"होइन, मैले तिमी उपर के अपराध गरेको छु र एकाएक आज ममाथि यत्रो प्रहार ?"
"केही गर्नु भएको छैन, फूल बिछ्याएर आनन्दसित सुत्न दिइ राख्नु भएको छ । योभन्दा सुख अरू के होला ।"
"के दुःख दिएको छु त भन न, होस नभईकन केही दुःख पुऱ्याएको रहेछु भने समालुँला ।"
"किन दुःख दिनु हुन्थ्यो । तपाईंले पनि मलाई दुःख दिनु होला ? दिनदिनै दूधभात ख्वाइ राख्नु भएको छ– राम्रो मसिनो, लत्ता कपडा लगाउन दिइ राख्नु भएको छ, अनेक सुख सामग्री जुटाइ राख्नु भएको छ । सारा भौतिक सुखले मलाई छोपि राख्नु भएको छ । तर तपाईंलाई थाहा छ ? यी सब भौतिक सुखलाई तुच्छ सम्झेर, तृण बराबर मानेर अर्कै एक विशेष सुख वा भोगलाई मात्रै स्वास्नी मान्छेहरू खास सुख सम्झन्छन् र मान्छन् । उनीहरू आफूमाथि प्रेम गर्नेलाई एकलौटी गर्न चाहन्छन् । आफ्नो हृदयका व्यक्तिलाई कसैले हेरेकोसम्म पनि देख्न चाहँदैनन् । तर अफसोस ! लोग्ने मानिसहरूले यसमा कृतज्ञता प्रकट नगरीकन उल्टो यसलाई आफ्नो अधिकार सम्झने भुल गरि रहेका छन् ।" बडो गम्भीर भएर आवेशपूर्ण भावमा रञ्जना देवीले भनिन् ।
रञ्जना देवीले त्यति लामो कुरा छेड्दा पनि डाक्टर गोदत्त प्रसादले चुइँक्क एक शब्द पनि बोलेनन् । सुनेको नसुन्यै गरी खुरुखुरु भात खाइ रहे । मानौँ भातका साथसाथै रञ्जना देवीले बोलेका कुराहरू पनि निलि रहेका छन् ।
डाक्टर गोदत्त प्रसादको थालमा भात पनि सकिनै लागि सकेको थियो, 'आज यिनलाई कायल नगरी छाड्न हुन्न' भन्ने विचार गरी रञ्जना देवी फेरि बोल्न सुरिइन् । उनलाई यो पनि प्रतीत भएर आयो कि 'गेडा नफुटेका मिठातिता लवजले मात्रै उनीबाट कुरा उकेलाउन सकिन्न, प्रस्टै सिधा कुराको डोरीले उनको बदमासीलाई बाँध्न सके मात्र उनले भएको कुरा बक्लान् ।'
यही विचार गरी रञ्जना देवीले भात खान सिद्ध्याउनै लागि सकेका डाक्टर गोदत्त प्रसादमाथि ठाडै हमला गरिन्– "बिरामी हेरी मानिसहरूको सेवा गर्नाका निम्ति तपाईं बिरामीकोठा खोलेर बसि रहनु भएको हो कि गालामा गुलाफ फुलेका तरुनीहरू फसाउन जाल थापि रहनु भएको हो ?"