This page has been proofread
सान्त्वना
(१)
हे देवी ! मातृभाषा ! यसरि किन तिमी गर्दछ्यौ घोर शोक
बिन्ती मेरो छ तिम्रा चरणकमलमा, शोकको वेग रोक ।
जत्ति देखाउँछ्यौ त्यो मसित तिमि यहाँ आफनू दर्द बाधा
उत्ती काटिन्छ मेरो हृदय जिउ सबै हुन्छ तत्काल आधा ॥
(२)
हामी हौँ गोरखाली सकल, तिमि पनी गोरखा-मातृभाषा
तिम्रो हाम्रो बिछट्टै दृढ मिलन भएको छ सम्बन्ध खासा ।
मर्यादा फालि तिम्रो भुवनभर कतै छैन कल्याण हाम्रो
जानेको छू सबै यो, तर विधिगतिले पर्न आयो नराम्रो ॥
(३)
मौकामा मातृभाषा-उपर जति-जति गर्दछौँ हामि हेला
उत्ती पर्छौँ पछाडी जटिल विपदको सामने गैह्र फेला ।
चाँडै तातौँ सुधारौँ सकल जन मिली आफनू पाठ्यशैली
भन्ने यो मेल हामीहरुसित नहुँदा देखियो देवि ! मैली ॥