३४
हेमन्त सिन्धुमा घुम्दा कुइरो-रूप मन्दर ।
जगतै कछुवा बन्छ खुम्च्याई अङ्ग जर्जर ॥
३५
तेही मन्थनका छिर्का तुषाराको स्वरूपमा ।
बर्र बर्र सबैतर्फ वर्षेका हुन् कि विश्वमा ?
३६
कम्ती भयो भने मैत्री शीतको कुइरोसित ।
तुषारो जोरले हाँस्छ खित्का छोडेर खित्खित ॥
३७
बेलुका सुतदा अर्कै रङ्गमा सब सृष्टि छ ।
बिहान उठदा अर्कै सेताम्मे हिम-वृष्टि छ ॥
३८
साना परालका छाना तुषारो थुप्रिँदामहाँ ।
सिङ्गमर्मरका जस्तै मजाका देखिने अहा ॥
३९
छोपियेकी तुषाराले देखिन्छिन् भूमि यो घरी ।
कुनै कपास झैं सेतै फुलेकी बुढिया-सरी ॥
४०
ठण्डीका डरले सेतो मण्डलीमा गुटूमुटू ।
नीदले पृथिवी देवी बनी-छन् की लुटूपुटू ?
४१
खात हो वा तुषाराको यद्वा दुःख-प्रपात हो ?
फुस्रा हेमन्तको यद्वा फुस्रो दुःसह लात हो ?
४२
तुषाराका तिखा सेता काँढा हान्दै पछिल्तिर ।
रात्रि-दुम्सी घुस्यो यद्वा पश्चिमाऽद्रि-गुफा-तिर ॥
Page:Ritubichar.pdf/58
Appearance
This page has been proofread
