तहाँ चैं र आफ्ना मतलब् भर्को राखी बाकी इ मैले गरेजस्ता धर्म काम्मा खर्च गरिदिये धर्मको धर्म नाम्को नाम् । भला यौटा इँदार् खनाई रहेछु; सय पचास वर्षसम्मन् फलाना घाँसीले बनायेको इनार हो भन्ने नाम् त रहला । भयेको धन् जम्मा गर्यो; प्वाक्क लागेर आफू मर्यो, वारिस्को धन् सत्र आफू अलपत्र; कुकर् मर्यो कि स्याल् मर्यो क्यै पत्ता लाग्दैन नानी ! हद होला सन्तान् रह्यो भने नातिसम्मले 'ए, हाम्रा बाजे फलाना थिये; यस्तो गर्दथे उस्तो गर्दथे भनेर सम्झला, उई पनि बर्ष छ मास्मा एक्पल्ट फेरि दैवगतिले सन्तानै रहेन भने तेति पनि सपनामा घोडा चढेझैं हुन जान्छ । हुन त मैले तिमी नानीसित बडा शास्तर्का कुरा झैं गरें तर म घाँस् काट्ने के जान्द छु ! अब त घाँस् पनि एक् भारी पुगिसक्यो हो' भनी डोका भरी हाली खुर्पी घुसारी 'जाऊँ है त नानि' भनी भानुभक्तसित बिदा भै घाँस्को भारी बोकी गाउँतिर गयो । जब घाँसी आफ्नो बाटो लाग्यो भानुभक्त टोल्हाये; एक्लै सोही ढुंगामा बसेरै विचार् गरे–धन्य–ईश्वर ! यस् घाँसीलाई यस्तो ज्ञान, पण्डितले शास्त्र वर्काई फर्काई के गर्नन् । घाँस काटी जहान् पाली जे उब्रेका धनले कवा खनाउनु सानो करो हो ? तेस् घाँसीले कथा सुनेन होला; संग सोहबत् भने के गर्यो होला, जस्को जनम् घाँसै काट्नामा गयो तर पनि धन्भन्दा नाम ठूलो हो भन्ने बुद्धि तेस्ले पायो कहाँबाट ? यो लीला हरिको हो ! भानुभक्त यति एकलै मन्मा भन्दै थिये; कविजननी शारदाका मनमा दया तेसै बखतमा आयो र भानुभक्तलाई कविता गरूँ भन्ने यस्तो लह (ड) चली तेसै ढुंगामा कोरीकन ई आदि दुई श्लोक बनाये ।
भर्जन्म घाँसतिर मन्दिइ धन् कमायो ।
नाम् क्यै रहोस् पछि भनेर कवा खनायो ॥
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ॥१॥