This page has been proofread
२६
नष्ट भो घामले गर्दा हवाको शीतलो-पन ।
रहन्थ्यो क्रोधका साथ दयाको आँकुरो किन ?
२७
बतास चल्दै-चल्दैन चलिहाल्यो भने पनि ।
उष्णताले शके-सम्म बलेको हुन्छ दन्दनी ॥
२८
विधिले उग्र गर्मीको यो खलाँती फुकीकन ।
पसीना-रूपमा मस्ती गलायो लोकको किन ?
२९
न तुवाँलो, न ता मेघ, न हुस्सू छ, न ता हिम ।
घन्क्यो घनक्क सर्वत्र घामको जय-हिण्डिम ॥
३०
बन्यो मशान झैं शून्य तातेका दिनको स्थिति ।
निस्कँदैन कतै कोही माखो-तक सिती-मिती ॥
३१
निस्क्यो भने कतै कोही ग्रीष्मका उग्र घाममा ।
देह-भन्दा अघी प्राण पुग्न चाहन्छ ठाममा ॥
३२
मणि-मन्त्राऽऽदिले रुद्ध नाग झैं हत गौरव ।
छट्ट-पट्ट गरी बस्छ गर्मीले जगतै सब ॥
३३
शिरमा सूर्यको ताप, मनमा विरहाऽनल ।
बटुवा कुन होवैन बाटामा जीवनाऽऽकुल ?
३४
तन गर्छ जलेवाको प्रशंसा, मीनको मन ।
प्राण भन्छ म चाहन्छु मेघको दिव्य जीवन ॥