२४
चिसो तातो सोमाऽऽनलमय महादीपक दुई
दुवै हत्केलामा लिइकन कतै डग्न नदिई ।
घुमाई को, कस्को हरबखत नीराजन-विधि
अहो ! गर्दो होला मधुर छवि छर्दै निरवधि ?
२५
अहो ! पालैपालोसँग रवि शशी नित्य यसरी
घुमी जाँची सारा निमिषभर विश्राम नगरी ।
नफोर्दा होउन् ता मलिन तमको उग्र पहरो
कठै ! के निस्कन्थ्यो छरछर गरी सृष्टि-छहरो ॥
२६
यती गम्दागम्दै बहुत छिपियो नीरव निशा
बनी एकैनासे मुदितमुख हाँसे दश दिशा ।
हवा मानू सुस्तै अमृत-रसका मन्थन गरी
घुस्यो नौनी घस्तै किन किन मुटूमा सरसरी ॥
२७
म त्यो प्यूँदाप्यूँदै सुखमय जुनेली रसझरी
डुबेँछू चुर्लुम्मै हृदय-दहमा गद्गद परी ।
वहाँ पुग्नासाथै ढकमक भयो जीवन-कलि
मुटूले भेट्टायो गगन-गुरुको रूप सकली ॥
२८
बिलायो वा पग्ल्यो तन, पलकमा छङ्ग म भयेँ
गुरुर्ब्रह्मा भन्दै गुरुचरणमा पस्रन गयेँ ।
म सम्झयो मै मात्रै, गुरुचरण सम्झयो गुरु गुरु
नरोला त्यो वेला कुन अबुझ चेला धुरुधुरु ?
२९
खुशी भै सामुन्ने वर अभय मुद्राकन धरी
खडा सर्वव्यापी परम गुरुको दर्शन गरी ।
घुमायेँ चौतर्फी नयन तर त्योतर्फ नमिली
भयो मेरो तीखो नयन नयनैमा इलिमिली ॥
Page:Tarun tapasi.pdf/110
Appearance
This page has been validated
