Jump to content

Page:Laxmi nibandhasangraha.pdf/166

From Nepali Proofreaders
Revision as of 11:44, 25 June 2025 by Srv (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

राय विभिन्न हुन सक्छ । युगहरु बेग्लै फैसला गर्न सक्तछन् । तर श्रद्धालु कृतज्ञतासँग ठक्कर खाने नौला बकबकहरु स्वदेशी हृदयले सधैं सहन सक्तैन र त्यसका विरोधहरु धेरै ठाउँमा निस्कन्छन् र हरेक युगमा ।

कविताले आजकाल नयाँ ढङ्ग लिइरहेछ, शैली बदलिंदो छ, मात्रिक छन्दमा छामछाम–छुमछुम भइरहेछ । एक पन्थी सुमित्रानन्दन पन्तलाई कविताका सजीव मूर्ति र आर्दश सम्झन्छन्, उनको शैली नक्कल गर्दछन् र कति जना त्यसरी बिग्रे । हामी सम्झेर रुन खोज्छौं, त्यस्तै हाम्रा प्रथम कविजीमा अवगुणहरु छन् तर उनी हाम्रो लागि महान् छन् । दोस्रो पन्थी नक्कलबाज नभए पनि अलि बाङ्गाटिङ्गा देखिन्छन् र प्रसिद्ध नाटककार बालकृष्ण शमशेरको अनुकरण गर्न खोज्दछन् । ध्येय उनीहरुको पनि राम्रो छ । साफ शुद्ध सच्चा नेपालीमा दावा राख्न खोज्दछन्, यद्यपि ठाउँठाउँमा समझको कमी देखिन्छ । तर युग बदलिए पनि, शैली भिन्नै भए पनि, त्यो नेपालीको माधुर्य हामी बिर्सन सक्तैनौं जो महाकवि लेखनाथमा देखिन्छ र उनका चमत्कारहरुमा प्राकृत भएर निस्कन्छन् ।

गहिराइको विषयमा, गाह्रो हुनु गहिराइ भनिन्न । कठित तुल्याउनु कला सम्झिन्न; नबुझिनुमा महत्व छैन । पछि बुझ्लान्, कदर गर्लान् कसैकसैले ! तर लेखनाथलाई बुझिरहनुपर्ने जरुरत छैन । उनी सजिलैसँग हृदयतिर झल्किहाल्छन् । उनी संस्कृताढ्य भईकन ज्यादा सरल छन्, त्यही कुरा बालकृष्ण शमशेरको विषयमा भन्न गाह्रो हुन्छ । कविताको क्षेत्रमा लेखनाथलाई अहिले अद्वितीय मान्दछौं, नाटकको क्षेत्रमा हामी बालकृष्ण शमशेरलाई त्यस्तै नेता र आधुनिक शिखर सम्झन्छौं ।