छ
बढ्ता बोलेको थकाइले हो कि औषधीको गुनले हो, डाक्टर गइ सकेपछि करिब एक घण्टापछि अष्ट नारानलाई राम्रो निद लागेछ । डाक्टर गोदत्त प्रसादको औषधी पर्नासाथै यसरी सहसा निद लागेको देखेर अष्ट नारानको परिवारमा आशा पलायो । आज यसरी सजिलैसित निद परि दिएकाले उनीहरूका मनमा आशाको ज्योति उदित भएर आयो ।
अष्ट नारानले बेलुकीको खाना पनि डाक्टर छँदै अगाडि नै खाइ सकेका थिए । खाना बिलकुलै नखाने हुनाले डाक्टर आफैँ अगाडि बसी अलिकति बार्ली पकाउन लाएर खुवाएका थिए ।
भोलि पल्ट बिहानको छ बजेतिर मात्र अष्ट नारान बिउँझेछन्, बिउँझँदा उनले आफ्ना वरिपरि आफ्ना छोराछोरी सबै र जहान लतमाया पनि छरिएर बसि रहेका देखे । त्यस बिहान रातिदेखि नै सिमसिमे पानी पनि परि रहेको थियो । पानी परि रहेका कारण अष्ट नारानलाई ठन्डा भएर आनन्द लागि रहेको थियो ।
सर्वप्रथम उनले आफ्ना जेठा छोरा शिव नारानलाई सम्बोधन गरेर भने– "शिव नारान ! यतिका दिन भइ सक्यो, खेतमा नगईकन किन मलाई कुरि रहेको ? किसानको छोराले मरेको बाबुलाई समेत फ्याँकेर असारको पूजा गर्नु पर्छ । बाबु ! असार बिग्र्यो भने किसानको एक वर्षको सौभाग्य बिग्रन्छ ।"
मरणासन्न बाबुको प्राणदायी कुरा सुनेर शिव नारान जिल्ल परेर बसि रहे । अनि फेरि अष्ट नारान बोले– "किन चुप लागि रहेको शिव ? मैले गरेको कुरा तिमीलाई ठिक लागेन ? किसानका निम्ति यो महामन्त्र हो बाबु ! यसलाई तिमी दीक्षा पनि सम्झ ।"
"धेरै नबोल्नु होस् भनेको बा ! डाक्टरले पनि बोल्न हुन्न भनेका छन् ।" शिव नारानले भने ।