नानीथकुँलाई रञ्जना देवीको कुराले सार्है छोयो, उनको भित्री मन खलबल पारि दियो । डाक्टर गोदत्त प्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइ रहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गा जस्तो सार्हो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे जस्तो लाग्यो ।
केही नलागेर नानीथकुँ माथि गइन् । लतमाया तान कोठामा बसी तान चलाइ रहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । "आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुति रहेकी थिएँ ।" नानीथकुँले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइ रहेकी थिइन् ।
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुँले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुँलाई घरी डाक्टर गोदत्त प्रसाद उपरको प्रेम नै