तरवार कटार खुंडा खुकुरी ।
पिसतोल र बन्दुक सम्म भिरी ॥
अति शूर र वीर भरी नगरी ।
छ त कुन्सरि कान्तिपुरी नगरी ॥४॥
रिस राग कपट् छल छैन जहाँ ।
तव धर्म कती छ कती छ ञहाँ ॥
पशुका पति छन् रखवारि गरी ।
शिवकी पुरि कान्तिपुरी नगरी ॥५॥
कवि भानुभक्तजीको डेरा लगन्टोलमा धर्मदत्त ज्योतिषीका घरमा भयो । पछिसम्म पनि कवि भानुभक्तको सहवास इनै धर्मदत्त सुब्बासित धेरै भयो, जो हाल मखन्टोलामा अझतक् छँदै छन् । धर्मदत्त सुब्बा ज्योतिषीद्वारा इन्को जग्गाको झगरा पनि छिनियो, जस्को बयान् यो छ
रम्घामा कवि भानुभक्तको एक् जग्गा थियो, तेसै खेत्को साँध एक् गिरिधारी भाटका खेत्सित थियो । ई दुवै खेत्का बीचमा एक् खोलो थियो । अकस्मात् एक् वर्ष खोलाले भानुभक्तको खेत् खाइदियो । गिरिधारी भाटले बगर आवादी गर्यो । तिन्ताकका ऐनबमोजिम् गिरिधारीको भोग् पाको हो, पछि ४/५ वर्षपछि तेसै खोलाले भानुभक्तको जग्गामा बगर छाडी फेरि भाटको खेत् बेहिसाब् मिच्यो र भानुभक्तले ऐनबमोजिम् खोलाले छाडेको बगर ३/४ वर्ष आबादी गरी भोग् गर्दा भाटले मेरो जग्गा मिची भानुभक्तले भोग् गर्यो भनी बादी हाल्दा भानुभक्तले इजहार दियेका श्लोक-
ख्वामित् यस् गिरिधारिले अति पिर्यो व्यर्थै गर्यो झेल्पनि ।
यस्का झेल उतार्नलाइ सजिलो यो हो व्यहोरा भनी ॥
ख्वामित्लाइ चढाउनाकन ञहाँ क्यै श्लोक् कवीता गर्याँ ।
मेरा श्लोक सुनिवक्सियोस्त झगडा छीनिन्छ पाऊ पर्याँ[1] ॥१॥
- ↑ यस् श्लोक पछि अरू श्लोक बीचमा छुटेका छन् पाइयाका छैनन् ।