Jump to content

Page:Ek chihan.pdf/92

From Nepali Proofreaders
Revision as of 15:42, 23 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा राम बहादुरले भने ।

"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा कुरा नगर्नु होला राम बहादुरजी ! तपाईंलाई म यो पनि बताइ दिन चाहन्छु– एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइ रहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनु हुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनु हुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले भने ।

"सार्‍है बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनि दिन्छु, मलाई अब सहन गार्‍हो हुन्छ ।" खुब रिसाएर राम बहादुरले भने ।

"धम्की देखाउने बानी हटाउनोस्, राम बहादुरजी ! किसानका छोरामा जागृति आइ सकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।

"के त ? तिमी आफ्नी बहिनी सुब्बा साहेबलाई दिँदै नदिने भयौ ?" अलि नरम जस्तो भएर राम बहादुरले भने ।

"म फेरि पनि एक चोटि क्षमा गर्छु, राम बहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नु होला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि दिन्छु– फेरि यस्तो बकबक गर्नु भयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव नारानले भने ।

ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू कुरा गरि रहेको ठाउँमा आइ पुगे । शिव नारानका घरमा भएका मानिस जम्मा भएको देखेर राम बहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने– "तिम्रो बा अष्ट नारानले दिने वचन दिइ सकेको छ, शिव नारान ! मरि