देख्छन् झिलिमिली
सडेका छन् लाटा जन सब शुकी जीवन-कलि ॥

३४
कठै ! बाठो-टाठो अमर प्रतिभाको निधि सरी
चमत्कारी प्रज्ञा-प्रबल नरको जाति यसरी ।
नडूबे पैसाको मलिन ममता-रूप विषमा
चिरञ्जीवी बन्थ्यो, अभयपद लिन्थ्यो निमिषमा ॥

३५
क्षमा, लज्जा, मैत्री प्रभृति गुणको आसन कसी
उसैमाथी आफू अति भडकिलो भैकन बसी ।
जगत्‌मा पैसाले हरतरहका दुर्गुण जति
नचायेको देख्दा हृदय सब भो घायल अति ॥

३६
क्रमसित सब यस्तो तुच्छ पैसा-प्रधान
मनुज-चरितलाई दुःखको नै निधान ।
कहिकन तपसीले नेत्र चिम्ले तुरुन्त
हृदयबिच उदायो दिव्य अर्कै वसन्त ॥