आज हर्ष नारानको अनुहारमा सहसा प्रसन्नता फलि फुलि रहेको देख्ता लतमाया छक्क परिन् । उनको चेहरामा यस्तरी प्रसन्नता बलेको लतमायाले कहिल्यै देखेकी थिइनन् । लतमाया भान्छामा भात पकाइ रहेकी थिइन् । उनले हर्ष नारान एक्लै हाँसी भऱ्याङ उक्लि रहेको देखिन् । माथि बुइँगलमा पुगेपछि त उनको हाँसो अटाइ नसक्नु भई झुसीबाट पोखिइ रहेको लतमायाले पाइन् । लतमायाले अनौठो मानेर सोधिन्– "किन हर्ष नारान ! तिमी आज बिघ्नै खुसी देखिन्छौ । तिमी यति खुसाएको मैले आजसम्म देखेकी थिइनँ ।"
"मलाई, भन्नै लाज लाग्छ आमा ।" सङ्कोचवश हर्ष नारान बोले ।
"के भन न, मदेखि पनि लाज ?" लतमायाले भनिन् ।
"आमा ! म पनि अब बिहे गर्छु ।"
"अस्तिसम्म घर नबनाईकन बिहेको नामै लिन्न भन्ने मान्छे आज एकाएक बिहे गर्न तम्सि रहेछौ । भन हर्ष नारान ! कुरा के छ ?"
"अब मलाई बिहे गर्न मन लाग्यो आमा !"
"केटी पाइ सकेका छौ ?"
"त्यसैले आमा । मलाई झट्टै बिहे गर्न मन लागेको । कसैले मलाई प्रेम गरेको पाएँ आमा ।" दङ पर्दै हर्ष नारानले भने ।
"कसैमा कसैले सम्पत्ति खोज्छ, विद्या खोज्छ, इलम खोज्छ, रूप, यौवन खोज्छ भने त्यो प्रेम होइन; जसले अरू थोक केही नखोजीकन उसको दिल