This page has been proofread
७
परालको नलै मैला उसको छ बगम्बर ।
माला कटकटाऽऽकार दन्तको फेर्छ सुन्दर ॥
८
गेरु-रङ्गी फलाऽऽनम्र सुन्तला कीपका रुख ।
फुस्रा हेमन्त बाबाका चेला झैं छन् ति सम्मुख ॥
९
नयनाऽऽनन्दका साथै रसनाऽऽनन्द-दायक ।
फल अर्को कुनै छैन सुन्तला-तुल्य लायक ॥
१०
सुन्तला छन् फिलिङ्गा झैं फुस्स हुस्सू धुवाँ-सरी ।
विना आगो पनी झल्क्यो धुनीको दिव्य माधुरी ॥
११
कुइरो बढदै आयो शान्ति-शोभा सबै हरी ।
जीवका मनमा मानू भोगको तिर्सना-सरी ॥
१२
बिहानी-पखको राती शीतको कुइरा-सित ।
अनौठाको मित्यारी छ रुने हाँस्ने क्रमै-सित ॥
१३
छुट्ट्याई औलको सीमा काँठो लागी वरी-परी ।
पहिले कुइरो बस्छ तन्केको पगरी-सरी ॥
१४
त्यो देखी उसको मित्र शीत वैरिन थाल्दछ ।
तत्कालै कुइरो सोझै फाँटमा फाल हाल्दछ ॥
१५
त्यो माथिबाट देखिन्छ सबेरै टम्म फाँटमा ।
फट्की राश लगायेको रुवाको दिव्य ठाँटमा ॥