त्यसै रोइ रहनाले र भात नखाइ रहनाले अनि सहि रहनाले र बसि रहनाले आफ्नो समस्या हल हुने नानीथकुँले देखिनन् । अनि उनी एक्कासि जुरुक्क उठिन् र डाक्टर गोदत्त प्रसादकहाँ सरासर गइन् ।
डाक्टर गोदत्त प्रसादको आफूकहाँ आउने बिरामीहरूको निःशुल्क परीक्षा गर्ने वेला थियो । नानीथकुँ पुग्दा डाक्टर गोदत्त प्रसाद बिरामी हेर्ने कोठामा बसी अखबार हेरि रहेका थिए । बिरामी एक जना पनि थिएनन् । नानीथकुँलाई यसरी एकाएक पाएर डाक्टर गोदत्त प्रसाद हर्षले पुलकित भए । उनको आत्मा आनन्दले नाच्न थाल्यो । अनि स्वागतको भावमा डाक्टर गोदत्त प्रसादले भने– "अहो नानीथकुँ ! आज कत्रो निगाह !"
नानीथकुँले केही पनि जबाफ दिइनन्, केवल मुस्कुराइ रहिन् । अनि झटपट उनी फेरि बोले– "नानीथकुँ ! तिम्रो कृपाका निम्ति हृदयदेखि धन्यवाद है, म सार्है कृतज्ञ भएँ । भन, म तिम्रो योग्य के सेवा गरूँ ?"
रोक्न चेष्टा गर्दा पनि नानीथकुँको आँखामा आँसुको छाया पर्न आइ हाल्यो ।
नानीथकुँको यो दृश्य देखेर डाक्टर गोदत्त प्रसाद एक छिन जिल्ल परे । उनले सोधे– "किन नानीथकुँ ! तिम्रो चेहरामा दुःख हाँसेको देख्तछु ?"
"अब मेरो अनुहारमा सुखले हाँस्न पाउने आशा त देख्तिनँ डाक्टर साहेब !" अलि सुस्केरा भरेको आवाजमा नानीथकुँले भनिन् ।
"जबसम्म म तिम्रो कृपा कटाक्ष पाइ रहन्छु, तबसम्म जीवनमा कहिल्यै पनि तिम्रो अनुहारमा दुःख देखा पर्नसम्म पनि दिन्नँ भन्ने मलाई घमन्ड छ नानीथकुँ !" डाक्टर गोदत्त प्रसादले पूरा आश्वासन दिएर भने ।
"यही आशाले मर्न मन भएर पनि बाँच्ने कोसिस गरि रहेकी छु, डाक्टर साहेब !"
"नानीथकुँ ! केही कुरा छ भने झट्ट स्पष्ट भन, तिम्रो आजको सहसा आगमनमा केही कुरा कारण भएर बसि रहेको छ जस्तो मलाई लाग्यो ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावनामा भने ।
"अब मैले तपाईंलाई पाउन नसक्ने भएँ ।" रुँदै नानीथकुँले भनिन् ।
"कुरा के पर्यो नानीथकुँ ! प्रस्ट बुझ्न पाऊँ ?"
"अब तपाईं मकहाँ आउन नपाउने हुनु भयो ।"