Tarun tapasi/pancham bishram
१
वचनामृत त्यो पियेँ जति
दिलमा प्यास बढ्यो अहो ! उति ।
अब त्यो कब पाउँला भनी
अडियेँ निश्चल दीप झैँ बनी ॥
२
चल्यो सुस्तै भित्री पवन अथवा स्पन्द मुटुमा
पर्यो सानू रेखा स्मित-किरणको ओष्ठ-पुटमा ।
खुल्यो जोडी लामा कमल-दल जस्ता नयनको
प्रभा झल्क्यो राम्रो दिवसमणिको झैँ वदनको ॥
३
निराशाको पर्दा मलिन मनको भेदन गरी
मुटूमा झल्काई अति रुचिर आलोक-लहरी ।
उनी बोले फेरी जलद सरि धीर ध्वनि गरी
ति जो सुन्दा सुन्दै विलयतक हुन्थे हरि ! हरि !!
४
बिताई वा भोगी विकट हिमको सङ्कट सबै
म रस्तामा त्यस्तो किसिमसित बस्ता अटल भै !
ठुला साना सारा पथिक पथको मङ्गल सरी
मलाई सम्झन्थे, प्रणयसित घुम्थे वरिपरि ॥
५
थियो बाल्यावस्था जुन बखत मेरो, उस घडी
दगुर्थे लत्त्याई जुन पथिक अन्धा रिपु सरी ।
उनैको देख्दै त्यो अति मतलबी भाव मनको
दया साथै हाँस्थेँ फगत मुख हेर्थें गगनको ॥
६
तपस्याको अग्लो भवन-बिच चढ्ने असजिला
कडा दैवी बाधामय अति नराम्रा खुडकिला ।
सबै नाघेँ, देखेँ नगिच नगिचै लक्ष्य-परिधि
भयो जस्ले गर्दा बहुत हलुका जीवन-विधि ॥
७
त्यहाँदेखी झन् झन् डबल गतिले कत्ति नअडी
ममा बढ्दै आयो तरुण वय, शोभा हरघडी ।
मुटूको कम्जोरी, भय, शिथिलता, संशय उड्यो
जगत्को कल्याण-व्रत-विषयमा साहस बढ्यो ॥
८
सबै आऊन्, पाऊन् प्रणय-सुखद्वारा हृदयको
कसैलाई मेरो नगिच नरहोस् नाम भयको ।
म भन्थेँ झुम्मिन्थे पथिक सब, राती तर तिनी
नबस्नाले हुन्थेँ मन मन अली खिन्न म पनि ॥
९
म मौनी, एकाकी, प्रिय घरवटी, आश्रम खुला
चुलो-चम्को लाई खचित नगिचै लाखन शिला ।
उता मीठो पानी, सब तरहले वास सजिलो
थियो, अग्लो होचो जमिन, तर सुत्ता असजिलो ॥
१०
त्यसैले हो यद्वा अविदित कुनै कार्यवश हो
दयाले नै हो वा अरु अरु कुनै स्वार्थवश हो ।
नजाने केले हो ? अलि दिनपछी ग्राम्यजनको
ठुलो धारो लाग्यो तह वितह हेर्दै जमिनको ॥
११
खनी ढुङ्गा माटो कमरतक मेरो सब पुरी
चिने चौकी चाक्लो उपर छपनीले सम गरी ।
म त्यो चौकीमाथी झलमल बनेँ गोल गजुर
कठै ! गर्थ्यो तल्लो हर तर तलैबाट उजुर ॥
१२
सहू सर्दी, गर्मी बहुत बलियो आसन कस,
रहू चौकीभित्रै, कठिन तपको भोग सकस ।
भनी मानू मेरो स्थितिनियमको बन्धन गरी
विधाताले बार्यो अति कठिन बारै वरिपरि ॥
१३
जमायेँ लाचारीसित जमिनमा आसन कडा
बन्यो छायाशाली उपर भरिलो गोल मुहुडा ।
जती जस्तो आओस् नियतिवश शीताऽऽतप हुरी
भयेँ त्यो हेलैले सब सहन शक्ने ननिहुरी ॥
१४
बिपत्ता चौकीमा हलनचल पाऊ तल तल
निदाये, तन्काये तनतन निदैमा रस-बल ।
धरित्रीको भित्री अमृतगुण सर्वत्र फिँजियो
अवस्थाले मेरो अझ मधुरिमाको पथ लियो ॥
१५
कुनै कालो चिल्लो घन-सम जटामण्डल घना
पुग्यो माथी, भैगो सफल सब सङ्कल्प-सपना ।
फुक्यो छाती, लम्बा प्रबल भुजको मण्डलमनि
सुखैमा बित्ने भो पथिकहरुको दीर्घ रजनी ॥
१६
भरीलो त्यै बढ्दो रुचिर रुचिले आदर गरी
दियो निम्ता, डाक्यो चपल चिडिया लाखन थरी ।
जटाको टुप्पामा अभयसित बोल्दा तिनिहरू
म भन्थेँ यै सारा विहग-कुल हो किन्नर-गुरु ॥
१७
म द्यौता, त्यो चौकी विधि-विहित देवालय सरी
पुजारी भै बस्थे चपल चिडिया लाखन थरी ।
थियो तिन्को पूजाविधि ललित लीला-रसमय
म दिन्थेँ पूजाको फल अतुल विश्रान्ति, अभय ॥
१८
तिनै मेरा प्यारा अतिथि, रसिला बान्धव तिनै
तिनै सारा सच्चा सहचर, छिमेकी पनि तिनै ।
तिनैलाई ठान्थेँ परिजन तथा जीवन पनि
तिनै मिल्दा बन्थेँ भुवनभर सर्वोत्तम धनी ॥
१९
पखेटाको हम्को, स्वर-मधुरिमा कण्ठतटको
हलुङ्गो नङ्ग्राको पकड, ठुँग त्यो चञ्चुपुटको ।
मुटू छेड्दै जाने छनक, छवि, सङ्गीत, नचरी
म सम्झन्थेँ सारा मधुर परमाऽऽनन्द-लहरी ॥
२०
विधाताले मेरा उपर करुणाको वश परी
स्वयं वर्षायेका अमर नगरीका फुल सरी ।
थिये सारा प्यारा विहग, तर ती भुर्र सहसा
उडी-जाँदा देख्थेँ किन किन अँध्यारा दश दिशा ॥
२१
कुनै वेला भेला भइ विहग सारा कचहरी
जमायेको देखी हतमति शिकारी अघि सरी ।
मट्याङ्ग्राले ठोक्यो अवसर बुझी टन्न बलले
खस्यो चीँ चीँ गर्दै कठिनसित यौटा, अरु चले ॥
२२
कठै ! चल्दो फिर्दो प्रकृति-पुतली त्यो निमिषमा
अकालैमा त्यस्तो गतिसँग परी कालवशमा ।
लडेको देख्नाले हृदय सहसा चर्र चिरियो
दया ज्यादा लाग्यो नयनयुगको मोति छरियो ॥
२३
शिकारी संहारी अबुझ हतभागी मनुजको
थियो कस्तो कस्तो विकट अनुहारै दनुजको ।
अँठ्यायो त्यस्ले त्यो झटपट गई घायल चरी
छुनासाथै निस्क्यो कठिनसित 'चीँ चीँ, चिरिरिरी' ॥
२४
व्यथाको जो ज्वाला विकल उस चीत्कार-रवमा
थियो, त्यस्को थोरै असर दुनियाँको हृदयमा ।
हुँदो हो ता, कालो धरणितल कैलास-सदन
बनी-जान्थ्यो, लोभी मनुज पनि हुन्थ्यो त्रिनयन ॥
२५
चरीको त्यो 'चीँ चीँ' मय रुदन वा क्रन्दन कडा
थियो जान्नेलाई अमर-कृत विद्यालय खडा ।
नसम्झी यो केही अबुझ शठले भित्र मनमा
चरीलाई पक्ड्यो शिव शिव !! तुरुन्तै जमिनमा ॥
२६
निभ्यो साह्रै राम्रो अमरपुरको दीप छिनमा
गिर्यो कालो पर्दा भय-चकित मेरा नयनमा ।
चरीको 'चीँ चीँ' मा उस बखत मैले जुन कुरा
सुनेथेँ, त्यो सुन्दा तिमि पनि हुनेछौ अधमरा ॥
२७
हुन त बहुत सानू किन्तु गम्भीर भारी
विहग-वध-कहानी कष्टले त्यो उतारी ।
अलि छिन तपसीले अश्रुधारा बगाये
नयन-युगल फेरी शून्यमा नै लगाये ॥