This page has been proofread
३४
त्यसै वेला यौटा विधि-नियमको दर्पण बनी
चुँडेको चङ्गा झैं शिथिल रविको मण्डल पनि ।
गये ढल्दै ढल्दै, तल तल हुँदै, कत्ति नअडी
गुते अग्ला अग्ला हिमशिखरले कान्ति-पगडी ॥
३५
झर्यो मैलो पर्दा भुवनभर अर्कै प्रकृतिको
विवेकाऽऽलोक-श्री रहित मनझैं मन्दमतिको ।
म डुबें त्यै कालो तम-जलधिमा त्यो समयमा
घुम्यो त्यै चङ्गाको चटक सब मेरा हृदयमा ॥
३६
यसरि हृदय-हारी भाव-गम्भीर भारी
सरस सरस सानू सूक्ति-निस्यन्द झारी ।
मुनिवर बनिहाले मौनभावाऽभिराम
अलिछिन मन मेरो चक्करायो तमाम ॥