This page has been proofread
८८
फिका देखिन्छ अत्यन्त पद्मले शून्य पोखरी ।
जूवामा धन फालेका जुवाडेको मुखै-सरी ॥
८९
पद्मको रसका प्रेमी मद-मत्त मधु-व्रत ।
घुम्न थाले अँगेरीका फूलमा दुःख-कर्शित ॥
९०
कहाँ बेली, कहाँ चम्पा, कहाँ मन्दार, पाटल ।
कालले गनियो खालि फूलैमा तुच्छ धुर्सुल ॥
९१
शीतले फूलका साना बगैंचाका बुटाहरू ।
परलोक भये धेरै, रुन्छन् थोरै धुरू-धुरू ॥
९२
रस-धारा चुसी सारा तुषाराले वन-स्थली ।
गरायो नीरसाऽऽकार छैन केही झिली-मिली ॥
९३
पुष्प-पल्लवको शोभा नभयेको वनै सब ।
बन्यो स्वाऽऽधीनता-रत्न फालेको दास झैं अब ॥
९४
गलेकी हिम-वर्षाले, बलेकी तपले अति ।
गौरी झैं कलिला साना प्याहुली छन् कताकति ॥
९५
देखिन्छ वनमा यौटा फुलेको लोध हालमा ।
सिद्धि-सम्पत्तिले पूर्ण योगी झैं विश्व-जालमा ॥
९६
लेकबाट झर्यो सारा विवेकी क्रौञ्चको गण ।
देश-कालज्ञले लिन्थ्यो कूप-मण्डूकता किन ?