Jump to content

Page:Tarun tapasi.pdf/94

From Nepali Proofreaders
Revision as of 17:51, 12 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread


कुनै वेला आये युवक रसिला गोप लहडी
झिके ऐना, लाये तिलक पनि सिन्दूर रगडी ।
पुछे औँला मेरो विपुल कटिमा त्यो सिंदुरको
बस्यो रातो धर्सो गुरु-सदृश भै मूर्खहरुको ॥


चले ग्वाला, ढाक्रे फिर उहि थलामा गइ बस्यो
हिँड्यो ढाक्रे, हिँड्दा अलिकति त्यहाँ चामल खस्यो ।
त्यहाँ त्यो सिन्दूराऽक्षत नगिच देख्यो जब अनि
चढायो अर्काले किन किन मलाई फुल पनि ॥


जसै त्यो सिन्दूराऽक्षतसहित देख्यो फुल, अनि
रहेछन् द्यौता ई भनिकन झुकांयी शिर पनि ।
थप्यो रोटी, माला, अबिरहरु अर्को अघि सरी
म द्यौता भैहालेँ अबुझ बटुवाको जुनिभरी ॥


कसैले त्यो देखी प्रणयसित गङ्गाजल दियो
कुनै आयो पञ्चाऽमृतहरु चढायो खुशि भयो ।
कसैले श्रीखण्ड-प्रभृति बढिया चन्दन दियो
ध्वजा टाँगी कोही 'जय जननि !' भन्दै घर गयो ॥

१०
कुनै राती बस्ता अबुझ बिचरा धूपसहित
झिनू बत्ती बाली विनयसित भन्थे 'गर हित' ।
कुनै सत्तू, च्यूरा अलिकति झिकी अर्पण गरी
स्वयं खान्थे, चल्थे हरबखत मेरो भर परी ॥

११
कुनै घुम्थे छर्दै फुल, मकन दायाँतिर गरी
कुनै ढोग्थे पुष्पाऽञ्जलिसहित भेटी पनि धरी ।
बढ्यो एवंरीत्या प्रतिदिन ठुलो पूजन-कला
पुजारी भै लुट्थे पटु पुरुष नैवेद्य, मसला ॥