Jump to content

Page:Ritubichar.pdf/16

From Nepali Proofreaders
Revision as of 15:20, 19 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

८८
पालुवा फूल झैं राम्रा हलुका कपडाकन ।
पहिरी दुनियाँ लाग्यो वसन्तैको सखा हुन ॥

८९
कसैको अब जाँदैन भद्दा कन्था-विषे मन ।
कालाऽनुगारी सारज्ञ कवि झैं छन् सबै जन ॥

९०
दबाई जेबमा चम्पा लागे रसिक घूमन ।
सुगन्धका कुनै साक्षात् मूर्ति जस्ता बनीकन ॥

९१
वियोगी पान्थका आगे रसिलो ऋतु-नायक ।
भयो भारतका लेखा कलि झैं दुःख-दायक ॥

९२
कर्याङ्कुरुङको पङ्क्ति एकतामा जमीकन ।
सभ्य संसार झैं थाल्यो उत्तरोत्तर लम्कन ॥

९३
त्यो मानू मधुलक्ष्मीका माथको भृङ्ग-गुञ्जित ।
नील-पङ्कज-माला झैं देखिन्छ क्षण-लम्बित ॥

९४
बेसी हिउँदमा झर्छ वर्षामा लेख पस्तछ ।
पहाडिया गृहस्थी झैं क्रौञ्चको श्रेणि बस्तछ ॥

९५
गाम, बेसी गरी लम्बा बिचरा ती चरा सब ।
जीवन-क्रमको शिक्षा स्पष्ट दिन्छन् सगौरव ॥

९६
तडागमा खडा फेरि भयो कमलको वन ।
भित्री बीज छँदासम्म मासिन्थ्यो र कुरा कुन ?