"किन ?" दिक्क लागेको भावमा राम बहादुरले सोधे ।
"किन ? प्रश्नको म फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनु होला ।" शिव नारानले गम्भीर भएर जबाफ दिए ।
"तैपनि के कति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम बहादुरले कोट्ट्याएर सोधे ।
"कुन कुरा चित्त नबुझेको बताऊँ राम बहादुरजी ! प्रस्ट थाहा पाउन चाहनु हुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला– एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिव नारानले प्रस्ट भनि दिए ।
"तिमीले सुब्बा साहेबको सार्है अपमान गरि रहेछौ शिव नारान !"
"तपाईं जे सम्झनोस् ।"
"तैपनि तिमीले समालिएर बोल्नु पर्ने । यसरी बेसोमत प्रकट गर्नु मनासिब छैन ।"
"निधो जबाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनु हुन्छ भने अफसोसको कुरा छ राम बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइ रहूँ !"
"तैपनि तिमीले होसियार भएर जबाफ दिनु पर्ने । उहाँ र आफ्नो अवस्था पनि त तिमीले हेर्नु पर्छ ! 'सानो मुख ठुलो कुरा' नहुनु पर्ने !" अलि रिसाएर राम बहादुरले भने ।
"अलि मुख समालेर बोल्न सिक्नोस्, राम बहादुरजी ! धेरै सहनु भनेको जल्लाई पनि गार्हो हुन्छ, तपाईं यसको पनि विचार गर्नु होला ।" शिव नारानले पनि अलि रिसाएर जबाफ दिए ।
"त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? अलि ठन्डा मगजले सोच्ने काम गर शिव नारान ! पछुताउनु नपरोस् ।" धम्क्याएर राम बहादुरले भने ।
"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिव नारानले पनि अलि दर्हो भएर जबाफ दिए ।