Tarun tapasi/pratham bishram
१
रसीलो वर्षाको समय, दिन लम्बा, दिनकर
थिये क्यै ढल्केका गगनतलमा पश्चिमतिर ।
त्यसै बेला घुम्दै विजन पथको पादपमनि
पुगे कोही यौटा कविवर बिसाऊँ अब भनी ॥
२
मजाको चौतारी, वरपर सबै शून्य विजन
निकै टाढा पर्थे भवन, वन, वस्ती, उपवन ।
बहन्थिन् सामुन्ने कलकल नदी पुण्य-सलिला
अनेकौँ देखिन्थे तट-निकटमा सुन्दर शिला ॥
३
शुक्यो बस्ता बस्तै सकल पसिना सर्र उनको
फुक्यो सुस्तै भित्री सरस कविता प्रेम मनको ।
झिकी सादा कापी, कलम अब लेखूँ म कविता
भनी ती टोलाये, तल तल चले देव सविता ॥
४
थियो आलो कान्ताजनविरहको चोट मनमा
फिका ठान्थे सारा विषय, तिनि घुम्थे विजनमा ।
तपस्याको लिन्थे लहड, तपकै वर्णनतिर
झुकाये त्यो प्यारो कलम, दगुर्यो दूर नजर ॥
५
तपस्वी कस्तो हो ? कठिन तपको तत्त्व कुन हो ?
भनी गम्दा गम्दै दिनकर, त्यसै कुन्नि किन हो ?
गये सुस्तै सुस्तै मलिन भइ खस्तै जलधिमा
पर्यो सारा पृथ्वीतल मलिनिमाको परिधिमा ॥
६
कसी तेर्छो चिल्लो घनपटलको नील कबरी
धरी उस्ता रातो चहक मसिनू चादर सरी ।
चली-हाली सन्ध्या-रमणि सबकै रङ्ग-रसमा
डुबी खेल्दै खेल्दै मधुर छवि छर्दै निमिषमा ॥
७
फिँजी मैलो झाँक्रो मलिना तमको व्याकुल बनी
बडो चर्को गर्दै हुँचिल-रवको क्रन्दन पनि ।
कुनै काली आली विकल विधवातुल्य रजनी
लडी छर्दै तारामय चहकिला भूषण पनि ॥
८
समेटी ताराको चहक सब एकै पटकमा
लपेटी त्यो सारा अति निविड मालिन्य-पटमा ।
घुस्यो चालो चालो विकटतम कालो घनघटा
जुटाई चौतर्फी भुवनभरमा तस्कर-छटा ॥
९
न कोही बाँकी भो वन, नद, नदी, शैल शिखर
न ता झुप्रो, छाप्रो, शहर घर वा वस्ति बगर ।
जहाँ हेर्यो सम्मै, भुवन सब भो गाजलमय
खडा भैगो मानू विकट भय वा विश्व-विलय ॥
१०
उनी बस्ता बस्तै विरहवश त्यस्तो रुखमनि
फुकाएको कापी, कलम, मसिदानीतक पनि ।
गरी-हाल्यो कालो तरुण तमले चट्ट चटनी
कटारी झैँ लाग्यो कविकन कठै! काल-चटनी ॥
११
मुटू धड्क्यो ज्यादा, पयर हुन थाले लुटुपुटु
टुट्यो चल्ने शक्ति, स्मरण भयले भो गुटुमुटु ।
नदेख्नाले अर्को गतिविधि कुनै त्यो रुखमनि
लडे चौतारीमा कवि 'शरण ल्यौ शङ्कर !' भनी ॥
१२
कडा त्यो ढुङ्गाको शयन, उसमा फेद रुखको
सिह्रानी, के पर्थ्यो झटपट कठै ! नीद सुखको ।
परेको पाखामा अति विकल माछोमय बनी
बिताये वा काटे छटपट गरी कष्ट-रजनी ॥
१३
हवा चल्दै-आयो सिरिसिरि पछिल्लो पहरमा
बजायो तन्द्राले मधुर मुरली मस्त सुरमा ।
झकाई त्यै वेला अगम दहराऽऽकाश-बिचमा
पुगेछन् ती भित्री अमर-पदवीको नगिचमा ॥
१४
हरायो कान्ताको विरह, तपको कौतुक गयो
अकस्मात्, त्यो बाधा विकल मुटुको दूर धपियो ।
बिचैमा भेट्टाये मधुर उनले दिव्य सुषमा
डुबे ती चुर्लुम्मै निमिषभर तत्काल उसमा ॥
१५
न प्यारो चौतारी, न शरण लिने त्यो रुख खडा
न त्यो कालो मैलो जलद, रजनी त्यो न त कडा ।
न त्यो प्यारो कापी, कलम, कविताको भुटभुटी
कुनै फेला पारे अगम उनले शान्ति-ढुकुटी ॥
१६
न यो द्यावा-पृथ्वीमय भुवनको भास उसमा
न ता बोक्रे मैला विषय-सुखको प्यास उसमा ।
अहा ! त्यो स्वर्गीय स्फटिक रुचि भन्दा शतगुणा
थियो कस्तो कस्तो अमृतमय निष्कञ्चनपना ॥
१७
शरत्को वेला होस्, अमृतकर लाखौँ टहटह
उदाऊन् बेदागी गगनभर गर्दै चहचह ।
प्रभा तिन्को उम्लोस्, तदपि उस आलोक-लवको
अगाडी त्यो सारा मलिन मयलै तुल्य नभको ॥
१८
सुधाको त्यो झर्ना, कवि हुन गये सीकर सरी
थियो त्यो शोभाको जलधि, कविजी मञ्जु-लहरी ।
मिठो त्यो मिश्रीको रस मधुर मिश्री कवि थिये
अहा ! कस्तो कस्तो अगम छविमा तन्मय भये ॥
१९
यसो हेर्दा श्रद्धासित नगिच भन्दा नगिचमा
डुबे ती दोटैको हृदयबिचको विन्दु बिचमा ।
उसो हेर्दा टाढा मन वचन भन्दा अति पर
इयत्तामा जस्को श्रुति सकल हुन्थे थरहर ॥
२०
लिये तिन्ले त्यस्मा निरतिशय तादात्म्य-रसको
ठुलो भक्ति श्रद्धा, तर विषय त्यो भाग्यवशको ।
मिलूँ भन्दा भन्दै गरम दुधमाथी तर सरी
तुरुन्तै उत्रे ती, हृदय-बिच लाग्यो किरिकिरी ॥
२१
म को हूँ ? त्यो के हो ? कुन चटकमा गद्गद थियेँ ?
कसो भो ? के के भो ? किन म सहसा बेगल भयेँ ?
कता लाग्यो त्यत्रो परम सुखको सागर भनी
घुमे निक्कै तृष्णा-तरल कवि फेरी फनफनी ॥
२२
बढ्यो चिन्ता ज्यादा, विरहवश आँशू गहभरी
भये, त्यै चिन्तामा कवि बहुत खेले लहबरी ।
त्यसै घुम्दा घुम्दै उस गहन चिन्ताबिच फसी
बिचैमा भेट्टाये विधि-वश कुनै दिव्य तपसी ॥
२३
अली मोटो अग्लो कद, जमिनमा छन् पद खडा
घुँडा, तिघ्रा, बाहू, उदर, उर छन् पुष्ट तगडा ।
कसीलो सल्कालो गठन तनको, दीर्घ मुहुडा
जटा काला, लम्बा, वसन तनमा वल्कल कडा ॥
२४
समुद्रैको जस्तो निरतिशय गाम्भीर्य मुखमा
सदा एकैनासे विषय-रसको दुःख-सुखमा ।
थिये ती खम्बा झैँ कठिन तपको, धैर्य-गुणको
भरीलो ओजस्वी नयन-युगको ज्योति उनको ॥
२५
ति हेर्थे आशाले वदन तपसीको पुलुपुलु
उनी तिन्को हेर्थे नियति-गति-रेखा टुलुटुलु ।
ति लोहाको टुक्रा-सदृश, तपसी चुम्बक थिये
त्यसै हेर्दा हेर्दै कविकन बलैले खिचिलिये ॥
२६
अघी जो झल्केथ्यो परम सुख वा शान्ति मनमा
उसैको क्यै पाये झलक तपसीको वदनमा ।
इनी को ? कस्ता हुन् ? भनि गम बढाये जति जति
स्वयं बढ्दै आयो तर अगमता नै उति उति ॥
२७
दया, मैत्री, श्रद्धा, प्रणय-रसले भित्र रसिलो
तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो ।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्गद अति
तुरुन्तै श्रद्धाले कविकन लगाये कुतकुती ॥
२८
[1]झुकी झट्टै जोडी करयुगल 'बाबा ! हजुर को ?
कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?'
भनी सोधे श्रद्धा-सहित कविजीले जब अनि
उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥
२९
पुरी मेदै माटो दनुज दुइको सागर भरि
हवादारी गारो चिनिकन दिशाको वरिपरि ।
सफा नीलो तारा-जडित गगनै छादन कसी
बनायेको राम्रो भुवन-कुटियाको म तपसी ॥
३०
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलि-झकडा
न ता छाला, माला, न धुनि, न कुनै गेरु-कपडा ।
न ता चेला-चाटी, न गुरु परिपाटी छ शरण
खडा छू एकाकी जमिन-बिच टेकेर चरण ॥
३१
पिता माता को हुन् ? कुन नियत वा कारण परी
लियेँ यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ?
मलाई यो केही स्मरण अघिको छैन मनमा
म खाली हेर्दोछू प्रणयसित यो विश्व-महिमा ॥
३२
सुती लेटी मिल्ने सुख-सयल जानेँ न त रति
न ता कोही तीर्थ-भ्रमण सुख भोगेँ अलिकति ।
जहाँ जन्मेको हूँ विधिवश उहीँ छू अझ खडा
सही लाखौँ चर्का विपद अथवा सङ्कट कडा ॥
३३
चिसा ताता बत्ती क्रमसित भरीला दुइ थरी
घुमेका छन् मेरा उपर कुटिया उज्ज्वल गरी ।
तिनैको त्यै लम्बा भ्रमण-विधिमा त्राटक[2] गरी
बित्यो मेरो सारा तरुण वय ठाडै हरि ! हरि ॥
३४
यति भनिकन लम्बा शास फेरेर फेरि
कवितिर अति तीखो नेत्रले खूब हेरी ।
मुनिवर चुप लागे, लागिहाल्यो समाधि
जलधि अचल भैगो, के रहन्थ्यो उपाधि ?