हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन् । बाटो अनिश्चित थियो । विद्वान् मूर्खहरु हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नु पर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्, बनोट, मिलाप र अन्तर्ध्वनिहरु नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता बुझिएका थिएनन् । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र सौन्दर्यात्मक चेत थिएनन् । उनले बनाए जसलाई श्रद्धा थियो ।
आजकल हामी अवहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली शब्दका मुटुका धड्कन छामी–छामी बुढा भए, जो नेपाली नामको भाषामा मूर्तिवान् मिठास छन्, जसले प्रथम सिर्जना र प्रथम आह्वान गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा उनीनजिक पुग्थे थोरै देख्तछौं । अरु बाङ्गाटिङ्गा अनौठा देखिन्छन् । उनमा प्राकृत रेखा सुन्दरले कुँदे झैं रहन्छ । अरु संस्कृतको विरोध गर्दछन् र नवीनतामा दावा राख्तछन् । तर माधुर्यको स्वाद पारखीकहाँ ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कुन शिखरमा सुनौला हुन्छ त्यसको विचार बुझ्नेले राख्तछन् । नवीन पद्धतिहरुलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौं । उनी कुँद्न जान्दछन्, अरुहरु कोसिस गर्दछन् । उनी नेपालीको हृदयनजिकै आउँछन्, अरुहरु विदेशी ढङ्गले समाउन खोज्दछन् । अरुहरुमा वक्रता, चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन् । हामी त्यति मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा ठुला कवि भविष्यका गर्भमा होलान् तर उनलाई जित्ने हामीले देखेका छैनौं ।
उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन् । सचेतता–अलङ्कारी, आडम्बर, अनुप्रासचातुरी, आधुनिकताको अभाव, संस्कृताधिक्य, उपमाजडाउ, माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता, श्लोकटुक्रे विचार, भावको रोकावट, शब्द लालित्यको लोलुपता र अनेक अवगुणहरु उनमा छन् भन्ने आधुनिक सिकारुहरुको भनाइ छ । त्यसउपर ज्यादा गहिराइ केही देखिन्न भन्दछन् । पण्डितेपना प्राचीनका उपासना हो भने हामी तारिफ गछौं, किनकि उनी आधुनिक लेखकहरु झैं पुरुखाहरुलाई निन्दा गरेर बिसौं शताब्दीका दोषका नक्कलमा लागेका छैनन् । त्यस शब्दले पुरानो ढङ्ग थाङ्नेपन भनी जाहेर गर्छ भने जसरी