This page has been proofread
द्वादश विश्राम
१
कविजी प्रिय शिष्य झैँ बनी
कर जोडेर सबै कुरा सुनी ।
अलमल्ल थिये अली छिन
फिर बोले तपसी तपोवन ॥
२
धमीलो त्यै पैसा-विषयक कडा तर्क मनमा
घुमेकै मौकामा ऋतु पनि घुमे क्यै भुवनमा ।
खडा भो वर्षाको समय, फिर त्यो कृष्ण-रजनी
अँध्यारो औँसीको, घनपटलले गुम्फित पनि ॥
३
न वा आकाशैमा निविड तम उम्रीकन बस्यो
न वा त्यो आकाशै तम-जलधिमा गैकन पस्यो ।
मसीमा चोबिन् वा प्रकृति-जननीले गगन यो
बिलायो वैषम्य-स्थिति, सकल एकाम्मय भयो ॥
४
दुवै आँखा चिम्ली म पनि बहुधा त्यो बखतमा
रहन्थेँ वा खेल्थेँ हृदयगत अन्तर्जगतमा ।
खुल्यो सुस्तै मेरो पलक, नगिचैमा अलिअलि
कुनै सानू देखेँ किरण-कणिकाको पिलिपिली ॥
५
तमासा यो क्या हो ? कुन चटक यो नेत्रपुटमा
पर्यो कस्ले फाल्यो किरणमय झिल्को निकटमा ?
भनी हेर्दाहेर्दै निविड तम चिर्दै चरचरी
उडेको भेट्टायेँ चटुलगति सानू जुनकिरी ॥