१
करुणामय त्यो कथा सुनी
मुनि झैँ खिन्न भयेर ती पनि ।
चुपचाप थियेँ नगीचमा
फिर निस्क्यो मुनिवाक्य बीचमा ॥
२
शिकारीको झम्टा तन-बिच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरिकन कठै ! व्याकुल बनी ।
म मर्ने वेला भो तर मनुज ! तिम्रो मनुजता
कता भाग्यो, त्यस्को भरसक बुझे है तिमि पता ॥
३
कहाँ कस्तो तिम्रो उदरमय त्यो दुर्भर दरी !
कहाँ यस्तो सानू सरलमति निर्दोष म चरी ।
दया माया छोडी मनुज ! कुन तृष्णावश परी
मट्याङ्ग्राले हान्यौ मकन तिमिले आज यसरी ?
४
न शक्छौ यो आँशू टपटप टिपी चप्प पिउन
न शक्छौ मासूले दिनभर अघायेर जिउन ।
न शक्छौ यो भुत्ला लिइकन कुनै वस्त्र सिउन
चुँड्यौ व्यर्थै मेरो मनुज । तिमिले जीवन किन ?
५
सिधा-सादा, निर्धा उपर पिर-बाधा जति जति
ठुला, बाठा, टाठा मनुजहरु पार्छन् उति उति ।
घृणा, निन्दा, हत्याप्रभृति सब उस्को कटुफल
उनै उल्टो भोग्छन्, विधि-नियम यो जान अटल ॥
Page:Tarun tapasi.pdf/43
Appearance
This page has been proofread
षष्ठ विश्राम
