Jump to content

Tarun tapasi/shastha bishram

From Nepali Proofreaders
Revision as of 14:10, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Tarun_tapasi.pdf" from=43 to=48/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
षष्ठ विश्राम


करुणामय त्यो कथा सुनी
मुनि झैँ खिन्न भयेर ती पनि ।
चुपचाप थियेँ नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा ॥


शिकारीको झम्टा तन-बिच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरिकन कठै ! व्याकुल बनी ।
म मर्ने वेला भो तर मनुज ! तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥


कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी !
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी ।
दया माया छोडी मनुज ! कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ?


न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन ।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज । तिमिले जीवन किन ?


सिधा-सादा, निर्धा उपर पिर-बाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति ।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधि-नियम यो जान अटल ॥


तिमी जान्ने बाठो मनुज, गुरु जस्तै भुवनको
म लाटो अज्ञानी विहग बिचरो दूर वनको ।
स्वभावैले मेरा उपर हुनुपर्ने सदयता
लियौ जानी जानी अहह ! किन उल्टो परुषता ?


जगत्‌-रक्षालाई जुनिभर अहिंसा-व्रत धरी
उसैद्वारा व्याघ्रप्रभृति पशु सारा वश गरी ।
रहन्थ्यो जो ज्ञानी मनुज गहिरो शान्ति-सुखमा
मट्याङ्ग्रा हान्ने भो शिव शिव ! उही आज रुखमा ॥


तिमी घुम्थ्यौ फिर्थ्यौ धरणितलमा, हामि नभमा
कुनै वेला हुन्थ्यौँ उभय तल माथी विटपमा ।
दुवै सुन्थ्यौँ बोली खुसिसित दुवैका दुइ थरी
वृथा त्यो भत्कायौ अबुझ ! तिमिले शान्ति-नगरी ॥


कुनै वेला तिम्रो गृह र फुलबारी-वरिपरि
सबै हामी घुम्दा चटुल गतिले कौतुक गरी ।
कठै ! साना साना कुसुमकलि जस्ता शिशु पनि
'चरी ! आ: आ:' भन्थे, प्रणयवश पुग्थे रुखमनि ॥

१०
हँसीला तिम्रा ती सरल शिशुको त्यो मधुरिमा
म नाचेको देख्थेँ प्रणयपुरको मध्य धुरिमा ।
खुसी हुन्थेँ, भन्थेँ मनुज-जुनि हो भाग्यसदन
कठै ! यो हत्यारोपन त उस वेला समझिनँ ॥

११
खसेको दाना वा फल-फुल तथा मञ्जु-मुजुरा
जुट्यो जो, सो खाई खुशिसित गरी नित्य गुजरा ।
तपस्वी जस्तो भै प्रकृति-पथको मङ्गल गरी
रहेको यो निर्धो मकन किन मार्यौ ? हरि हरि !!

१२
हवामा पौडन्थेँ, जुन मधुर सङ्गीत मुखमा
थियो, त्यस्ले तिम्रो श्रुति-विवर भर्थें म सुखमा ।
कठै ! वासा बस्थेँ, विजन वनका मञ्जु रुखमा
बिरायेँ के मैले ? किन धसिदियौ मृत्यु-मुखमा ?

१३
पिताको माताको प्रणय उहिल्यै कालगतिले
बित्यो, भाई बैनीहरु सब चुँड्यो दुर्नियतिले ।
थियेँ बाँकी यौटा फगत म कठै ! वंश-विरुवा
सर्‍यो आजै मेरा उपर पनि त्यो काल सरुवा ॥

१४
कलीला ती साना विकल बिचरा बाल बचरा
विना चारा भोकै सब भइशके हुन् अधमरा ।
थियी साथै पोथी जुन, शिव हरे ! त्यो पनि अब
कतै गर्दी होली रुदन अथवा क्रन्दन-रव ॥

१५
दुवै भाले-पोथी हरबखत पालो गरि गरी
लगी दिन्थ्यौँ चारा विकल बचराको मुखभरी ।
अकेली सुत्केरी अब शिव हरे ! दीन बिचरी !
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी ?

१६
अवस्था यो मेरो सहन अथवा खप्न नशकी
नजाने त्यो ऐले वरपर कतै मूर्छित छ कि ?
मरी पो हाली वा प्रिय-विरहले मार्गबिचमा
पुगी वा औताई विकल बचराकै नगिचमा ॥

१७
कदाचित् त्यो मेरी प्रणय-पुतली व्याकुल बनी
रुँदै खोज्दै आयी वरपर भने मृत्यु नगनी ।
नहाने है बाबा ! विकल बचरा हुर्कन दिये
वृथा अर्को चर्को शिशु-मरणको पाप नलिये ॥

१८
कहाँ त्यो सुत्केरी प्रणय-पुतली ! त्यो गुँड कहाँ !
कहाँ प्यारा साना शिशुहरु ! कठै ! त्यो सुख कहाँ ।
कहाँ प्रेमी साथी ! स्मरण पनि हा ! कष्टमय भो
कठै ! मेरा लेखा अब सब कुराको प्रलय भो ॥

१९
न चाँडो जाने भो सहजसित यो प्राण-पवन
न शक्छू यो बाधा सहन अथवा शान्त रहन ।
न थामिन्छन् आँशू न त छ अरु क्यै जीवनगति
कठै ! कस्तो पापी कति कुपित यो क्रूर नियति ॥

२०
सिला खोजी चर्ने सफर-सुख गर्ने गगनमा,
ठहर्ने शाखामा, मधुर सुर भर्ने पवनमा ।
सिधा-सादा, निर्धा विहगकन मार्ने नियतिले
दियेकी हुन् के त्यो करयुगल माता प्रकृतिले ?

२१
नजानी आनन्दी मनुज-कुलको उन्नति-कला
म जस्ता निर्धाको बलसित अँठ्याईकन गला ।
वृथा त्यस्तो चोखो करयुगल त्यो दूषित गर्‍यौ
धरित्रीमा कालो जहर अथवा पातक छर्‍यौ ॥

२२
दया राखी हाम्रा उपर विधिले कार्य-कुशल
दिँदो हो ता तिम्रै सदृश बलियो बाहुयुगल ।
पुगी टाढा टाढा फलफुल टिपी लाखन थरी
भरी-दिन्थ्यौँ ल्याई प्रणयसित तिम्रा घरभरी ॥

२३
चुचो साह्रै सानू धन फगत हाम्रो छ त पनि
कुनै देख्नासाथै थकित जन भोको रुखमनि ।
चुचैले पाकेको फलफुल चलाई बल गरी
खसाल्थ्यौँ, त्यो खाओस् भनिकन दयाको वश परी ॥

२४
दया हो पृथ्वीको अति चहकिलो पारसमणि
दया नै हो कालो भव-जलधिको मुख्य तरणी ।
दया त्यस्तो त्यागी मनुज ! किन हिंसातिर झुक्यौ ?
म मर्ने हूँ, मर्छू तर तिमि नराम्रोसित चुक्यौ ॥

२५
म भन्छू हे अन्धो मनुज ! तिमि जस्ता मनुजको
अगाडी हत्यारो प्रकृति हलुकै हो दनुजको ।
यही तिम्रो पापी प्रकृति सब तिम्रा घरघरै
घुसी लाखौँ लाखौँ पुरुषकन पार्ला कि ठहरै ?

२६
मट्याङ्ग्रो माटाको जुन कुरुचिले आज भवमा
बन्यो, सोही पापी कुरुचि पछि सल्केर सबमा ।
कडा गोला गोली कठिन चिजका लाखन थरी
खडा भै पार्नेछन् सकल धरणीमा थरहरी ॥

२७
यही तिम्रो हिंसा, छल-कपट ज्यादा प्रबल भै
सिधा-सादा, निर्धा अबुझ थिचिँदा आखिर सबै ।
अशान्ति-ज्वाला जो मुलुकभर बल्ला दनदनी
यसैमा पर्नेछौ जडमति ! म जस्तै तिमि पनि ॥

२८
चराको झैँ तिम्रो गगनतलमा सर्र उडने
कुनै वेला आयो नियति-गतिले तागत भने ।
यही हत्याकारी कुरुचिवश भै पागल सरी
अवश्यै पार्नेछौ सकल पृथिवी प्रेत-नगरी ॥

२९
बढ्यो स्याँ स्याँ, ज्यादा अभयसित जो अन्तिम कुरा
म भन्छू यो राम्रो किसिमसित सम्झे तिमि पुरा ।
अहिंसाको गङ्गाजल विन सबै उन्नति-कला
खरानी भै तिम्रो मनुज ! नगरोस् दीर्घ सुकला ॥

३०
यती भन्दा भन्दै क्षणभर भयो मूर्छित चरो
शिकारी के सम्झोस् कपट-पटु त्यो मूर्ख बिचरो ।
दियो उस्ले उल्टो झटपट पुरस्कार मरण
बनिन् माता पृथ्वी उस विहगको अन्त्य-शरण ॥

३१
व्यथित विहगको त्यो आर्त चीत्कारभित्र
उस बखत फुरेका वाक्य साह्रै पवित्र ।
कठिनसित बताई बर्बरी आँशु झारी
मुनि-मन पुगिहाल्यो यो महासिन्धु पारी ॥