यस पटक त पर्यो फसाद डाक्टर गोदत्त प्रसादलाई पनि । अब त चाइँचुइँ बोल्ने ठाउँ भएन उनलाई । त्यसैले डाक्टर गोदत्त प्रसाद केही पनि बोलेनन् ।
नानीथकुँको अनुपस्थिति पाएर वा नानीथकुँसित बस्न नपाएर फर्केर आउनु सार्है भद्दा काम नै भयो । त्यहाँ बसि रहनु पनि डाक्टर गोदत्त प्रसादलाई त्यति मज्जा भएन । तर भलादमीको नाममा उनले त्यहाँ बसि नै रहेर लतमायासित कुराकानी जारी गरि रहे । बीच बीचमा नानीथकुँ कुनै न कुनै निहुँ गरेर आइ रहने गरेकीले डाक्टर गोदत्त प्रसादलाई नमज्जामा पनि मज्जा लाग्न थाल्यो ।
डाक्टर गोदत्त प्रसादलाई भने नानीथकुँसित एकबाजि नभेटीकन कसरी जाने भइ रह्यो । उनको एक चोटि दर्शन गरेर, उनलाई थाहा दिएर मात्र डाक्टर गोदत्त प्रसादले जान चाहेका थिए तर उनको त्यो मुराद पूरा हुन सकेन ।
आखिरमा मन नलाई नलाईकन डाक्टर गोदत्त प्रसाद जान लागे । जान लाग्दा उनले लतमायासित भने– "आज जान्छु, भोलि फेरि हाजिर हुँला ।"
"भइगो डाक्टर साहेब ! यस्तरी फुर्सद नहुने मानिसले किन हामी जस्ताकहाँ बेकारमा कष्ट गरि रहनु हुन्छ ? चाहेको वेलामा बरु हामीले दुःख दिन छाड्ने छैनौँ ।" मौका भेट्टाई लतमायाले भनिन् ।
"केको दुःख छ र मलाई यहाँ आइ रहँदा ? बरु आनन्द लाग्छ ।" डाक्टर गोदत्त प्रसादले भने ।
"भइगो डाक्टर साहेब ! बेकारमा तपाईं यसरी हामीकहाँ आइ रहनु भयो भने हामीलाई पाप लाग्छ, किनभने तपाईं बिरामीहरूका देवता हुनाले एक छिन पनि तपाईंले यसरी बेकारमा समय बर्बाद गर्न हुँदैन ।"
लतमायाको कुरा सार्है मनासिब लागेकाले अलि लाज माने जस्तो गरी जाँदाजाँदै डाक्टर गोदत्त प्रसादले भने– "फुर्सदको मौका हेरेर आउने गरुँला ।"