"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् ।
आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुँको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुरा गरेजस्तो, कोही कसैको प्रतीक्षामा बसिरहेजस्तो, केके जस्तो, केके जस्तो उनको मनभित्र भाव तरङ्ग तरङ्गिन थाल्यो ।
अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइसकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुँले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरिरहेकी थिइन् ।
नानीथकुँको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्नेमानिस जति तमाखु खानेतिर लागे, पुन नारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझिरहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकि रहिन् । नानीथकुँ आफूले खाएको जुठो माझेर गइसकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन ।
नानीथकुँ उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद टुप्लुक्क आँखा अगाडि आइपुगेको नानीथकुँले देखिन् । उनलाई देख्नासाथ नानीथकुँ फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्त प्रसादलाई राम्रो स्वागतभाव देखाउँदै उनले भनिन्– "यस बेला किन हस्याङफस्याङ गर्दै आउनुभएको डाक्टरसाहेब ?"
अलि सानो स्वरमा गोदत्त प्रसादले भने– "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठीकठाक भइ सकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नुपर्ने छैन । रेडियोलगायतको व्यवस्था मिलाइसकेको छु ।"
"दाइहरूले सुन्नुहोला, अझ अलि सानो स्वरमा बोल्नुहोस् । के भन्नु भएको ?" अलि उत्सुकतासाथ नानीथकुँले भनिन् ।