Jump to content

Page:Ek chihan.pdf/55

From Nepali Proofreaders
Revision as of 13:05, 22 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

शिवनारान सबेरै फर्केको देखेर लतमाया अलि आश्चर्यित भइन् । झन् फर्कि सकेको डाक्टर गोदत्त प्रसादलाई पनि देख्ता लतमाया जिल्ल परिन् । दुई दुई जना मानिस माथि उक्लेको आवाज सुनेर भात पकाइ रहेकी नानीथकुँ पनि जिल्ल परेर तल ओर्लिन् ।

डाक्टर गोदत्त प्रसादलाई देखेर त नानीथकुँ मनमनै हाँसिन्, तर शिव नारान पनि साथै देख्ता नानीथकुँलाई अलि कस्तो कस्तो लाग्यो ।

शिव नारान सरासर तान कोठामै गए । लतमाया तान चलाइ नै रहेकी थिइन् । एक छिन त्यसै वाल्ल उभिएर शिव नारान त्यहाँबाट सरासर आफ्नो कोठामा गए । डाक्टर गोदत्त प्रसाद त्यही तान कोठामा बसि रहे तर शिव नारान त्यहाँ आएनन् । धेरै बेर बस्ता पनि शिव नारान आएनन्, डाक्टर गोदत्त प्रसादलाई गजब लाग्यो ।

अब धेरै बसि रहनु ठिक नदेखेर डाक्टर गोदत्त प्रसाद जान खोजे तर उनी जानुभन्दा अगाडि एकचोटि शिव नारानलाई भेट्न पुगे । सहानुभूति प्रकट गर्दै डाक्टरले भने– "तपाईंलाई आज सन्चो भएन कि कसो ?"

"केही पनि भएको छैन ।" बडो गार्‍हो मानीकन शिव नारानले बोले ।

"किन त चेहरा अलि मलिन छ नि ?"

खालि मुख बिगारेर शिव नारान एक शब्द पनि बोलेनन् ।

"शरीरमा केही असजिलो जस्तो भए भन्नु होस्, म तुरुन्तै ठिक गरि दिउँला ।" डाक्टर गोदत्त प्रसादले बडो मायालु भावमा भने ।

"केही भएको छैन, तपाईं जानु होस् ।" शिव नारानले भने ।

"कपाल दुख्यो कि ?"

"केही भएको छैन, तपाईंले दुःख गर्नु पर्ने कुरा केही छैन । तपाईं जानु भए पनि हुन्छ ।" अलि उपेक्षाको भावमा शिव नारानले भने ।

शिव नारानको बोलाइको ढङ्गमा केही परिवर्तन भएको पनि डाक्टरलाई ज्ञान भयो । अनि चुप लागी वाल्ल परेर डाक्टर गोदत्त प्रसाद त्यहाँबाट रमाना भए ।

डाक्टर गोदत्त प्रसादलाई देखेर शिव नारानलाई यति रिस बढि सकेको थियो कि न्वारानदेखिको बल झिक्ता पनि उनले थाम्न सकेनन् । यही रिसको आवेशमा शिव नारानले भात खाँदाखाँदै लतमायासित सोधे- "होइन, डाक्टर