Jump to content

Tarun tapasi/chaturtha bishram

From Nepali Proofreaders
Revision as of 14:10, 25 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Tarun_tapasi.pdf" from=32 to=36/>")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
चतुर्थ विश्राम


अलिबेर पतङ्गका कुरा
मनले खूब गमेँ पुरा पुरा ।
उनको जब मौन भङ्ग भो
अनि अर्कैतिरको प्रसङ्ग भो ॥


निशाले जो मेरो उपर तमको चादर धरी
उषाको त्यो हाँस्तै निमिषभरमा नै पर गरी ।
बित्यो एवंरीत्या रुचिकर शरत्‌काल सुखमा
परी-हालेँ मानू पछि त म कठै ! मृत्यु-मुखमा ॥


स्वभावैले हो वा अविदित कुनै कर्मवश हो ?
दशाले हो यद्वा कुटिले विधिको कोप-वश हो ?
नजाने केले हो प्रकृति-जननीको मुख भरी
जम्यो कालो पोतो मधुर मुख-शोभा सब हरी ॥


मदारी झैँ छोप्तै नजर सबका गुम्म कुइरो
घुस्यो मानू रोप्तै मुटुबिच तिखो शीत-सुइरो ।
जगत्‌मा चौतर्फी मलिन झुसिलो भाव भरियो
दिनश्रीको साथै तन सकल मेरो गँगरियो ॥


पिट्यो पाता कस्तै विकट रिपु भै शीतल शठले
तुषारोले मार्‍यो शिर सब थिची लात्ति हठले ।
चुट्यो, टोक्यो, ठोक्यो अधम हिमले हुर्मत लियो
हुरीले मुण्ट्यायो विकट गलहत्तीतक दियो ॥


बसेको बाटोमा गुठिल गठरीसाथ धनको
फसेको फन्दामा कुटिल कपटी दस्युजनको ।
कठै ! कोही निर्धो विकल बटुवा झैँ म बिचरा
भयेँ त्यो पिट्टाले हल न चल यद्वा अधमरा ॥


चुहाई दिग्दारीसित मलिन आँशू तपतपी
कठै! त्यो पिट्टाको कठिन पिर-बाधा सब खपी ।
म रुन्थेँ; साथैमा दिन पनि अँध्यारो मुख गरी
सधैँ रुन्थ्यो मेरो अनुकरण गर्दै धरधरी ॥


कडा त्यो ठण्डीले सकल मुटुको ताकत जति
चुसी-हाल्यो, थाल्यो विवश दुनियाँ खुम्चिन अति ।
बिदा भैगो मानू उपचय-कला विश्वभरको
म जस्ता नङ्गाको उस बखत गर्ने खबर को ?


कुनै रुञ्चे जस्तो मलिन सविता दक्षिणतिर
कुनामा झुल्कन्थे, तर तिनि रहन्थे क्षणभर ।
थियो सारा पृथ्वीभर अगिपछी केवल खडा
धमीलो ठण्डीको अति कठिन साम्राज्य तगडा ॥

१०
अहा ! त्यो वेलाको क्षणिक पनि आलोक रविको
मिठो मर्मस्पर्शी सरस कविता झैँ सुकविको ।
ठुला साना निर्धा धनिक सबलाई सम थियो
ममा जस्ले गर्दा अतुल समता जागृत भयो ॥

११
म आत्तिन्थेँ ज्यादा जुन तुहिन पर्दा शिरभरी
गुती लम्बा उस्कै गिरिवर सबै स्वच्छ पगरी ।
बहाडी भै हाँसी मुसुमुसु रसीलोपन धरी
कुरा गर्थे मानू अमरपुर हेर्ने सुर गरी ॥

१२
उज्यालो वा राम्रो सकल तिनको स्फूर्ति, दृढता,
प्रभा, हेर्दा हेर्दै विलय हुन थाल्यो विकलता ।
उदायो खम्बा झैँ अटल रहने साहस ठुलो
भयो जस्ले मेरो मरण-भयको ग्रन्थि खुकुलो ॥

१३
विचार-ज्योत्स्नाले जुन जति थियो दोष मनको
सबै धोयो, ल्यायो अभिरुचि तपोरूप धनको ।
विपद्, बाधा, निन्दा, स्तुति, कठिन शीतोष्ण सब त्यो
सही बस्ता केही समय अथवा जीवन बित्यो ॥

१४
लिई श्रद्धा एकै परहित-महामन्त्र-जपको
बनी खम्बा जस्तो कठिनतम त्यो दीर्घ तपको ।
गरेँ जस्तो मैले जुन जति कुराका अनुभव
म त्यो जम्बाजम्बी कहन कसरी शक्तछु अब ?

१५
यता माथी नीलो गगन, तल विस्तीर्ण धरणी
उता शैलश्रेणी, उभयतिर त्यो दीर्घ सरणी ।
त्यता ठाडै बग्दी मधुर जलले पूर्ण तटिनी
तपस्याका साक्षी सबतिर खडा छन् अझ पनि ॥

१६
कडा त्यो ठण्डीका दिवस, रजनी, पक्ष, महिना
सबैमाथी गर्दै जिउ जकडले शीतल टुना ।
बिते सुस्तै सुस्तै गठन तनको खूब दह्रियो
विपद् बाधा ज्यादा सहन शकने शक्ति भरियो ॥

१७
म त्यो वेलादेखी प्रतिदिन कडा पुष्ट, बलियो
हुँदै आयेँ, पायेँ कठिन तपको स्वाद गुलियो ।
अघीको शीतोष्ण-प्रभृति सब बाधा पर सर्‍यो
विधाताले मानू अभय पदमा दाखिल गर्‍यो ॥

१८
त्यसै वेलादेखी किन किन ठुलो कौतुक गरी
सबैमाथी छर्दै तरुणतम शोभा सुनहरी ।
वसन्तश्री ठाडै सुरनगरदेखी तल झरिन्
धरित्रीमा मानू सुखमय नयाँ जीवन भरिन् ॥

१९
नयाँ हावा लाग्यो, जल-थल भयो मञ्जुल नयाँ,
नयाँ अर्कै भावोदय, हृदयको कौतुक नयाँ ।
नयाँ बोली-चाली, विषय-रुचि निस्क्यो सब नयाँ
नयाँ भैगो मानू समय-गतिले गैह्र दुनियाँ ॥

२०
अँध्यारो पर्दा त्यो सहजसित फारेर त्यसरी
फिँजारी चौतर्फी मधुर सुख-सौन्दर्य-लहरी ।
वसन्तश्री गर्थिन् सब तरु-लतामा चहचह
छचल्किन्थ्यो जस्ले प्रणय-रसको निर्मल दह ॥

२१
ठिटी झैँ गर्थिन् ती नटखट; छिटी झन् पयरमा
थियिन्; दल्दै चल्थिन् अबिर अथवा फागु शिरमा ।
हवा सुस्तै सुस्तै चपल उनको अञ्चल धरी
कुरा गर्थ्यो मानू मधुर मुहुनीको वश परी ॥

२२
त्यही फागु-द्वारा उस बखत मेरो शिरभरी
चढ्यो चिल्लो लाली टलक अथवा माणिक सरी ।
म यो देखी आफैँ मनमन बडो गद्‌गद भयेँ
वसन्तश्रीलाई प्रणय-फुलको अञ्जलि दियेँ ॥

२३
चढायेको मैले प्रणय-फुलको अञ्जलि लिई
मलाई तत्कालै प्रथम वर वा नम्बर दिई ।
घुमिन्, नाचिन्, खेलिन् हरकिसिमको कौतुक गरी
वसन्तश्री, उर्ले भुवनभर आनन्द-लहरी ॥

२४
म तेही वासन्ती मधुर छविको रङ्ग-रसमा
डुबी पौडी खेल्दै पल पल लिँदै दिव्य सुषमा ।
डटेँ चौबाटोमा पथिक जनको आश्रय बनी
सबै लागे मेरो प्रणय-वश भै गर्न सह्रनी ॥

२५
त्यहाँदेखी मेरा जति जति बिते जीवन-घडी
उती खुल्दै-आये क्रमसित विपत्‌का हतकडी ।
यता यो पृथ्वीमा निरतिशय सौन्दर्य भरियो
उताको खातामा 'तरुण तपसी' नाम दरियो ॥

२६
मसित सब बताई ई मिठा सत्य बात
नयन-युगल चिम्ले सिद्धले शान्ति-साथ ।
हृदयबिच बिलायो श्वास-निश्वास सारा
मुनि-मन पुगिहाल्यो पट्ट पल्लो किनारा ॥