This page has been proofread
परिश्रान्त चातक
(१)
हे मेरो प्रिय ! धीर ! नीरद ! कुनै सौभाग्यले आज यो
तिम्रो शब्द सुनेँ अचानक अहो !! छाती रसीलो भयो ।
धेरैसम्म निरुद्ध चञ्चुपुटको ढोका खुल्यो सुस्तरी
थाल्यो घन्कन घन्न-घन्न मुटुमा आनन्दको बाँसुरी ॥
(२)
त्यै श्रद्धा, रसरङ्ग त्यै छ, सब त्यै उल्लास कौतूहल,
त्यै तृष्णा मनको छ, सूक्ति-रस त्यै, त्यै भावना शीतल ।
त्यै सारा छ, तथापि दुर्नियतिले राखेन त्यो जीवन
खस्क्यो शक्ति शनैः शनैः नयनमा निस्क्यो धमीलोपन ॥
(३)
लायो दृष्टि जता उतैतिर कठै !! को सृष्टि अस्पष्ट छ
पाऊ पक्ष दुवै विपक्षमय छन् चल्दा बडो कष्ट छ ।
खाली तर्क-वितर्कका भुमरिमा घुम्दो छ यो जीवनी
मानू अर्जुन-भेद्य यन्त्र-बिचको दुर्दर्श माछो बनी ॥