This page has been proofread
२१
कडा ती कालैका अति कठिन जिभ्रामय तिखा
दगुर्दा बस्तीमा उस बखत दावानल-शिखा ।
हुँदो होला त्यस्ता अटल तपसीको कुन गति
कठै ! त्यो हत्याको मनुज कुन सम्झोस् परिणति ?
२२
हवाले दन्केको उस दहनको त्यो लपलपी
सहन्छन् वर्षेनी तिनिहरु तिनैको हित जपी ।
तमासा त्यो देख्छन् मनुज, तर छन् पत्थर सरी
महत्ता को सम्झोस् तप र तपसीको ? हरि ! हरि !!
२३
यती भन्दाभन्दै तरुण तपसीका वदनमा
प्रभा अर्कै दौड्यो, सकल बदले रङ्ग छिनमा ।
म हेर्दैछू, सारा तन किरण-रेखामय भयो
ठुलो त्यै चौकीको जरठ तरुमा त्यो अलपियो ॥