६
ठुला साना प्राणी चतुर विधिका सन्तति सब
सबैको साझा हो प्रकृति गुणको भोग्य-विभव ।
सबै हाँसून् खेलून् सरल रसिलो जीवन धरी
धरालाई पारी प्रणय-रसले देव-नगरी ॥
७
बढी, बाँचौँ, भोगौँ विषयसुख राम्रोसित भनी
तिमी जस्तो गर्छौ प्रबल रुचि, उस्तै अरु पनि ।
ठुलो को ? सानू को ? सम छ सबको जीवन-विधि
सबैलाई प्यारो विषय-सुखको यो जलनिधि ॥
८
अहन्ताको ठोक्तै घट घट विषे दिव्य तबला
जगत्व्यापी एकै भुवनपतिको जीवन-कला ।
भई भोगप्रेमी हरतरहले घुम्छ भवमा
उसैको सत्ता हो अनुभव लिने भित्र सबमा ॥
९
'दया' भन्ने एकै मधुरतम पीयूष-रसको
पिई प्याला मीठो अनुभव लिँदै भित्र उसको ।
यता विश्वप्रेमी बन मतलबी भाव नधर
उतालाई सोझै अमर-पदवी हासिल गर ॥
१०
किरामा, पक्षीमा, नर, पशु, लता, वृक्षतकमा
अहो! एकैनासे परम चितिको दिव्य चकमा ।
फुरेको देख्दैछौ तदपि किन गर्छौ धरमर ?
विवेक-ज्योत्स्नाले सकल धरणी शीतल गर ॥
११
ठुलाले सानाका उपर करुणा दृष्टि नगरी
जथाभावी चल्दा धरणि सब हुन्छिन् यमपुरी ।
कलीलो यो मेरो वय छ, बटुवा हो! जनि गर
चलाऊ बिस्तारैसित नजरकै साथ पयर ॥
Page:Tarun tapasi.pdf/20
Appearance
This page has been proofread
