Jump to content

Tarun tapasi/dasham bishram

From Nepali Proofreaders
Revision as of 14:12, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Tarun_tapasi.pdf" from=66 to=73/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
दशम विश्राम


क्षणमात्र रह्यो र त्यो घना
मुनिको मौन समाधि-भावना ।
अमृत-द्रव झैँ बनीकन
बहँदै गो फिर कर्ण-पावन ॥


जगत्‌मा सल्केको निलिकन सबै मानवपना
असन्तोषी दोषी अति विकट त्यो दानवपना ।
तिखो काँढो जस्तै बनि उनिन आयो र उरमा
रुँदै बाधा पोखेँ प्रकृति-जननीका पयरमा ॥


हुँदोहो ता खाना फल फुल तथा खाद्य मसित
म दिन्थेँ त्यो सारा अतिथिजनलाई खुशिसित ।
दिने त्यस्तो केही मसित नहुँदा आज सकल
भयो चौबाटाको जनम तप वा वास विफल ॥


कि ता माता ! मेरो सदय मन यो मन्द गरिद्यौ
कि ता याताऽऽयातै पथिकजनको बन्द गरिद्यौ ।
विपद् बाधा भोका अतिथिजनको हेर्न-सहन
नशक्नाले सल्क्यो जननि ! मनमा शोक-दहन ॥


नपाई खाना क्यै उदर-गत रुद्राऽनल बली
जलेको देख्दा त्यो गरिबजनको जीवन-कलि ।
जबर्जस्ती मेरो पनि सब जलेको छ हृदय
त्यसैले यो गर्छू जननि ! पदमा विन्ति-विनय ॥


उठोस् आँधी-ब्यारी लिइ विकट विध्वंस विभव
फुटोस् वज्रद्वारा पटपट गरी मस्तक सब ।
जुटोस् चर्को कोलाहल-रव, छुटोस् प्राण-पवन
म त्यो मेरो बाधा सहन शकुँला, यो त शकिनँ ॥


नशक्नाले भोको अतिथिजनको गर्न कदर
वृथा भैगो, गैगो जननि ! जुनि मेरो, जनि गर ।
खुला देख्छू तिम्रो अति अगम भण्डार, उसमा
कमी केको होला ? किन मकन पार्‍यौ सकसमा ?


पुकारा यो सारा विकल बटुवा-खातिर गरी
झकायेँ चिन्तामा, अलि दिन भयेँ मूर्छित सरी ।
बिलौना माताले पनि सदयतासाथ सुनिछन्
ममाथी चौतर्फी फल र फुलका हार उनिछन् ॥


म ब्यूँझेँ, भेट्टायेँ चटकमय त्यो खाद्य खचित
भयेँ त्यस्ले गर्दा अलि दिन त आश्चर्य-चकित ।
स्वयं शोचेँ फेरी खुशिसँग हँसीलो मुख गरी
अहो ! कस्तो लीला ? प्रकृति-जननीको हरि ! हरि !!

१०
अहो ! त्यो तन्द्रामा कसरि जननीले कुन घरी
गुतायिन् त्यो लम्बा फल र फुलको मञ्जु पगरी ?
भनी छामेँ, थामेँ लचक ललिताऽऽकार उसको
बग्यो मानू मेरो खलखल कुलो तृप्ति-रसको ॥

११
मलाई जो त्यस्तो कठिन तपको त्यो फल मिल्यो
त्यसैले नै मानू जनमभरको सङ्कट निल्यो ।
थियो त्यो बेगिन्ती, तदपि सब गिन्ती गरि गरी
मजैमा लर्कायेँ शिरभर सबै लर्कन सरी ॥

१२
बह्यो त्यस्ले गर्दा चमचम सबैतर्फ सुषमा
भयो जान्ने सुन्ने सकल दुनियाँ मुग्ध उसमा ।
ठुला-साना नाना थकित बटुवाका नजरको
भयेँ मानू तारो उस बखत त्यो मार्ग-भरको ॥

१३
थियो पैले मेरो तरुण वय तेसै चहकिलो
जटामा उस्माथी फल र फुलको रौनक ठुलो ।
त्यसैले झुम्मिन्थे वर पर सदा दर्शकहरू
नहेरी त्यो शोभा कुन हिँडन शक्थ्यो सुरुसुरु ॥

१४
खुशी बढ्दै आयो, दिवस-रजनी-चक्र-चटक
घुमी-हाल्यो मानू निमिषमय भै धेर पटक ।
झुके लुर्का फुर्का सकल पगरीका तल तल
जम्यो ती जम्बैमा रुचिर रस-रेसा टलबल ॥

१५
सबै आऊन् पाऊन् कठिन तपको उज्ज्वल फल
नहोस् तेरो मेरो भनि कलह यद्वा खलबल ।
म भन्थेँ, त्यो सारा पटु पवन म्यानेजर बनी
सबैलाई दिन्थ्यो महकमय विज्ञापन पनि ॥

१६
चरा, मौरी, कीट, भ्रमर, पुतली-पूर्ण पगरी
भयो, गिर्दा लाग्यो विविध बटुवाका वरिपरि ।
खुल्यो मानू मेरो सुखमय सदावर्त, उसमा
भुल्यो हेर्दा हेर्दै सकल दुनियाँ रङ्ग-रसमा ॥

१७
विचारी बिस्तारै अशनरुचि वा भोक सबको
हवा गर्थ्यो सारा उचित बँटवारा विभवको ।
म झुल्थेँ त्यो देखी मनमन बडो गद्‌गद बनी
तपस्याको राम्रै अब सफल भो साहस भनी ॥

१८
सबै आये, खाये, प्रणयसित गाये गुण पनि
रमाये, फैलाये सुयश तपसी धन्य छ ! भनी ।
तपस्याको मेरो अमृतमय चिल्लो घन-घटा
फुट्यो, वर्ष्यो, झल्क्यो परम सुखको पावन छटा ॥

१९
हवाको नाघी त्यो खटन बँटवारा हठ गरी
जथाभावी डोकाहरुसहित जाबीतक भरी ।
बटुल्थे लोभीले जब अधिक खाना अनि पछि
म भन्थेँ त्यो देखी मनमन घिनाईकन छिछिः ॥

२०
जती जो चाहिन्थ्यो जठर-हरिको खातिर उति
लिये, खाये पुग्थ्यो, मुफत किन त्यो सञ्चय अति !
त्यसैले गर्दामा कति गरिबको भाग हरियो
विधाताको खाताउपर सब त्यो पाप दरियो ॥

२१
कठै ! रित्तो पारीकन सब सदावर्त-भवन
हरी सारा साजा पथिकजनको जीवन-धन ।
लगी त्यस्तो चालासित घर भरी सञ्चय गरी
कुहाई थन्क्याई कसरि शुभ होला ? हरि ! हरि !!

२२
सबै खाये पक्का पिर अपचको पर्दछ कडा
नखाये अर्कैले हरण अथवा गर्छ झगडा ।
कठै ! बाधैबाधा उभयतिर देखिन्छ त पनि
भुलेकै छन् अन्धा मनुजहरु मौरीमय बनी ॥

२३
वृथा खाना भन्दा बढि बढि सदा सञ्चय गरी
धनी बन्छौँ भन्दै कृपण-विधिमा लम्पट परी ।
कठै ! अन्धा लोभी मनुज फिर मौरी दुइ थरी
अशान्ति-ज्वालामा मुफत किन जल्छन् ? हरि ! हरि !!

२४
जमाई देखाई महजडित चाका र चकला
अभागी मौरीले मनुजहरुमा सञ्चय-कला ।
शिकायो होला वा मनुज-पशुको नक्कल गरी
बन्यो होला दुःखी मुफत मधुमक्खी जुनिभरि ॥

२५
न जाने मौरी वा मनुज कुन हो सञ्चय-गुरु ?
गर्‍यो होला दुःखी मुफत किन यो झन्झट शुरु ?
यही सत्यानाशी कठिन सरुवा रोग-वश भै
सडेका छन् लाखौँ विकल बिचरा मानिस सबै ॥

२६
अहो ! कस्तो प्यारो अधम सरुवा व्याधि इनको
छुट्यो जस्ले गर्दा स्मरण मनमा रात-दिनको ।
जती जम्बा गर्छन् उति उति इनैको अवनति
कठै ! छुट्दा चोला नियतिवश होला कुन गति ?

२७
यही अन्धो लोभी मनुज-पशुबाटै बढि बढी
वृथा जम्बा गर्ने नरकमय विद्याकन पढी ।
अत्यासैमा मूसा जुनिभर अँध्यारो विवरमा
गरी चीँ चीँ मर्छन् मनुजहरुकै खेत-घरमा ॥

२८
ठगी, चोरी, डाँका, हरकिसिमको झेल, बखडा,
कुटामारी, गाली, कपट, कटुता, वैर, झगडा ।
घृणा, ईर्ष्या, हत्याप्रभृति जति छन् दुर्गुण कडा
सबैको मूलैमा अधम सरुवा सञ्चय खडा ॥

२९
विधाताले लाखौँ अमृतमय दैवी गुण सब
भरेका छन् जस्को मगजबिच, त्यै मानव अब ।
फसी तृष्णारूपी विकट सुरसाको वदनमा
गयो देख्दादेख्दै अतिशय नराम्रो पतनमा ॥

३०
यही जम्बा गर्ने अधम सरुवा व्याधि विकट
सरोस् वा सल्कोस् ता जलदबिच वा सूर्य-निकट ।
धरित्रीको सारा मधुर रसधारा खिँचिकन
पलामा पार्नेछन् भुवन उनले भस्म-भवन ॥

३१
कठै ! मौरी, मूसा, मनुज बिचरा सञ्चय गरी
वृथा पाकेका छन् अनलमय चिन्ताबिच परी ।
चरामा त्यो पाजी अधम सरुवा रोग नहुँदा
घुमी नाची गर्छन् अमरपुरको कौतुक सदा ॥

३२
चराले झैँ चारा फगत उदरै माफिक चरी
म भोली खाँला यो भनि बटुलने लोभ नगरी ।
बढोस् ता यो बाठो मनुज पर-कल्याण-सुखमा
सदा यस्को पर्थ्यो अमृत-रसको स्रोत मुखमा ॥

३३
जहाँ जो भेट्टायो, प्रणयसित खायो फलफुल
चुचो बायो, गायो मधुर सुरमा तृप्ति-गजल ।
अहो ! त्यस्तो राम्रो विहग-कुलको चाल-चलन
शिकोस् ता यो लोभी मनुज किन हुन्थ्यो र पतन ?

३४
अबुझ मनुजको यो मर्म वा दर्द खोली
मुनिवर चुप लागे वाक्य अर्को नबोली ।
श्रुति-युगबिच बग्दो दिव्य पीयूष-धारा
फिर अलि छिनलाई बन्द भो टक्क सारा ॥