This page has been validated
७
खिँची लपलपाऽऽकार तर्बार बिजुलीमय ।
गर्जन्छ रणमा मत्त वीर झैँ मेघ निर्भय ॥
८
शिवले विष झैँ सारा चर्को गर्मी पिईकन ।
थाल्यो कि बिजुली-जिभ्रो काढी मेघ मडारिन ?
९
घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ ।
घरी त्यो नगरा-तुल्य जोरले घुहुनाउँछ ॥
१०
अथवा जलको भारी गह्रुङ्गो भै गलीगली ।
चल्छ त्यो बिजुली-रूप लट्ठी टेकी अलीअली ॥
११
बिजुली नामको यद्वा छहरा अति निर्मल ।
स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्गल ?
१२
यस्तै छ जीवन-ज्योति अँध्यारामा भनीकन ।
देखायो विधिले यद्वा बिजुलीको निदर्शन ?
१३
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ ।
विश्वको जीवन-ज्योति उसैले जग्मगाउँछ ॥
१४
जो त्यो मिलमिली-रूप मेघको मन्दहास छ ।
उसमा तीव्र गर्मीका बलको उपहास छ ॥
१५
हास्य-गर्भित गम्भीर सुन्दा त्यो मेघ-गर्जन ।
सारा संसार सम्झन्छ भावि सौभाग्य-सूचन ॥