Jump to content

Ek chihan

From Nepali Proofreaders
Revision as of 20:55, 24 June 2025 by Rbn (talk | contribs) (Created page with "<pages index="Ek_chihan.pdf" from=1 to=120 />")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


एक चिहान
हृदय चन्द्र सिंह प्रधान

एक

आफ्ना तिनै छोरा, छोरी र बुढिया लतमाया सबै जम्मा भएका वेला पारी आफ्नो अन्तिम अवस्था सम्झेर अष्ट नारान बोलि रहेका थिए– "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको मैले केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्‌ले मेरो केही सुनि दिएन । बाबु हो ! यो बुढिया तिमीहरूकी सबकी आमा र बहिनी एक जनालाई अन्यथा नगर । जे दुःख सहेर पनि यी अबला दुई जनालाई खुवाइ राख । यिनीहरूको आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"

अशक्तताले धावा गर्दै ल्याइ रहे तापनि उनले बोल्न बल गरि रहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुँ पछिल्तिर हेरेर आँसु चुहाइ रहेकी थिई ।

"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन तपाईं सुर्ता लिनु हुन्छ !" जेठा छोरा शिव नारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।

"अब मलाई औषधी गर्ने काम पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? किनभने म अब निको हुन्न । उमेरले पनि त भित्ता छोइ सक्यो, त्यसैले सबैले चित्त बुझाउनु पर्छ ।" अष्ट नारान फेरि पनि बोल्न खोजि रहेका थिए, लतमायाले रोकेर भनिन्– "जनी गरेर बिन्ती, नबोल्नु होस्, औषधी पनि नगरौँ यस्तो बेलामा ? कस्तो कस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"

"मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै आएर औषधी गर्न आए पनि निको हुन्न । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन् झन् खस्कँदै आइ रहेको छु । 'सास रहेसम्म आस' भन्ने एउटा कुरा मात्र बाँकी छ ।" यति भनी अष्ट नारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइ सकेका थिए, फेरि अष्ट नारानले बोल्न सुरु गरे–

"कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।"

"बा !" नानीथकुँले बोल्न खोजेर पनि यति सिवाय उनको कण्ठबाट बक फुट्न सकेन ।

"किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा अष्ट नारानले भने ।

"धेरै नबोल्नु होस् भनेको बा ! परिश्रम होला ।"

"मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न दिनु पर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइ रहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागि रहेको छ ।"

"बा !" अष्ट नारानको मुखैनिर शिर निहुराएकी नानीथकुँले भनिन् ।

यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुँको आँखाबाट आँसु टप्कि हाल्यो । अष्ट नारानका माहिला छोरा पुन नारान र कान्छा छोरा हर्ष नारान दुवैले एकैचोटि बोले– "बा ! चुप लाग्नोस् भन्या ।"

"लौ, लौ, अब धेरै बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा भनि हाल्छु– बाबुहो ! मैले तिमीहरूका निम्ति केही गर्न सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केही केही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर खाल्टो खनेर गाडि राखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरि दिनू, त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।"

बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।

दुई

अष्ट नारान बिरामी भएको आज ठ्याम्मै दुई महिना भइ सक्यो । उनले आफ्नो स्वास्थ्य एक महिनासम्म आफ्नै टोलका गुभाजुलाई देखाएका थिए । बिचराले हुनसम्मको उपाय गरि सकेका थिए । उनीबाट केही जोर नचलेर असनका तुयु गुभाजुलाई पनि देखाइ सके । तुयु गुभाजु नेपालका एउटा नामी झारफुके वैद्य हुन् । डाक्टर, कविराजहरूले झैं उनी पनि फिस लिने गर्थे । त्यसैले पनि उनीप्रति मानिसहरूको विश्वास बढेको थियो ।

तर एक्काइस दिनसम्म तुयु गुभाजुबाट इलाज गराउँदा पनि अष्ट नारानको व्यथा बिसबाट उन्नाइससम्म पनि झरेन ।

अष्ट नारानका छोराहरूले माहिला कविराजलाई देखाउने विचार गरेर तुयु गुभाजुलाई बोलाउन जान छाडे । जे गरेर पनि बाबुलाई निको पार्नु पर्छ भन्ने भावनाले गर्दा अष्ट नारानका छोराहरूले सकेसम्म ऋण लिएरै पनि बाबुलाई औषधी गराइ रहेका थिए । एक हप्तासम्म रोज माहिला कविराजको औषधी गर्दा पनि केही सिप लागेन, व्यथा बढ्दै आयो । फिस, औषधी गर्दा पच्चिस रुपियाँ पनि सिद्धियो ।

अन्तमा केही सिप नलागेर लतमायाले आफ्ना पोइले आफ्नो अन्त्येष्टि क्रियानिम्ति खाइ नखाइ "मेरो अन्त्येष्टि क्रिया सिवाय यस रुपियाँले अरू थोक केही नगर्नू" भनेर गाडि राखेको पच्चिस रुपियाँ खर्च गरेर भए पनि एक चोटि डाक्टरलाई देखाउने इच्छा गरिन् ।

लतमायालाई दृढ विश्वास भएर आयो कि जिन्दगी नै दिन्छ भने त्यस पच्चिस रुपियाँलाई अन्त्येष्टि क्रियाको निम्ति जगेडा राख्नु बुद्धिमानी होइन, बरु त्यो काम पाप हो ।

यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो साथसाथै त्यसले सबैलाई अफसोस पनि गरायो । अझ विशेष गरेर जेठा छोरा शिव नारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदा समेत डाक्टरलाई देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिको कुराभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएको हुनाले आमाको सल्लाह एउटा सार्‍है बुद्धिमानी सुझाउ पनि शिव नारानलाई लाग्यो । साथै शिव नारानलाई यो पनि दृढ विश्वास लाग्यो कि डाक्टरी औषधी पाएपछि त बाबु अवश्य निको हुन्छन् ।

डाक्टर गोदत्त प्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो । डाक्टरकहाँ पुगेर शिव नारानले भने- "डाक्टर साहेब ! दुई महिनादेखि बाबु बिरामी हुनु हुन्छ । डाक्टर साहेबले एक चोटि हेरि दिनु भयो भने निको हुने आशा गरेर आएको हुँ, डाक्टर साहेब !"

तर डाक्टर गोदत्त प्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको देखेर शिव नारानको आफैँ घाउ भइ रहेको मनमा अझ बढ्ता चोट पर्‍यो, तैपनि ठुला मानिस भएका हुनाले शिव नारानले फेरि एक बाजि भन्ने साहस गरेर बोले– "डाक्टर साहेब !"

टेबिलमा राखि छाडेको एउटा पुस्तक पल्टाएर शिव नारानप्रति 'पख, नकराऊ' भन्ने इसारामा डाक्टर गोदत्त प्रसादले केवल देब्रे हात हल्लाए ।

आशा लाग्दो अनुहारमा शिव नारान त्यसै उभि रहे । डाक्टर किताब हेर्दाहेर्दै 'कोही आयो कि, कोही आयो कि' भन्ने ध्याउन्नमा बाहिर ढोकातिर, भर्‍याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बिति सक्यो । शिव नारानमा अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे पनि टिक्न दिएन । अनि यही आवेगमा शिव नारानले फेरि बोल्ने साहस गरि हाले– "डाक्टर साहेब ! बाबु सिकिस्त हुनु हुन्छ, ढिलो गर्न भएन डाक्टर साहेब !"

शिव नारानतिर एक चोटि दृष्टिपात गरेर डाक्टरले केवल यति बोले– "अँ ।"

डाक्टरको यो निठुरी व्यवहार देखेर शिव नारानलाई एक छिन त 'डाक्टरलाई मारि हालूँ' भन्ने झोंक चलि सकेको थियो तर डाक्टरसित रिसाउन सक्ने अवस्था पनि त शिव नारानको थिएन । बाबु सिकिस्त छन्, आफू एक दीनहीन, अरूको निगाह र मद्दत नै उनको जीवन थियो; त्यसैले रिसमा पनि होस राख्न सक्ने बुद्धिमानी पनि उनको प्रवृत्तिमा दौडि रहन्थ्यो । त्यसैले रिसलाई दबाएर शिव नारानले डाक्टर गोदत्त प्रसादसित फेरि अनुरोध गरे– "डाक्टर साहेब ! आधा घण्टा भइ सक्यो म आएको… "

"एक छिनपछि एक घण्टा पनि हुन्छ । तिमीलाई चाहियो भनेर के समय पर्खि रहन सक्छ ?" डाक्टर गोदत्त प्रसादले तिरस्कारको भावमा भने ।

"बाबु सार्‍है सिकिस्त हुनु हुन्छ डाक्टर साहेब !"

"ज्यादै बिरामी भएपछि सबै सिकिस्त हुन्छन् ।"

"के गर्ने त डाक्टर साहेब ! सार्‍है चिन्तामा छु, सिकिस्त बिरामी मानिसलाई छोडेर आएको !"

"पख, कचकच नगर, किताब हेरि रहेको छु, ध्यान खलबल नगर ।" डाक्टरको व्यवहारमा भयङ्कर अमानवता देखेर चिन्ताग्रस्त भएर पनि शिव नारान नहडबडाईकन टोलाइमा वाल्ल परेर डाक्टरमा मानवता पर्खन लागे ।

तिन

अष्ट नारानको व्यथा बढ्दै आयो । शिव नारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइ सक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुन नारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।

किसानका छोरा भए पनि पुन नारान आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे । पुन नारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुन नारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए ।

ससुरा छउन्जेल त पुन नारानको काम कहिल्यै खाली हुँदैनथ्यो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट आइ रहन्थ्यो तर ससुरा बितेदेखि पुन नारानको रोजगारी अलि लडखडाउन थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे पनि ज्यूँत्यूँ गुजारा चलि रहेकै थियो । तर यता दुई महिनादेखि बाबु बिरामी भएर पुन नारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै बेरोजगार जस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला पेस्की ल्याइ सकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एक छिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलि पल्टदेखि बाबुको व्यथा बढेर आइ दियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।

पेस्की ल्याएदेखि बेपत्ता भएको हुनाले साहुले उनलाई समात्न आइ रहेका थिए । साहुले अनेक भनाइको सिलसिलामा भनि रहेका थिए– "यस्तो बेइमानी गर्नु मनासिब छैन ।"

"बेइमानी गरेको होइन साहुजी ! के गरुँ परिस्थिति नै यस्तो हुन आयो । म बेइमानी कहिल्यै गर्दिनँ ।" पुन नारानले बडो नम्रता साथ भने ।

"खुब इमानदार काम गर्‍यौ, यही हो तिम्रो इमानदारी ? पेस्की लिइ सकेपछि बेपत्ता ?"

"अब एक हप्ता पर्खि दिनोस् साहुजी ! बाबुलाई बिसेक भएपछि म काम गर्न सुरु गरि हाल्छु । आजदेखि डाक्टरको औषधी परेपछि त निको भइ हाल्छ ।"

"तिम्रा बाबुलाई ठीक नहुँदासम्म बर्सादले पर्खि रहे त केही छैन ।"

"एक महिना जति अझै बेला छ, जेठै लागेको छैन । एक दुई हप्तापछि त झन् दिन लामो हुन्छ । घर बनाउने मुख्य बेला नै त्यही हो, साहुजी !"

"तिमीलाई त्यस्तो छ भने पेस्की फर्काइ देऊ । म अर्कैलाई काम लाउँला !"

"पेस्की ल्याएको रुपियाँ सकिएरै त तपाईंका सबै कुरा सहि रहनु परेको । बाको यस्तो अवस्था छ, खर्चले मुस्किल परि रहेको थियो, तपाईंले दिनु भएको पेस्कीले मलाई ठुलो काम दियो । यसको पनि मैले गुन सम्झेको छु, साहुजी !"

पुन नारानको अति नम्र कुरा सुनेर साहुजीले प्रतिवाद गर्न सकेनन् । लतमायाले पुन नारानलाई डाक्टर गोदत्त प्रसादलाई झट्टै ल्याउने ताकिता गर्न पठाइन् । पुन नारान र साहुजी दुवै सँगै बाहिर निस्के ।

पुन नारान जाँदा पनि डाक्टर गोदत्त प्रसाद किताब नै हेरि रहेका थिए । शिव नारान अघिदेखि उभिएको उभियै थिए । पुन नारान पुग्नासाथ उनले आफ्ना दाजु शिव नारानलाई भने– "बालाई बढ्दै आएको छ, किन ढिलो गरि रहनु भएको ?"

पुन नारानबाट बाबुको झन् खराब स्थिति सुनेर शिव नारानले हडबडाएर डाक्टरलाई भने– "डाक्टर साहेब ! बालाई झन् बढि रहेको छ रे ! झट्टै हिँडि दिनोस् ।"

"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनु पर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।" डाक्टर गोदत्त प्रसादले प्रस्टै भने ।

"डाक्टर साहेबलाई नै देखाउन चाहेका छौँ, डाक्टर साहेबले हेरि दिनु भयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौँ ।" शिव नारानले आशाजनक भावमा भने ।

"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइ हाल न त, मेरो यस्तै दस्तुर छ ।"

"यहाँ त रुपियाँ लिएर आएको छैन, डाक्टर साहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्र्याउँला ।" शिव नारानले भने ।

"हो ?"

"हो, डाक्ट रसाहेब !"

"त्यसो भए लौ हिँडौँ त ।"

चार

राम्ररी जाँचबुझ गरि सकेपछि डाक्टर गोदत्त प्रसादले प्रेस्क्रिप्सन लेखि दिए । प्रेस्क्रिप्सन लेख्तालेख्तै बाबुले लाएको लुगाको तुना बाँधि रहेकी नानीथकुँप्रति हेरेर डाक्टरले भने– "झट्ट लुगा लगाई खास्टोले छाती छोपि हाल । हावा लाग्न दिनु हुन्न, अलि अलि निमोनियाले पनि छोइ सकेको छ ।"

प्रेस्क्रिप्सन लेखि सकेपछि डाक्टरले भने– "दिनको दुई मात्रा मिक्स्चर ख्वाउनू, पुरिया औषधी पनि लेखि दिएको छु, त्यो दिनको दुई मात्रा खाना खानुभन्दा अगाडि ख्वाउनू अनि दुई दिन लगातार एउटा इन्जेक्सन पनि दिन लाउनू, इन्जेक्सन राम्रो जान्ने कम्पाउन्डरबाट दिन लाउनू ।"

बिरामीको कोठा बाहिर आएर जान लाग्दालाग्दै डाक्टरले भने– "राम्ररी हेर विचार गर्नू, व्यथा अलि कडै छ, म भरे पनि एक चोटि आएर हेर्ने छु । बिरामीलाई एक्लै नछाड्नू ।"

बिरामीको बारेमा बाहिर गएर अवश्य केही कुरा बोल्ने शङ्का भएर हिँड्नासाथै नानीथकुँ पनि सँगसँगैजसो गएकी थिइन् । डाक्टरको कुरा सुनेर नानीथकुँले मुख अँध्यारो पारिन् ।

नानीथकुँले त्यस्तरी मुख अँध्यारो पारेको देखेर डाक्टरले भने– "किन यस्तरी मुख बिगारेकी नानी ? धन्दा नमान, म सकेसम्म कोसिस गर्नेछु ।"

नानीथकुँसित यति बोली डाक्टर गोदत्त प्रसादले लतमायातिर फर्केर भने– "यिनी को हुन् आमै ? तिम्री छोरी हुन् कि ?"

लतमायाले भनिन्– "हो ।"

"ज्यादै चिन्ता लिएकी जस्ती छन् यिनले । के यिनको बिहे भइ सक्यो ?"

"भएको छैन ।"

"ओहो ! बिहे भइ सकेको भए तिमी बुढाबुढीहरूलाई सन्चो हुने । बिचरा बुढालाई छोरीको पनि चिन्ता हुँदो होला ।" शिव नारानतिर हेरेर डाक्टरले भने– "भइगो, भरे मै आएर इन्जेक्सन दिउँला, कम्पाउन्डरलाई किन मफतमा एक रुपियाँ फिस ख्वाउने, बुझ्यौ ?"

डाक्टर गोदत्त प्रसाद सरासर हिँडे । हिँड्न लाग्दा शिव नारानले पाँच रुपियाँ फिस हातमा राखि दिए ।

नानीथकुँ सत्र वर्षकी तरुनी थिइन् । उनको यौवन पुस्टिएर ढकमक्क फुलि सकेको थियो । किसानकी छोरी भए तापनि उनको अनुहारमा सौन्दर्य बलि रहेको हुनाले उनी भेष बदलेकी शाहज्यादी जस्ती थिइन् । नानीथकुँलाई थाहा नभईकनै उनको चेहरामा हिसी भरेको मुस्कान सधैँ नाचि रहन्थ्यो । नानीथकुँको यो विशेषता देखेर डाक्टर गोदत्त प्रसाद मुग्ध भए ।

नानीथकुँमा स्वतः उदाइ रहेको प्राकृतिक सौन्दर्यका साथ आजको विज्ञानले आविष्कार गरेको सुन्दरताको चमत्कार पनि थपियो भने उनको रूप, यौवन कस्तो होला भनी नानीथकुँको पुलुक्क दर्शनमै डाक्टर गोदत्त प्रसादको कल्पना दौडि सकेको थियो ।

डाक्टर गोदत्त प्रसाद घर फर्कि सकेर पनि कति बेरसम्म नानीथकुँको अनुहार सम्झि रहेका थिए ।

अस्पतालमा विशेष ध्यान दिनु पर्ने कामकाज गर्दागर्दै पनि गोदत्त प्रसादका आँखा अगाडि नानीथकुँको अनुहार नाचि रहेको थियो र भरेको सपना देखि रहेका थिए । काम गर्दागर्दै बिच बिचमा उनी आफ्नो नाडीघडी पनि बराबर हेरि रहन्थे । एघारदेखि पाँच बजेसम्ममा उनले हजार चोटि त घडी हेरे होलान् । जसै घण्टाघरमा पाँच ट्वाङट्वाङ हान्यो, कैदबाट मुक्त भए झैँ डाक्टर गोदत्त प्रसादलाई लाग्यो । दङ्ग भएर उनी घर नगईकनै सरासर अष्ट नारानका घरतिरको बाटो तताए ।

पाँच बजि सकेपछि साँच्चै डाक्टर गोदत्त प्रसाद सजिलैसित आफैँ एकाएक आइदिँदा अष्ट नारानको पीडित परिवारलाई सार्‍है राम्रो सान्त्वना भयो । गोदत्त प्रसाद पनि बडो आश्वासनपूर्ण भावमा मुसुमुसु हाँस्तै "अहिले कस्तो छ ?" भन्दै बिरामीको अगाडि बसे ।

डाक्टरले पहिले नाडी हेरे, अनि आफैँले डिग्री रखाउन लगाए अनि क्रमैसँग छाती इत्यादि सबै जाँचे । सब जाँचि सकेपछि बिहान लेखि दिएको इन्जेक्सन आफैँले दिए । अनि एक छिन केही नबोली गम्भीर मुद्रामा बिरामीको मुख हेरि रहे– बीच बीचमा एकाध सोधनी गर्दै डाक्टर गोदत्त प्रसाद बिरामीको अगाडि करिब एक घण्टा बसे होलान् ।

डाक्टर आउनुभन्दा अगाडि नानीथकुँ आफ्ना बाबुको गोडा मिचि रहेकी थिइन् । डाक्टर गोदत्त प्रसाद बिरामीको सिरानतिर बसेका हुनाले नानीथकुँको ठिक सामुन्ने पर्थे । त्यसैले नहेरे तापनि डाक्टर गोदत्त प्रसादले नानीथकुँको श्रीमुख देखि रहेका थिए, धेरै बेरपछि आफू हिँड्नुभन्दा केही छिन अगाडि डाक्टर गोदत्त प्रसादले नानीथकुँतिर हेरेर भने– "धेरै गोडा मिच्नु पनि ठिक छैन नानी !"

डाक्टरले त्यति भन्नासाथ नानीथकुँले चट्ट हात थामिन् अनि ढोकातिर उभिन गइन् । एक चोटि नानीथकुँतिर पुलुक्क हेरेर डाक्टर हिँड्नलाई उठे । कोठा बाहिर पुगि सकेपछि अष्ट नारानको परिवारका सारा सदस्य डाक्टरको अगाडि उभिए अनि डाक्टर गोदत्त प्रसादले बिस्तारै भने– "व्यथा अलि कडा हुँदै आएको छ, होस गर्नु होस् है ! तैपनि म जहाँसम्म सक्छु, कोसिस गर्न छाड्दिनँ र आस पनि गर्छु ।"

डाक्टर जान लागेको वेलामा शिव नारान फिस हातमा दिन अगाडि बढे । एक छिनपछि अनकनाए जस्तो गरेर डाक्टर गोदत्त प्रसादले भने– "निको नै गरूँ ।"

डाक्टर गोदत्त प्रसादको यो सहानुभूति देखेर ज्यादै कृतज्ञ र आह्लादित भएर लतमायाले भनिन्– "यो एकचोटि लिइ हाल्नु होस् डाक्टर साहेब ! अनि भोलिदेखि त फिस दिने सामर्थ्य पनि छैन ।"

डाक्टर गोदत्त प्रसादले झन् सहानुभूति देखाएर भने– "मेरो बुद्धि र बर्कतले भेटुन्जेल जरुर म तपाईंहरूको यथायोग्य सेवा गर्नेछु । यसमा तपाईंहरूले धन्दै मान्नु पर्दैन ।" शिव नारानको फिस दिइ रहेको हातलाई पन्छाउँदै हिँड्न खोजीकन डाक्टरले भने– "भोलि बिहान ठीक आठ बजे आइ पुगुँला । त्यतिन्जेल केही बढेर आएमा तुरुन्त खबर गर्नु होला, रातमा भए पनि म आउने छु ।"

यति भनी डाक्टर गोदत्त प्रसाद हिँड्न लागे, दुई पाइला के गइ सकेका थिए, फेरि फरक्क फर्केर नानीथकुँतिर हेरेर उनले भने– "अँ, धेरै गोडा मिच्ने काम पनि नगर्नु होला है ! आजलाई पुग्यो ।"

लज्जापूर्ण भावमा नानीथकुँले 'हओस्' भन्ने सङ्केतमा केवल शिर हल्लाइन् ।

पाँच

डाक्टर गइ सकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको वेलामा बिरामी अष्ट नारानले नसकी नसकी बोले– "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म एउटा बालक अथवा युवक पनि त होइन, पुरा आयु पुगि सकेको गरिब घरको एउटा बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिई लिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबु उपर छोराछोरीले श्रद्धाभक्ति गर्नै पर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखि हालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानै पर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबुहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।

कसैले केही जबाफ नदिएको देखेर अष्ट नारान फेरि बोले– "के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ? अथवा तिमीहरूको चित्त दुख्यो कि ?"

अनि शिव नारानले भने– "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठिक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"

अष्ट नारानले सम्झाएको भावमा भने– "हाम्रा निम्ति थोरै नै धेरै छ बाबु ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"

"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिव नारानले भने ।

"त्यसो भए डरलाग्दो कुरा छ बाबु ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरि दिएका पनि छैनन् ।" सशङ्कित भावमा अष्ट नारानले भने ।

वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिव नारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्‌मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिव नारानले आफ्ना पिताज्यू अष्ट नारानलाई सम्झाएर भने– "डाक्टर गोदत्त प्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"

"ठिक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट नारानले भने ।

"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनु पर्दैन, केवल मन खुसी पारेर बस्नु होला ।" अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।

बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ सकेपछि करिब एक घण्टापछि अष्ट नारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्त प्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परि दिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।

अष्ट नारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।

भोलि पल्ट बिहानको छ बजेतिर मात्र अष्ट नारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि आफ्ना छोराछोरी सबै र जहान लतमाया पनि छरिएर बसि रहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि रहेको थियो । पानी परि रहेका कारण अष्ट नारानलाई ठन्डा भएर आनन्द लागि रहेको थियो ।

सर्वप्रथम उनले आफ्ना जेठा छोरा शिव नारानलाई सम्बोधन गरेर भने– "शिव नारान ! यतिका दिन भइ सक्यो, खेतमा नगईकन किन मलाई कुरि रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्छ । बाबु ! असार बिग्र्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"

मरणासन्न बाबुको प्राणदायी कुरा सुनेर शिव नारान जिल्ल परेर बसि रहे । अनि फेरि अष्ट नारान बोले– "किन चुप लागि रहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठिक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबु ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"

"धेरै नबोल्नु होस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिव नारानले भने ।

"डाक्टरले आफ्नो सिद्धान्तको मर्यादा राख्छन् । म पनि आफ्नै सिद्धान्त अनुसार बोलि रहेको छु, किसानको छोराका लागि यही सिद्धान्त छ बाबु !" अष्ट नारानले अलि हाँस्न खोजेर भने ।

जबाफ दिएपछि र बोलि रहेपछि अष्ट नारानको झन् बोलि रहने बानी थाहा पाएर शिव नारानले केही पनि नबोलीकन चुपचापसँग बस्ने विचार गरे । एक छिनपछि शिव नारान त्यहाँबाट उठेर गए ।

शिव नारान गइ सकेपछि अष्ट नारानले माहिला छोरा पुन नारानलाई भने– "तिमी पनि आफ्नो काममा जाऊ पुन नारान ! घर बनाउने काम अब धेरै दिन छैन, बर्सात सुरु भएपछि घर बनाउनेहरू कमै हुन्छन् । जाऊ, मलाई कुरि रहनु पर्दैन । आफ्नो काममा डटि रहू, यही तिम्रो परम कर्तव्य हो ।"

"हात खुट्टा बलियो भएपछि काम भनेको सधैँ पाइन्छ बा ! तर छोराछोरीका निम्ति बाबु सधैँ पाइ रहिन्न । बाको सेवा गर्न पाएपछि त्यस्ता काम लाख आउँछन् ।" पुन नारानले भने ।

अलि हाँसेर अष्ट नारानले भने– "लाटा ! सधैँ नपाइने हुनाले नै मैले भनेको, त्यस्ता कुरालाई कुरि रहेर सधैँ पाइने कुरा नगुमाऊ । के तिमीहरूले कुरि रहेर मलाई एक दिन मात्र पनि बढ्ता बचाउन सक्छौ ? कदापि सक्तैनौ । हामीहरूको यही नचाहिँदो बढ्ता मायामोहले नै उन्नति हुन नसकेको हो ।"

बाबुको यो प्रभावपूर्ण कुरा सुनेर पुन नारान पनि केही बोल्न सकेनन्, उनी चुप लागि रहे । अष्ट नारान पनि एक छिन चुप लागे ।

अष्ट नारान फेरि बोले– "भैगो लौ, मलाई नकुरि नहुने भए एक जना भाइ कुर्न बसि रहू । जम्मैका जम्मै कामकाजै छोडेर कुरि रहनाको केही मतलब छैन । लौ जाऊ, हर्ष नारान पनि जाऊ, नानीथकुँ पनि जाऊ, मलाई कुर्नै परे जाँगर कमी भइ सकेकी एउटी बुढिया बसि रहोस् । सबै किन बस्नु परेको छ ?"

यति बोलि सकेपछि अष्ट नारानलाई थकाइ लागेर आए जस्तो पनि भयो । अनि लतमायातिर टुलुटुलु हेरी चुप लागे । अगाडि बसि रहेपछि फेरि अष्ट नारानले बोल्न सुरु गर्लान् भन्ने ठानी बाबुको आज्ञा शिरोपर गरे झैँ गरी छोराछोरी सबै बाबु भएको ठाउँबाट गए । खालि लतमाया एक जना मात्र त्यहाँ बसि रहिन् ।

सात

डाक्टर गोदत्त प्रसाद ठिक आठ बजे आइ पुगे । उनलाई देख्नासाथ बिरामी अष्ट नारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । अष्ट नारानको हेराइ देखेर डाक्टर गोदत्त प्रसाद एक छिन टोलाए । एक छिन जिल्लिएर बिरामीतिर हेरि सकेपछि डाक्टर गोदत्त प्रसाद बिरामीको नाडी हेर्न थाले । नाडी हेरि सकेपछि छाती जाँचे । अनि बिरामीसँग सोधे– "आज तपाईंलाई कस्तो छ ?"

"अलि अप्ठ्यारो भएको छ ।" बिरामीले डाक्टरको अनुहार हेरेर भने ।

"धन्दा नमान्नोस्, केही हुन्न ।" अलि आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने ।

अष्ट नारानले डाक्टरको मुख क्वारक्वारती हेरे, केही बोलेनन् । "केही खान मन लाग्छ ?" डाक्टरले सोधे ।

नकारात्मक भावमा अष्ट नारानले टाउको हल्लाए ।

एक छिन चुपचापीले छायो । डाक्टरले बडो गौरसित बिरामीको प्रकृति अध्ययन गरि रहे । बिरामीले पनि डाक्टरको अनुहार एकटकसित हेरि रहे । यसरी समय करिब पाँच मिनेट बित्यो होला अनि एकाएक बिरामी अष्ट नारान बोले– "डाक्टर साहेब ! अब म कति दिन बाँचुँला ? आज सोमबारे औँसी परेको छ, कडा दिन छ !"

"यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले भने जस्तो बस्नोस् न, अझ बिसासय वर्ष तपाईं बाँच्नु हुन्छ ।" डाक्टरले हाँस्तै भने ।

"तपाईं त्यस्तो भन्नु हुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखि रहेको छ ।" शिथिल भावमा अष्ट नारानले भने ।

"तपाईं निश्चिन्त हुनु होस्, केही भएको छैन ।" यति भनेर डाक्टर गोदत्त प्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछि पछि गइन् ।

अष्ट नारानको कोठा बाहिर शिव नारान, पुन नारान, हर्ष नारान र नानीथकुँ ढोकाबाट चियाएर डाक्टर गोदत्त प्रसादले भनि रहेका कुरा सुनि रहेका थिए । डाक्टर गोदत्त प्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने– "व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गार्‍है छ ।"

डाक्टर गोदत्त प्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।

अनि डाक्टर गोदत्त प्रसादले भने "तपाईंहरूले अब यसरी चिन्ता गर्ने बेला छैन, जानु होस् बिरामी कुरुवा बस्न गइ हाल्नोस् । बेहोससेहोस केही पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।"

डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्– "डाक्टर साहेब ! कुनै उपायले पनि ठीक हुन सक्तैन ?"

"मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा असाध्य भइ सकेको छ । अब तपाईंहरूले एक छिन पनि नछाड्नु होला ।" गम्भीरतापूर्वक डाक्टर गोदत्त प्रसादले भने ।

लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुँको आँखाबाट पनि आँसु टप्कि हाल्यो । डाक्टर गोदत्त प्रसादले सम्झाएर बिरामी कहाँ कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एक एक गरेर बिरामी अष्ट नारानको सेवा शुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाई बुझाई गरी डाक्टर गोदत्त प्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने बेलामा भनेर गएका थिए– "भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक चोटि बोलाउन पठाउनु होला ।"

डाक्टर गोदत्त प्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।

'आफ्नो अर्ती सुनेर काममा गइ सकेका छोराछोरीहरू किन फेरि एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्ट नारानको चिरकाल रोगग्रस्त हृदयमा झ्वास्स लाग्यो । एक चोटि क्वार क्वारती सबैलाई हेरे । अनि सहसा बोले– "किन तिमीहरू सबै एकैचोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?"

अष्ट नारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै गार्‍हो र अप्ठ्यारो पर्‍यो । सबै बाबुको मुख हेरेर चुप लागि रहे ।

अनि फेरि अष्ट नारान बोले– "लौ, तिमीहरू सबै भावुकताको वशमा परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य काम कर्तव्य (ड्युटी) लत्त्याइ रहेछौ ।"

अष्ट नारान बोलि रहेको देखेर लतमायाले बीचमा कुरा काटेर भनिन्– "अलि बेस भएर आएको वेला 'धेरै बोल्न नदिनू' भनी डाक्टरले भनेका छन् ।"

"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु झन् झन् बिग्रँदै गएको देख्तछु ।" अष्ट नारानले भने ।

अष्ट नारानको यो कुराले लतमायालाई सार्‍है चोट पर्‍यो । लतमायाको वेदना थाहा पाएर अष्ट नारानले भने– "लतमाया ! जन्मेपछि मर्नु पर्छ, अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छ्यौ, यदि तिमी अगाडि मरे पनि त म विधुर हुन्छु; दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !"

बोलेकै सिलसिलामा अष्ट नारानले छोराहरूतिर हेरेर भने– "मलाई जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दान दक्षिणा र काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौँ पुस्ताका सन्तान दरसन्तानले बार्‍है महिना आधा पेटको गुजारा पनि गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।"

तत्क्षणात् अष्ट नारानको वाणी टक्कै रोकियो । अष्ट नारानको यो स्थिति देखेर स्वास्नी, छोरा, छोरी सबै हडबडाउन थाले । उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्ट नारानले हातले सङ्केत गरेर धैर्य धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्ट नारानले छिटो छिटो चारैतिर आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक दुई हिक्का पनि आउन सुरु भयो अनि दुई मिनेट पनि नबित्तै अष्ट नारानले सधैँका निम्ति आँखा चिम्ले ।

आठ

अष्ट नारानको मृत्युको समाचार सुनेर टोलमा सनसनी फैलियो र सबै शोक विह्वल भएको बेला सम्झाउन आउने मानिस आफैँ शोक सन्तप्त भए । जसका कारण अष्ट नारानको परिवार, अझ विशेषतः लतमायालाई सम्झाउन आएका उनीहरूको घरमा धेरै बेर रुवाबासी चलि रह्यो

अष्ट नारानको शोक सन्तप्त परिवारलाई सान्त्वना दिएर छिमेकी र टोलियाहरू आआफ्ना घर फर्के । दाह संस्कारको कामका लागि गुठियारहरू पनि फाटफुट रूपमा आइ सकेका थिए । तर शिव नारानलाई भने पिताको मृत्युले भएको वेदना भन्दा पनि अर्कै तापले दु:ख दिन थाल्यो । 'अब कसरी दाह संस्कारको काम सिद्ध्याउने ?’ यस चिन्ताले शिव नारानलाई सर्पले डसे झैँ डस्न थाल्यो । शिव नारान जेठा छोरा भएका हुनाले धन्दा सुर्ता सबै उनैले नबोकी भएन । घरमा फुटेको पैसा थिएन । यहाँसम्म कि कात्रो किन्नलाई समेत पैसा थिएन । भएको दुई चार रुपियाँ र एकाध मुरी अन्न पनि अष्ट नारानको औषधी खर्चमा सिद्धि सकेको थियो । भण्डारमा अन्नको नाउँमा दुई तीन पाथी चामल र पाँच छ पाथी पीठो अनि बिस पच्चिस धार्नी आलु बाँकी थियो । कसैसित सापट माग्न पनि उनलाई राम्रो लागेन । दुनियाँ हाँस्ला भन्ने सोचाइमै उनको सापट माग्ने विचार र ह्याउ मरेर गयो ।

यो कुराको ताप र चिन्ता शिव नारानलाई मात्र होइन, उनका अरू भाइहरू र आमा लतमायालाई पनि भइ रहेको थियो । गुठियारहरूको ताकेताले उनीहरूलाई झन् पोल्न थाल्यो । चिन्ताको तापले उनीहरूले 'अब के गर्नु ?' भन्दै सल्लाह गर्न थाले । अरू थोक केही उपाय नदेखेर घरमा भएको त्यही अलिकति चामल, पीठो र आलु बेचेर भए पनि काम चलाउने सुझाव माहिला छोरा पुन नारानले दिए ।

"कसरी बेच्न जाने ? कसलाई बेच्न पठाउने ? हामी बेच्न जान मिलेन ।" सुस्केरा लिँदै शिव नारानले भने ।

"हामी बेच्न जान नहुने किन ?" कान्छा हर्ष नारानले भने ।

"बाबुको दाह संस्कार नसिद्ध्याई कसरी हामी घरबाट बाहिर जाने ?" शिव नारानले भने ।

"के गर्ने त अब, यस्तै पर्न आयो ।" पुन नारानले भने ।

"गुठियारहरू सबै जम्मा भइ सके । उनीहरूले नदेख्ने गरी लैजान सक्ने चिज होइन खर्पन बोक्नु पर्ने कुरा ! सार्‍है सर्म र बेइज्जत हुन जान्छ पुनचा ! के गर्ने ? हाहा नगर्लान् उनीहरूले ?" शिव नारानले भने ।

"के लाग्यो, सहनै पर्‍यो, अरू थोक उपाय नै के छ त ?" पुन नारानले भने ।

"के गर्ने आमा ! यसै गरौं त ?" शिव नारानले लतमायासँग सोधे । लतमायाले केही पनि जबाफ दिइनन् । दुवै आँखाबाट बरबरी आँसु चुहाइ रहिन् ।

बरबरती चुहि रहेको आँसु पुछ्तै नानीथकुँले भनिन्– "सबको अगाडिबाट चामल, पिठो र आलु कसरी बेच्न लैजाने दाजु ? यो त सार्‍है नराम्रो लाग्यो मलाई । त्यसै पनि हामीलाई हाहा गर्न खोज्नेहरूले देखे भने के मात्र नभन्लान् ?"

"अरू के उपाय छ त भन न तिमी नै ?" शिव नारानले भने । "जुठो नफुकेसम्म केही काम गर्न जानु हुन्न, आफ्नै बाबु मरेर घरमा परेको जुठो मान्नै पर्छ । त्यतिन्जेल एक छाक मात्र भए पनि खाएर हामीले ज्यान बचाउनै पर्छ । अर्को कुरा भाइ भताहाहरूलाई खुवाउनैपर्छ । घरमा भएको अन्नपात बेइज्जत सहँदै बेचेर फेरि किन्दा टुट्टा खानु पर्ने हुन्छ ।" वेदना सहँदै गम्भीरतापूर्वक नानीथकुँले भनिन् ।

"तिमीले भनेका सबै कुरा मनासिबै छन्, मलाई पनि त्यो गर्न कहाँ मन लाग्छ ? तर गर्ने के, तिमी नै सोच !" शिव नारानले अलि लामो सास फेरेर भने ।

"डाक्टर गोदत्त प्रसादले हामीमाथि सहानुभूति प्रकट गरि रहेको देखिन्छ । दिएको फिस समेत नलिईकन आफैँ आई बालाई उनले त्यत्रो मिहिनेत साथ औषधी गरि दिए, उनीसितै बिस पच्चिस रुपियाँ सापट मागौँ कि ! मैले हेर्दा त अवश्य उनले मद्दत गर्ने छन् ।" नानीथकुँले भनिन् ।

नानीथकुँको यो सल्लाह सुनेर शिव नारान, पुन नारान, हर्ष नारान, लतमाया सबैले भुइँतिर निहुरेर एक चोटि गौर गरे । अनि लतमाया बोलिन्– "उनीसित सापट मागे नदेलान् जस्तो त छैन तर किन हो कुन्नि, तिम्रो बालाई उनको सहानुभूति अलि तितो लागेको थियो ।"

"मलाई पनि अलि कस्तो कस्तो नै लाग्यो !" शिव नारानले भने ।

"अगाडि नराम्रो मानिस पछि राम्रो भएर आएको बेस कुरा हो । देलान् जस्तो देखिए उनीसित सापट माग्नमा आपत्ति के छ त ? सित्तैँ खानु छैन, चाँडै तिरौँला । मैले हेर्दा पनि उनीसित सापट लिएर काम चलाउनु बढिया लाग्यो ।" पुन नारानले भने ।

"हुन्छ, हुन्छ; सबभन्दा अहिलेलाई यही उपाय नै मलाई पनि राम्रो लाग्यो । 'भरे भोलि' भनी पर्खने वेला पनि त अहिले छैन । तैपनि यस्तो ढिलो भएर लाज मर्नु भइ सक्यो ।" हर्ष नारानले भने ।

एक छिन फेरि सब चुप लागे । अनि मनमन गौर गरि सकेपछि शिव नारानले भने– "के लाग्यो त, हुन्छ, डाक्टर गोदत्त प्रसादसँग सापट लिऔँ । तर उनी अहिले घरमा हुँदैनन्, अस्पतालमा होलान् ।"

"अस्पतालमा भए उहीँ गएर सापट मागे के हुन्छ ?" नानीथकुँले भनिन् ।

"हुन्छ लौ, पच्चिस रुपियाँ उनीसित सापट लिऔँ, कसलाई पठाउने ? हामीमध्येबाट कोही जानु बेस होला ।" शिव नारानले भने ।

"हर्ष दाइ र म जाऔँ, दुई जना गएपछि उनको दिल झन् पग्लला ।" नानीथकुँले भनिन् ।

"हुन्छ त, तिमीहरू जाओ । गइ हाल त, अबेर गर्ने किन ! नदिए रोएर, बिन्तीभाउ गरेर पनि सापट लिएर आओ, अलि छिटो छिटो जाओ ।" शिव नारानले भने ।

शिव नारानको आज्ञा पाएर हर्ष नारान र नानीथकुँ डाक्टर गोदत्त प्रसादकहाँ रुपियाँ सापट माग्न गए ।

मरेको चार घण्टा भइ सक्यो, अझसम्म केही सुरसार नभएको देखेर एउटा गुठियारले अलि झर्केर भन्यो– "शिव नारान । सार्‍है अबेर भयो, के गर्न लाग्नु भएको यो तपाईंहरूले ? कहिले मुर्दा लैजाने, कहिले दाह संस्कारको काम सिद्ध्याउने ? हुन त यस्तो अवस्थामा केही बोल्न ठीक छैन तर साराको कामकाज बर्बाद हुन लागि सक्यो, त्यसैले नबोल्न सकिनँ ।"

"सब ठिक हुन लाग्यो, एक छिन पर्खि दिनोस्, माल सामान जोरिँदै छ । के लाग्छ, जिउँदो छँदै मर्ने सम्झेर जोरजाम गर्नु भएन ।" शिव नारानले वेदना भरेको आवाजमा भने ।

"मेरो भनाइ त्यस्तो होइन, तर मरेको पनि त धेरै समय बिति सक्यो । यसरी धेरै बेर मुर्दालाई पर्खाइ राख्नु पनि ठीक छैन । यसैले पनि हामीले ताकिता गरेका हौँ ।"

"तपाईंले भन्नु भएको कुरा मनासिब हो । बन्दोबस्त हुँदै छ, एक छिन तपाईंहरू नरिसाइ दिनु होला ।"

"होइन, कोही पनि रिसाएको छैन । यस्तो वेलामा पनि रिसाउने कस्तो मूर्ख होला ? अबेर भएर ताकितासम्म गरेका हौँ ।"

"बरु अर्थी बनाउनलाई बाँससाँस दिनोस्, दाउरासाउरा पनि ठिक गर्दै गरौँ ।" अर्को एक जना गुठियारले भने ।

घरमा भएका बाँसहरू खोजेर दिँदै– "अर्थी बनाउँदै गर्नु होला, दाउरा किन्न गएका छन्, एकैचोटि सबै तयार हुने छ ।"

गुठियारहरू बाँस काटकुट गरी अर्थी बनाउन थाले ।

हर्ष नारानका साथै नानीथकुँ पनि सहसा अस्पतालमा आएको देखेर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले तुरुन्तै सोधे– "बालाई कस्तो छ ?"

डाक्टरको यो प्रश्नले थामि रहेको आँसु नानीथकुँको आँखाबाट फेरि बग्न थाल्यो । उनी धुरुधुरु रुन थालिन् । हर्ष नारानले तत्क्षणात् भने– "बा त गइ सक्नु भयो ।"

"हँ ! राम ! राम !! कुन वेला ?" डाक्टर गोदत्त प्रसादले आश्चर्य चकित भएर शोकयुक्त स्वरमा सोधे ।

"अगि एघार बजेतिर ।"

"मैले त गर्नसम्म उपाय र कोसिस गरेको थिएँ । संसार यस्तै हो, मर्नु र जन्मनु संसारको गति हो । उमेर नपुगेको भन्नु पनि छैन ।" यहाँ किन आउनु भएको त तपाईंहरू ? मबाट अझै कुनै सेवा हुन सक्छ भने भन्नोस्, हाजिरै छु । दागबत्तीको काम सबै ठीकठाक भइ सक्यो ?"

हर्ष नारान र नानीथकुँ दुवै जना अनकनाएको भाव देखेर डाक्टर गोदत्त प्रसादले फेरि भने– "भन्नु होस्, केही भन्नु छ मसित ?"

हर्ष नारानले बोल्न इसारा गरे पछि नानीथकुँले भन्ने साहस गरिन् तर बोल्न खोजेको कुरा सर्मले गर्दा घाँटीमै अड्कियो । उनको मुखमा सर्मको लालीपना छाउन थाल्यो । अनि डाक्टर गोदत्त प्रसादले आश्वासनको भावमा भने– "भन न नानी ! किन लजाएकी ? मलाई भन्नलाई पनि केको लाज ? मलाई आफन्तै सम्झे हुन्छ ।"

डाक्टरको यस्तो आश्वासन र सहानुभूतिपूर्ण कुरा सुनेर नानीथकुँले बोल्न साहस गरिन् तर यो पटक पनि लज्जाले घाँटी नै समाइ दियो । अनि डाक्टर गोदत्त प्रसादले अझै आफन्तको भावमा भने– "किन लजाउनु पर्छ भन्या, मलाई परचक्री सम्झेकी ?"

हर्ष नारान पनि लज्जाले मुन्टो निहुराएर उभिइ रहेका थिए । यसपालि भने नानीथकुँले बल गरेर भनि हालिन्– "अलिकति रुपियाँ मागौँ भनेर आएका हौँ ।"

पूर्ण सहानुभूतिको भावमा डाक्टर गोदत्त प्रसाद तत्क्षणात् बोले– "कति रुपियाँ चाहियो नानी ?"

"पच्चिस रुपियाँ जति मात्र भए पुग्छ ।" लज्जापूर्ण भावमा नानीथकुँले भनिन् ।

खल्तीको मनिब्यागबाट रुपियाँ झिक्दै गोदत्त प्रसादले भने– "यति जाबो मद्दतका निम्ति पनि यस्तरी लजाउनु पर्छ ? मद्दत भनेको सबैसित सबैले लिनु पर्छ र लिइन्छ पनि; मद्दत दिनु मानिसको कर्तव्य झैँ मद्दत माग्नु पनि मानिसको हक हो । यसका निम्ति पनि त्यस्तरी लजाउनु पर्छ ? चाहिए अझ अरू पनि मद्दत दिनमा म तयार छु ।" नानीथकुँको हातमा रुपियाँ अर्पंदै उनले भने– "चाहिएको मद्दत नमाग्ने भुल नगर्नू है !"

नानीथकुँले लज्जासित कृतज्ञतापूर्ण भावमा स्वीकृति सूचक टाउको हल्लाइन् ।

हर्ष नारान पनि लज्जा र कृतज्ञतापूर्ण भावमा मौन भएर उभि रहे । लज्जावश रुपियाँ पाइ सकेर पनि नानीथकुँ र हर्ष नारान जान सकेनन् । दुवै त्यसै उभि रहे ।

अनि डाक्टर गोदत्त प्रसादले उनीहरूभित्र उब्जि रहेको भाव जानी भने– "जानु होस्, झट्टै गएर दागबत्तीको काम नै सिद्ध्याउनु होस् ।"

डाक्टर गोदत्त प्रसादले यति भनेपछि उनीहरू शोकमा पनि खुसी भएर डाक्टरप्रति कृतज्ञता भाव जाहेर गर्दै त्यहाँबाट आए ।

नौ

चलन अनुसार भन्दा पनि बाबुको श्रद्धामा सबै छोराछोरीहरूले भोकले उथलपुथल मच्चाइ रहे पनि भक्तिपूर्वक त्यस दिन छाक छोडेका थिए । लतमायाले त झन् पानीसम्म पनि मुखमा हालिनन् । तर नखानमा भक्ति मात्र होइन, खानमा इच्छा पनि कसैको थिएन ।

भोलि पल्ट बिहानैदेखि बिचाः आउने मानिसहरूको ताँती लाग्न थाल्यो । वास्तवमा आफू दुर्जन भएर पनि सितिमिति अर्काको नजरमा परी दुर्जन प्रमाणित गराउन कसैलाई पनि मन्जुर हुँदैन, यो मानिसहरूको स्वभाव हो । त्यसैले 'सबै सबैलाई असल लाग्न सक्तैन' भने अनुसार अष्ट नारान असल नलाग्ने टोलका एकाध मानिसहरू समेत उनको निधनमा शोक र सहानुभूति प्रकट गर्न आएका थिए । लोग्ने मानिस नभएका र मानिस अनुकूल नमिलेका घरका स्वास्नी मानिसहरू पनि समवेदना प्रकट गर्न आएका थिए । समवेदना प्रकट गरी सान्त्वना दिन आउने मानिस पाएर अष्ट नारानको परिवारलाई धैर्य गर्ने बल पनि मिल्यो ।

अष्ट नारानको टोलमा सबभन्दा ठुला, भलादमी, पढेलेखेका र इज्जतदार मानिस डाक्टर गोदत्त प्रसाद हुन् । उनी पनि अष्ट नारानको निधन भएको भोलि पल्ट बिहान साढे आठ बजेतिर समवेदना प्रकट गर्न आइ पुगे । अरू सबैले मौन रूपमा हार्दिक समवेदना मात्र गरेर सान्त्वना दिए तर डाक्टर गोदत्त प्रसाद पढेलेखेका मानिस हुनाले हार्दिक सहानुभूतिका साथसाथै अनेक सान्त्वनाप्रद कुरा गर्नमा पनि सिपालु थिए, त्यसैले उनले अरूले भन्दा बढ्ता अष्ट नारानको परिवारलाई धैर्य र सान्त्वना दिलाउन सके । गोदत्त प्रसाद पूरा एक घण्टा बसेर गए । उनले अष्ट नारानकी धर्मपत्नी लतमायालाई पनि निकै सम्झाइ बुझाइ गरी वेदना बिर्साइ दिए ।

आफ्नो जाति र समाजमा भएको मर्दापर्दा दान दक्षिणा दिने र भोज भतेर खुवाउने इत्यादि करै लाग्ने चाल चलनमाथि अष्ट नारान घृणा र आलोचना मात्र गर्ने होइन, आक्रमण गरी उघाड नै खुवाई आइ रहेका थिए । मर्दा नजिकका नाता, सम्बन्धीहरू रोएर बिचाः आउने प्रथालाई उनले बन्द गरि दिएका थिए । शिव नारान र उनका अरू भाइहरू पनि बाबुको क्रान्तिकारी विचारबाट प्रभावित थिए । यसैले उनीहरूले पनि बाबुको नाममा दान दक्षिणा दिने र भोज भतेर खुवाउने कुनै पनि काम गरेका थिएनन् । 'बाबुप्रतिको हाम्रो परम श्रद्धा यही हो' भन्ने उनीहरूको भनाइ थियो ।

पितृशोकको तेस्रो दिनदेखि शिव नारान आफ्नो खेतको कामधन्दामा हिँडे । 'बाबुको सिद्धान्त पनि हमेसा आफ्नो काम कर्तव्यमा रुजु हाजिर भएर पूर्णत्व प्राप्त गर्नु हो, यसैले बाबुको मरण भनेर हामीले अकर्मण्य भएर बस्नु ठीक छैन' भन्ने बोध गराई शिव नारानले भाइहरूलाई पनि आआफ्ना कामधन्दामा हाजिर गराउन पठाए ।

दश

अष्ट नारानको मृत्युपछि शिव नारानले घरको नेतृत्व लिए, खेतीको काममा झन् दिलचस्पी लिन थाले । एकाबिहानै भात खाएर दिनभरिलाई चाहिने खेतका सामान र सामलले भरेको खर्पन बोकी शिव नारान दिनहुँ खेतमा गई काम गर्थे । लोग्नेको चिर वियोगले घायल भएकी लतमायालाई काममा लैजानु शिव नारानले अनुचित ठहराई आमालाई घरैमा आराम लिन लगाइ राखेका थिए । उनले बहिनी नानीथकुँलाई पनि आमाको साथमा घरैमा राखेका थिए ।

आमा छोरी दुई जना घर कुरेर बस्थे । अरू सबै परिवार खेतीको काममा संलग्न हुन्थे । घरमा भएका बच्चाबच्चीहरूलाई पनि खेलाइ राख्थे । मानिसले कहिले पनि चुप लागेर बस्नु ठीक नसम्झी शिव नारानले लतमाया र नानीथकुँलाई पनि घरमा बसी बसी कपडा बुन्ने काम मिलाएका थिए । आफ्नो परिवारमध्ये एक थरी खेतीमा संलग्न, अर्को थरी सिकर्मी र ज्यामी काममा तत्पर र तेस्रो थरी घर कुरेर कपडा बुन्ने काममा ध्यानस्थ भएर शिव नारानको परिवार गरिबीसित मुकाबिला गरिरहेको थियो । यसरी नै उनीहरूको दिन आजपछि भोलि भोलिपछि फेरि भोलि भएर गुज्रि रहेको थियो । तर अफसोसको कुरा छ, यस्तरी काममा जोतिँदा पनि उनीहरूको जीवनमा तृप्ति थिएन ।

एक दिन लतमाया र नानीथकुँ तानमा कपडा बुनि रहेका थिए । समय दिउँसो दुई बजे थियो । रुमालले गालाका पसिना पुछ्तै आफ्ना तल्सिङ सुब्बा सुरमानका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । राम बहादुर सुब्बा सुरमानका अड्डामा कारिन्दा थिए र सबभन्दा विश्वासी मानिस । सुरमानको घरमा परि आएका काम गर्ने पनि उनी नै हुन् । मोहीहरूकहाँ बाली उठाउन जाने काम पनि राम बहादुर नै गर्दथे । राम बहादुरलाई लतमाया पनि राम्ररी चिन्थिन् । हाँस्तै आई कोठाको ढोकाको सँघारमा थचक्क बसेर राम बहादुरले भने– "आजकल देशी तान आइ रहेको छ, ज्यादै नयाँ किसिमको, कपडा बुन्न बिघ्नै सजिलो, दिनभरिमा कैयन् गज बुन्न सकिन्छ, त्यही किन न ।"

"कहाँ पाऊँ रुपियाँ ?" लतमायाले अलिकति हाँसेर भनिन् ।

"इच्छा भए रुपियाँ कुन ठुलो कुरो हो ! दलिनबाट पनि झर्न सक्छ ।" राम बहादुरले मुसुमुसु हाँस्तै भने ।

"त्यो पनि धनीहरूकै निम्तिको कुरा हो, गरिबका लागि त घाउमाथि नुनचुक मात्र हो । धनीको जीवनमा इच्छाले सुखलाई निम्तो दिन्छ तर गरिबको जिन्दगीमा त्यही इच्छाले आँखामा आँसु बोलाउँछ । त्यसैले कुनै कुराको इच्छा पनि गर्न मैले छाडि सकेँ ।" अलि मलिन भावमा लतमायाले भनिन् ।

"भन, तिम्रो इच्छा भए भोलि नै म यहाँ पुऱ्याइ दिन सक्तछु । सुब्बा साहेबसँग ऋण मागि दिउँला, त्यसैबाट कमाएर तिरि देऊ ।"

"सुब्बा साहेबलाई पोहोर सालको बाली तिर्न नै बाँकी छ, त्यो त कहिले कसरी तिर्ने भइ रहेछ, कुन मुखले फेरि रुपियाँ पैँचो माग्ने ?"

"म लिइ दिउँला पैंचो, मेरो जिम्मा भयो; तिमी खालि इच्छा मात्र गर ।" राम बहादुरको आश्वासन लतमायालाई मिठो लाग्यो । त्यसबाट फाइदा उठाएर धन कमाउने र सुख भोग्ने सपना पनि देख्न थालिन् । तर 'हुन्छ' भनेर लतमायाले सर्म पचाउन सकिनन् किनभने लतमाया सुब्बा सुरमानकी पटके ऋणी थिइन् ।

सफलताको छाया देखेर राम बहादुरले भने– "म सुब्बा साहेबलाई आजै भन्नेछु र भोलि नै किन्न लगाई यहाँ पुऱ्याउन लगाइ दिने छु । बडो गजबको सजिलो तान छ, मेसिन जस्तै छिटो चल्छ र कपडा धेरै बुन्छ; चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !"

"तान मात्र भएर के गर्ने ? कसले सिकाइ दिन्छ नि चलाउन, आफैँ जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुँले भनिन् ।

"केही पनि गार्‍हो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु राख्नाको केही जरुरतै छैन, आफैँ सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" राम बहादुरले सोरत्र भाव झिकेर भने ।

"सुब्बा साहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चा जस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा २५ बढाएर कागज गरि दिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले 'चौटा खान गएकी बुढी झोलैमा डुबेर मरी' गरि दिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् ।

"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाई ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्याल रिसाउनु भएको थियो ? त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातचुत पारिदिइ सक्नु भइ सक्यो ।" राम बहादुरले भने ।

"कागज च्याति सके पनि हामीले आफूले तिर्नु पर्ने कुरा नतिर्ने छैनौँ ।" लतमायाले भनिन् ।

"तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बा साहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्याति दिनु भएको !"

"त्यस्तै असल भएको हुनाले पनि त सुब्बा साहेबको दिन परदिन जय भइ रहेको !" लतमायाले खुसी मानेर भनिन् ।

"सुब्बा साहेबले बालीको नाम पनि लिनु भएको छैन, सुब्बा साहेब त्यस्तो मानिस पनि होइन । भन, सुब्बा साहेबलाई बिन्ती भाउ गरेर पोहोरको बाली म माफी गरि दिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु हुने म देख्तछु ।…" आश्वस्त भावमा राम बहादुरले भने ।

"तपाईंको जो दया ! सुक्खा परेको हुनाले माफी दिनै पनि पर्ने !" अलि विनीत भावमा लतमायाले भनिन् ।

"हुन्छ त लौ, म यो कुरा पनि बिन्ती गरि दिने छु । लौ त है म जाऊँ पनि, भोलि तान बोकाएर आउने छु ।"

"हवस्, साँच्चि के कुरालाई आउनु भएको हो कुन्नि ? कुरैकुरामा सोध्न पनि भुसुक्क बिर्सेछु !"

"केही खास कुरा थिएन । एक जना मानिस भेट्न आएको थिएँ, यहाँसम्म आइ सकेको हुनाले त्यसै पसेको ।"

"लौ बस है, तिमीहरूलाई ऋण ख्वाउन आए जस्तो पो भयो ।" भन्दैमा राम बहादुर सरासर हिँडे ।

एघार

यता केही दिनदेखि शिव नारानको घरमा डाक्टर गोदत्त प्रसाद दिन दिनै पाँच बज्यो कि दाखिल हुन थाले । पाँच बज्नासाथै लतमाया कपडा बुन्ने काम छाडी भात पकाउने सुरसारमा माथि भान्छामा उक्लि हाल्थिन् । नानीथकुँ चाहिँ भात खाने वेला नभएसम्म तानैमा बसी कपडा बुनि रहन्थिन् । आज पनि डाक्टर गोदत्त प्रसाद दिनहुँ झैँ पाँच बज्नासाथै टुप्लुक्क आइ पुगे । नानीथकुँ एक्लै तानमा कपडा बुनि रहेकी थिइन् । डाक्टर गोदत्त प्रसाद आउना साथ नानीथकुँले स्वागत सत्कारको भाव जाहेर गरिन् । गोदत्त प्रसाद दिनहुँ आउने थाहा भएको हुनाले झ्यालको फलैँचामाथि परालको चकटी बिछाइ राखिएको हुन्थ्यो । दिनहुँ झैँ डाक्टर गोदत्त प्रसादले आज पनि सोधे– "आमा खै नि ?"

"माथि भान्छामा ।" नानीथकुँले पनि दिनहुँ झैँ सरल उत्तर दिइन् ।

"दिनहुँ बुढी आमालाई भात पकाउन लाएर तरुनी छोरी तानमा खेलि रहने ? यो त पच्चिसै आना अन्याय भयो ।" अलिक ठट्टाको भावमा हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

अलि लज्जाको भावमा नानीथकुँले मुसुक्क हाँस्तै भनिन्– "कपडा बुन्नुभन्दा भात पकाउन सजिलो भएर आमा जानु भएको ।"

"निकै बाठी रहिछ्यौ तिमी, तान चलाउने काममा खेलको रस भरिएको हुन्छ, त्यो आफूले रोजेर धुवाँमा आँसु चुहाउनु पर्ने, एकदमै नरमाइलो र बोझा काम आमालाई, अझ त्यही सजिलो भनेर बिचरी बुढियालाई फुरुङ्ङ पारि राखेको ? कत्रो बठ्याइँ !" ठट्टाकै भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नु भएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।"

"वाह, वाह । तिमीहरूको हकमा, अझ विशेष गरेर तिम्रो दया तारिफ गर्न लायकको छ । अझ भोलिपर्सि तिमीले खेत कोरेर फुल रोप्नुभन्दा ढकी बोकेर फुल टिप्नु गार्‍हो भन्नलाई पनि बेर छैन ।"

खित्त हाँसेर नानीथकुँले भनिन्– "भो, बाबा भो, आज एक दिनलाई माफ गर्नोस्, भोलिदेखि मै भात पकाउन जाने छु ।"

अलि सतर्क भावमा डाक्टर गोदत्त प्रसादले भने– "होइन ब्यारे, ठट्टा गरेकोसम्म हुँ, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउली नि !" अलि हाँसेर– "मेरो यो कुरा आफैँ पछुताउनु पर्ने मूर्ख कुरा हुन नजाओस् है, नानीथकुँ !" लोलाएका आँखामा खिस्स हाँसेर– "तिमीलाई 'थकुँ' झिकेर म खालि 'नानी' मात्र भन्न सक्छु ?"

मुसुक्क मुस्कुराएर नानीथकुँले भनिन्– "किन ?"

"'नानी' मा भएको मिठास 'थकुँ' ले अलि खल्लो पारेको छ ।" नानीथकुँले केही पनि जबाफ दिइनन् खालि सुन्दर कर्के आँखाले एक चोटि पुलुक्क मात्र हेरिन् ।

"रिसायौ कि ? तिमीलाई नमिठो लागे माफ गर, 'नानीथकुँ' नै भन्ने गरुँला ।" खिस्स हाँसेर गोदत्त प्रसादले भने ।

यो पटकमा पनि नानीथकुँले जबाफ दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन् ।

"मैले त तिमीलाई सम्मानको भावमा पो 'नानी' मात्र भनेको, 'थकुँ' कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ !"

"अँ हो !" लज्जा मिश्रित हाँस्तो अनुहारले नानीथकुँ बोलिन् ।

"लौ लौ, तिम्रो प्राण झैँ मन परेको 'थकुं' लाई म खान्नँ, 'नानीथकुं' नै भन्ने गरुँला, अब त भो ?" आँखा नचाउँदै डाक्टर गोदत्त प्रसादले भने ।

"अँ हो !"

"अझ रिस मेटिएको छैन तिम्रो दिलमा ?" आँखा नचाएर डाक्टर गोदत्त प्रसादले भने ।

"अँ हो, रिसाएको ।"

"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फुल झैँ मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्कि रहन सकेको नि !" मुस्कुराइ रहेको नानीथकुँको अनुहार नियाल्दै डाक्टर गोदत्त प्रसादले भने ।

"अँ हो !"

"होइन भने 'नानी' मात्रै भनूँ है त, 'थकुं' नभनूँ ?"

"हुन्छ ।"

"साँच्चै हो त ? "

"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै– "मलाई पनि 'नानी' नै भन्ने मिठो लाग्छ ।"

"साँच्चै ? नढाँटीकन भन नि !"

"साँच्चै हो !"

"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको 'नानी' सिवाय भन्दिनँ नि कहिल्यै !"

विनम्र भावमा मुस्कुराउँदै नानीथकुँले भनिन्– "अर्काको अगाडि त होइन नि !"

"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्त प्रसादले भने– "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, 'गोदत्त' मात्र कि, सिङ्गै नाम ?"

"डाक्टर साहेब !" खित्त हाँसेर नानीथकुँले भनिन् ।

"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"

"डाक्टर साहेब नै ।"

"नाइँ, नाइँ !"

"के भन्ने त ? "

"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि 'नानी' मात्र भन्न मलाई मन लाग्छ ।"

"हो त ?"

"हो भनेको ।"

"रिसाउन पाइन्न नि !"

"रिसाएँ भने तिमीले जित्यौ, लौ भो अब ?"

"मैले जितेर के पाउँछु ?"

"मलाई पाउँछ्यौ, अनि जे काम अर्‍हाउन पनि नोकरलाई झैं 'उठ् भने उठ्, बस् भने बस्' भइ दिन्छु ।"

"चाहन्नँ म कोही पनि ।"

"मलाई जित्न देऊ न त अनि त्यस जिताइमा तिमीलाई पाउने वाचा होस् अनि म हाँसुँला खुब खुसी भएर– चकोरले चन्द्रमा पाए झैँ, चातकले वृष्टि पाए झैँ, कवि र कोइलीले वसन्त पाए झैँ अनि प्यासीले पानी पाए झैँ आनन्दित हुँला ।"

"आफू हार्ने मूर्खता पनि कोही गर्ला ?" बसि रहेको ठाउँबाट उठी झ्यालबाट हेर्न जाँदै नानीथकुँले भनिन् ।

"म हार्छु भन्ने कबुल गर्दै छु, तिमी नै जित बाबा ! तिमी नै ।"

"जित्ने अभिमान पनि छैन ममा, तपाईंले जित्नु भयो भने के गराउने नि मलाई ? लडाइँमा हारेको कैदीलाई दुःख दिए झैँ दुःख दिने कि ?" झ्यालबाट फर्कंदै नानीथकुँले भनिन् ।

"मैले जितेँ भने, भनूँ त ?"

"भन्नु होस् न लौ ।"

"तिम्रो मधुर कण्ठबाट एउटा मिठो गीत गाउन लाउने ।"

"अहो ! को गाइ रहोस्, त्यसो भए मै जित्छु । मैले जितेँ भने त तपाईंलाई गाउन लाउँदिनँ ।"

"के गराउने त ?"

"लाखेनाच नचाउँछु ।" खित्त हाँसेर नानीथकुँले भनिन् । "'लाखे' हुँ र म 'लाखेनाच' नाच्नलाई ?"

"म चरी हुँ त गीत गाउनलाई ?"

"उः क्या तिम्रो वाणी अर्थात् बोलीमा नै लय छ, मिठास छ, अनि पुरा सङ्गीतको प्रकार छ ।"

"तपाईंको अनुहारमा पनि झम्टि हाल्ला झैँ लाखेको 'पन' छ, आँखा लाखे झैँ उफ्री उफ्री नाचि रहेको छ ।"

"तिमीले नै जित्यौ, लौ तिमीले नै, लौ त म लाखेनाच नाचूँ त ?"

"टुम्‌टुम् छ्याँय् !" हातले लाखेनाचको बाजाको ताल मिलाउँदै खित्त हाँसेर नानीथकुँले बोलिन् ।

"अँ भन न लौ साँच्चि, तिमीले मलाई के भन्न चाहेको ? साँच्चै म रिसाउँदिनँ ।"

"के ?"

"'नानीथकुं' को सट्टा मैले तिमीलाई 'नानी' भन्न चाहे झैँ तिमीले मलाई के भन्न चाहेको ?"

"हो त ? रिसाउन पाइन्न नि ?"

"हो हो लौ, रिसाउँदिनँ ।"

"नाइँ, तपाईं रिसाउनु हुन्छ ।"

"रिसाउँदिनँ भन्या तिमी मारे हत्या ।"

"भइगो लौ, अरू कुरा गर्नोस् ।"

"नभने म मारे हत्या ।"

"भनिहालूँ त ? तपाईंलाई…?"

यती भनेर नानीथकुँले मुस्कुराउँदै अलि लजाएको पनि भावमा डाक्टर गोदत्त प्रसादको मुख वाल्ल परेर हेरि रहिन् ।

"अँ मलाई ?" डाक्टर गोदत्त प्रसादले फेरि कोट्‌ट्यए । "तपाईंलाई !" लज्जापूर्ण भावमा डाक्टर गोदत्त प्रसादको अनुहार पुलुक्क हेरी अलि खिस्स हाँसेर– "तिमी भन्छु" नानीथकुँले भनिन् ।

"मोरी !" अँगाल्न हात बढाउँदै डाक्टर गोदत्त प्रसादले भने ।

"नकच्चरा !" फुत्केर पछि हट्तै मुसुक्क मुस्कुराएर नानीथकुँ छुट्टिइन् ।

डाक्टर गोदत्त प्रसाद मस्त भएर नानीथकुँको अनुहार हेर्दै हाँसि रहे । यत्तिकैमा माथिबाट "नानीथकुँ ! भात खान आऊ" भन्ने सम्बोधन सुनियो ।

"लौ जाऊ भात खान आजलाई, भोलि त बिदाको दिन छ दिउँसै आउँला है ?" नानीथकुँको हातको हर्थुङ्गामा चुम्बन गर्दै डाक्टर गोदत्त प्रसादले भने ।

"नबिर्सीकन !" अतृप्त आँखाले हेर्दै नानीथकुँले भनिन् ।

बार्‍ह

आज लतमाया र नानीथकुँले भात नखाँदै काममा गएका घरका सबै जहान एकै समयमा धमाधम घर आइपुगे । सबै आइ पुगेका देखेर लतमाया र नानीथकुँले घरका सबै जहानलाई भात पस्कन थाले ।

सबैले भात खान लागेको बेलामा लतमायाले 'सुब्बा सुरमानका मानिस आएका र उनले देशी तान किनेर मद्दत गर्नेबारे दिउँसो भएका सारा कुरा छोराहरूलाई बताइन् । पोहोर सालको बाली बाँकी भएको लेखाइ राखेको तमसुक च्याति दिइ सकेको कुरा पनि भनिन् ।

ती कुरा सुनेर शिव नारानलाई अलि आश्चर्य लाग्यो । सुरमान सुब्बा अगि त्यस्तो उदार नभएको कुरा शिव नारानलाई राम्रै थाहा थियो । 'पोहोर साल असार नराम्रो भएकाले बाली तिर्न नसक्ता कडिकडाउसाथ ताकिता गरी सयकडा पच्चिसको दरले बढाई तमसुक लेखाएर लिने दानव आज एकाएक कसरी देवता भएर निस्क्यो ?' यो विचार उनको मनमा खेल्न थाल्यो । उनले अलि सोचि सकेपछि भने– "आमा ! तपाईंले मन्जुर नगर्नु पर्ने ।"

"हामी कति ठुला मानिस हौँ र त्यत्रो ठुलो तल्सिङले यस्तो दया गरेकोमा तिरस्कार गर्न सक्छौँ ? दिनेले दिन सक्छ भने लिनेले किन हटि रहने ?" लतमायाले भनिन् ।

शिव नारानले गम्भीरतापूर्वक 'अँ अँ' को रूपमा टाउको हल्लाए तर केही बोलेनन् ।

"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गार्‍हो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् ।

"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइ सक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरि सकेका छौँ ।" शिव नारानले भने ।

"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !" पुन नारानले भात खाँदै भने ।

"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्ति अस्तिसम्म दैत्य भइ रहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" गम्भीर मुद्रामा शिव नारानले भने ।

"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् ।

"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिव नारानले भने ।

"डाक्टर गोदत्त प्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्‍यौँ पनि ।" हर्ष नारानले भने ।

"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचि सकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नु भएको थिएन ।" शिव नारानले चुठेको मुख पुछ्तै भने ।

'डाक्टरको मद्दत मिठो नमानेको' भनेको सुन्दा नानीथकुँलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।

तेर्‍ह

शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो । ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !"

"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।

भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"

जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !"

हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।

सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- "होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?"

"हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण भावमा शिव नारानले भने ।

"हो, उड्नलाई पखेटा नचलाइ रहे त ।"

"किन ?"

"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"

"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिव नारानले भने ।

"आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले भनेकी थिइन्– नानीथकुँको डाक्टरसित प्रेम छ रे !"

"को डाक्टर ?"

"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्त प्रसाद !"

लाजले हो कि रिसले हो, शिव नारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।

हाकुमायाले फेरि भनिन्– "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौँ ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नु भएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुँलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !"

"साँच्चि हो रे ?" शिव नारानले भने ।

"साँच्चै हो । एक दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनि रहन सकिनँ भन्थिन् ।"

"मलाई पनि अलि अलि शङ्का त अस्ति नै लागेको थियो ।"

"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि राखेको त उनीहरूलाई सोर्‍हमा तान्दा एक्का भयो ।"

"फिस नलिनु डरलाग्दो कुरा छ, 'मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू' भनी बाले त पहिल्यै भन्नु भएको थियो । बुढापाकाको कुरा सितिमिति झुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"

"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । 'आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू' भने झैँ नानीथकुँलाई भोलिदेखि खेतैमा लगि राखे त कुरै मेटिन्छ– न रहे बाँस, न बजे बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।

"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुँलाई पनि म के गर्छु ?"

चौध

भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन टोलाइन् र भनिन्– "किन ?"

"दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने ।

"यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।

"तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु होला ?" शिव नारानले भने ।

लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नु होस् ।" शिव नारानले भने ।

अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?"

"जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।"

"यो कुरा त ठीक हो, तर नसहेर र अर्काको बदनाम गर्न पनि दुर्जनहरूले नचाहिँदो बकबास गरि दिन सक्छन् ।"

"तर जे भए पनि केही नराम्रो कुरा सुनियो, सकेसम्म सतर्क त हुनै पर्‍यो । बरु सतर्क र सावधान भएर हो/होइन बिस्तारै बुझ्दै गरौँला ।"

"हो, तिमीले भनेको कुरा मनासिब छ । तर मलाई भनेर के हुन्छ, को हो त्यसो भन्ने ?"

"पुन्चाकी स्वास्नीले भनेकी रे ।"

"उसले कसलाई भनेकी रहिछ ?"

"बाबुचाकी आमालाई ।"

"जेठी बुहारीलाई नै भनेकी रहिछ ?"

"अँ !"

"बाबु मरेको दुई महिना भएको छैन, हेर छोरीको चाल ! साँच्चै हो भने हरेराम ! कसरी मैले छिमेकीहरूलाई मुख देखाउने ?"

"डाक्टर गोदत्त प्रसादलाई ठाडै 'अबदेखि नआउनू' पनि कसरी भन्ने ? त्यसो भन्नु पनि राम्रो कुरा होइन । तर उनी सकेसम्म आउँदै नआऊन् अथवा बहुतै कम आऊन्, यही अक्कल हामीले गर्नु पर्‍यो । तपाईं घरमा बसि रहने, त्यसैले तपाईं नै यसको पनि इन्तजाम गर्नु होस् ।" शिव नारानले गम्भीर मुद्रामा भने ।

अबेर भइ सकेको हुनाले यति भनी शिव नारान सबलाई लिएर खेतमा गए । जानुभन्दा अगाडि उनले लतमायालाई यो पनि भनेका थिए– "सुरमान सुब्बाले दिन खोजेको विदेशी तानको मद्दतलाई पनि स्वीकार नगर्नु होला किनभने डाक्टर गोदत्त प्रसाद झैँ सुब्बा सुरमान पनि अगाडि असल मानिस थिएनन् । चलाख मानिसको स्वार्थ र धुर्त्याइँ असल कुराभित्रै लुकेको हुन्छ ।"

पन्ध्र

शिव नारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगि हाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाए टोलाए जस्तो हुँदै उनी आखिरमा तान कोठामा प्रवेश गरिन् । त्यहाँ नानीथकुँ अगाडिदेखि नै पुगेर तान चलाउन लागि सकेकी थिइन् । लतमायाले पुन्चाकी स्वास्नीलाई हाँसे जस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एक छिन टोलाए झैँ उभिई तानको आसनमा बसिन् ।

तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसि रहेको देखेर नानीथकुँले सोधिन्– "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनु हुन्छ ?"

"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् ।

यत्तिकैमा भर्‍याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र नानीथकुँ दुवैले भर्‍याङतिर आएको आवाजप्रति उत्सुकता साथ ध्यान दिएर हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर राम बहादुर उक्लेका देखिए ।

राम बहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने– "हिजो मैले भनेको तान यही हो । हेर, कति मज्जाको छ ।"

"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।

खल्तीबाट एउटा मुद्रित कागज निकाल्दै राम बहादुरले भने- "यो तान चलाउने काइदा यसमा प्रस्ट बुझिने गरी लेखिएको छ ।"

नानीथकुँले एक चोटि कागजप्रति पुलुक्क हेरिन्, लतमायाले बिलकुलै दृष्टिपात गरिनन् ।

त्यति भनेपछि राम बहादुरले भरियाहरूप्रति हेरेर भने– "लौ जाओ तिमीहरू, सुब्बा साहेबकहाँ गएर ज्याला लेओ ।"

भरियाहरू फर्कन नपाउँदै लतमायाले राम बहादुरतिर हेरेर भनिन्– "साहेब ! तान पनि फर्काइ दिनु होला ।"

"किन ? हिजो हुन्छ, ल्याइ दिनोस् भनेर आज एक्कासि यस्तो कुरा ?" आश्चर्यका साथै शङ्कालाग्दो भावमा राम बहादुरले भने ।

"आफ्नो तान छँदै छ, बिनसित्ति अर्कालाई दुःख दिनु ठीक छैन भन्ने छोराहरूको भनाइ छ ।" लतमायाले भनिन् ।

"समय किफायत भएर कमाउन सजिलो हुने कुरामा मद्दत दिएको पनि नलिनू ? ठुलठुला सामन्तले त मद्दत लिनु पर्छ भने तिमी हामी जस्ताको तुजुक अझ कति दिन टिक्न सक्ला ?" राम बहादुरले भने ।

"त्यसो त अहम् भावका कारण छोराहरूले 'मद्दत लिन्नँ' भनेका होइनन्, धेरैजसो मद्दतगारहरूले मद्दतको बाटो गरी मद्दत लिनेहरूको जिन्दगीमा हमला गरेर डराएका मात्रै हुन् ।" लतमायाले भनिन् ।

"हाम्रा सुब्बा साहेब त्यस कोटिका मानिस हुनु हुन्न । उहाँले त तिमीहरूलाई मद्दत गर्न धर्म देखेर साथसाथै अनिवार्य पनि भएको हुनाले मात्र मद्दत दिन खोज्नु भएको हो ।" राम बहादुरले आफन्ती भावमा भने ।

"उहाँलाई किन हाम्रो सहायक हुन कर्तव्य भएको ?" लतमायाले सोधिन् ।

"ल, तिमीलाई थाहै होला नि । 'आफन्त' भन्ने नै चाहिन्न । 'सम्बन्ध' भनेको केही कुरा होइन भन्न मानिसले सक्ला ? त्यसैले आफूले सकेको सहायता उहाँले दिन खोज्नु भयो ।" राम बहादुरले भने ।

"तपाईंको भनाइ मैले केही पनि बुझ्न सकिनँ ।"

"त्यसो भए उता हिँड, म तिमीलाई बुझाइ दिउँला ।"

लतमाया र राम बहादुर दुई जना पल्लो कोठामा गए । त्यहाँ पुगेर राम बहादुरले भने- "तिमीलाई थाहै होला नि, अष्ट नारानले नानीथकुँ हाम्रा सुब्बा साहेबलाई कन्यादान दिने वचन दिइ सकेको छ । सुब्बा साहेबलाई नानीथकुँ ज्यादै मन परेको पनि रहेछ । उसको हातबाट सुब्बा साहेबले भात पनि खान कबुल गर्नु भएको छ । यी सबै कुरा अष्ट नारानलाई पनि मन परेर उसले दिन मन्जुर गरेको थियो ।"

"अहँ, मलाई त यो कुरा बिलकुलै थाहा छैन; उहाँले पनि कहिल्यै केही भन्नु भएको थिएन ।" अलि आश्चर्य मिश्रित भावमा लतमायाले भनिन् ।

"हुन सक्छ, अष्ट नारानले भनेको थिएन होला, किनभने त्यो गम्भीर मानिस थियो । कसैलाई नभनीकन काम गर्ने उसको बानी थियो । तर जे भए पनि लोग्ने हुन्, 'मलाई बताएनन्' भनेर रिसले लोग्नेको विरोधमा जानु स्वास्नी मानिसको धर्म होइन, यसलाई सम्झी बुझी तिमीले लोग्नेको वचन खेर नजाने गरी कर्तव्य पालन गर्नु पर्छ ।" राम बहादुरले भने ।

"होला र उहाँले वचन दिनु भएको ? त्यत्तिको उमेर फरक छ ।" लतमायाले अलि अविश्वासको भावमा भनिन् ।

"सत्ते हो हेर ! आज एकादशीको दिन, त्यसमाथि निधारमा पशुपतिको चन्दन र टाउकोमा गुह्येश्वरीको फूल लाइ राखेको छु, इमानदार मान्छेले झुटो बोलेर नरकमा जाने साहस गर्न सक्ला र ? म त मामुली कारिन्दा भनुँला, त्यत्रो दर्जामा पुगि रहेका सुब्बा साहेब जस्ताले यस्तो कुरामा झुटो बोल्नु होला ?" विश्वास लाग्दो भावमा राम बहादुरले भने ।

राम बहादुरको भनाइले लतमायालाई अलि विश्वास पार्‍यो । तैपनि लतमायालाई सुरमान सुब्बा बुढा भइ सकेको राम्रै थाहा भएकाले अलि चित्त बुझेन र भनिन्– "नानीथकुँ सार्‍है कलिली छ, भर्खरै सत्रमा टेकेकी ।"

"सुब्बा साहेब पनि त बुढै भइ सक्नु भएको छैन, सत्तरी होइन, साठी होइन सन्ताउन्न वर्षको भनेको त लोग्ने मानिसका लागि जवानीकै अवस्था छ । मानिसको उमेरमा पच्चिस र पचासको कुरा छैन, जो बलियो हुन्छ उही जवान हो । बल र फुर्ती छैन भने बिस वर्षकै पनि बुढो हुन्छ । म त भन्छु बरु तिम्री छोरी चाँडै बुढी होली तर सुब्बा साहेब अझ बिस वर्षपछि पनि त्यस्तै लायक हुनु होला । मैले धेरै बयान गर्नु व्यर्थ छ, किनभने तिमीले नदेखे नचिनेका मानिस होइनन् ।" साधारण भावमा राम बहादुरले भने ।

राम बहादुरको कुरा खुब विश्वस्त भावमा लतमायाले सुनि रहेकी थिइन् । उनको कुरा लतमायालाई पनि पत्यार लाग्यो । उनलाई आफ्नो प्रभावमा आएको देखेर राम बहादुर मनमनै खुसी भएर बोले– "कसो, मेरो कुरा तिमीलाई पत्यार लागेन कि ?"

"किन नलाग्ने ? तपाईंले किन झुट बोल्नु हुन्थ्यो ? तर उहाँ श्रेष्ठ हुनु हुन्छ, यो पनि त अप्ठ्यारो कुरा छ ।"

"यसको फिक्री तिमीलाई किन ? सुब्बा साहेबको भन्दा तिम्रो जात ठुलो भए न तिम्रो निम्ति अप्ठ्यारो कुरा हो । त्यसै लगेर भित्रिनी मात्र गरि राख्ने भए पनि चित्त नबुदो कुरा हुने थियो । तर भात समेत खाइ दिने कबुल गर्नु हुन्छ भने तिम्रो र तिमीहरूका निम्ति अहोभाग्यको कुरा हो ।"

राम बहादुरको यो कुरा सुनेर लतमायाले एक छिन गौर गरिन् । उनले केही पनि जबाफ दिन नपाउँदै राम बहादुरले फेरि भने– "सुब्बा साहेबलाई दियौ भने तिम्री छोरीलाई मैले 'तिमी' भन्नसमेत नहुने हुन्छ, आज 'तिमी' भनि रहेको मानिसलाई भोलि 'सुब्बिनी साहेब' भनेर सलाम गर्नु पर्ने हुन्छ, यो पनि एउटा गौरवको कुरा हो ।"

यो कुरा सुनेर लतमाया एक चोटि खिस्स हाँसिन् ।

"भएको कुरा गरेको हुँ मैले ।" राम बहादुर यही सिलसिलामा भन्दै गए– "सुब्बा साहेबबाट अनेक मद्दत पाएर तिमीहरूको दुःख पनि हट्छ । मैले हेर्दा त यो समाजका अगाडि राम्रो भएर आफ्नो दुःख पनि मेट्ने सौभाग्यको कुरा हो । यही देखेर त अष्ट नारानले वचन दिएको होला, किनभने ऊ एउटा किसान भए पनि बुज्रुक मानिस थियो ।"

लतमायाले फेरि पनि जबाफ दिइनन्, सोचि नै रहिन् । आफ्नो चलाखी ठिक ठाउँमा परेको देखेर राम बहादुरले फेरि भने– "सुब्बा साहेबसित यो वैवाहिक सम्बन्ध जोड्न सकियो भने भोलि पर्सि तिम्रा सन्तानहरू पनि जागिरदार र पढैया भएर, इज्जतदार भएर आउनेछन् किनभने तिमीहरू सुब्बा साहेबका ससुराली खलक हुने छौ ।

मनमा केही गौरव नभएकी र दुःखमा मात्र जिन्दगी बितेर सुखको सास फेर्न औताइ रहेकी लतमाया राम बहादुरको भनाइमा स्वर्गको मृगतृष्णा देख्न थालिन् । उनलाई राम बहादुरको षड्यन्त्री प्रस्ताव र बुट्टादार कुरा मन्जुर भयो, तैपनि 'हुन्छ' नै भनेर सहसा स्वीकार गर्न लतमायाले आँट गर्न सकिनन् । त्यसैले उनले राम बहादुरलाई यति मात्र भनिन्– "छोराहरूसित पनि एक चोटि सल्लाह गरूँ ।"

छोराहरूमा पनि अष्ट नारानको स्वाभिमानी आत्माको छाया परेको छैन होला भन्ने राम बहादुरलाई विश्वास भएन । त्यसैले झट्ट राम बहादुरले भने– "छोराहरूसित सल्लाह गरेर तिमीले आफ्नो हक गुमाउने मूर्खता किन गर्ने ? तिमीले 'हुन्छ म यस्तै गर्छु' भनेपछि उनीहरूको के लाग्छ ? मेरो सल्लाह मान्छ्यौ भने उनीहरूसँग सल्लाह गरि रहने होइन कि 'तिमीहरूको पिताज्यूको वचन गइ सकेको हुनाले मैले पनि वचन दिइसकें' भनी सरासर भनि देऊ । उनीहरूले खिचोला गरे तिमीले कत्ति पनि धन्दा सुर्ता मान्नु पर्दैन, सुब्बा साहेबले तिम्रो पूरा बन्दोबस्त गरी सुखमा राख्नु हुनेछ ।"

लतमाया राम बहादुरतिर हेरेर केवल मुसुक्क हाँसिन्, उनले केही जबाफ दिइनन् । तर उनलाई राम बहादुरको सल्लाह मिठो लागि सकेको थियो । "मैले भने जस्तै गर, अरू सब ठीक हुन्छ ।" जान खोज्दै राम बहादुरले भने ।

अहिले पनि लतमाया केवल मुसुक्क हाँसिन् ।

"है त, 'हुन्छ भनी' भनेर सुब्बा साहेबलाई भनि दिऊँ ?" राम बहादुरले फेरि भने ।

"पर्खनु होस् !" लतमायाले अलि सङ्कुचित भावमा भनिन् । "त्यसो भए कहिले आऊँ त ?"

"आइ रहनु होस् न, तपाईंलाई के छ र !" लतमायाले हाँसेर जबाफ दिइन् ।

"लौ त्यसो भए म पर्सि नै आउँछु ।"

लतमायाले केवल टाउको हल्लाए जस्तो गरिन् । राम बहादुर हाँस्तै सरासर गए ।

सोर्‍ह

नानीथकुँलाई सुनाउन नहुने भएर राम बहादुरले लतमायालाई पल्लो कोठामा कुरा गर्न लगेदेखि नानीथकुँको मनमा रङ्गीबिरङ्गी कुरा खेल्न थाल्यो । उनले सोचिन्– 'घरायसी कुरा त अवश्य होइन, घरायसी भए पनि मलाई थाहा नदिनु पर्ने केही छैन; लेनदेनको कुरा भए पनि मलाई अलग गर्नु पर्ने जरुरत थिएन, गुठीगानाको भनुँ भने राम बहादुर कोही सम्बन्धी मानिस होइनन्; बन्द व्यापारको कुरा हो भने त्यसमा पनि म बिख हुनु पर्ने केही छैन; खेतीपातीको कुरा भए गुप्त कुरा गर्नुको केही मतलब छैन; सङ्घ संस्था, दल विशेषको कुरा मानुँ भने आमा त्यस्ती मानिसै होइनन्, न त राम बहादुर नै त्यस किसिमका मानिस हुन् ।' उनले अनेक सोचिन् तर आफूलाई अलग्ग राख्नुपर्ने कुनै कुरा पाइनन् । झन् चाँडै नफर्कंदा मनमा तुलबुल बढ्यो, कुरा थाहा पाउने उत्सुकता झन् बढेर आयो अनि 'अरू कुनै कुरा होइन, कुरा मेरै विषयको होला, नत्र मलाई अलग्ग राख्नु पर्ने कारणै के छ र ?' उनले फेरि सोचिन्– 'मेरो विषयमा के कुरा होला ? म कुन विशेष विषयकी मानिस हुँ र मेरो विषयमा कुरा होला ? मैले के काम गरि राखेकी छु र ? राजनीतिमा मेरो हात छैन; सङ्घ संस्था कुनै कुरामा पनि मेरो हात छैन; म कतै कहीँ जान्नँ, कोहीसित मेरो न दोस्ताना छ, न दुस्मनी नै । फेरि मेरो बारेमा मैले थाहा नपाउने गरेर कुरा नै किन र के होला ?' उनले फेरि सोचिन्– 'म आफ्नो घर परिवारबाट छुट्टै विशेष दुखिनी र सुखिनी पनि केही होइन । जे जति छ परिवारको दुःखसुख सबै कुरामा बराबर छु, केही फरक दशा र स्थितिमा छैन ।'

यस्तै धेरै बेर अनेक कुरा सोचि सकेपछि नानीथकुँले आफ्नो चारैतिर हेरिन् । तैपनि केही नपाएर उनले आफूमा यताउति कतै नहेरीकन एकोहोरिएर आकाश चुम्बन गर्न हडबडाउँदै दौडि रहेको यौवन पाइन्; आफ्नो आङमा एक एक भागमा अटेसमटेस भई पुस्टिएर फुट्न खोजेको जवानी पाइन्; एकान्तमा हाँस्तै नाच्न बोलाइ रहेको तिखो तारुण्य पाइन् र दुःख भुलेर सुखको बढ्ता अनुभव गराई जीवनमा पूर्णत्व प्रदान गराउने आत्मसात् साथी प्राप्त गर्ने उत्सुकता पाइन् । उनलाई शङ्का भयो कि उनकी आमाले सायद उनको यही यौवन सम्बन्धी कुरा गर्न लागेकी त होइनन् ? अनि उनी सुन्न जान तम्सिन् ।

अगाडिका अलिकति बाहेक नानीथकुँले जम्मै कुरा सुनि सकेकी थिइन् । यो कुरा लतमाया र राम बहादुर दुवै जनालाई पत्तो भएन । त्यो कुरा राम बहादुरले पत्तो पाएका भए अझै उनले कुरामा फुल जड्ने थिए । हुन त नानीथकुँलाई यो कुरा मन परेको थिएन; किनभने उनको जवानीले डाक्टर गोदत्त प्रसादलाई अँगालि सकेको थियो, तैपनि उनको मनमा जवानीको उम्लाइ पोखिइ रहेको हुनाले नानीथकुँलाई त्यो कुरा नमिठो लाग्न पनि सकेन । कान ठाडा ठाडा पार्दै खुब चाख लिएर नानीथकुँ एक एक कुरा सुनेर जवानीको आँच तापि रहेकी थिइन् ।

त्यसैले कुराकानी सिद्ध्याएर राम बहादुर गइ सकेर आफ्नी आमा आफूतिर आइ रहेको पनि उनलाई पत्तो भएन । लुकेर कुरा सुनि रहेका ठाउँमा आमा आइ पुगेपछि मात्र झसङ्ङ भएर नानीथकुँ तान कोठातिर लागिन् ।

हाँस्तै गएर लतमायाले ठट्टाको भावमा भनिन्– "कत्ति नलजाईकन आफ्नो बिहेको कुरा सुन्न आउन सकेकी नि नकच्चरी । लौ, पाथीभात खाएर मनभरि सुत्न सक् अब ।"

दबाउन कोसिस गर्दा पनि स्वभावतः आउन खोजेको हाँसो लुकाउन चेष्टा गर्दै नानीथकुँले लाजले मुन्टो निहुराइन् ।

लतमायाले ठट्टाकै भावमा फेरि भनिन्– "कुरा जम्मै सुनि हालेकी छ्यौ, अब तिमी तल्सिङ भएर हामी तिम्रा मोही हुन लागेका छौं ।"

"बिनसित्ति !" नानीथकुँले नखराउँदै भनिन् ।

यसपछि लतमायाले आफ्नी छोरीलाई भनिन्– "आजदेखि बेलुकीको भात तिमीले पकाउने गर, म तान चलाइ रहुँला ।"

"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् ।

"मलाई भात पकाउन गार्‍हो भयो ।"

"तान चलाउन झन् गार्‍हो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुँले भनिन् ।

"केही पनि भएको छैन । भात पकाउन अलि गार्‍हो लाग्यो ।"

यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे ।

"आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।

"आज बिदा छ ।" डाक्टरले भने ।

"ए !"

"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"

"यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !"

"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।"

"यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !"

"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"

"डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।"

"अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु । दौरा सुरुवाललाई हुने एक थान कपडा बुनि दिनोस् न मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने छु ।"

लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन् ।

"किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि नपत्याउन सक्छौँ ?"

"होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।"

"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !"

एक्कासि लतमायाले नानीथकुँलाई भनिन्– "जाऊ नानीथकुँ ! भात पकाउन, आज शिव नारानहरू अलि चाँडै आउँछन् ।"

लतमायाको यो वाक्यले नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई 'एक तीरले दुई सिकार' भए जस्तो भयो । दुवैलाई सार्‍है नमज्जा लाग्यो । दुवैलाई 'लौ मार्‍यो !' भइ हाल्यो । यी सब हुँदाहुँदै पनि नानीथकुँले स्वाभाविक भावमा भनिन्– "किन, आमा भात पकाउन नजाने ?"

"भात पकाउने काम मलाई अलि गार्‍हो लाग्यो । म तान बुनि रहुँला, यसैमा मलाई अलि सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तबरले भनिन् ।

"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?" नानीथकुँले भनिन् ।

मौका सम्झेर डाक्टर गोदत्त प्रसादले पनि भनि हाले– "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"

"डाक्टर साहेबले भन्नु भएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।

"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्त प्रसादले भने ।

"डाक्टर साहेबले हुँदैन भन्नु भएपछि जिद्दी नगर्नु होस् आमा ! जानोस् तपाईं नै भात पकाउनु होस् । तानको काम म गरि रहुँला ।" नानीथकुँले भनिन् ।

"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।

नानीथकुँलाई पर्‍यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुँ चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्त प्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे । नानीथकुँ जान तम्सना साथ झट्ट उनले भनि हाले– "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"

डाक्टर गोदत्त प्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्– "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"

यस पटक त पर्‍यो फसाद डाक्टर गोदत्त प्रसादलाई पनि । अब त चाइँचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्त प्रसाद केही पनि बोलेनन् ।

नानीथकुँको अनुपस्थिति पाएर वा नानीथकुँसित बस्न नपाएर फर्केर आउनु सार्‍है भद्दा काम नै भयो । त्यहाँ बसि रहनु पनि डाक्टर गोदत्त प्रसादलाई त्यति मज्जा भएन । तर भलादमीको नाममा उनले त्यहाँ बसि नै रहेर लतमायासित कुराकानी जारी गरि रहे । बीच बीचमा नानीथकुँ कुनै न कुनै निहुँ गरेर आइ रहने गरेकीले डाक्टर गोदत्त प्रसादलाई नमज्जामा पनि मज्जा लाग्न थाल्यो ।

डाक्टर गोदत्त प्रसादलाई भने नानीथकुँसित एकबाजि नभेटीकन कसरी जाने भइ रह्यो । उनको एक चोटि दर्शन गरेर, उनलाई थाहा दिएर मात्र डाक्टर गोदत्त प्रसादले जान चाहेका थिए तर उनको त्यो मुराद पूरा हुन सकेन ।

आखिरमा मन नलाई नलाईकन डाक्टर गोदत्त प्रसाद जान लागे । जान लाग्दा उनले लतमायासित भने– "आज जान्छु, भोलि फेरि हाजिर हुँला ।"

"भइगो डाक्टर साहेब ! यस्तरी फुर्सद नहुने मानिसले किन हामी जस्ताकहाँ बेकारमा कष्ट गरि रहनु हुन्छ ? चाहेको वेलामा बरु हामीले दुःख दिन छाड्ने छैनौँ ।" मौका भेट्टाई लतमायाले भनिन् ।

"केको दुःख छ र मलाई यहाँ आइ रहँदा ? बरु आनन्द लाग्छ ।" डाक्टर गोदत्त प्रसादले भने ।

"भइगो डाक्टर साहेब ! बेकारमा तपाईं यसरी हामीकहाँ आइ रहनु भयो भने हामीलाई पाप लाग्छ, किनभने तपाईं बिरामीहरूका देवता हुनाले एक छिन पनि तपाईंले यसरी बेकारमा समय बर्बाद गर्न हुँदैन ।"

लतमायाको कुरा सार्‍है मनासिब लागेकाले अलि लाज माने जस्तो गरी जाँदाजाँदै डाक्टर गोदत्त प्रसादले भने– "फुर्सदको मौका हेरेर आउने गरुँला ।"

सत्र

त्यस दिन शिव नारान जहान र केटाकेटी सबैलाई खेतमा छाडी अलि सबेरै घर फर्के । डाक्टर गोदत्त प्रसादलाई भेट्टाइ हाल्नु पर्छ भन्ने मनसाय गरी शिव नारान हत्तरपत्त फर्कि रहेका थिए । नानीथकुँले भात पकाउन नगई लतमायाले नै साबिक झैँ भात पकाएको भए डाक्टर गोदत्त प्रसाद घरमा भेटिने पनि थिए ।

तर शिव नारानले डाक्टर गोदत्त प्रसादलाई आफ्नै घरमुनि भेट्टाए । डाक्टर गोदत्त प्रसादलाई हेर्न छिमेकी घरका आइमाईहरू पनि झ्याल झ्यालमा झुम्मि रहेका थिए । यो दृश्य पनि शिव नारानले आउँदाआउँदै देखे । यो देखेर उनलाई झन् झौँक चल्यो ।

शिव नारानले डाक्टर गोदत्त प्रसादलाई वास्तै गरेनन् । बरु डाक्टर गोदत्त प्रसाद नै अडेर शिव नारानसँग बोले– "आज त सबेरै आउनु भयो !"

शिव नारानलाई यो झन् मन परेन तर रिसाउन पनि शिव नारानले ठिक देखेनन् । एकछिन के गरूँ, कसो गरुँ गरेर शिव नारान बोले– "अँ ।"

"धेरै दिन भयो तपाईंसित कुराकानी गर्न नपाएको, आज सबेरै फर्कनु भएको मौकामा एक छिन कुराकानी गरिहालूँ" भन्दै डाक्टर गोदत्त प्रसाद शिव नारानसाथ फेरि माथि आउन खोजे ।

शिव नारानलाई पर्‍यो फसाद । उनी भित्रभित्रै रिसले चुर भए तर केही भन्नु पनि असभ्यता प्रकट हुने जाने भयो । के गरूँ, के गरूँ, के भनूँ, के भनूँ गर्दैमा झटपट शिव नारानले भने– "भैगो, फर्कि सक्नु भएको मानिसले किन फेरि दुःख गर्ने !"

"केही दुःख छैन मलाई, तपाईं जस्तासित भेटघाट गरी कुराकानी गर्नु पनि केको दुःख ! बरु सुखको कुरा हो । यस्तै मात्र सौभाग्य जीवनले पाइ रहोस् न ।" मन्द मन्द मुस्काउँदै डाक्टर गोदत्त प्रसादले भने ।

शिव नारानले केही पनि भन्न सकेनन् । डाक्टर गोदत्त प्रसाद पनि शिव नारान सँगसँगै फेरि माथि उक्लन थाले ।

शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्कि सकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुई दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ रहेकी नानीथकुँ पनि जिल्ल परेर तल ओर्लिन् ।

डाक्टर गोदत्त प्रसादलाई देखेर त नानीथकुँ मनमनै हाँसिन्, तर शिव नारान पनि साथै देख्ता नानीथकुँलाई अलि कस्तो कस्तो लाग्यो ।

शिव नारान सरासर तान कोठामै गए । लतमाया तान चलाइ नै रहेकी थिइन् । एक छिन त्यसै वाल्ल उभिएर शिव नारान त्यहाँबाट सरासर आफ्नो कोठामा गए । डाक्टर गोदत्त प्रसाद त्यही तान कोठामा बसि रहे तर शिव नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिव नारान आएनन्, डाक्टर गोदत्त प्रसादलाई गजब लाग्यो ।

अब धेरै बसि रहनु ठिक नदेखेर डाक्टर गोदत्त प्रसाद जान खोजे तर उनी जानुभन्दा अगाडि एकचोटि शिव नारानलाई भेट्न पुगे । सहानुभूति प्रकट गर्दै डाक्टरले भने– "तपाईंलाई आज सन्चो भएन कि कसो ?"

"केही पनि भएको छैन ।" बडो गार्‍हो मानीकन शिव नारानले बोले ।

"किन त चेहरा अलि मलिन छ नि ?"

खालि मुख बिगारेर शिव नारान एक शब्द पनि बोलेनन् ।

"शरीरमा केही असजिलो जस्तो भए भन्नु होस्, म तुरुन्तै ठिक गरि दिउँला ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा भने ।

"केही भएको छैन, तपाईं जानु होस् ।" शिव नारानले भने ।

"कपाल दुख्यो कि ?"

"केही भएको छैन, तपाईंले दुःख गर्नु पर्ने कुरा केही छैन । तपाईं जानु भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिव नारानले भने ।

शिव नारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्त प्रसाद त्यहाँबाट रमाना भए ।

डाक्टर गोदत्त प्रसादलाई देखेर शिव नारानलाई यति रिस बढि सकेको थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको आवेशमा शिव नारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर दिनका दिन किन आइ रहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनु परेको छ ?"

"किन किन आइ रहन्छन्, आइ रहेका मानिसलाई त्यसै के भन्नु ?" लतमायाले भनिन् ।

"तैपनि काम न काज त्यसै किन आइ रहने ? यो त म ठीक मान्दिनँ आमा !"

लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिव नारानको यस्तो उपेक्षित भाव देखेर नानीथकुँले एकाएक मुख अँध्यारो पारिन् । डाक्टरप्रति शिव नारानको एक्कासि यस्तो कुरा सुनेर पुन नारान, हर्ष नारानहरू जिल्ल परे । "अर्काको घरमा काम न काज दिनका दिन आइ रहने ?" शिव नारानले फेरि भने ।

"के कुरालाई लिएर तपाईं यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे ।

"हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइ रहेको । आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" शिव नारानले भने ।

"आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइ रहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनु हुन्नथ्यो, आज किन एक्कासि यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे ।

"हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखि रह्यौँ, तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुँप्रति झम्टन पुगे– "हेर नानीथकुँ ! म साफ भनि दिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत गर्ने मौका दिइ रह्यौ भने म ठीक मान्ने छैन ।"

शिव नारान यति रिसाएको नानीथकुँले अगाडि कहिल्यै देखेकी थिइनन् । यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइ सकेको जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुँ एक शब्द नबोली चुप लागि रहिन् ।

तर शिव नारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी कराइ रहे । शिव नारान यति कराइ रहे; पुन नारानलाई अति लाग्यो । हर्ष नारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिव नारानकै स्वास्नी हाकुमायालाई समेत शिव नारानले बढ्ता बोलि रहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइ रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्– "भैगो नि, कति बोलि रहनु परेको ! चुप लाग्नोस् ।"

"तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि रिसाएको भावमा शिव नारानले भने ।

"अहो ! बोल्ने सरोकार पनि मलाई भएन ?" मुस्काएकै अनुहारमा हाकुमायाले भनिन् ।

"चुप लाग, एक शब्द नबोल, म जोइटिङ्ग्रे होइन कि जे पनि तिमीले भनेको मानि रहूँ र सहि रहूँ । म फेरि भन्छु, फेरि एक शब्द नबोल ।" आँखा र अनुहार दुवै रातो पारेर शिव नारानले भने ।

अहिले त हाकुमाया पनि डराइन् । शिव नारान यसरी दुर्वासा बनेको त हाकुमायाले कहिल्यै देखेकी थिइनन् । उनी झटपट चुठेर आफ्नो कोठामा गइन् ।

शिवनारान अझै पनि चुप लागेका थिएनन् । अनि पुन नारानले भने– "भइगो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरि सकेका त छैनन्, 'अबदेखि नबोलाईकन नआउनु होला' भनि दिउँला, कुरै मेटियो ।"

"बचावट भनेको अगावै गरि सक्नु पर्छ, बिग्रि सकेपछि के बचाउने ?" शिव नारानले भने ।

"त्यही त म भन्छु 'अबदेखि नआउनु होला' नै भनि पठाऔँ !" पुन नारानले भने ।

"आइ रहेका मानिसलाई ठाडै नआउनू भन्नु सभ्य व्यवहार होला ?" हर्ष नारानले भने ।

"यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरि रहने ? बदमासी गराउन उसलाई हौसला गराइ रहने ?" शिव नारानले जङ्गिएर भने ।

"काम न काजसित डाक्टर दिनहुँ आइ रहनाले छरछिमेकमा हाम्रो ख्याल तितो पिरो आलोचना र टीका टिप्पणी चलि रहेछ ? तरुनी छोरीबेटी भएको घरमा यसरी विना काममा कोही मानिस आइ रहनु ठिक कुरा होइन ।"

शिव नारान बोलि रहेका वेला पुन नारानले नानीथकुँतिर हेरेर भने– "अबदेखि डाक्टर गोदत्त प्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"

नानीथकुँलाई भन्दाभन्दै पुन नारानले आफ्नी आमा लतमायालाई पनि भने– "डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि आफैँ कायल भएर आउन छोड्लान् ।"

भाइको साथ पाएर शिव नारानको थकालीपन झन् हौसलादार भयो । चुठ्न उठ्ताउठ्तै शिव नारानले नानीथकुँलाई सम्बोधन गरेर यहाँसम्म पनि भनि दिए– "हेर नानीथकुँ ! भोलिदेखि डाक्टर यहाँ आइ रहेको पाएँ भने म निको मान्ने छैन । उनको पनि म खुट्टा नभाँचीकन छोड्दिनँ ।"

शिव नारानको यो भनाइले नानीथकुँलाई पनि सार्‍है झोँक चलेछ । सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलि हालिन्– "उनको घरमा खबर दिनु होला, अनि उनी यहाँ आउन सक्तैनन्, नत्र उनी आएमा मेरो के दोष ? उनी आएमा मलाई सजाय किन ?"

"तिमी उसलाई आउन रोक्न सक्छ्यौ ।" शिव नारानले भने ।

"म कसैलाई रोक्न सक्तिनँ ।"

"भनि देऊ न 'अबदेखि तिमी यहाँ नआऊ रे' मैले भनेको छ ।"

"त्यसो पनि म भन्न सक्तिनँ ।"

"तिमीले भन्नै पर्छ ।"

"कसरी मैले लोग्ने मानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा गर्ने ?" अलि रुन्चे स्वरमा नानीथकुँले भनिन् ।

"हाँसी हाँसीकन ख्यालठट्टा गर्ने वेलामा भने ऊ लोग्ने मानिस भएन ?" ठुलठुला आँखा गरी शिव नारानले भने ।

शिव नारानको यो उक्ति नानीथकुँलाई वाणजस्तो भयो । रातो रातो आँखा गरी मुखभरि जबाफ लिएर नानीथकुँले शिव नारानप्रति हेर्न थालिन् ।

शिव नारान गर्जिरहे । नानीथकुँ तर्सिइन् । रात छिप्पिँदै गयो । शिव नारान जुरुक्क उठे । उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे "बिस्तारै उनको रिस सितलो भयो। उनी निदाए । नानीथकुँ छटपटाइ रहिन् । उनी निदाइनन् ।

अठार

बिहान भयो । चराहरू चिरबिराउन थाले । निद्रा भाग्यो । शिव नारान बिउँझे । उनको परिवारका सबै जना जागा भए । दिनहुँ झैँ आज पनि सबेरै भात पाक्यो र सधैँ झटपट भात खाएर आफ्नो दैनिक कामधन्दामा जान सबै तत्पर भइ रहेका थिए तर 'कपाल दुखेको छ' भनी नानीथकुँ भात खान गइनन् । 'अलिकति भए पनि खाऊ' भनी लतमायाले कति जिद्दी गर्दा पनि नानीथकुँले भात खाइनन् । कपाल दुखेर होइन, हिजोको कुराले भात नखाएकी हो भन्ने सबैलाई लागेको थियो । तर खुवाउन बल भने लतमाया बाहेक अरू कसैले गरेनन् ।

बिहानको पेट समस्या हल गरेर सबै आआफ्ना कामधन्दामा गए । दिनहुँ झैँ लतमाया र नानीथकुँ केवल दुई जना घर कुरुवा भइ रहे । दिनहुँ झैँ लतमायाले तानको आसनमा पुगी काम गर्न सुरु पनि गरिन् । तर नानीथकुँ आज तान कोठामा आउनसम्म पनि आइनन् ।

डाक्टर गोदत्त प्रसादको प्रेम नानीथकुँको यौवनमस्त हृदयमा ज्यादै गहिरोसँग अङ्कित भइ सकेको थियो । उनको प्रेम र कुराकानीले नानीथकुँ यति प्रभावित भइ सकेकी थिइन् कि डाक्टर गोदत्त प्रसादबाट प्रेमप्लावित हुँदाहुँदै उनीप्रति नानीथकुँको श्रद्धा, भक्ति, विश्वास एकोहोरिइ सकेको थियो । डाक्टर गोदत्त प्रसादलाई कसैले किञ्चित् मात्र केही भने पनि नानीथकुँको दिलमा घाउ गराउँथ्यो ।

त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल हुने नानीथकुँले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसादकहाँ सरासर गइन् ।

डाक्टर गोदत्त प्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने वेला थियो । नानीथकुँ पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरि रहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुँलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त प्रसादले भने– "अहो नानीथकुँ ! आज कत्रो निगाह !"

नानीथकुँले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइ रहिन् । अनि झटपट उनी फेरि बोले– "नानीथकुँ ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म सार्‍है कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"

रोक्न चेष्टा गर्दा पनि नानीथकुँको आँखामा आँसुको छाया पर्न आइ हाल्यो ।

नानीथकुँको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले सोधे– "किन नानीथकुँ ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"

"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुँले भनिन् ।

"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइ रहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुँ !" डाक्टर गोदत्त प्रसादले पूरा आश्वासन दिएर भने ।

"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरि रहेकी छु, डाक्टर साहेब !"

"नानीथकुँ ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसि रहेको छ जस्तो मलाई लाग्यो ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने ।

"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुँले भनिन् ।

"कुरा के पर्‍यो नानीथकुँ ! प्रस्ट बुझ्न पाऊँ ?"

"अब तपाईं मकहाँ आउन नपाउने हुनु भयो ।"

"किन ?"

"जेठा दाइ तपाईंदेखि सार्‍है रिसाउनु भएको छ । अब तपाईंलाई हामीकहाँ आउन नदिने रे !"

"किन ?"

"उहाँलाई सब थाहा भएछ ।"

"के थाहा भएछ ?"

"हामीहरूको प्रेम भएको सबै थाहा भएछ !"

"कसरी, कसले भन्यो रे ?"

"हामीहरू दिनदिनै ख्यालठट्टा गरि रहन्छौँ रे, तपाईं पनि दिनहुँ आउनु हुन्छ रे इत्यादि कुरा छिमेकीहरूले पोल लगाएका रहेछन् ।" नानीथकुँले वृत्तान्त भनि दिइन् ।

"अनि तिमीले के भन्यौ नि ?"

"रिसले भुतुक्क भएर पहिले त मैले पनि अलि अलि बोलेकी थिएँ तर झन् रडाको मच्चिन गई नराम्रो रूप लिन जाला भन्ने डरले बोल्नु ठिक पनि लागेन ।" नानीथकुँले भनिन् ।

"म तिमीकहाँ आइहालेँ भने तिम्रा दाजुले मलाई के गर्ने रे ?" अलि खिन्न भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"बिन्ती छ, तपाईं नआउनु होस् ।" डर भएको भावमा नानीथकुँले भनिन् ।

"त्यसो भए के त अब तिमीले मलाई छोडि नै दिने त ? एकदमै छोडि हाल्ने त ?"

"किन छोड्छु ? ज्यान गए पनि तपाईंलाई म छोड्न सक्तिनँ; तपाईंले मलाई छोडि नै दिनु भए पनि म तपाईंलाई छोड्ने छैन । यो शरीरमा प्राण मात्र होइन, सास भएसम्म पनि तपाईंलाई छोड्दिनँ ।" ममतापूर्ण भावमा नानीथकुँले भनिन् ।

"के गर्ने त ? म तिमीकहाँ आउन सक्तिनँ रे, कसरी मैले मन बुझाइ रहने त ?" मायालु भावमै डाक्टर गोदत्त प्रसादले भने ।

"तपाईं मकहाँ नआउने भए म नै तपाईं कहाँ आइ रहुँला । कि म पनि तपाईंकहाँ आउन सक्तिनँ ?"

"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइ रहने स्वतन्त्रता तिमीले पाइ रहन सकौली ?"

"सोधेर र थाहा दिएर मैले किन आइ रहनु पर्छ र ?"

"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुँ !"

"थाहा भए के त ।"

"आउन रोकि देलान् ।"

"म पशु त होइन, बाँधि राख्न सक्लान् ?"

"मनाही गरि दिए भने तिमी के गर्छ्यौ ?"

"म मान्दिनँ ।"

"नमानेर के गर्छ्यौ ?"

"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण भावमा नानीथकुँले भनिन् ।

"त्यसो भनेको होइन नानीथकुँ ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।"

नानीथकुँले यति भनेपछि डाक्टर गोदत्त प्रसाद एक छिन घुर्न थाले ।

अनि बाहिर घाम हेरेर नानीथकुँले भनिन्– "तपाईंलाई अबेर भयो कि ?"

"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुँ !" भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"

"एक घण्टा मात्र के चौबिसै घण्टा तिमी बस न नानीथकुँ । फुर्सत कुन कुरा हो र ? बनाए छ नबनाए छैन ।"

"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै पर्छ होला !"

"क्याजुयल बिदा छँदै छ नि, वर्ष दिनमा पाइने पन्ध्र क्याजुयल बिदामा एक क्याजुयल पनि लिएको छैन । यही फुर्सतले आज म तिमीलाई मनभरि पूजा गरुँला ।" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

डाक्टर गोदत्त प्रसादको यो अन्तिम वाक्यले झन् प्रभावित भएर नानीथकुँले भनिन्– "मलाई त घर जानै मन लागेन डाक्टर साहेब !"

"तिमी मदेखि सार्‍है खुसी भएको सुअवसरमा तिमीसित आज म एक थोक माग्ने बिन्ती बिसाऊँ है त नानीथकुँ ?" प्रेमपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"नाइँ, यसरी तपाईंले मलाई सम्मान गर्नु भयो भने प्रेम गरि रहनु भएको छ भन्ने मलाई विश्वास हुन गार्‍हो हुन्छ । प्रेमको दुनियाँमा बिन्तीसिन्तीको अदबले ठाउँ नपाओस् डाक्टर साहेब !" मुस्काउँदै नानीथकुँले भनिन् ।

"बातपिच्छे 'डाक्टर साहेब, डाक्टर साहेब' को धुवाँ र अदबले उल्टो तिमी नै उपाध्याय भएर अझ मलाई उपदेश दिन्छ्यौ ?" व्यङ्ग्यमय भावमा डाक्टर गोदत्त प्रसादले भने ।

आफ्नो छेडले आफैँ लडी नानीथकुँ सर्मिन्दा भइन् । लाजले उनी केवल मुसुक्क हाँसिन् अनि ओठ टोकेर फर्किन् ।

"किन उता फर्केकी नानीथकुँ ! हारेको कबुल गर्छ्यौ भने हर्जाना तिर र जित्न चाहन्छ्यौ भने बोल, फेरि के भन्न चाहन्छयौ ?" डाक्टर गोदत्त प्रसादले व्यङ्ग्य हानेर भने ।

"हारेको हर्जाना के तिर्ने नि ?" मन्द मुस्कानमा नानीथकुँले भनिन् ।

"हारेकोमा हर्जाना ?"

"अँ ।"

"मैले भने जस्तो एक चोटि हाँस न त ।"

"छिः भैगो डाक्टर साहेब ! धेरै नजिस्क्याउनु होस् ।" अलि नखराएको भावमा नानीथकुँले भनिन् ।

ल, फेरि 'डाक्टर साहेब ?' कति 'डाक्टर साहेब', 'डाक्टरसाहेब ?' ठट्यौलो अनुहारमा डाक्टर गोदत्त प्रसादले भने ।

"के भन्ने त ?" ठट्यौलो अनुहारले नानीथकुँले पनि सोधिन् ।

"बस गोदत्त ।"

"खालि गोदत्त ?"

"के त अब सिङ पुच्छर पनि जोड्नु पर्‍यो ?"

"तैपनि ठाडै 'गोदत्त' मात्र कसरी भन्ने ? नाइँ म त 'गोदत्तसोदत्त' केही पनि भन्दिनँ, 'डाक्टर साहेब' नै भन्छु, त्यही सम्बोधन मलाई मिठो लाग्छ ।" मुसुक्क हाँसेर नानीथकुँले भनिन् ।

नानीथकुँको यो अन्तिम वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद अनौठोसँग प्रभावित भए ।

डाक्टर गोदत्त प्रसादकी स्वास्नी रञ्जना देवी सशङ्क भएर यिनीहरू दुई जना कुरा गरि रहेकोमा बराबर चेवा गरि रहेकी थिइन् । यिनीहरूलाई यसरी अब धेरै बेर कुरा गर्ने मौका पनि दिन भएन भन्ने पनि रञ्जना देवीले विचार गरिन् । त्यसैले उनी वार्ता भङ्ग गराई नानीथकुँलाई चाँडै धपाई पठाउने अभिप्राय गरी सरासर डाक्टर गोदत्त प्रसादले बिरामी हेर्ने कोठामा आइन् ।

रञ्जना देवी बिरामी हेर्ने कोठामा एक्कासि आएको देखेर डाक्टर गोदत्त प्रसाद र नानीथकुँ दुवै जना झस्के । सहसा रञ्जना देवीले यसरी आएर रङ्ग भङ्ग गरि दिएकीमा झोँक चले पनि गोदत्त प्रसादले केही भन्न सकेनन् । नम्र भावमा उनले रञ्जना देवीसँग खालि यति मात्र भने– "किन रञ्जना ! भात पाकि सक्यो कि ?"

"भातले छोराछोरी समेत पाइ सक्यो, किन यस वेलासम्म पनि आज बिरामी कोठामा अल्झि रहनु भएको भनी बुझ्न आएकी ।" रञ्जना देवीले भनिन् ।

"हिँड, जाँदै गर रञ्जना । म आउँछु।" डाक्टर गोदत्त प्रसादले भने ।

"आइ हाल्नोस् त, आज झट्टै भान्छाको काम सकेर मलाई पनि एकछिन बाहिर जानु छ ।" रञ्जना देवी गइन् ।

उन्नाइस

डाक्टर गोदत्त प्रसादले भात खाइ रहेको वेलामा कोही नभएको मौका छोपी रञ्जनादेवीले भनिन्– "होइन, तपाईंको कस्तो बानी यो, के खुड्किलै पिच्छे तपाईंलाई स्वास्नी चाहिन्छ कि ? यत्रो बडादमी भएर कस्तो चाला यो ? कसैले थाहा पाए के भन्ने होला ? यस्तो पनि बानी ! धेरै आँखा चिम्लि सकेँ, अब पनि आँखा चिम्लि रहनु त फसाद मोल्नु सम्झेर आज त भनि हालेकी– होस गर्नोस् है, टाउको फोरेर कमाइ राखेको इज्जत पानी भएर नपोखियोस् ।"

"के ?" अलि आश्चर्य मानेर दबेको स्वरमा डाक्टर गोदत्त प्रसादले भने ।

"मलाई थाहा छैन ? तपाईंका एक एक कुरा मलाई थाहा छ ।"

"थाहा भए भन न त, भुलचुक गरेको छ भने अर्ती दिएर सुधार ।" मुसुक्क हाँसेर गोदत्त प्रसादले भने ।

"नरिसाईकन मुसुमुसु हाँस्ने मानिस डरलाग्दा हुँदा रहेछन्, त्यस्ता मुसुमन्डलीले मानिसको ज्यान पनि लिन बेर छैन ।" अलि रिसाएको भावमा रञ्जना देवीले भनिन् ।

"हाँस्ने बानी तिमीलाई मन पर्दैन भने के त बहुला कुकुर रिसाए झैँ रिसाएको तिमीलाई राम्रो लाग्छ त ? तिमी यस्तै नराम्रो बानी सिकाउँछ्यौ भने मलाई तिमीले सुखमय जीवन बिताउन दिने सौभाग्य दिन्नौ रञ्जना !" हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"चुप लाग्नोस्, धेरै चिप्लो कुरा नगर्नोस्, मुख मिठो भएर के गर्ने, करनीले अर्काको कलेजा कटकट काटि सकेको छ । यसरी मिठो कुरा गरेर ढिलो मार्नुभन्दा बस, खुकुरीले एक चोटि छिनालि दिनु धेरै जाती देख्छु ।" अलि अफसोसको भावमा रञ्जना देवीले भनिन् ।

"होइन, मैले तिमी उपर के अपराध गरेको छु र एकाएक आज ममाथि यत्रो प्रहार ?"

"केही गर्नु भएको छैन, फूल बिछ्याएर आनन्दसित सुत्न दिइ राख्नु भएको छ । योभन्दा सुख अरू के होला ।"

"के दुःख दिएको छु त भन न, होस नभईकन केही दुःख पुऱ्याएको रहेछु भने समालुँला ।"

"किन दुःख दिनु हुन्थ्यो । तपाईंले पनि मलाई दुःख दिनु होला ? दिनदिनै दूधभात ख्वाइ राख्नु भएको छ– राम्रो मसिनो, लत्ता कपडा लगाउन दिइ राख्नु भएको छ, अनेक सुख सामग्री जुटाइ राख्नु भएको छ । सारा भौतिक सुखले मलाई छोपि राख्नु भएको छ । तर तपाईंलाई थाहा छ ? यी सब भौतिक सुखलाई तुच्छ सम्झेर, तृण बराबर मानेर अर्कै एक विशेष सुख वा भोगलाई मात्रै स्वास्नी मान्छेहरू खास सुख सम्झन्छन् र मान्छन् । उनीहरू आफूमाथि प्रेम गर्नेलाई एकलौटी गर्न चाहन्छन् । आफ्नो हृदयका व्यक्तिलाई कसैले हेरेकोसम्म पनि देख्न चाहँदैनन् । तर अफसोस ! लोग्ने मानिसहरूले यसमा कृतज्ञता प्रकट नगरीकन उल्टो यसलाई आफ्नो अधिकार सम्झने भुल गरि रहेका छन् ।" बडो गम्भीर भएर आवेशपूर्ण भावमा रञ्जना देवीले भनिन् ।

रञ्जना देवीले त्यति लामो कुरा छेड्दा पनि डाक्टर गोदत्त प्रसादले चुइँक्क एक शब्द पनि बोलेनन् । सुनेको नसुन्यै गरी खुरुखुरु भात खाइ रहे । मानौँ भातका साथसाथै रञ्जना देवीले बोलेका कुराहरू पनि निलि रहेका छन् ।

डाक्टर गोदत्त प्रसादको थालमा भात पनि सकिनै लागि सकेको थियो, 'आज यिनलाई कायल नगरी छाड्न हुन्न' भन्ने विचार गरी रञ्जना देवी फेरि बोल्न सुरिइन् । उनलाई यो पनि प्रतीत भएर आयो कि 'गेडा नफुटेका मिठातिता लवजले मात्रै उनीबाट कुरा उकेलाउन सकिन्न, प्रस्टै सिधा कुराको डोरीले उनको बदमासीलाई बाँध्न सके मात्र उनले भएको कुरा बक्लान् ।'

यही विचार गरी रञ्जना देवीले भात खान सिद्ध्याउनै लागि सकेका डाक्टर गोदत्त प्रसादमाथि ठाडै हमला गरिन्– "बिरामी हेरी मानिसहरूको सेवा गर्नाका निम्ति तपाईं बिरामीकोठा खोलेर बसि रहनु भएको हो कि गालामा गुलाफ फुलेका तरुनीहरू फसाउन जाल थापि रहनु भएको हो ?"

रञ्जना देवीको तीर समान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी विना प्यासमा पनि पानी पिएर बोल्न लागे– "के ?"

"के पनि कुनै प्रश्नको उत्तर हो ? मैले सोधि सकेकी छु कि तपाईं बिरामी कोठामा किन बसि रहनु भएको ?" अलि झर्केको भावमा रञ्जना देवीले भनिन् ।

"बिरामी हेर्न ।" सरल भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"खुब हेर्नु भयो बिरामी !" रोषपूर्ण भावमा रञ्जना देवीले फेरि भनिन्– "मलाई थाहा छैन ? एक एक देखेकी छु मैले, तपाईंको साधु भेषमा कृष्णलीला ! अगि आउने 'नानीथकुँ' भन्ने किसान बालासित के गरि रहनु भएको ? कि उसमा अटाइ नअटाई बगिरहेको उसको वर्षा कालीन यौवन यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसि रहेको डाक्टर हुँ भन्ने नै बिर्सनु भयो ?"

रञ्जना देवीको झम्टाइ सुनेर डाक्टर गोदत्त प्रसादले मुसुमुसु हाँसेर उनको मुख एक चोटि हेरे तर केही बोलेनन् ।

"अझ खिस्स खिस्स हाँसि रहन तपाईंलाई लाज छैन ? मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो । लाजै मानिसमा छैन भने त्यस नाङ्गो मानिससित कसको के लाग्छ ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि बच्न सकिन्छ, तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गार्‍हो छ । यस्तो पनि भलादमी मानिसको ताल हो ?" रञ्जना देवीले भनिन् ।

"के…?" त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"के के… के… भनि रहनु भएको ? लाज छैन, सरम छैन, तिन तिन जना छोराछोरीको बाबु भइ सकेर पनि, उसमाथि डाक्टर जस्तो भएर सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइँ काम गरि रहने ?"

"तिमी जस्ती पढेलेखेकी स्वास्नी मान्छेले पनि अझ चेवाचर्चा गर्ने निर्घिनी काम गर्न सुहाउँछ ? चेवाचर्चा गर्ने बानी छउन्जेल जतिसुकै विद्याको उन्नति गरे पनि हामीले सुख शान्ति पाउन सक्तैनौँ रञ्जना ! यस कुराको तिमीले खुब विचार गर ।" अलि गम्भीर मुद्रामा डाक्टर गोदत्त प्रसादले भने ।

"वा ! 'उल्टा चोर कोतवालको डाँटे !' आफू बदमासी गर्ने, उल्टो अर्काको दोष खोज्ने ? छिः, यस्तरी पनि मानिस निर्लज्ज हुनु हुन्छ ?" अलि घृणाको भावमा रञ्जना देवीले भनिन् ।

रञ्जना देवीको ओठे जबाफले डाक्टर गोदत्त प्रसाद अवाक् भए । उनको मुख थुन्ने शक्ति डाक्टर गोदत्त प्रसादले आफूमा देखेनन् । अनि उनले आत्म समर्पणको दाउ खेल्न सुरु गर्न थाले । ख्याल गर्दाको भावमा मुसुमुसु हाँस्तै डाक्टर गोदत्त प्रसादले भने– "उनले ठट्टा गर्न कुतकुत्याएपछि कसरी मैले लाछी भएर मुर्दा बनि रहने नि ?"

"त्यसो भए कसैले मसँग ठट्टा गर्न कुतकुत्याएमा बहादुर भएर मैले पनि अगाडि बढ्ने त ? त्यसरी म जिउँदो भएर निस्केमा भन्नु होस् त तपाईंलाई मन पर्छ ?" बाघ झम्टाइमा रञ्जना देवीले भनिन् ।

"बोल्नोस्, तपाईंकी स्वास्नीलाई कसैले ठट्टा गर्न कुतकुत्याएकोमा चाख मानेर जिस्किन तपाईंलाई एकदम मन पर्दैन भने कुनै नव युवती ठिटीले ठट्टा गर्न कुतकुत्याएकोमा मेरो लोग्ने कुखुरी काँ गरेर दौडन पुगेको मलाई मन्जुर होला ?" चेहरा मुस्कुराउँदै रञ्जना देवीले भनिन् ।

"मेरो कुरालाई त्यसै लऱ्याकलुरुक पारी हाँसोमा उडाएर जान पाइन्न, सफा जबाफ दिनोस् तपाईंको के विचार छ ?" चुठेर भाग्न लागेका डाक्टर गोदत्त प्रसादलाई राम्ररी सुनाएर रञ्जना देवीले भनिन् ।

बिस

डाक्टर गोदत्त प्रसाद अस्पताल गइ सकेपछि झटपट भात खाई रञ्जना देवीले नानीथकुँलाई बोलाउन पठाइन् । उनले सोचिन्– 'नहुनु पर्ने कुरा भइ रहेछ, रिसाएर अब त्यो मेटिन्न, केवल रिसै मात्र आफूसित भइ रहला, सुख अर्काको पोल्टामा पर्ला । त्यसैले अक्किल लडाउन नसके अझै पनि यस्तो डढेलोमा सुकेका पात सल्केर गए झैँ जान सक्छ ।' यही सोच विचारको निष्कर्षमा आएर उनले अक्किल जमाई नानीथकुँलाई बोलाउन पठाएकी हुन् ।

डाक्टर गोदत्त प्रसादको घरको कुकुर पनि नानीथकुँलाई देवता सिद्ध भइ रहेको थियो ! त्यसैले 'आउनू' भन्ने सन्देश पाउना साथ फाल हालेर नानीथकुँ डाक्टर गोदत्त प्रसादको घर पुगिन् ।

तुरुन्तै आइ दिँदा बडो खुसी भएर रञ्जना देवीले नानीथकुँलाई आफ्नो घरको सबभन्दा गुप्त कोठामा लगिन् । नानीथकुँको मनमा अनेक तर्क वितर्क उठ्न थाल्यो । तर बाहिर बाहिर खुब समालेर उनी रञ्जना देवीसँगै हाँस्तै आफूलाई लगेको कोठामा गइन् ।

रञ्जना देवीले भनिन्– "नानीथकुँ ! तिमी त सिधासाधा किसानकी सिधीसोझी छोरी रहिछ्यौ, तिमीलाई देखेर मलाई बडो माया लाग्यो ।"

रञ्जना देवीको यो कुराले साँच्चीकै सिधीसोझी नानीथकुँ जिल्ल परिन् । के भनेकी हुन् भनी उनी अलमल्ल परेर टोलाइन् ।

रञ्जना देवीले फेरि भनिन्– "किसानको जीवन वास्तवमा दुःखी भएर पनि सुखी छ । हेर्दा सुखी देखिएर पनि हाम्रो जीवन सधैँ तितोपनमा डुबि रहेको हुन्छ, ठीक त्यसको उल्टो तिमीहरूको किसानी जीवन चाहिँ हेर्दा दुःखी देखिन्छ तापनि सधैँ सुखशान्तिको इन्द्रेनी दौडि रहेको हुन्छ ।"

बिचरी किसान बालिका नानीथकुँले बनारस विश्व विद्यालयमा आई. ए. सेकेन्ड इयरसम्म पढेकी रञ्जना देवीको कवितामय कुरो के बुझ्न सक्थिन् ? खालि पक्क परेर सुनि रहिन् ।

रञ्जना देवीले सोधिन्– "तिमी बिरामी भएर जँचाउन आएकी मानिस अगि किन डाक्टर साहेबसँग ख्यालठट्टा गरि रहेकी ? परपुरुषसित स्वास्नी मान्छेले त्यसरी ख्यालठट्टा गर्नु ठीक छ ? स्वास्नी मान्छेको इज्जत स्वास्नी मान्छेले नै राख्न जान्नु पर्छ । यसरी सस्तो र खैराँती हुनु हुन्न, नानीथकुँ !"

रञ्जना देवीले फेरि भनिन्– "त्यस्ता तीन वटा छोराछोरीका बाबु, कपालमा जौतिल पाकि सकेका बुढासित पनि तिमी जस्ती भरभराउँदी तरुनीले प्रेम गर्ने ? 'जात फ्याँक्नु गहतको झोलमा' भनेको यही हो ।"

रञ्जना देवीका एक एक शब्द नानीथकुँले खुब ध्यान दिएर सुनि रहिन्, तर एक शब्दको पनि उनले जबाफ दिइनन् । अनि रञ्जना देवीले अर्कै किसिमबाट भन्न थालिन् । आफ्नो भनाइमा उनी भएभरको शक्ति र बुद्धि खन्याउन लागिन् । उनले भनिन्– "हामी स्वास्नी मान्छेले आफ्नो जीवन भोगका निम्ति अर्पनु हुँदैन; हामी कुनै लोग्ने मानिसको भोगका निम्ति जन्मेका वा सिर्जेका जीव होइनौँ । हाम्रो उमेरमा यौवन छ, हाम्रो गालामा रगत छ, हाम्रो ओठमा पानी छ, हाम्रो शरीरमा सौन्दर्य छ, हाम्रो चेहरामा मुस्कान छ, हाम्रो वाणीमा माधुरी छ, हाम्रो हेराइमा लालित्य छ, हाम्रा प्रत्येक अङ्गप्रत्यङ्गमा हिसी छ । के लोग्ने मान्छेलाई भोगाउनका लागि ती सबै गुण हामीले पाएका हौँ ? कदापि होइन, ती सबै गुण हामीले हाम्रै निम्ति पाएका हौँ ।"

रञ्जना देवीले बोलेका यी सब कुरा सुनेर नानीथकुँ निहुरि रहेकी थिइन् । रञ्जना देवीले फेरि भनिन्– "किन नानीथकुँ ! एक शब्द पनि तिमीले बोलिनौ ? मैले भनेको कुरा तिमीलाई ठिक लागेन ? तिमीलाई मन परेन ? भन, मेरो भनाइ तिमीलाई कस्तो लाग्यो ? ठिक लाग्यो कि बेठिक ?"

नानीथकुँ केवल एक चोटि मुसुक्क हाँसिन्, तर एक शब्द पनि बोलिनन् ।

"भन न, आफूलाई लागेको कुरा बोल्नु पर्छ, नत्र आफैँलाई धोका हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जना देवीले भनिन् ।

नानीथकुँले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसि रहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जना देवीले भनिन्– "तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक स्वास्नी मान्छेले दुनियाँ भरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके पनि कम से कम स्वास्नी मान्छेको मात्रको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र होइन, बाटो बाटोमा सुख हाँसि रहेको हामी पाउने छौँ ।

तसर्थ नानीथकुँ ! नारी भएर तिमीले नारीको मूल्य पहिचान्न सक, नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्र प्राप्त हुन सक्छ, तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ । त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा नै हौसला फुल्न आइ रहन्छ, फुर्ती मुस्कुराइ रहन्छ र अभिमान बाँचि रहन्छ ।"

रञ्जना देवीले यति कुरा छाँटि सकेपछि बल्ल मुन्टो उठाएर नानीथकुँ बोलिन्– "तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनि रहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागि रहेको छ कि तपाईंले मलाई बोलाउन पठाएर किन यो सब कुरा गरि रहनु भएको हो ?"

"तिमी बिग्रन आँटेको देखेर ।" बडो मायालु भावमा गम्भीर भएर रञ्जना देवीले भनिन् ।

"म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" नानीथकुँले विनम्र भावमा भनिन् ।

हाँस्तै नानीथकुँको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्– "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरि रहेकी हुँ र ?"

नानीथकुँ फेरि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्– "डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुँ ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"

नानीथकुँ फेरि अगि जस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना देवीले भनिन्– "जाऊ, मैले तिम्रो धेरै समय लिइ दिएँ । मैले भनेको कुरा कत्तिको ठिक–बेठिक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्दा पनि खुब गुनेर हेर्नू । ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा बिग्रेको म सम्झुँला । तर नानीथकुँ ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"

नानीथकुँ रातो मुख लाएर सरासर गइन् ।

एक्काइस

नानीथकुँलाई रञ्जना देवीको कुराले सार्‍है छोयो, उनको भित्री मन खलबल पारि दियो । डाक्टर गोदत्त प्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइ रहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गा जस्तो सार्‍हो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे जस्तो लाग्यो ।

केही नलागेर नानीथकुँ माथि गइन् । लतमाया तान कोठामा बसी तान चलाइ रहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्‍यो । "आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुति रहेकी थिएँ ।" नानीथकुँले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइ रहेकी थिइन् ।

चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुँले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुँलाई घरी डाक्टर गोदत्त प्रसाद उपरको प्रेम नै वियोगमा रुन मन लाग्ने भएर आउने, घरी रञ्जना देवीले भनेको कुरा 'हो' प्रतीत भएर पछुताउ लागेर आउने, घरी शिव नारानको डर लागेर आउने; यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्रेमले उनलाई तुरुन्तै डाक्टर गोदत्त प्रसादकहाँ दौडाउन खोज्ने, सामाजिक परम्पराले समाजका सम्पूर्ण चित्र आँखा अगाडि नचाइ दिने जस्ता अन्तर्द्वन्द्वको अगाडि बिचरी नानीथकुँको केही लागेन । तानमा मन नडुबेको हुनाले बुन्नुको सट्टा धागो अल्झेर बिग्रने मात्र भइ रह्यो अनि त्यहाँबाट पनि जुरुक्क उठेर नानीथकुँ जान खोजिन् । नानीथकुँको यो अभूतपूर्व परिस्थिति देखेर लतमायाले भनिन्– "के भयो, नानीथकुँ ! आज तिमीलाई कपाल दुखेको मात्र होइन, अलि दिक्दार पनि देखिन्छ्यौ ?"

"केही भएको छैन अरू थोक त, तर अगिभन्दा पनि अहिले झन् कपाल दुखेर आयो आमा ! जान्छु म पल्टन एक छिन फेरि ।" नानीथकुँ फेरि कोठामा सरासर गइन् र बिछ्यौनामा पल्टिन् ।

उता डाक्टर गोदत्त प्रसादको पनि उही हालत । नानीथकुँलाई एक बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम आइ पर्दा उनले दुई घण्टा बढी अस्पतालमा अलमलिनु परेको थियो । एक बजेको ठाउँमा तीन बजि सक्यो, छटपटाएर उनी कुद्दै घर आए । घर आउँछन् त नानीथकुँ नदारत । रञ्जना देवीसँग त सोध्नै भएन । नसोधे जस्तो गरी उनले घरमा नोकर चाकरहरूबाट नानीथकुँ आएर घण्टौं बसेर गएको खबर पत्ता लगाए । अनि त झन् उनको मनमा बेमज्जा बढ्यो । किताब, अखबार पढेर दिक्दारी बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन ।

यत्तिकैमा रञ्जना देवीले दिउँसोको खानेकुरा ल्याएर डाक्टर गोदत्त प्रसादको अगाडि राखि दिइन् । खान पनि डाक्टर गोदत्त प्रसादलाई बिलकुलै मन लागेको थिएन तर रञ्जना देवीको डरले, उनले केही भन्लिन् भन्ने सम्झेर मन नलागे तापनि कोची कोचीकन उनले खानेकुरा खाए । खाना उनलाई ज्यादै नमिठो लागेको थियो ।

खानपिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर गोदत्त प्रसाद सरासर नानीथकुँको घरमा लम्कँदै गए ।

डाक्टर गोदत्त प्रसाद नानीथकुँको घरमा पुगे । नानीथकुँले उनको हिँडाइको आवाज समेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्‍याङ उक्लनासाथ डाक्टर गोदत्त प्रसाद आएको नानीथकुँले चाल पाइन् अनि दौडेर गई नानीथकुँले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्त प्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्– "किन आउनु भएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?"

"आज एक बजे घर आउँछु भनेको, कहाँ कहाँबाट एउटा अत्यन्त जरुरी विशेष काम आइ लागेर त्यसैले आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुँ ! जरुर क्षमा गर है !" डाक्टर गोदत्त प्रसादले पनि बिस्तारै भने ।

"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइ सकेँ ।" नानीथकुँले बिस्तारै भनिन् ।

"मैले थाहा पाइ सकेँ, त्यसैले म तिमीले 'नआइज' भने पनि फाल हालेर आएको ।" डाक्टर गोदत्त प्रसादले भने ।

"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसि रहूँ भयो !" अलि नखराएको अनुहारमा नानीथकुँले भनिन् ।

"त्यसैले दौडी दौडीकन क्षमा माग्न आइ पुगेको ।"

"खुब आउनु भएको होला क्षमा माग्न ! 'तिमीप्रति मेरो कत्ति प्रेम छ' भनी धक्कु त छोड्न आउनु भएको होला !" नखराकै भावमा नानीथकुँले भनिन् ।

"लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !"

"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !"

"डाक्टर आइ पुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?"

"त्यसैले त सेखी बढेको तपाईंको । 'एक बजे आउँछु' भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई त होला । तक्मा दिनु पर्ने डाक्टर हुनु हुँदो रहेछ तपाईं !" आनन्दमा मस्त भएर नानीथकुँले भनिन् ।

"ओ ! माफ गर नानीथकुँ ! होसै भएनछ ।"

"माफसाफको चिप्लो कुरा छोडेर जानोस् यहाँबाट झट्टै, नत्र मफतमा नचाहिँदो आपत् ओढ्नु पर्ला ! म पनि आजदेखि तपाईंमाथिको प्रेम वापस लिन्छु ।" अलि गम्भीर बन्न खोज्दै नानीथकुँले भनिन् ।

"प्रेम वापस लिने ? म तिमीले भने पनि पत्याउन सक्तिनँ, प्रेम वापस लिइन्न, न लिन सकिने नै कुरा हो, कुनै चुनाउमा उम्मेदवार हुनु त होइन कि मन नलागे पछि नाम वापस लिइन्छ । प्रेम ठट्टाको कुरा त होइन, गरेपछि छोड्न सकिन्छ ? तिमीले भन्दैमा म त्यसै पत्याउन सक्छु नानीथकुँ ?" मन्द मन्द मुस्कुराउँदै डाक्टर गोदत्त प्रसादले भने– "त्यसरी नतर्साऊ न हत्तेरी !"

"भैगो, ठीक पार्नु पर्दैन । खुब नाटक गर्न जान्दछन् तपाईं जस्ता लोग्ने मान्छेहरू । यता मसित प्रेम, उता नोकरनीसित प्रेम, फेरि उता अर्कैसित, झन् उता फेरि अर्कैसित, यस्तरी पनि भाउ नराखेर हिँड्नु ? मैले एक एक सुनि सकेँ तपाईंको यमुना तटमा बज्ने वंशीको धुन ?" मुसुक्क हाँस्तै खुब व्यङ्ग्य भावमा नानीथकुँले भनिन् ।

"ओहो ! पाठ त खुब पढाएर पठाएको रहेछ । मलाई शङ्का मात्र लागेको थियो । त्यत्तिका बेर मौका पाएको किन छोड्थी । तर नानीथकुँ ! तिमी कसैका कुरामा नलाग, मलाई विश्वास गर, कहिल्यै धोका खानु पर्ने छैन ।" आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"भो, मलाई धोका नदिनु होला तर मलाई एकतर्फी भएर गर्नु भएको निगाह, अनुग्रह, कृपा, दया, माया तपाईंको चाकरनीका निम्ति त धोकै हुन जाला । उसलाई पनि त तपाईंले यस्तै विश्वास गराउनु भएको होला ! उसले पनि त तपाईंको विश्वासमा एकोहोरिएर प्रेम गरि रहेकी होली !"

"हत्तेरी ! तिमी अर्काको कुरा जे पनि यसरी पत्याइ रहन्छ्यौ भने मेरो के लाग्छ !" अलि खेद प्रकट गरेर डाक्टर गोदत्त प्रसादले भने ।

"बतास नआईकन पात हल्लन्छ त ? कहाँबाट आयो यो कुरा ?" नानीथकुँले भनिन् ।

"यही त अफसोसको कुरा छ । हो, बतास नआईकन पात हल्लन सक्तैन, यो म पनि मान्दछु, तर कोही बलियो मानिसले फेदमा बसेर रूख हल्लाइ पनि दिन सक्छ, त्यसलाई बतास आएको मान्ने त ?" अलि हाँसेको भावमा डाक्टर गोदत्त प्रसादले भने ।

जबाफ नदिईकन नानीथकुँ चुप लागि रहिन् । एकै छिन उनको मनस्थिति हेरेर डाक्टर गोदत्त प्रसादले भने– "किन नबोलीकन चुप लागि रहेकी नानीथकुँ ?"

"मैले नकाम गरि रहिछु डाक्टर साहेब !" अलि दिक्दारी भावमा नानीथकुँले भनिन् ।

"किन नानीथकुँ । मैले केही बुझिनँ तिम्रो कुरा ?" मायालु भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"मैले प्रेम नगरीकन पाप गरि रहिछु, यस कारण तपाईंलाई चाहेर पनि मैले छोड्न बल गरि रहेकी छु, यस्तै तपाईंले पनि मलाई छोड्न बल गर्नु होला, यद्यपि तपाईं मलाई ज्यादै चाहनु हुन्छ ।" अलि अफसोसको भावमा नानीथकुँले भनिन् ।

एक छिन पुलुक्क डाक्टर गोदत्त प्रसादको अनुहारमा हेरी नानीथकुँ मनमा केही गौर गर्दै चुप लागिन् र तुरुन्तै भनिन्– "भात पकाउने वेला भइ सक्यो, तपाईं जानोस् डाक्टर साहेब ! कदाचित् आमा आउनु होला ।"

डाक्टर गोदत्त प्रसाद एक छिन अलमल्ल परे जस्ता भए । अनि फेरि नानीथकुँले भनिन्– "आज जानोस्, भोलि भेटुँला नि फेरि ।"

बाइस

आफ्नो खेतको काममा अलमलिँदा पनि शिव नारानले नानीथकुँ र डाक्टर गोदत्त प्रसादमाथि उठेर रिस बिर्सिन सकेका थिएनन् । काम गर्दा पनि मनमा झनक्क रिस उठ्थ्यो। त्यस कारण आज शिव नारान पाँच बज्दा नबज्दै घर फर्केका थिए । आज पनि आफ्नै घरबाट गोदत्त प्रसाद फर्कंदै गरेको देख्ता डाक्टर गोदत्त प्रसादलाई समातेर निमोठि हालूँ जस्तो उनलाई भयो । डाक्टर गोदत्त प्रसादलाई पनि एकाएक शिव नारान भेट हुँदा हुनसम्मको अप्ठ्यारो भएको थियो, सहसा सङ्कोच भावले छोपेको थियो, के गरूँ, के गरूँ भएर एकदम अतासिइ सकेका थिए । तर उनले तुरुन्तै केही नभएको जस्तो भाव गरी शिव नारानसँग भने– "किन हँ, निकै चाँडै फर्क्यौ नि शिव नारान ? तिम्रो खेतमा रोपाईं सिद्धियो ?"

डाक्टर गोदत्त प्रसादले पनि बोलि दिँदा त शिव नारान झन् रिसले भुतुक्क भए । जबाफ दिने सभ्यताको पनि उनलाई केही ख्याल भएन । खालि क्वारक्वारती हेरेर केही पनि जबाफ नदिईकन सरासर घरभित्र पसे । भेट्ता 'नमस्ते' सम्म पनि गरेका थिएनन् ।

उनी सरासर तान कोठामा गए । झन् नानीथकुँलाई नदेख्ता उनको रिसको मात्रा अझ बढ्यो । कोठामा पाइला टेक्नासाथ शिव नारानले क्रुद्ध भावमा भने– "नानीथकुँ खोइ नि ?"

"कपाल दुखेर कोठामा पल्टि रहेकी छ ।" स्वाभाविक स्वरमा लतमायाले भनिन् ।

"तपाईं छोरीको रखवारी भइ रहनु भएको हो कि कुटुनी ? घरमा गुन्डा नाचेर गइ सक्यो, तपाईं छोरीलाई कपाल दुखि रहेको छ भनी यहाँ सुति रहनोस् ! दिनहुँ डाक्टर आएर कोठामा ख्यालठट्टा, नाचगान गरेर जान्छ, तपाईं छोरीलाई कपाल दुखेको निको होस् भनी यहाँ बसी बसी द्यौता भाकल गरि रहनोस् । हिजो पनि यहाँबाट ओर्लि रहेको देखेँ, आज आउँदा पनि फर्कि रहेको भेट्टाएँ । कस्तो चाला हो यो ? म त बाँकी राख्तिनँ । आज म त जात्रा नदेखाईकन छोड्दिनँ ।" अग्नि शर्मा भएर शिव नारानले भने ।

सधैँ रात परेपछि आउने छोरो आज यसरी सबेरै आएर एकाएक यस्तरी रिसाउन थालेकाले लतमाया जिल्ल परी मुख बिगारेर तान पनि नचलाईकन त्यसै बसेको बस्यै गरि रहिन् । उनी केही पनि बोलिनन् ।

लतमायालाई तानमा त्यसै बसि रहेको देखेर झन् रिसाएर शिव नारानले भने– "छोरीले पट्ठा खेलाइ रहेको कुरा तपाईंलाई मिठो लाग्छ कि क्या हो ? पट्ठा भए पनि एउटा कुरा, पट्ठासित पट्ठी खेली भनेर सन्तोष पनि गर्न सकिएला, तीन तीन छोराछोरीका बाबु, अर्काका पोइसित त्यसरी खेलिरहन लाज छैन रे त्यसलाई ? सरम छैन ? बोलाउनोस् त्यस नकचरीलाई, आज पूजा नगरी छाड्दिनँ ! बाबु मरेको छ महिना भएको छैन, उसको यो लीला !"

"भइगो, नकरा बाबू ! अरूले सुन्लान् । म उसलाई राम्ररी सम्झाएर ठिक गर्ने छु ।" सान्त्वनापूर्ण भावमा लतमायाले भनिन् ।

"अरूले सुन्ला ? अरूले सुन्ला, थाहा पाउला र नराम्रो होला भन्ने डर मान्ने भए यस्तो नकाम गरिएला ? अझसम्म अरूले थाहा पाएको छैन भनी ढुक्क भइ रहनु भएको तपाईं ? अरूले सुन्ला र थाहा पाउला भन्ने तपाईंलाई डर ? अरूबाट नै मैले थाहा पाएको हुँ अब फेरि अरूले सुन्ला, थाहा पाउला भन्ठान्नु भएको ?" रिसको आवेशमा शिव नारानले भने ।

'योसित अहिले नबोल्नु बेस' भन्ने विचार गरी लतमाया चुप लागिन् । शिव नारान रिसमा वेद पढी नै रहेका थिए। रिसाउँदारिसाउँदै 'आज म छ्यास्नसम्म नछ्यासी छोड्दिनँ' भन्ने विचार गरी नानीथकुँलाई शिव नारानले नै बोलाए । दुई तीन बोलावटसम्मलाई नानीथकुँले वास्तै नगरीकन सुन्या नसुन्यै गरेकी थिइन् तर लगातार बोलाइ रहेपछि केही सिप नलागेर नानीथकुँ डराई डराईकन कपाल दुखेको स्वाङ गर्दै माथि आइन् । नानीथकुँ तानकोठामा पुग्नासाथै शिव नारानले एटम बम छोडि हाले– "क्या हो, क्या हो यो ? डाक्टर गोदत्त प्रसाद दिनदिनै किन आइ रहेको, किन आउँछ, त्यो दिनदिनै ?"

"म के थाहा पाऊँ ?" बडो साहस गरेर नानीथकुँले भनिन् ।

"म के थाहा पाऊँ होइन, दिनदिनै तिमीकहाँ आउने, तिमीसित ख्यालठट्टा गरेर जाने भएर पनि तिमीलाई थाहा छैन भने अरू कसलाई थाहा होला ? भन, किन दिनहुँ यहाँ त्यो आउँछ ? तिम्रो कुन रोगको त्यो दिनहुँ इलाज गर्न आउँछ ?"

नानीथकुँ एक शब्द बोलिनन् । शिव नारानले बोलेका कुरा भित्ताको मयूरले झैँ केवल सुनि रहिन् । लतमायाले पनि केही बोलिनन् । यत्तिकैमा पुन नारान, हर्ष नारान, हाकुमाया सब दैनन्दिन काम सकेर घरभित्र पस्न थाले । उनीहरू आउँदा पनि शिव नारान कराइ नै रहेका थिए । एक छिन जिल्ल परेर पुन नारानले भने– "किन दाइ ! मामिला के छ ?"

"उही हिजोको कुरा । आज पनि अलि सबेर आएको थिएँ, दसी प्रमाण फेला पर्‍यो । हिजो त्यस्तरी जात्रा गरेको थिएँ पर्वाह गरिनन् ।" शिव नारानले रन्केर भने ।

"यो त ज्यादै अचाक्ली भयो, ज्यादै मनपरी ! यसरी गराइ राख्न त हुँदैन । यो त म पनि सहन्नँ ।" पुन नारानले भने ।

"तिमी चाहन्छ्यौ भने हामी उहीसँग बिहे गराइ दिन सक्छौँ तर यसरी लुकी चोरीकन ख्यालठट्टा गरेर भाँडिनु म राम्रो ठान्दिनँ ।" हर्ष नारानले भने ।

कान्छो दाजु हर्ष नारानको कुरा सुनेर नानीथकुँलाई आश्वासन भयो । तर उनले शिव नारानको यो कटु वाक्य सुनेर फेरि निराशाको अनुहारमै भौँतारिनु पर्‍यो– "के भनेर बदमास डाक्टरसँग बिहे गराउन दिन्छु म ! त्यो डाक्टरलाई पाएँ भने म खुट्टा भाँचेर पठाइ दिन्छु ।"

"तैपनि उनको पसन्दलाई हामीले हेर्नै पर्ला । स्वतन्त्रताको कदर गर्ने जमाना आइ सकेको छ ।" हर्ष नारानले फेरि भने ।

"तिमीले उसैको अगाडि यस्तो वाहियात कुरा गरेर बदमासीलाई प्रोत्साहन दिँदै गरे झन् ठीक हुन्छ ?" हर्ष नारानदेखि पनि अलि रिसाएर शिव नारानले भने ।

"युगको गति हेरेर मैले भनि रहेको हुँ ।'

"मलाई पनि थाहा छ युगको गति, स्वतन्त्रताको महत्त्व र मानव इच्छाको कुरा । तर म स्वतन्त्रताको नाउँमा जसले जोसँग जस्तो पनि प्रेम गरेर हिँडेको हेर्न चाहन्नँ । प्रेमको पनि महत्त्व हुन्छ, उसका निम्ति पनि फुक्का र बन्धनको लेखाजोखा, मापदण्ड हुन्छ, सीमारेखा हुन्छ, विधान हुन्छ, सुपात्र र कुपात्र हुन्छ । यी सब कुरालाई, बाटोलाई, तबरलाई नाघेर मानिस हिँड्न सक्तैन, पाउँदैन । त्यसैले जीवनमा अभिभावकहरू हुनु बेसै छ, यो सौभाग्यको कुरा हो र अभिभावकहरूले यस कुराको ख्याल विचार राम्ररी पुऱ्याउनु पर्छ ।" शिव नारानले बडो गम्भीर भएर भने ।

"दाइले ठीक भन्नु भयो, म पनि दाइको यो विचारको स्वागत र समर्थन गर्दछु ।" पुन नारानले हर्ष प्रकट गर्दै भने । शिव नारानले फेरि हर्ष नारानलाई ताकेर भने– "अहिले तिमीले कसैकी स्वास्नी नबनेकी, प्रेमिका नबनेकी र बुढी तथा बच्ची भएर बेजोडा नभएकी जो कोही स्वास्नी मान्छेसित प्रेम गर्न सक्तछौ, ल्याउन सक्तछौ, यसमा म कत्ति बिघ्न बाधा नगरीकन तिमीलाई पुरा स्वतन्त्रता दिन सक्तछु; तर त्यसो नभईकन तिमीले कसैकी स्वास्नी, आमा, प्रेमिकालाई फकाएर वा उडाएर ल्यायौ भने त्यसलाई म प्रेम वा स्वतन्त्रता कहिल्यै भन्दिनँ । त्यो सरासर बदमासी हो, चोरी हो, डकैती हो ।"

दाजुभाइका कुरामा अबेर भएको देखेर आखिरमा लतमायाले यो प्रसङ्ग नै मेटाउन खोजेर भनिन्– "अहो ! हुनसम्मको अबेर भइ सक्यो, कुन वेला भात पकाउने र खाने ? दिनभरि काम गरेर सबै भोकाएका होलान् । भइगो, अब गन्थन बन्द गर । भोलि हाम्रो रोपाइँको दिन पनि हो, भोलिदेखि नानीथकुँलाई पनि दिनभरि खेतैमा लगी काम गराइ राख्ने गर । म एक्लै घरमा बसी तान चलाइ रहन्छु, मलाई केही डर छैन । म बुढी मानिसलाई कसले के गर्ला ? अनि डाक्टरसाक्टरको कुरै मेटिएर जान्छ, 'न रहे बाँस न बजे बाँसुरी ।'

पुन नारान, हर्ष नारान दुवैले एकै स्वरमा भने– "ठिक छ, आमाले ठीक भन्नु भयो । त्यसै गर्नु पर्ला अनि आफैँ समस्या हल हुन्छ ।"

शिव नारानले रिसाएर चुरचुर भइ रहेको आफ्नो चेहरामा मुस्कानको भाव नचाएर यस कुरालाई अभिवादन गरे ।

अनि सबै आआफ्नो काम र ठाउँमा गए ।

तर नानीथकुँ हृदयमा वेदना बोकेर तान कोठामा त्यसै उभि रहिन् । त्यहाँ उनी एक्लै थिइन् । साँझ बितेर बेलुकी भइ सक्यो, नानीथकुँ त्यही अँध्यारो कोठामा बसी आफूमाथि गुज्रि रहेको सबै कुरा मनमनै गुनि रहेकी थिइन् ।

तेइस

आज शिव नारानको खेतमा रोपाइँ भइ रहेको छ । आज आफ्नो खेतको रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि आफ्नो सिकर्मी र ज्यामीको काममा नगई खेतमा रोपाइँ गर्न जुटि रहेका छन् । लतमाया र नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । आज शिव नारानको परिवारका सारा सदस्य सोपाइँको काममा मग्नमस्त छन् । सब खुसी, दङ्ग भएर, नाचेर रोपाइँ गरि रहेका छन् । नानीथकुँ उपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झि रहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरू सरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरू सरह नाच्तै गाउँदै मस्तानामा कुदि रहेकी छिन् किनभने नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्ट नारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्म आह्वान गरेको दिन सम्झन्थे । यस कारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइ रहेकी हुन् ।

अत्यन्त मसिनो पानी परि रहेको छ । सब रोपाहारहरू रसले रङ्गिएर रसिला भइ रहेका छन् । हाहा र हुहु गरी रोपाहारहरूले गाएको गीत मधुरताको स्वरध्वनिमा सुरिलो आलाप लिँदै आकाश गुन्जि रहेको छ । धरतीका रतिकहरूले गाएको गीतको गुञ्जन रूपी प्रवाहको बदला आकाशका बादलले वृष्टिदान गरी आदान प्रदानको सभ्य व्यवहार गरी रसिक बन्ने लोभ गरि रहेको देखिन्छ ।

आज शिव नारानको खेतमा धुमधाम रमाइलोसँग रोपाइँ भएको हेर्न दर्शकहरूको पनि ताँती लागेको छ । रोपाहारहरू जति मस्त भएर रोपाइँ गरि रहेका छन्, दर्शकहरू पनि उत्तिकै मस्त भएर हेरि रहेका छन् । शिव नारानको खेत खोलासँगै भएकाले आकाशको भर नपरीकन पनि पानी पुगेको र विशेषतः आफ्नो पनि मिहिनेत पुगेको हुनाले खेतमा रोपाइँ हुँदा त्यस फाँटमा अरू कसैको खेतमा पनि रोपाइँ सुरु भएको छैन । यहाँसम्म कि नेपालमा यस पालि सर्वप्रथम रोपाइँ नै शिव नारानको खेतमा हो भने पनि अत्युक्ति नहोला ।

रोपाइँमा ज्यादै आनन्द लागेको र जाँड रक्सीको सुरले गर्दा एक छिन त नानीथकुँको मनमा वज्रलेप भएर टाँसि रहेको पिर पनि उप्केर गएको भान भयो । बस, यसै बखत रोपाहारहरूलाई पान सुपारी खुवाउने निहुँमा घनिष्ठता बढाउने आशा गरी डाक्टर गोदत्त प्रसाद पनि टुप्लुक्क आइ पुगे । लागछाडको रूपमा कहिले काहीँ अलि अलि पानी परि रहेको हुनाले गोदत्त प्रसाद छाता ओढेर आएका थिए ।

मस्तसित जाँड रक्सी खाई, नाचगान गरी रोपाइँ गर्दै आफ्नो व्यथा बिर्साई, दु:ख बिर्साउँदै अलमस्त भइ रहेको बेला एकाएक पानसुपारी खुवाउन आएका डाक्टर गोदत्त प्रसादलाई देखेर नानीथकुँको निदाउन खोजि सकेको व्यथा एक चोटि फेरि जागेर आयो ।

डाक्टर गोदत्त प्रसादलाई देख्नासाथ शिव नारानलाई रोपाइँको मस्तीमा पनि झडङ्ग रिस उठि सकेको थियो, तर लत्क्षणै उनलाई सभ्यताको पनि याद भएर आयो र केही वास्ता गरेनन् ।

डाक्टर गोदत्त प्रसाद पान सुपारी खुवाउन आएको देखेर अरू खेतालाहरूको हर्षको सीमै भएन । त्यत्रा डाक्टरले पान सुपारी खुवाउन आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइ पुग्नाका साथसाथै उनीहरूले नाच्तै गाउँदै उनको खुब स्वागत गरे ।

डाक्टर गोदत्त प्रसाद आइ पुग्दा रोपाइँ झन्डै सिद्धिइ सकेकाले, अलि कती मात्र बाँकी थियो । उनी चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! आउना साथै रोपाइँ गरि रहेकाहरूलाई आफ्नो प्रसन्नताको चेहराले स्वागत गर्दै, बडो गहिरो शुभेच्छाको भाव देखाएर पान सुपारी बाँड्ने काम हरे । पान सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, भएभरका जातका खाने मसलाहरू सकेसम्म सफा सुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ आठ पैसा जाने खुला बिरा थिए; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।

डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पान सुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पान सुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीच क्रममा परेको थियो । सबै परिवारलाई बाँडि सकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पान सुपारी बाँडेका थिए ।

रोपाइँको काम अन्तिम समयमा पुगि सकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगि रहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतार चढाउ, आरोह अवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढि रहेको थियो । यही चरम सीमामा पुगेको आवेशमा रोपाहारहरू हिले पानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकुँले पनि हिले पानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइ रहेको ठाउँमा हिले पानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त प्रसाद हिले पानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद उभि रहेको आकाशमाथि हिले पानीको वृष्टि गराउन थाले । डाक्टर गोदत्त प्रसाद यताउति भाग्दै थिए । मस्त भएर नानीथकुँ उनलाई हात समाएर तानी खेतमा खसाल्न पुगिन् । यो देखेर खेतालाहरू झन् मस्त भएर हाँस्न थाले ।

नानीथकुँको यो काम रोपाइँको मस्तीमा मस्त भएर पनि शिव नारानलाई खट्कन थाल्यो । अनि नानीथकुँमाथि आँखा तरेर अलि रिसाएको भावमा शिव नारानले भने– "नानीथकुँ ! यो बढ्ता भयो, धेरै वाहियाती नबन ।"

डाक्टर गोदत्त प्रसाद रोपाइँ राम्रै सिद्ध्याएर मात्र घर फर्के । उनी फर्कंदा खेतालाहरूले बडो सत्कार साथ अभिवादन गरेका थिए । नानीथकुँका अरू दाजुहरूले पनि डाक्टरलाई सत्कार साथ अभिवादन गरे । त्यस दिन शिव नारान पनि उनलाई अभिवादन नगरिरहन सकेनन् ।

चौबिस

हिजोको रोपाइँको थकाइ मेट्न आज शिव नारानहरू कोही पनि खेतमा गएनन् । अब दुई चार दिनपछि त गाई, साँढेहरूले बाली खाइ दिने डर मानेर खेतमा सुत्न समेत पनि जानु पर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔँ भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन नारान र हर्ष नारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।

आज शिव नारान घरमा बसेको मौका र नानीथकुँको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिव नारानसँग नानीथकुँको विवाहको कुरा चलाइन् । उनले शिव नारानलाई भनिन्– "नानीथकुँलाई अब यसै राखि छोड्न भएन, शिव नारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरि दिनु पर्‍यो, नराम्रो कुरा सुनिन थालि सक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नु पर्ला भनेर बिघ्नै डर भइ सक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरि दिऔँ, हर्ष नारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।"

"मैले पनि यही सोचि रहेको छु, आमा ! बदमास डाक्टर गोदत्त प्रसादको बिघ्नै डर भइ सक्या छ, मलाई ।" शिव नारानले अलि गम्भीर भावमा भने ।

"मलाई पनि डर भइ रहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरि हाल्नु पर्‍यो ।" लतमायाले भनिन् ।

"खै, कसैले भन्न आउँदैन । हामी अलि प्रगतिशील भएकाले समाज हामीदेखि टाढा रहन खोज्छ, समाजमा अलि अगाडि बढ्न खोजे पनि नहुने, अरू साधारण मानिसहरू जस्तै रूढि र परम्परा भक्त भइ रहन भने हाम्रो मन मान्दैन । अलि जान्ने बुझ्नेलाई फसादै हुँदो रहेछ । फोने[1] गरेर कसैलाई दिन जाऔँ, भन्न जाऔँ भने हलुकै मात्र हुने देख्छु । नानीथकुँ आफैँले आफूलाई चाहिने साथी रोजेर जाओस् भन्ने विचार गरि रहेको थिएँ, उनले भने अर्काको पोइ, बाबु भएर बुढा भइ सकेका, साँच्चै भनूँ भने उसका निम्ति एकदम सिल्पट दुलाहा खोज्न आँटि रहिछ । त्यो डाक्टर सित गएपछि जुलुम हुँदैन ? हुनसम्मको दुःख नपाउली, उसले ? बाको पनि 'आफैँले छानेर जाओस्' भन्ने विचार थियो । स्वतन्त्रता दिऔँ भने यस्तो बडो फसादको समस्या आइ रहेको देखेँ मैले आमा !" शिव नारानले अलि दिक्क मानेर भने ।

"राम बहादुरको कुरालाई नै सुनौँ कि ? उनी धेरै चोटि आइ पनि सके ।" "उसको के कुरा ?"

"उही सुरमान सुब्बाको कुरा । नानीथकुँका निम्ति सुरमान सुब्बाले ज्यान थापि रहेका छन् रे ! उनैलाई दिए के होला ? मैले हेर्दा पनि नानीथकुँ भाग्यमानी होली ।"

"ज्यान थापेर अर्काकी छोरीबेटी पाइन्छ, तरुनी स्वास्नी पाइन्छ भने म पनि ज्यान थापूँला । सुरमान सुब्बा तपाईंलाई हुन्छ भने नानीथकुँ आफैँले पनि मन पराएर रोजेको डाक्टर गोदत्त प्रसाद कति कुराले चित्त बुझेन त ? मैले हेर्दा त डाक्टर गोदत्त प्रसाद सुरमानभन्दा सय गुना बेस छन् । त्यही धन दौलत, मान मर्यादाको आँच, चहक महक, रबाफ रौनक देखेर भन्नु भएको होला, त्यस्ता बुढासुढा, कसैका पोइ, बाबु र वासनाका निम्ति बिहे गर्न खोज्ने बेबकुफलाई दिने कुरा मसँग गर्दै नगर्नोस् आमा ! म त्यस्तो अवैधानिक विवाहको समर्थन कहिल्यै गर्दिनँ ।"

"नानीथकुँको चिना उनलाई सार्‍है मिल्छ रे, सरदार नभई छोड्दैनन् रे, त्यसैले दिऔँ कि भन्ने विचारसम्म पोखेकी ।" सरल भावमा लतमायाले भनिन् ।

"राजै हुने छन् भने पनि दिन्नौँ । उनकी छोरी मलाई दिए भने म काजी हुन्छ रे, देलान् ?… यी सबै भुलभुलैयामा हाल्ने बदमासी कुरा हुन् आमा ! यस्तो कुरामा कहिल्यै फस्न नखोज्नु होला ।" सम्झाएको भावमा शिव नारानले भने ।

"उनलाई दिए नानीथकुँ र हामीले पनि अलि सुख पाउन सकौँला भन्ने आशाले भनेकी हुँ । तिमीलाई मन नपरे नदिऔँला ।" लतमायाले भनिन् ।

"यस्तो पाप कहिल्यै पनि नचिताउनु होला आमा । हामीले अलिकति सुख पाउने आशामा उसलाई बेच्ने ? यस्तो कुरा भुलेर पनि नसोच्नु होला हामी जीवनभर दुःखैमा फसेर, अल्झेर, रगडिएर मरौँ तर हाम्रो सुखको बदलामा हामीले आफ्नी बहिनी वा छोरी भतिजीलाई उनीहरूको जिन्दगीलाई दुःख सङ्कटमा नफालौँ, तपाईं मेरो यो कुरामा सधैँ ध्यान दिनोस् ।" सम्झाएकै भावमा नम्रतासाथ शिव नारानले भने ।

"ऊ तल्सिङ, हामी मोही ! पोहोर सालको बाली तिर्न बाँकी नै छ, सास्ती गर्ला भन्ने पनि मलाई डर लाग्छ बाबु !"

"यही कुरा त मैले भनि रहेको, हाम्रो अलिकति सुख सुविधाका निम्ति नानीथकुँको जिन्दगी होम्ने ? कस्तो खराब चिताउनु भएको आमा ! तपाईंले ?" शिव नारानले भने ।

"के भन्ने त त्यसो भए राम बहादुर आउँदा ? 'हुन्न' भन्ने जबाफ दिइ पठाऊँ त ?" लतमायाले सोधिन् ।

"यस्तो कुरै नगर्नोस् भनी सिधा जबाफ दिइ पठाउनोस् । मिठो मसिनो कुरा गरेर आशामा किन अर्कालाई व्यर्थ भुलाइ रहने ?" शिव नारानले भने– "मैले तपाईंलाई भनि हालेको थिएँ नि, देशी तानको मद्दत नलिनोस्, विना मागी एकाएक सहयोग पाउनु खतरनाक कुरा छ । सुरमान सुब्बा कुनै महात्मा होइनन्, जो कसैको दु:खपिरमा सहसा रुन्छन्, जहाँसम्म मेरो अनुभव छ, उनी एउटा धूर्त, बदमास, बेबकुफ हुन्, उनले बालाई मर्न लाग्दासम्म पनि रुवाएका छन् । आखिर त्यस्तै सिद्ध भयो कि भएन ?"

एक छिन चुप भएर लतमाया बोलिन् – "त्यसो भए के गर्ने त ? भन्न आउने, भन्न पठाउने कोही छैन, आएका हामीलाई चित्त बुझ्दैन । पूरा तरुनी भइ सकी । फेरि डाक्टर गोदत्त प्रसादसितको नराम्रो कुरा दिन दुगुना, रात चौगुना बढ्दै छ ।"

लतमायाका यी कुरा सुनेर शिव नारानले अलि गौर गरेर भने– "हामी जस्तै प्रगतिशील मानिसहरूलाई आह्वान गर्नु पर्ला, बरु फोने गरेर पनि लायक व्यक्तिलाई दिनु पर्छ । म त भन्छु, भरसक अझ नानीथकुँ आफैँ नै त्यस्ता कुनै लायक मानिसको चुनाउ गरोस् ।"

लतमाया चुप भइन् । यत्तिकैमा सुरमान सुब्बाका मानिस राम बहादुर टुप्लुक्क आइ पुगे । आउँदाआउँदै राम बहादुर बोल्दै आए– "अहो, शिव नारान ! आज निस्कँदा सगुन देखेकाले तिमीसित भेट्न पाउँला कि भन्ने आशा मात्र गर्दै आएको थिएँ, तिमीलाई पाइहालेँ । आज मेरो भाग्यले गर्दा तिमी खेत नगईकन घरै बसि राखेका रहेछौ ।"

शिव नारान सभ्यताको मर्यादा राख्न खुब जान्दथे । आफ्नो घरमा आउने बस्ने मानिसलाई स्वागत सत्कार गर्ने बानी पनि भएको हुनाले शिव नारानले राम बहादुरलाई खुब सत्कार गरे । राम बहादुरलाई बसाइ सकेपछि शिव नारानले उनीसित आउनाको कारण बडो नम्रताका साथ सोधे । राम बहादुर पहिलो दर्जाका धूर्त मानिस थिए । उनले आफू आउनाको खास कारण नबताई कन अर्कै कारण बताउने चलाखी गर्दै भने– "रोपाइँको बेला भएको हुनाले सुब्बा साहेबले पठाउनु भएको । उहाँहरूलाई किसानहरूको मर्का खुब थाहा छ, रोपाइँको बेला रुपियाँ पैसा नभएर वा नपुगेर किसानहरूलाई हाहा पर्ने अवस्था उहाँलाई जाहेर छ । त्यसैले 'एक चोटि हेरेर आऊ' भनी उहाँले मलाई पठाउनु भएको । भन, कदाचित् तिमीलाई कुनै कुराको मद्दत चाहिएमा उहाँ दिन तयार हुनु हुन्छ ।"

"उहाँको दिललाई मेरो धन्यवाद छ । उहाँको दयालाई म पनि सराहना गर्छु । किसानहरूको मर्का थाहा पाउने उहाँको भावना सधैँ ताजा रहोस् । तर राम बहादुरजी ! हिजो मात्रै मेरो रोपाइँ सकियो । आशा छ, यस पालि त सुब्बा साहेबको पोहोरको बाँकी तिरो समेत तिर्न सकुँला, सुब्बा साहेबको अनुग्रह देखेर सार्‍है खुसी भयो भनी सुनाइ दिनु होला ।" शिव नारानले हाँसेर सोमत साथ भने ।

"बडो खुसी लाग्यो, म ईश्वरसँग पुकारा गर्दछु, तिम्रो खेतमा यस पालि राम्रो बाली फलोस् । अरू कामलाई पनि यदि तिमीलाई मद्दतको खाँचो छ भने भन शिव नारान । सुब्बा साहेबसित म बिन्ती गरि दिने छु ।" स्नेहपूर्ण भावमा राम बहादुरले भने ।

"धन्यवाद छ तपाईंको यो कृपालाई पनि राम बहादुरजी । अहिले मलाई केही खाँचो छैन, कुनै कुराको जरुरत परेमा तपाईंहरू भइ हाल्नु हुन्छ नि भन्ने याद गरी म भरोसा गर्नेछु ।" खुसी मान्दै शिव नारानले भने ।

"कति चाँडो तिम्रो खेतमा रोपाइँ सिद्धिएको शिव नारान ? सायद सबभन्दा पहिले रोपाइँ भएको यस पालि तिम्रै खेतमा हो कि ?" राम बहादुरले भने ।

"सबभन्दा पहिले मेरै खेतमा रोपाइँ भएकै होला भन्न त म सक्तिनँ तर यस पालि मेरो रोपाईं चाँडै नै सिद्धियो भन्नु पर्छ ।" हाँस्तै शिव नारानले भने ।

"त्यसो भए अहिलेलाई केही मद्दत चाहिँदैन होइन ? सुब्बा साहेबलाई त्यही बिन्ती चढाइ दिऊँ है त ? हाम्रा सुब्बा साहेबको दिल ज्यादै फराकिलो छ हगि शिव नारान ? हिजोआज त्यस्ता देउता कहाँ पाउन सकिन्छ ? कत्रो विवेक हेर उहाँको ! भन त शिव नारान ! तिमीलाई कस्तो लाग्छ सुब्बा साहेब ?" राम बहादुरले सुब्बा सुरमानको तारिफ गर्दै भने ।

"अँ, त्यसै भन्नु पर्छ, त्यस्ता मानिस कहाँ पाउनु !"

"त्यसैले मैले पनि जोर गरेको शिव नारान ! तिमी सधैँ खेतमा हुने हुनाले तिम्री आमालाई जम्मै कुरा भनेर गएको थिएँ । 'आज पक्का जबाफ दिन्छु' भनी तिम्री आमाले भनेकीले त्यस कुराका निम्ति म आज यहाँ आएको हुँ । मेरो भाग्यले झन् आज तिमीलाई नै भेट्न पाएँ ।" सिलसिला मिलाउँदै राम बहादुरले मौका छोपेर भने ।

"ए राम बहादुरजी ! तपाईं नरिसाउनु होला ।" विनम्र भावमा शिव नारानले भने– "तपाईंले गर्नु भएको कुरा नहुने भयो, तपाईंलाई बिनसित्ति झुलाएर आशा देखाइ राख्नु मनासिब छैन, मेरो त्यस्तो बानी पनि छैन । सफा भनि दिन म राम्रो ठान्दछु । कुराको मजबुन यही हो कि तपाईंले गर्नु भएको कुरा हामीलाई बिलकुल मन्जुर भएन ।"

"किन ?" दिक्क लागेको भावमा राम बहादुरले सोधे ।

"किन ? प्रश्नको म फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनु होला ।" शिव नारानले गम्भीर भएर जबाफ दिए ।

"तैपनि के कति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम बहादुरले कोट्‌ट्याएर सोधे ।

"कुन कुरा चित्त नबुझेको बताऊँ राम बहादुरजी ! प्रस्ट थाहा पाउन चाहनु हुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला– एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिव नारानले प्रस्ट भनि दिए ।

"तिमीले सुब्बा साहेबको सार्‍है अपमान गरि रहेछौ शिव नारान !"

"तपाईं जे सम्झनोस् ।"

"तैपनि तिमीले समालिएर बोल्नु पर्ने । यसरी बेसोमत प्रकट गर्नु मनासिब छैन ।"

"निधो जबाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनु हुन्छ भने अफसोसको कुरा छ राम बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइ रहूँ !"

"तैपनि तिमीले होसियार भएर जबाफ दिनु पर्ने । उहाँ र आफ्नो अवस्था पनि त तिमीले हेर्नु पर्छ ! 'सानो मुख ठुलो कुरा' नहुनु पर्ने !" अलि रिसाएर राम बहादुरले भने ।

"अलि मुख समालेर बोल्न सिक्नोस्, राम बहादुरजी ! धेरै सहनु भनेको जल्लाई पनि गार्‍हो हुन्छ, तपाईं यसको पनि विचार गर्नु होला ।" शिव नारानले पनि अलि रिसाएर जबाफ दिए ।

"त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? अलि ठन्डा मगजले सोच्ने काम गर शिव नारान ! पछुताउनु नपरोस् ।" धम्क्याएर राम बहादुरले भने ।

"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिव नारानले पनि अलि दर्‍हो भएर जबाफ दिए ।

"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा राम बहादुरले भने ।

"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा कुरा नगर्नु होला राम बहादुरजी ! तपाईंलाई म यो पनि बताइ दिन चाहन्छु– एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइ रहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनु हुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनु हुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले भने ।

"सार्‍है बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनि दिन्छु, मलाई अब सहन गार्‍हो हुन्छ ।" खुब रिसाएर राम बहादुरले भने ।

"धम्की देखाउने बानी हटाउनोस्, राम बहादुरजी ! किसानका छोरामा जागृति आइ सकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।

"के त ? तिमी आफ्नी बहिनी सुब्बा साहेबलाई दिँदै नदिने भयौ ?" अलि नरम जस्तो भएर राम बहादुरले भने ।

"म फेरि पनि एक चोटि क्षमा गर्छु, राम बहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नु होला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि दिन्छु– फेरि यस्तो बकबक गर्नु भयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव नारानले भने ।

ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू कुरा गरि रहेको ठाउँमा आइ पुगे । शिव नारानका घरमा भएका मानिस जम्मा भएको देखेर राम बहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने– "तिम्रो बा अष्ट नारानले दिने वचन दिइ सकेको छ, शिव नारान ! मरि सकेका आफ्ना इमानदार बाबुको वचन राख्ने काम गर, तिम्री आमा लतमायाको पनि मन्जुरी छ । सोध, तिम्री आमा त मौजुद छिन् ।"

"मेरो पिताज्यूले यस्तो अनुचित मन्जुरी कहिले पनि दिनु भएन, यो बिलकुल झुट कुरा हो । कदाचित् भुलले उहाँले वचन दिनु भएको साँच्ची हो र आमाको पनि मन्जुरी छ नै भने म यस कुराको कदापि समर्थन गर्दिनँ । यस्तो अनुचित कुरामा आमाबाबु कसैको पनि कुरा सुन्ने र मान्ने कमजोरी कदापि गर्दिनँ । अरूको त के साक्षात् नानीथकुँले मन्जुर गरेकी भए पनि म विरोध गरेर बिथोलि दिन्छु । त्यसैले राम बहादुरजी । तपाईंले कसैको पनि दुहाई गर्नु फजुल छ ।" शिव नारानले प्रस्ट भनि दिए ।

"शिव नारान । म तिमीलाई समय दिन्छु, राति सुत्दा अलि ठन्डा मगजले एक चोटि विचार गर र आफ्नो परिवारसँग पनि एक चोटि सल्लाह गर । अहिले मात्र होइन, तिम्रो भविष्य र तिमीहरूका सन्तानहरूको पनि सुख पाउने कुरा तिम्रो हातमा आइ रहेको छ ।" केही सम्झाएर भनेको भावमा राम बहादुरले भने ।

राम बहादुरले यति भन्नासाथ शिव नारान रिसले आगो भई जुरुक्क उठेर राम बहादुरको गर्दन समाउन पुगे । दुवै हातले बेसरी राम बहादुरको गर्दन ङयाँच्च समाउँदै शिव नारानले भने– "भन् साले ! अब के चाहन्छस् तँ ?"

लतमाया, हाकुमाया, नानीथकुँ सब छुट्‌ट्याउन दगुरे । उनीहरूले शिव नारानलाई तानिरहे, राम बहादुर डरले थरथरी भएर 'ऐय्या !' भनी कराउँदै मुस्किलसित गर्दन चलाउँदै शिव नारानको मुखतर्फ हेरेर भने– "छोड् !"

राम बहादुरको गर्दन छोड्दै शिव नारानले भने– "साले ! यस पटकलाई पनि तँलाई दया भयो, माफ भयो, जा ।"

"के त पोहोर सालको बाँकी वाली पनि आफ्नो यही पशुबलको भरमा पचाउन हिम्मत गरेको ?" दुखेको गर्दन यताउता चलाउँदै राम बहादुरले भने– "तानमा परेको तीन सय रुपियाँ के गर्छौ नि ? सुब्बा साहेबले अहिल्यै लिएर आइज भन्नु भएको छ ।"

"कसले भनेर ल्याइस् तान ! हामीले 'ल्याइदे' भनेर हात जोडेका थिएनौँ । लैजा तानको तानै खाँचो परेको छैन त्यसको पैसा तिरि रहन ।" शिव नारानले कड्केर भने ।

राम बहादुरसँग यति बोलि सकेपछि शिव नारानले लतमायातिर हेरेर भने– "दिएर पठाइ दिनोस् उसको तान ।"

शिव नारानले फेरि राम बहादुरतिर हेरेर भने– "लैजा तेरो तानको तानै, तँ पाजीहरूको तानको खाँचो परेको छैन हामीलाई !"

राम बहादुरको बेबकुफी देखेर हाकुमायालाई पनि सार्‍है झोँक चल्यो, मारिहालूँ जस्तो उनलाई भयो । त्यसैले शिव नारानले उसको तान दिइ पठाउने कुरा गरेपछि हाकुमायाले भनिन्– "के खाँचो त्यस बदमासलाई तान बोकाएर पठाइ रहन ! त्यस बदमासलाई, बेबकुफलाई; के उसको बेबकुफीको पुरस्कार स्वरूप तान दिने मूर्खता हामीले गर्ने ? दियो लियौँ, फेरि फर्काइ रहने मूर्खता किन ?" राम बहादुरतिर हेरेर हाकुमायाले भनिन्– "जा, पच भयो तेरो तान ! कागज भएको होइन, 'जस्तालाई त्यस्तै ढिँडोलाई निस्तै ।' तँ बदमाससित हामीले किन भलादमी हुनु परेको छ ! यही तँलाई दण्ड भयो । जा, पच भयो तेरो तान, नालिस गर्न जा ।"

हाकुमायाको कुरा सुनेर नानीथकुँ खिस्स हाँसिन् । लतमाया केही बोल्न सकिनन् । शिव नारान पछाडितिर हेरेर आफ्नी स्वास्नीको साहस देखी हाँसि रहे । राम बहादुर एक शब्द बोल्न सकेनन्, ढुङ्गाको मूर्ति झैँ उभिएर त्यसै जिल्ल परि रहे । एक छिन वाल्ल परेर "देखा जाएगा" भनी रिसले चुर भएर गए ।

"देखा जाएगा भने देखा जाएगा ! लौ जा, के गर्लास् तैँले ?" हाकुमायाले जबाफ दिइन् ।

पच्चीस

शिव नारान आज साबिक झैँ समयमा खेतमा गए । आजदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।

शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।

आज पनि हाकुमाया निदाउन निदाउन खोजि रहेकी थिइन्, शिव नारानले ठट्टा गर्दै भने– "छिः कति सुत्नु पर्ने मानिस ! एक छिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइ रहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपर्‍यो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपि राखेको जस्तो लाग्छ ।"

"छिः बुढो भइ सकेर पनि कति ठट्टा गर्नु पर्ने अझ !" मुसुक्क हाँसेर हाकुमायाले भनिन् ।

"तिम्रो यौवनमा खेलि रहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।

"गालामा चाउरी गन्यो भने यता सात, उता सात गरी घटी नै जम्मा चौध होलान्, अझ आफूलाई तरुनो भनाउन मन छ ? बुढो मानिसले ठट्टा गरेको देख्ता भने मलाई काउकुती लागेर आउँछ ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।

"म बुढो लागे अझै अर्को तरुनोसित ठट्टा गरे पनि 'हा !' भन्ने छैन के म ।" ठट्टाकै भावमा शिव नारानले भने ।

"छिः चुप लागेर सुत्नोस्, बार्‍ह पनि बजि सक्यो होला, अर्कालाई नीद आइ सक्यो ।" अलि नखराउँदै हाकुमायाले भनिन्

"नीद आएको देखेर त 'नसुत, ठट्टा गर' भने कराइ रहेको, नीद नआएको भए ठट्टा पनि त मिठो हुने थिएन ।" शिव नारानले मुस्कुराउँदै भने ।

"छिः सुत्नोस् झट्टै, तपाईंलाई नीद नआए म त सुत्छु, मलाई त आइ सक्यो ज्यादै ।" मुस्कुराउँदै हाकुमायाले भनिन् ।

"एक छिन ख्यालठट्टा गरेर त रमाऊ ! खेत कुर्न आएकी रे, घर त होइन सुतेर बिताउनलाई मेरी हाकु रानी !" ठट्टाको भावमा शिव नारानले भने ।

"ज्यापूकी छोरी ज्यापुनीलाई केको 'रानी' भन्नु पर्छ !"

"त्यसो भए मलाई भन त 'राजा'; मलाई त मन पर्छ ।

"तपाईं झन् ज्यापूको छोरा, त्यस्तै खेत कुरेर, खर्पन बोकेर, कसरी 'राजा' हुन सक्नु होला ? हुनै नसक्ने कुरा । बरु कुनै राजाकी स्वास्नी हुन जान सके म 'रानी' हुन सक्छु ।" ठट्टाको भावमा हाकुमायाले भनिन् ।

यत्तिकैमा खेतमा वस्तुभाउ चरेको आवाज सुनेर शिव नारान हातमा लौरो लिएर कुद्दै गए । रातको वेला हुनाले हाकुमाया पनि शिव नारानको पछि पछि दौडँदै गएकी थिइन् । आफ्नो रगत पसिना दिएर कमाएको खेतमा यसरी गाई चर्न आएको देखेर शिव नारान धुमचक्र रिसाएका थिए । रिसको झोँकमा उनले गाईलाई सार्‍है नै पिटे ।"

"भइगो, भोलि गाईलाई थानामा बुझाइ दिनु होला । लिलाम भै हाल्छ, यसका धनीलाई पनि सजाय भइ हाल्छ । यो बिचरा पशुलाई के थाहा, उसको त हरियो बिरुवापात खोजी खोजीकन खाने स्वभावै हुन्छ । अव्यवस्था साथ यसलाई पाल्नेदेखि पो हाम्रो रिस हुनु पर्छ ।" हाकुमायाले सम्झाउँदै भनिन् ।

बल्ल शिव नारानको रिस मर्‍यो र ओसारमा पसे । रिस शान्त भइ सकेपछि सुत्नलाई पल्टँदै शिव नारानले हाँस्तै ठट्टाको भावमा हाकुमायालाई भने– "आज तिमीसँग ठट्टा गरि रहन नपाएको भए सायद म पनि निदाइ सक्थेँ हुँला, नत्र बदमास गाईले आज हामीले रगत पसिना बगाएको खेर पठाइ दिने थियो । भाग्यै भयो, आज तिमीसँग ठट्टा गरि रहेको !"

भोलिपल्ट उठ्नासाथ शिव नारानले गाई थानामा बुझाइ दिए ।

छब्बिस

आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । अलिकति पानी पर्‍यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।

रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान माचाछी[2] बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई त बिघ्नै डर भइ रहेको छ । यस्तरी दिनका दिन पानी परि रहेको छ, अझ मुख्य पानी पर्ने याम आएकै छैन ।"

"मैले पनि त्यही विचार गरि रहेको छु आमा ! जे गरेर पनि यस पालि घर नबनाईकन त हुँदै हुँदैन । मलाई पनि बिघ्नै फिक्री लागि रहेको छ ।" पुन नारानले भात खाँदै भने ।

"यस पालि पनि बनाउन सकिएन भने त जगैदेखि भत्कन बेर छैन ।" हर्ष नारानले भने ।

"सरसापट गरेर भए पनि तिमीहरू सबै भाइ मिली यस पालिलाई बस । टालटुलै मात्र गरेर पनि घर एउटाको चिन्ता मेटाउने कोसिस गर बाबु हो !" अलि मायालाग्दो भावमा लतमायाले भनिन्– "अब त म पनि धेरै दिन बाँचुला जस्तो लाग्दैन, नानीथकुँ र हर्ष नारान यी दुई जनाको व्यवहार सिद्ध्याउन पाए मरे पनि हुने भइ सकेँ । खोइ, नानीथकुँलाई पनि कसैले भन्न आउँदैन । फोने गरेर पनि असल दुलाहा खोज्ने गर बाबु हो ! त्यसो गर्दैमा केही नराम्रो देख्तिनँ म । हर्ष नारानलाई पनि कति जना केटी खोजि सकेँ, हामी गरिब भएर हो कि भेट्टाउनै सकिन्न । तिम्रा बाबु, दाजुहरूको सिद्धान्त अनुसार तिमीहरूले नै खोज्ने गर आफूलाई मन पर्ने, नानी हो ! त्यही म पनि बेस देख्छु । बरु जातपातको वास्ता नगरे पनि हुन्छ ।"

खिस्स हाँसेर हर्ष नारानले भने– "नानीथकुँ त्यसै गरोस्, म त अहिले बिहे गर्न चाहन्नँ । घरै बनि सकेको छैन, खुवाउने पाल्ने नै आफूलाई तागत आइ सकेको छैन, केको बिहे गर्न हतपत ? अर्काकी छोरीलाई ल्याएर त्यसै भोकै राख्न त ठिक छैन ।"

"घर त रुपियाँ भएपछि बन्ला तर बुढी हुँदै गएको मेरो अवस्थाले पर्खि रहन त सक्तैन । के त मैले तिम्रो बिहे नहेरीकनै मर्ने ?" लतमायाले अलि दुःखित भएर भनिन् ।

"घर बनेको पनि देख्नु होला, बिहे पनि हेर्न पाउनु हुनेछ । अहिल्यै हामीलाई त्यस्तरी टुहुरा बनाउने अलच्छिन नचिताउनु होला आमा !" हर्ष नारानले श्रद्धापूर्ण भावमा भने ।

"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् ।

आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुँको मनभित्र के के आवाज आए जस्तो भयो, उनलाई कसैले बोलाए जस्तो, कुरा गरे जस्तो, कोही कसैको प्रतीक्षामा बसि रहे जस्तो, के के जस्तो, के के जस्तो उनको मनभित्र भाव तरङ्ग तरङ्गिन थाल्यो ।

अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइ सकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुँले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरि रहेकी थिइन् ।

नानीथकुँको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्ने मानिस जति तमाखु खानेतिर लागे, पुन नारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझि रहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकि रहिन् । नानीथकुँ आफूले खाएको जुठो माझेर गइ सकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नु पर्ने कुरा पनि थिएन ।

नानीथकुँ उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद टुप्लुक्क आँखा अगाडि आइ पुगेको नानीथकुँले देखिन् । उनलाई देख्नासाथ नानीथकुँ फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्त प्रसादलाई राम्रो स्वागत भाव देखाउँदै उनले भनिन्– "यस वेला किन हस्याङफस्याङ गर्दै आउनु भएको डाक्टर साहेब ?"

अलि सानो स्वरमा गोदत्त प्रसादले भने– "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठिकठाक भइ सकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नु पर्ने छैन । रेडियो लगायतको व्यवस्था मिलाइ सकेको छु ।"

"दाइहरूले सुन्नु होला, अझ अलि सानो स्वरमा बोल्नु होस् । के भन्नु भएको ?" अलि उत्सुकतासाथ नानीथकुँले भनिन् ।

"तिमीलाई बोलाउन आएको; आज तिमीलाई मेरो घरमा स्वागत गर्न लिन आएको नानीथकुँ !" कानैनिर गएर बिस्तारै डाक्टर गोदत्त प्रसादले भने ।

नानीथकुँ एक छिन अकमक्क परिन् । उनी टोलाइन्, गौर गरिन् । अनि एकै छिनपछि डाक्टर गोदत्त प्रसादले फेरि भने– "हिँड, नानीथकुँ ! केही धन्दा मान्नु पर्दैन । निस्फिक्री होऊ ।"

"म आउन्नँ ।" सरल भावमा नानीथकुँले बिस्तारै भनिन् ।

"तिमीले डराउनु पर्दैन नानीथकुँ । केही चिन्ता छैन । तिमी आए पुग्छ ।" विनीत भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"म आउँदिनँ, डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"

"बहुलाही । सब ठिकठाक गरि सकेँ भन्छु त ।"

"साँच्चै हो डाक्टर साहेब । अब मलाई प्रेम गर्न मन भएन ।"

"सबसित छुट्टिन परेर मात्र यस्तो भएको होला नानीथकुँ । एक छिनमा यो दिक्दारी मेटिनेछ ।"

"जिद्दी नगर्नोस् डाक्टर साहेब । साँच्चै हो, म आउँदिनँ ।"

"आफ्ना शाखा सम्बन्धीहरू छोड्न खोज्दा योभन्दा पनि अझ बढ्ता दिक्दारी र खिन्नता आउन सक्छ नानीथकुँ । यसको तिमी पर्बाह नगर, एकै छिनमा दिक्दारी हटेर मन रमाउन र रसाउन थाल्छ ।" डाक्टर गोदत्त प्रसादले सम्झाएर भने ।

"म स्वास्नी मान्छेकी कलङ्ङ्किनी हुन चाहन्नँ, म जिन्दगी बेच्न चाहन्नँ । मलाई अब आफ्नो नारीत्वको महत्त्व थाहा भएर आयो । अब म नारीत्व गिराउन चाहन्नँ ।" नानीथकुँले भनिन् ।

"नारीत्वको महत्त्व यो होइन कि नानीथकुँ ! कोही पुरुषसित पनि सम्बन्धै राख्न हुन्न, म त भन्दछु, नारीको नारीत्व नै कोही पुरुषलाई ग्रहण गर्नु हो, भिक्षुणी आदि हुनु त नपुंसक हुनु हो । प्रेम गरि सकेर, यहाँसम्मको बरबन्दोबस्त गराइ सकेर अहिले यस्तो कुरा गर्नु मेरा लागि त सरासर धोकै भयो ।" प्रभावपूर्ण भावमा डाक्टर गोदत्त प्रसादले भने ।

नानीथकुँलाई डाक्टर गोदत्त प्रसाद माथि माया बसि सकेको छ, तर रञ्जना देवीको भनाइ र आफ्ना दाजु शिव नारानको कुरामा नानीथकुँले सत्य देखिन् । त्यसैले नानीथकुँ दुवै प्रबल प्रभावको दोधारमा परी अलमलिइ रहेकी छिन्, वाल्ल परि रहेकी छिन् ।

यही दोमन दोधारको चक्करमा परी नानीथकुँ अकर्मण्य भएर त्यसै जिल्ल र वाल्ल परि रहिन् । नानीथकुँबाट केही जबाफ नपाएर डाक्टर गोदत्त प्रसादले फेरि भने– "जाऔँ हिँड नानीथकुँ। दोमनमा फसेर मौका नगुमाऊ । बाहिर मोटर छोडि आएको छु, जाऔँ ! शुभ साइतले तिमीलाई हाँसेर पर्खि रहेको छ ।" नानीथकुँको पाखुरा तान्दै डाक्टर गोदत्त प्रसादले भने ।

"आजलाई भइगो डाक्टर साहेब ! भोलिपर्सि विचार गरुँला ।" नानी‍थकुँले नम्रतासाथ भनिन् ।

"प्रेममा विचार गरिन्न, नानीथकुँ । त्यो त आफैँ हुन्छ र ग्रहण गरिन जान्छ, अनि झट्ट त्यसलाई प्राप्त गर्नु नै सुख हो र जीवन हो । विचार त प्रेम त्याग्न खोज्दा पो गर्नु पर्छ कि यसले जीवनलाई अँध्यारोमा त लैजान्न भनेर ?" प्रेमप्लावित भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"डाक्टर साहेब ! आजलाई माफ गर्नु होला । आज मेरो मन ठीक छैन । बरु गई पनि हाल्नोस्, डाक्टर साहेब ! दाइहरू आउनु भयो भने नचाहिँदो आपत्ति बोक्नु पर्ला ।" यति भन्दै नानीथकुँ सरासर माथि उक्लिन् ।

अझ पनि एक छिन डाक्टर गोदत्त प्रसाद छिँडीमा पर्खि नै रहेका थिए । नानीथकुँले फेरि तुरुन्त ओर्लेर भनिन्– "जानोस् भन्या डाक्टर साहेब ! कान्छा दाजु तल ओर्लनै आँट्नु भएको छ । गइ हाल्नोस्, गइ हाल्नोस् !"

यति भनी नानीथकुँ फेरि माथि उक्लिन् अनि डाक्टर गोदत्त प्रसाद पनि बडो खिन्न भएर फर्के ।

सत्ताइस

आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलि फुलि रहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइ रहेकी थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लि रहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइ नसक्नु भई झुसीबाट पोखिइ रहेको लतमायाले पाइन् । लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"

"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले ।

"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।

"आमा ! म पनि अब बिहे गर्छु ।"

"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सि रहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"

"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"

"केटी पाइ सकेका छौ ?"

"त्यसैले आमा । मलाई झट्‌टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने ।

"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल खोज्छ र उसमा आफ्नो दिल पनि पाउँछ भने त्यही प्रेम हो ।" लतमायाले पनि दङ भएर भनिन् ।

"ठिक भन्नु भयो आमा । मैले पनि रोजेँ, मलाई पनि रोजी, यो तपाईंले भन्नु भएकै कुरा हो ।" हर्ष नारानले अझ दङ भएर भने ।

"तिमीले भनेका थियौ, घर नबनाईकन बिहे गर्दै गर्दिनँ । अब फेरि बिहे गर्ने कुरा गर्‍यौ । घर बनाउन कोसिस गर न, यस्तो झुत्रो घरमा कसरी ल्याउने, मनै खिन्न नहोला ?" लतमायाले अलि व्यङ्ग्य हालेर भनिन् ।

"अस्ति त नपाएर पो त्यसो भनेको, अब पाइ हालेँ, बिहे नै किन नगर्ने ? बिहे गरेपछि घर बनाउने तत्परता पनि झन् बढ्ला ।" हर्ष नारानले भने ।

"एक दुई दिनमै प्रेम तौलिइन्न हर्ष ! केही दिन जाँच्नु पनि पर्छ, त्यसैले झट्ट ल्याउन हडबडाउनु पनि ठीक छैन ।" लतमायाले भनिन् ।

"हो आमा ! पुरा जाँचि सकेको छु, ऊ मलाई बिघ्नै मन पर्छ, म उसलाई उस्तै मन परेँ, त्यसैले मलाई बिहे गर्न रहर लाग्यो ।" हर्ष नारानले भने ।

"अस्ति किन गर्दिनँ भनेको त ?"

"अस्ति जाँच गर्दै थिएँ ।"

"लौ हुन्छ, तिमीलाई मन पर्छ भने ल्याऊ, मेरो त ज्यादै राजी छ, म यो कुरा सुनेर अत्यन्त खुसी छु । यस्तै आफैँले रोजेको हेर्न म बढ्ता चाहन्छु । तर दाजुहरूसँग पनि एक चोटि सोध, अदब राख्नु राम्रै कुरा हो । उनीहरू पनि यो सुनेर खुसी भइ हाल्छन् ।" लतमायाले भनिन् ।

"तपाईंले नै सोधि दिनोस् आमा ! मलाई लाज लाग्छ ।"

"प्रेम गर्ने मानिसले लजाउन हुन्छ ? लजाइ रहने त आमाबाबुले बिहे गराइ माग्ने मानिस मात्रै हुन्छन् ।" अलि व्यङ्ग्यको भावमा लतमायाले भनिन् ।

"नाइँ, म भन्दिनँ, तपाईं नै भन्नोस्। यो पनि एउटा अदब सम्झन्छु म ।" हर्ष नारानले हाँसेर भने ।

"कसकी छोरी नि ? को नि यस घरमा लक्ष्मी बनेर आउने केटी ?" लतमायाले सोधिन् ।

"मै काम गर्न जाने ठाउँकी, ऊ पनि एउटी ज्यामी काम गर्ने ठिटी हो; माहिला तामाङ रे उसको बाबुको नाम ।" हर्ष नारानले भने ।

"ए तामाङकी छोरी ? झन् बेस, तिम्रा बा पनि यस्तै दुई जात, दुई सम्प्रदायमा सम्बन्ध राख्न चाहने, यस्तै भए मात्र साम्प्रदायिक भाव हटी देशको उन्नति होला भन्ने उहाँको विचार थियो, भनौँ हाम्रो घरभरिको नै यही विचार छ, यसैले तिम्रा दाजुहरू पनि खुसी नै होलान् ।" खुसी भएको भावमा लतमायाले भनिन् ।

एकाएक बेलुकी पुन नारानलाई देखेर शिव नारान तर्सेका थिए । 'के पो भयो' भन्ने उनलाई सहसा चिन्ता भएको थियो । पुन नारान आएर बस्न पाउँदा नपाउँदै शिव नारानले सोधे– "यति बेला किन पुन नारान ?"

"हर्षले दुलही भेट्टाएछ । दुई जनाका बीचमा राम्रै प्रेम भएको रहेछ । भोलि नै ल्याओस् भन्ने आमाको र अरू सबैको पनि विचार छ, त्यही सोध्न आएको !" खुसीयालीको भावमा पुन नारानले भने ।

"बडो खुसीको कुरा सुनाउन आयौ तिमीले पुन नारान ! कसकी छोरी र जात के नि ?" शिव नारानले पनि खुसीयाली प्रकट गरेर भने ।

"डिल्ली बजार डेरा गरी बस्ने माहिला तामाङकी छोरी रहिछ । हर्षले काम गर्न गएकै ठाउँमा ऊ पनि ज्यामी भएर काम गर्न आइरहने ।" पुन नारानले भने ।

"बेस भयो, नेवार पर्वतेको सम्बन्ध अझ बलियो हुन आँटेछ । यस्तै नेवार, पर्वते र मधेसी तीन जाति र संस्कृति मिसिएर एक हुँदै गएपछि नेपाल अझ सुन्दर र विशाल हुँदै जान्छ । यो काममा हाम्रो घर धेरै अगाडि बढ्ने भयो । हुन्छ, भोलि नै दुलही भित्र्याएर हाम्रो छाप्रोलाई स्वर्ग बनाउन कोसिस गर भन, भोलि नै । म पनि भोलि बिहानै घर आउने छु ।" शिव नारानले भने ।

अट्ठाइस

आज शिव नारानको घरमा विवाहको आनन्द आइ रहेको छ, उमङ्गले जुहारी खेलि रहेको छ, प्रफुल्लताले अट्टहास गरि रहेको छ । हुन त आज पनि उनको घरभित्र पानी चुहि रहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसि रहेको महल खडा भइ रहे झैँ आज उनको घरले भव्यता प्रदान गरि रहेको छ । हर्ष नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ रहेको देखिन्छ ।

शिव नारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिव नारान भए तापनि आजका नायक हर्ष नारान नै बनि रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष नारानको हिँडाइ फिराइ, बसउठ, रूपरङ, बोली वचन, चालढाल एक एक कुरा बडो चाख लाएर हेरि रहेका छन् ।

दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । 'कम से कम अरू थोक केही बन्दोबस्त नभए पनि डोलीमा राखेरसम्म त अवश्य ल्याउनु पर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि विधानसम्म त कसरी नगर्ने । दुई दिनको पाहुना घरमा भित्रि रहेकी त होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने एउटा जिम्मेवार मानिस भित्रिने, एउटी कुलवधू भित्रिने, लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागत सत्कार गर्नु पर्छ' भन्ने राय स्वास्नी मानिसहरूबाट आयो ।

स्वास्नी मानिसहरूको यो रायमा शिव नारानले घोर विरोध गरे उनले भने– "हाम्रो समाजमा दुलही भित्र्याउँदा र छोरीबेटी दिएर पठाउँदासम्म त उनीहरूलाई विवाहको दुई चार दिन निकै स्वागत सत्कार, मान मर्यादाको व्यवहार हुन्छ, अवश्य हो । तर डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागत सत्कार गर्दैमा स्वास्नी मान्छेहरूले हाम्रो समाजमा के मान मर्यादा र स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोँग नगरौँ, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागत सत्कार गरेको स्वाङ पनि नगरौँ । त्यसको सट्टा उनलाई हामी लोग्ने मानिसहरूले आफूले चाहेको हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढ सङ्कल्पी बनौँ । यही मेरो विचार छ ।"

शिव नारानको यो विचार पुन नारानलाई ज्यादै मन पर्‍यो, हर्ष नारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्ष नारानको स्वेच्छाले डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।

माहिला तामाङ भरियाको जीविका गरेर खाइ रहेका, बुद्धिमान् मानिस नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्ष नारान ज्यापुसँग रोजेर जान लागेकी देखेर उनी बिछ‌ट्टै खुसी छन् ।

सात आठ सालतिर काठमाडौँमा भएको जन विद्रोह र आन्दोलन देखेर माहिला तामाङले नेवार र पर्वते दुई जातिमा सम्बन्ध जोड्ने भावना र प्रेरणा पाएका हुन्; उस वेला टुँडिखेलमा एउटा विशाल जुलुसले 'नेवार पर्वते एक हौँ, नागरिक अधिकार पाउनै पर्छ, प्रजातन्त्र हुनै पर्छ' भन्ने जोडदार नारा लगाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरू त कुनै नाराको माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर 'नेवार पर्वते एक हौँ' भन्ने नाराले उनको हृदय एकदम घचघच्याइ दियो, एकदम बाक्लो बदलीमा एकाएक घाम झुल्के जस्तो उनलाई भयो ।

हर्ष नारान आज माहिला तामाङकहाँ जुवाइँ बनेर आइ रहेका छन् । उनका साथमा उनका दाजु पुन नारान पनि आएका छन् । बिचरा दिनभरि भरिया भएर पनि दुई छाक खान नपाएका माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मान सत्कारमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैल जनाले ती दुई दाजुभाइलाई बडो आदर साथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुन नारानहरू ज्यादै खुसी र सन्तुष्ट भए ।

छोरीलाई अरू थोक केही दिन नसके पनि गोडा पन्ध्रेक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारि राखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा यो पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथ साथै यस्ता नयाँ लुगा एकै चोटि लगाउन पनि पाएकाले आज पुतली सार्‍है प्रफुल्ल छिन् । उनी घरी आफूलाई घरमा लैजान आफ्नो अगाडि हाँसि रहेका आफ्ना जीवन धनलाई लुकीछिपी हेरि रहन्छिन्, घरी आफ्ना लुगातिर आँखा घुमाएर आह्लादित भइ रहन्छिन् । पुतलीले आज रातो धागो हालेर कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई 'स्वर्गकी परी' जस्तै राम्री ठानेकी छिन् ।

हर्ष नारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।

बिदाइको वेला उनकी आमाले केवल यति सिवाय मुखबाट बोली निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !"

माहिला तामाङले छोरीलाई दिन ल्याइ राखेको डोको, नाम्लो र एउटा हँसिया सुम्पिँदै भने– "मेरी छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोसिस गर ।"

हर्ष नारानतिर हेरेर माहिला तामाङले फेरि भने– "छोरी केही नजानेकी सिधासाधा छ, बिराएकोमा माफ गरी तालिम गर्नु होला ।"

पुन नारानले हाँसेर भने– "केही धन्दा नमान्नु होला, हामी छोरी सम्झने छौँ ।"

बिदा भएर पुतलीहरू जान खोजे अनि रुँदै पुतलीकी आमाले भनिन्– "पर्सि आऊ त है नानी !"

पुतलीले रुँदै स्वीकृति सूचक टाउको हल्लाइन् ।

माहिला तामाङले गहभरि आँसु गरी पुन नारानसित विनीत भएर भने– "पर्सि पठाइ दिनु होला ।"

"हवस् ।" नम्रता साथ पुन नारानले भने ।

हर्ष नारानको घरमा नयाँ दुलहीका निम्ति सबै जना भारी उत्कण्ठा साथ बाटो पर्खि रहेका छन् ।

नयाँ दुलही घरमुनि आइ पुगिन् । "यीः ! डोको बोक्ने पखिनी पो रहिछ । नयाँ दुलही भएर पनि डोको बोकी हँसिया समाएर आउने कस्ती गरिबकी छोरी रहिछ ।" झ्यालमा बस्ने छिमेकी आइमाईहरूका बीचमा कुरा चल्न थाल्यो । कसैले "छिः । कस्ती ल्याएको नि, ल्याएपछि अलि गतिली त ल्याउनु पर्छ, कस्ती पखिनी ।" पनि भने ।

नयाँ दुलहीले प्रवेश गरेको दिन भएको हुनाले सानोतिनो रूपमा भए पनि हर्ष नारानको घरमा आज भोज गरिएको थियो । भातको सट्टा चिउरा, अलिकति मासु र तीन तीन थोक तरकारीहरू पनि थिए, जाँड रक्सी पनि केही मात्रामा थियो । यी सबैका निम्ति शिव नारानले दश रुपियाँ सापट लिनु परेको थियो । परिवारका सबै मानिसहरूको प्रसन्नता र नाचगान, ख्यालठट्टा देखेर पुतली पनि निकै प्रसन्न र प्रभावित भइन् ।

करिब रातको दश बजि सक्यो, अलि अबेर भइ सकेकाले शिव नारानले आजको रमाइलो भङ्ग गर्नु पर्‍यो, किनभने उनलाई खेतमा सुत्न जान निकै अबेर भइ सकेको थियो ।

हर्ष नारानको कोठामा आज बत्ती नभएर पनि उज्यालो हाँसि रहेको छ, केही नभएर पनि परिपूर्ण देखा परि रहेको छ । कोठामा गएर ढोका बन्द गरि सकेपछि हर्ष नारान र पुतली दुवै जनालाई अलि लज्जाभावले छोप्यो । दुवैले बोल्न सङ्कोच मानि रहे । हाँस्तो मुखमा दुवैले दुवैलाई पुलुक्क पुलुक्क हेरि रहने, परन्तु नबोल्ने यस्तै भएर केही मिनेट दौडि सकेपछि लजाउँदै कोपिला मुस्कानमा हर्ष नारानले भने– "बोल न पुतली ! के नबोलीकन मलाई सम्मान गरि रहेकी ?"

मन्द मुस्कानको गम्भीर चेहराले हर्ष नारानलाई पुलुक्क हेरिन् पुतलीले । "तिमीलाई कस्तो लाग्यो यहाँ पुतली । नमज्जा त लागेन ?" हर्ष नारानले स्नेह भरेको आवाजमा सोधे ।

हर्ष नारानतिर हेरेर लोलाएका आँखामा पुतली मुसुक्क हाँसिन् । हाँसेकी पुतलीको चिउँडो समातेर हर्ष नारानले बत्ती निभाए ।

उनन्तिस

होसियारीको चेतावनी सबैलाई दिँदै नानीथकुँलाई घरमै छोडेर दिनभरि खेतमा काम गर्न जाने अनुकूल मिलाएका शिव नारान एक्लै त्यति बेलै खेततिर दौडे ।

रातभरिको छर्लङ्ग अनिद्रामा शिव नारानले नानीथकुँको बारेमा निक्कै चिन्ता गरे, नाना सोच विचार गरे । अब नानीथकुँलाई झट्ट एउटा सुपात्रसित बिहे गरेर नदिई यसै राखि छोड्नु उनले ठिक ठानेनन् । यसैले आफैँले नानीथकुँलाई एउटा सुयोग्य वर खोजी गरेर पनि दुई चार दिनमै विवाह गरी निश्चिन्त हुनु पर्‍यो । रातभरि नानीथकुँका बारेमा यस्तै के के, अनेक सोच विचार शिव नारानले गरेका थिए ।

यही फिक्रीको फेरमा दौडादौड गरी शिव नारानले एक हप्ताभित्रै नानीथकुँलाई एउटा सुयोग्य वर फेला पनि पारे। दुलाहा हुने केटो म्याट्रिक पास पनि भएको, एउटा मौजाको जिमिदार पनि, उमेर मिल्दो नै थियो । सबभन्दा हर्षको कुरा आफ्ना बाबु अष्ट नारान र आफूहरूको पनि विचार र सिद्धान्त अनुसार केटो मधेसी थियो । प्रायः चाहिँदा गुनहरूले परिपूर्ण भएको मधेसी केटो पाएको र आफ्नो र तराईका मधेसी जातिसित वैवाहिक सम्बन्ध जोडिन पुग्ने कुराले शिव नारान चौप‌ट्टै सन्तुष्ट र प्रफुल्लित भए । नेवार, पर्वते, मधेसी यी तीनै जाति र संस्कृतिको मेल झन् आफ्नै घरमा हुन लागेकोमा शिव नारान अत्यधिक खुसी भए । किनभने यी तिन जाति र संस्कृतिको समन्वय वा स्थापना नभईकन नेपालको उन्नति हुँदै हुँदैन भन्ने उनलाई विश्वास थियो ।

दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम राम खेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् ।

राम खेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा– बस, परिवारको नाममा यत्तिकै । घुमी घुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।

खेतका खेत डुल्दै गर्दा नै राम खेलावन राउतको भेटघाट शिव नारानसँग भई चिनाजानी भएको थियो । नानीथकुँ पनि त्यही खेतमै काम गरि रहने हुनाले राम खेलावनले देख्न पाइ रहेकै थिए । नानीथकुँमा पनि कुनै गुणको कमी थिएन । केही कम छ त पढाइ एउटा मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुँमा देखि रहेका थिए । नानीथकुँको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी राम खेलावन मुग्ध भएर भित्रभित्रै लोभिइ रहेका थिए । झन् विवाहको कुरा पेस भइ दिँदा त उनी एकाएक आह्लादित भए ।

दुनियाँमा सब थोक हुन गार्‍हो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनु पर्छ, तर प्रेम हुन केही गार्‍हो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एक छिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषा समेत मिल्ने नमिल्ने र जाने नजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।

राम खेलावन राउतलाई क्षणिक दर्शनमै नानीथकुँ मन पर्न गए जस्तै नानीथकुँलाई पनि पुलुक्क हेराइमै राम खेलावन राउत राम्रो लाग्न गएछन् । झन् उनीहरू बीचमा वैवाहिक सम्बन्ध राख्ने प्रसङ्ग आएको हुँदा त उनीहरूलाई सोर्‍हमा तान्दा एक्का आएको जस्तो भयो ।

राम खेलावन राउत शिव नारानको खेतमा दुई चार चोटि आउँदैमा शिव नारानले नानीथकुँ र रामखेलावन राउत बीचमा मिठो भाव रहेको सङ्केत पाइ सकेका थिए । अर्को कुरा, नानीथकुँको बिहे झटपट सिद्ध्याउनु पर्ने पनि थियो । सबभन्दा लायकको कुरा त दुवै जना जोडा मिलेर आफूले र आफ्ना सिद्धान्तले चाहे जस्तै संयोग मिलि रहेको थियो । त्यसैले शिव नारान मौका चुकाउने सुस्त्याइँ गर्ने मूर्खता किन गरि रहन्थे ?

प्रसङ्ग पेस हुनासाथै राम खेलावन राउतले मन्जुर गरे, नानीथकुँले पनि स्वीकृति दिइन् । मधेसतिर भएको हुनाले नानीथकुँलाई एक चोटि त अलि कस्तो कस्तो लागेको थियो, तर प्रेमको अगाडि दूरता कुन कुरा हो र ! नानीथकुँ प्रसन्न नै थिइन् ।

चाँडै घर फर्कनु परेको हुनाले विवाहको तिथि भरसक झ‌ट्टै तोक्ने प्रार्थना राम खेलावन राउतले गरे । शिव नारान आफैँ झ‌ट्टै बिहे सिद्ध्याउन चाहि रहेका, यसैले उनले सहर्ष स्वीकार पनि गरे । राम खेलावन राउतको अनुकूल मिलाउनु परेको र आफ्नो पनि व्यवहार चलाउनु परेकाले अझ पर्सि नै बिहे गर्ने शिव नारानले राय दिए । राम खेलावन राउत मात्र किन पछि हट्थे, त्यो पनि यस्तो मिठो कुरामा ! मन्जुर गरि हाले ।

अस्ति मात्र 'पर्सि' भनेर तीन दिन बाँकी भएको तिथि अहिले 'आज' भएर अगाडि आइ रहेको छ । आज नानीथकुँको विवाहको दिन, सबै खुसी भएर विवाह सम्पन्न गर्नामा तत्पर छन्, व्यस्त छन् । नानीथकुँ त झन् यति खुसी छन् कि भन्न लाज मानेर मात्रै ! उडेर भए पनि चाँडै पुगूँ जस्तो उनलाई लागि रहेको छ । आफ्नो जातीय नयाँ पोसाक पहिरँदा नानीथकुँको सौन्दर्य झन् चम्केको देखियो ।

क्रमैसित बेलुका पनि हुँदै आयो । नानीथकुँलाई पठाउने सुरसार पनि गरिन लाग्यो । बिदाइ हुन लाग्दा नानीथकुँलाई आमा, दाजु, भाउजूहरूले आशिष् दिए । अत्यधिक माया ममताका कारण बिदाइको बेलामा लतमायाले रोक्न खोज्दा पनि आँसु नचुहाईकन बस्न सकिनन्, भाउजूहरू सबैका आँखामा गहभरि आँसु थियो । दाजुहरूका दिलमा पनि नानीथकुँको माया ममताले चिमोटेको थियो ।

करिब आठ बजेतिर एक जना मानिसका साथ नानीथकुँलाई बिदाइ गरी पुऱ्याउन पठाइयो । उनलाई दाइजोको रूपमा समेत विशेष दिन सकेनन्, खालि– एक जोर चर्खा, हँसिया, हथौडा, कुटो, कोदालो, कोदाली, डल्लेठो आदि । बस, यत्तिकै दाइजोका साथ जुवाइँलाई उपहार भनी एक जोर खर्पन, एउटा डोको, एउटा डालो, नेपाली कुटो, कोदालो, एउटा खुकुरी, एउटा भादगाउँले टोपी र एउटा नेपालको नक्सा पनि दिई पठाएका थिए ।

ढोगभेट र बिदाइसँगै नानीथकुँ घरका सबै मानिसबाट पाएका आशिष् शुभेच्छा शिरोपर गरेर एउटा साथीको साथमा सरासर गइन् । राम खेलावन राउत पुतली सडकमा बसि रहेका थिए । बल्ल उनको प्रतीक्षा पूर्ण भयो । नानीथकुँलाई उनले आफ्नै कोठामा पुऱ्याउन आएका मानिस एक छिन बसी फर्के । राम खेलावन राउतका डेरामा अब आफू र आफ्नी जीवन सँगिनी नानीथकुँ बाहेक अरू कोही छैन ।

यी दुईको भाषा मिल्दैन र एकले अर्काको कुरा त्यति बुझ्दैनन् पनि तर यिनीहरू आपसमा कुरा गर्न चाहन्छन्, ठट्टा गर्न चाहन्छन् र दुवै जना एकअर्काको दिलमा प्रेम पोख्न आतुर भइ रहेका छन् ।

तिस

भाइ बहिनीहरूको व्यवहार सिद्धिई हलिङ्गो भएको साथसाथै असार पनि यस पालि राम्रो भएको हुनाले शिव नारान अत्यधिक खुसी छन् । रोपाइँ सिद्धिएदेखि शिव नारान अहर्निश खेतैमा रहेका थिए । खेतमा मिहिनेत र धावा गरे अनुसार सफलताका चिह्नहरू पनि देखा पर्न थालि सकेका छन् । धानका बिरुवाहरू निकै सप्रिएका छन्, यहाँसम्म कि बिरुवाहरूमा धानका बालाहरू मुजुराउन पनि थालि सकेका हुन् कि जस्तो लक्षण देखा परि सकेको छ ।

शिव नारान निथ्रुक्क पानीमा रुजेर पनि खेतमा काम गरि रहन्थे । किसानकी छोरी भए पनि उनकी स्वास्नी हाकुमाया अलि अल्छी प्रकृतिकी छिन् । शिव नारान हाकुमायालाई बराबर आफूले जस्तै खेतमा तपस्या नै गरि रहन आह्वान गरि रहन्थे । उनी हाकुमायालाई भन्थे– "हाकुमाया ! तिमी अलि अल्छी छ्यौ । किसानका सन्तानले आराम गर्नु पाप हो, शरीरमा एक थोपा मात्र रगत बाँकी भए पनि पसिनाको रूपमा निकालेर खेतलाई चढाउनु पर्छ किनभने किसानको परिश्रम र पसिना नै जगत्‌को जीवन हो र जिन्दगीको ज्योति हो ।"

"तपाईं त मलाई सधैँ सुतेर खाइ रहेकी छ जस्तो कुरा गर्नु हुन्छ, के त्यस्तो आराम लिइ रहेकी छु मैले ?" एक दिन हाकुमायाले झर्केर भनिन् । "लौ न त आराम लिएकी छैनौ भने जाऔँ न काम गर्न ।" अलि ठट्टाको भावमा शिव नारानले भने ।

"के काम गर्नु छ र अहिले ?" हाकुमायाले भनिन् ।

"खेतमा धानको शत्रु झार केलाउनु छ । एउटा एउटा झार खोजी खोजीकन उखेल्नु पर्छ हाकुमाया । झार, घाँसले बिरुवालाई साह्रै हानि गर्छ, उसले प्रथमतः विरुवाको स्वास्थ्यलाई खान्छ, झार बढ्‌नाले बिरुवाको स्वास्थ्य नष्ट भई धानका बालामा भुस, दमराहरू बढ्ता हुन्छन्, फलि रहेको धानमा पनि रस कम हुन्छ, गेडामा पुष्टता हुँदैन अर्थात् मोटामोटी भनुँ भने धान एकदम कम हुन्छ ।" शिव नारानले भने ।

"भो भो ! धान बढ्ता फलाउन सकेर मात्र हामीले कुन सुख पाउन सकेका छौँ ? कुन किसानले दरबार बनाउन सकेको छ ? 'खेत' भनी सधैँ यसरी मरि रहेका छौँ । खाने बेलामा भने कहिल्यै पेट भर्न पाउँदैनौँ, अझ वर्षामा कति दिन विना एकादशी पनि उपवास र निराहार उत्तिकै बस्नु पर्छ ।" मुसुक्क हाँस्तै हाकुमायाले भनिन् ।

"खान त पाएनौँ हामीले, लौ हो भनौँ, तर संसारलाई ख्वाउन त पाएका छौँ– यो हाम्रो सानो अहोभाग्यको कुरा हो ?" शिव नारानले पनि हाँस्तै भने ।

"लौँ हिँड्नोस्, तपाईंसित को कुरा गरि रहन सक्छ ?"

हाकुमाया र शिव नारान दुवै मिलेर खोजी खोजीकन खेतमा झार, घाँस उखेल्न थाले । उनका केटाकेटीहरू पनि नाङ्गै भएर झार उखेल्ने काममा लागि रहेका थिए, जसलाई दुःख होइन, शिव नारानले तालिम सम्झेका थिए । खेतमा घाँस उखेल्दै शिव नारानले आफ्ना छोराछोरीहरूसित कुरा गरि रहेका थिए– "यस पालि त असार ज्यादै राम्रो भएको हुनाले हाम्रो मिहिनेत अनुसार खेतमा पुरै बाली फल्ने छ । घर पनि हामी यस पालि काइदासाथ मर्मत गर्ने छौँ । हर्ष नारान र नानीथकुँको बिहेको भोज पनि ख्वाउन बाँकी छ । बाली काटि सकेपछि अलिकति धान बेचेर भए पनि यस पालि त एक चोटि सिनेमा पनि नहेरि छोड्दिनँ ।"

"बा ! हामी पनि सिनेमा हेर्छौं ।" लाडे भावमा केटाकेटीले भने ।

"हुन्छ, हुन्छ, घरभरिका जहान सबैलाई यस पालि म बाइस्कोप देखाउन लैजान्छु ।" शिव नारानले भने ।

"साँच्ची, एकचोटि मात्र भए पनि सिनेमा हेर्न नङ्के[3] गर्नै पर्छ । नेपालमा सिनेमा आएको यतिका वर्ष भइ सक्यो, आजसम्म हेर्न पाएको छैन ।" हाकुमायाले भनिन् ।

"हाम्रो घरमा कसैले पनि आजसम्म सिनेमा हेर्न पाएको छैन ।" अलि अफसोसको भावमा शिव नारानले भने ।

"बा ! यस पालि धान काटेपछि हामीले सधैँ दुई छाक भात खान पाउने छौँ ? मलाई त कोदो, गहुँ, मकैको रोटी, उसिनेको आलु त खान मनै लागेन बा ! दाल तर्कारी हालेर सुरु सुरु भात मात्तै खान मन लागि रहेछ !" छोरा चाहिँले भन्यो ।

"लौ, लौ, तिमीलाई म भात ख्वाउँछु, त्यसैले त घाँस उखेल्ने काम गर भनेको !" सुस्केरा हाल्दै शिव नारानले भने ।

"म पनि सधैँ भात खान्छु बा ! यी मैले पनि त घाँसै उखेलि रहेकी छु ।" छोरीले भनी ।

"लौ, लौ, तिमीलाई पनि भातै ख्वाउँछु ।" गहका आँसु पुछ्‌तै हाकुमायाले भनिन् ।

"तपाईंहरू पनि भातै खानोस् ।" छोरीले फेरि भनी ।

घाँस उखेल्ने काम रोकी कम्मरमा हात अड्याई उभिएर सुस्केराउँदै शिव नारानले एक चोटि आफ्ना छोराछोरीहरूको मुख हेरे । पानी परि रहेको थियो, उनीहरू पनि काम गरि रहेका थिए । बढ्ता तोडमा पानी परेको वेला छाप्रोमा गई ओत लाग्थे र पानी कम हुनासाथै फेरि खेतमा काम गर्न जुट्थे ।

एकतिस

पानी अझै पनि परि रहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्‍यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खि रहे। शिव नारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइ रहेका थिए । भात पाक्यो । भात खाइ सकेपछि पनि पानी परि रह्यो, राति पनि परि रह्यो । बीच बीचमा ब्युँझेर शिव नारान खेतको हेरचाह गरि रहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परि रह्यो, परि रह्यो, पर्सि पनि परि रह्यो, परि रह्यो ।

यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडँदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूख समेत खडिखडाउ भएर बग्दै आइ रहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइ सकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइ सकेको थियो । आफ्नो छाप्रो पनि छोप्ला छोप्ला जस्तो हुन थाल्यो । कैयन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैँसी पनि बग्दै आएका देखिन थाले । बग्दा बग्दा मानिसै पनि बगेर आएका देखिए । बढ्दै आएको बाढीले आफ्नो छाप्रो पनि घेरि सक्यो । डर, त्रास, भयको कुरा गरी साध्य भएन । शिव नारान, हाकुमाया र दुई छोराछोरी समेत चारै प्राणी ओसारामा उभिई बाढी बगि रहेको भयङ्कर दृश्य हेरी हेरीकन कोलाहल मच्चाउन थाले । आकाशबाट पानी परि नै रहेको थियो । घर्रघर्र घरहरू भत्केको आवाज पनि सुनिन थाल्यो । समुच्चा खेत जलमग्न, विष्णुमती र खेतको कुनै हद छुट्टिएको थिएन । भागेर पनि कहाँ जाने ? तपतप आँसु चुहि रहेको आँखाले एकबाजि आफ्नो खेतको चारैतिर हेरेर त्रस्त भावमा शिव नारान सोचि रहेका थिए– 'पोहोरको समेत कुत तिर्नु पर्छ । अब तल्सिङले के गर्ने हो । उसलाई कसरी रिझाउने ?"

बाढीले असङ्ख्य माल, वस्तु, खेत, घर बगाउँदै ल्याएको देख्ता देख्तै, हेर्दाहेर्दै बाढीले आफ्नो खेत मात्र होइन, आफूहरू बसि रहेको छाप्रो समेत बगाउन थाल्यो । दुई छोराछोरी समेत शिव नारान र हाकुमायाहरू एकै डल्ला भई बाढीको भय‌ङ्करता देखी चीत्कार गरि रहेकै थिए । कराउँदा कराउँदै गरर्र छाप्रो भत्किन थाल्यो र भँगालोको अँगालोमा बाढीले शिव नारानहरूलाई छाप्रो समेत हरर्र बगाएर लग्यो ।

बाढीमा बग्दै मृत्युको सास फेर्दाफेर्दै शिव नारानले चिन्ता लिइ रहेका थिए– 'घरमा रहेका मेरा भाइहरूलाई यस पालिको कुत समेतको बोझ लादिने भयो ।'

एकै छिनमा अँगालोमा बाँधिइ रहेका चार प्राणी शिव नारान, हाकुमाया र दुई सन्तान लास भएर बग्दै बेपत्ता भए ।

अब तिनीहरूले तिरो तिर्न पनि ताप मान्नु पर्दैन, अनि तल्सिङले तिनीहरूलाई समात्न पनि सक्तैनन्

अष्टनारान ज्यापूको परिवार अब यस दुनियाँमा छैन । उनीहरूको नामसम्म पनि यहाँ रहँदैन । यहाँसम्म कि एघार सालको भयङ्कर बाढीको इतिहासको पानामा समेत पनि उनीहरूको नाम रहँदैन किनभने उनीहरू गरीब थिए, किसान थिए ।

भोलिपल्ट शिव नारानहरूका लास बग्दै क्वेनामा जम्मा भइ रहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइ रहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैँसी, बाख्रा आदिका लास पनि सँगसँगै छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई क्वेनामा लासको थुप्रो छानि रहेका छन् । चिनिएका जति लास अलग अलग राखी कति मानिसहरू छाती पिटी पिटीकन रोइ रहेका छन् ।

परन्तु शिव नारान, हाकुमाया र दुई बाल बालिका यी चार लासको हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।

भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुन नारान, हर्ष नारान, पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान भए !

  1. कसैले नमागी आफैैँ दिन खोज्नु (नेवारी शब्द) ।
  2. जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।
  3. कहिल्यै प्राप्त वा अनुभव नभएका कुरा पाउनु वा अनुभव प्राप्त गर्नु (नेवारी शब्द) ।