Jump to content

Page:Ek chihan.pdf/56

From Nepali Proofreaders
Revision as of 14:30, 22 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

दिनका दिन किन आइ रहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनु परेको छ ?"

"किन किन आइ रहन्छन्, आइ रहेका मानिसलाई त्यसै के भन्नु ?" लतमायाले भनिन् ।

"तैपनि काम न काज त्यसै किन आइ रहने ? यो त म ठीक मान्दिनँ आमा !"

लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिव नारानको यस्तो उपेक्षित भाव देखेर नानीथकुँले एकाएक मुख अँध्यारो पारिन् । डाक्टरप्रति शिव नारानको एक्कासि यस्तो कुरा सुनेर पुन नारान, हर्ष नारानहरू जिल्ल परे । "अर्काको घरमा काम न काज दिनका दिन आइ रहने ?" शिव नारानले फेरि भने ।

"के कुरालाई लिएर तपाईं यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे ।

"हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइ रहेको । आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" शिव नारानले भने ।

"आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइ रहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनु हुन्नथ्यो, आज किन एक्कासि यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे ।

"हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखि रह्यौँ, तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुँप्रति झम्टन पुगे– "हेर नानीथकुँ ! म साफ भनि दिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत गर्ने मौका दिइ रह्यौ भने म ठीक मान्ने छैन ।"

शिव नारान यति रिसाएको नानीथकुँले अगाडि कहिल्यै देखेकी थिइनन् । यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइ सकेको जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुँ एक शब्द नबोली चुप लागि रहिन् ।

तर शिव नारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी कराइ रहे । शिव नारान यति कराइ रहे; पुन नारानलाई अति लाग्यो । हर्ष नारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिव नारानकै स्वास्नी हाकुमायालाई समेत शिव नारानले बढ्ता बोलि रहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइ