"मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै आएर औषधी गर्न आए पनि निको हुन्न । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन् झन् खस्कँदै आइ रहेको छु । 'सास रहेसम्म आस' भन्ने एउटा कुरा मात्र बाँकी छ ।" यति भनी अष्ट नारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइ सकेका थिए, फेरि अष्ट नारानले बोल्न सुरु गरे–
"कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।"
"बा !" नानीथकुँले बोल्न खोजेर पनि यति सिवाय उनको कण्ठबाट बक फुट्न सकेन ।
"किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा अष्ट नारानले भने ।
"धेरै नबोल्नु होस् भनेको बा ! परिश्रम होला ।"
"मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न दिनु पर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइ रहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागि रहेको छ ।"
"बा !" अष्ट नारानको मुखैनिर शिर निहुराएकी नानीथकुँले भनिन् ।
यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुँको आँखाबाट आँसु टप्कि हाल्यो । अष्ट नारानका माहिला छोरा पुन नारान र कान्छा छोरा हर्ष नारान दुवैले एकैचोटि बोले– "बा ! चुप लाग्नोस् भन्या ।"
"लौ, लौ, अब धेरै बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा भनि हाल्छु– बाबुहो ! मैले तिमीहरूका निम्ति केही गर्न सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केही केही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर खाल्टो खनेर गाडि राखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरि दिनू, त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।"
बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।