सात
डाक्टर गोदत्त प्रसाद ठिक आठ बजे आइ पुगे । उनलाई देख्नासाथ बिरामी अष्ट नारानले एक चोटि नमिठो आँखाले पुलुक्क हेरे । अष्ट नारानको हेराइ देखेर डाक्टर गोदत्त प्रसाद एक छिन टोलाए । एक छिन जिल्लिएर बिरामीतिर हेरि सकेपछि डाक्टर गोदत्त प्रसाद बिरामीको नाडी हेर्न थाले । नाडी हेरि सकेपछि छाती जाँचे । अनि बिरामीसँग सोधे– "आज तपाईंलाई कस्तो छ ?"
"अलि अप्ठ्यारो भएको छ ।" बिरामीले डाक्टरको अनुहार हेरेर भने ।
"धन्दा नमान्नोस्, केही हुन्न ।" अलि आश्वासनको भावमा डाक्टर गोदत्त प्रसादले भने ।
अष्ट नारानले डाक्टरको मुख क्वारक्वारती हेरे, केही बोलेनन् । "केही खान मन लाग्छ ?" डाक्टरले सोधे ।
नकारात्मक भावमा अष्ट नारानले टाउको हल्लाए ।
एक छिन चुपचापीले छायो । डाक्टरले बडो गौरसित बिरामीको प्रकृति अध्ययन गरि रहे । बिरामीले पनि डाक्टरको अनुहार एकटकसित हेरि रहे । यसरी समय करिब पाँच मिनेट बित्यो होला अनि एकाएक बिरामी अष्ट नारान बोले– "डाक्टर साहेब ! अब म कति दिन बाँचुँला ? आज सोमबारे औँसी परेको छ, कडा दिन छ !"
"यस्तो कुरा गर्नलाई के भएको छ र तपाईंलाई ? दुई दिन बिरामी हुँदैमा मानिस मरे भने त संसार चाँडै शून्य हुन्छ । मैले भने जस्तो बस्नोस् न, अझ बिसासय वर्ष तपाईं बाँच्नु हुन्छ ।" डाक्टरले हाँस्तै भने ।