पाँच
डाक्टर गइ सकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको वेलामा बिरामी अष्ट नारानले नसकी नसकी बोले– "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म एउटा बालक अथवा युवक पनि त होइन, पुरा आयु पुगि सकेको गरिब घरको एउटा बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिई लिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबु उपर छोराछोरीले श्रद्धाभक्ति गर्नै पर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखि हालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानै पर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबुहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।
कसैले केही जबाफ नदिएको देखेर अष्ट नारान फेरि बोले– "के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ? अथवा तिमीहरूको चित्त दुख्यो कि ?"
अनि शिव नारानले भने– "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठिक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"
अष्ट नारानले सम्झाएको भावमा भने– "हाम्रा निम्ति थोरै नै धेरै छ बाबु ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"