This page has been validated
४
बुट्टा र फूलहरुको हरियो छ सारी
मीठो छ बैंस मृदुभाषण मोहकारी ।
प्रश्वास शीतल लिई मुख कान्तिपूर्ण
पट्ठी परी प्रकृति मस्त झुलेर हाँसिन् ॥
५
हाम्रा पहाड, वनबाट चलीरहेको
मीठो हवा अमृतको रसतुल्य आयो ।
के आइ छुन्छ दिलका मृदु तार तार
के जादुले जगतको फुलबारि छायो !!
६
पर्दा तुषार कुहिराहरुको खुलेर
आयो वसन्त सब सुन्दरता स्वरूप ।
मीठो छ जीवन अहा ! सब फूलपात
सौन्दर्यका खुलदछन् हिउँमा लुकेर ॥